डा. कुन्दन अर्याल
पत्रकारिता विशिष्टीकृत पेसा हो । अझ भनौँ, आजको युगमा मूलधारको व्यावसायिक पत्रकारिता राजनीतिक दल, धर्म, सम्प्रदाय निरपेक्ष सुस्पष्ट मूल्य, मान्यता र नैतिक पक्षबाट निर्देशित हुनुपर्दछ । यो आदर्श विपरीतका अभ्यास पनि भइरहेका छन् । तर, पत्रकारिता मूलतः यसका मूल्य, मान्यता र नैतिक पक्षबाट निर्देशित उद्योगका रूपमा स्थापित छ । यस परिवेशमा नागरिक पत्रकारिता भन्ने शब्दावली उपयुक्त होइन भन्नुपर्ने ठोस आधार छन् ।
प्रारम्भमा व्यावसायिक रूपमा पत्रकारितालाई नअँगालेको तर पत्रकारिताका मबाध्यममा भर नपरी स्वतन्त्र रूपमा वेबसाइट वा ब्लगमार्फत सूचनाको सम्प्रेषण गर्न सक्ने नागरिकलाई नागरिक पत्रकार भन्न थालियो । सामाजिक सञ्जालको व्यापक विकास भइसकेको समयसम्म आइपुग्दा यो परिधि अझ फराकिलो भइसकेको छ । तर, आजको युगमा समाजमा विभिन्न व्यावसायिक वा पेसागत पहिचान कायम छन् र पत्रकारिता त्यस्तै एउटा विशिष्ट क्षेत्र हो ।
नयाँ सहश्राब्दीको प्रारम्भसँगै दक्षिण कोरियाका अनलाइन उद्यमी हो येनले हरेक नागरिक अब रिर्पोटर हुन् भन्ने घोषणा गरेपछि नागरिक पत्रकारिता भन्ने शब्दावलीले झनै स्थान पायो । सूचना प्रविधिको विकाससँगै नागरिकको सशक्तीकरणको प्रक्रिया गतिशील हुँदै जानु अवश्य पनि सकारात्मक पक्ष हो । तर, एउटा विशिष्ट पेसालाई जोसुकैले गर्न सक्ने काम भनेर प्रचार गर्नु जिम्मेवारीबोधको पक्षलाई जानेर वा नजानेर कमजोर बनाउन खोज्नु हो । हरेक नागरिक आफूवरिपरिको वातावरणका बारेमा सुसूचित हुन सके भने समग्रमा पत्रकारिताको स्तर माथि उठ्छ । त्यस्तो परिवेशमा हरेक पत्रकारले आफ्नो पेसागत धर्मको पालना गर्न सचेत हुनैपर्ने अवस्थाको समेत सिर्जना हुन पुग्दछ ।
आजको युगमा पत्रकारिताका वाहक छापाजस्तो परम्परागत माध्यम वा त्यसपछि विकसित भएका प्रसारण माध्यममात्र होइनन् । आज इन्टरनेटमा आधारित माध्यमका कारण पत्रकारिताको क्षितिज असाध्यै फराकिलो छ । अझ सामाजिक सञ्जालका कारण समाज र व्यक्तिका सञ्चार आवश्यकता पूरा गर्ने पत्रकारिताको जिम्मेवारी पनि बाँडिएको छ । त्यसैले ट्वीट, वी च्याट, फेसबुक, इन्स्ट्राग्राम वा अन्य सञ्जालमा कुनै पनि व्यक्तिले सम्पादक वा सम्पादन प्रक्रियाबेगर आफूलाई तत्कालै हज्जारौँ वा लाखौँ व्यक्तिमा पुग्नेगरी अभिव्यक्त गर्ने अवसर पाइरहेको छ ।
इन्टरनेटका कारण बदलिएको यो प्रवृत्ति पत्रकारिताका परम्परागत माध्यमका सञ्चार भूमिकाको सन्दर्भमा एकलौटीको अन्त्य भएको छ । त्यसैले नयाँ सञ्चार प्रविधिले समाचार पत्रकारितामा गहिरो प्रभाव पारेका छ । अब अखबार वा पत्रकारिताका अन्य माध्यमका समाचारका प्रकृति र शैलीमा परिवर्तन भइरहेको छ । कुनै जमानामा पत्रकारिताका विद्यालय–महाविद्यालयमा छापामाध्यममा ब्रेकिङ न्युज पस्किने अपर्झटको तरिकालाई भनिन्थ्यो, स्टप द प्रेस । अब त छापा माध्यमले ब्रेकिङ न्युज दिनै पाउँदैनन्, सक्दैनन् । त्यसैले कतिपयको भनाइमा घटनाप्रधान समाचारको प्रकृति र प्रस्तुतिमा नयाँ मिडिया प्रविधिले आमूल परिवर्तन गरिदिएका छन् ।
तसर्थ, घटनाप्रधान समाचार वा कुनै पनि सूचनाको प्रसार गर्ने परम्परागत दायित्वका दृष्टिले हेर्दा परम्परागत छापा वा प्रसारणमाध्यम मात्र होइन, अनलाइन पत्रकारिता पनि अब प्रभावकारी हुन सक्दैन । त्यसरी हेर्दा पत्रकारिताको परिभाषा नै परिवर्तन भयो भन्न पनि सकिएला । तर, जर्नालिज्म मेड सिम्पल पढेर डेविड वाइनराइटले यस्तो भनेका छन् भनेर आजको वस्तुस्थिति बुझिँदैन । उनले भनेका छन, “दिनभरिका घटना र सूचनालाई संश्लेषण गरेर अर्को दिन सबेरै अखबारमा पस्किनु नै पत्रकारिता हो ।” त्यतिमात्र पढेकाले भन्न सक्छन्, पत्रकारिताको परिभाषा नै बदलियो । पत्रकारितालाई त्यतिमात्र बुझ्नेहरूले अझ अगाडि बढेर भन्न सक्छन्, अब त हामी नागरिक पत्रकारिताको युगमा प्रवेश गरिसक्यौँ । अब त हात–हातमा मोबाइल, हातहातमा सूचना, हरेक व्यक्ति हज्जारौँ व्यक्तिलाई एकैपटक सूचना सम्प्रेषण गर्न सक्ने प्रेषक, हरेक व्यक्ति निमेषभरमा सूचना प्राप्त गर्न सक्ने प्रापक । त्यसैले हरेक व्यक्ति पत्रकार, हरेक नागरिक पत्रकार अनि सूचनाका लागि नागरिक पत्रकारिता हो ।
सूचनामा हरेक व्यक्तिको पहुँच र हरेक व्यक्तिको हज्जारौँ वा लाखौँमा सूचना सम्प्रेषण गर्न सक्नेगरी क्षमता बढ्नु भनेको लोकतन्त्र बलियो हुँदै जानु हो । मार्सल मक्लुहानले भनेजस्तै विज्ञान प्रविधिले मानिसको हरेक क्षमताको विस्तारमात्र गरेको छैन, यसले त लोकतन्त्रको दायरालाई पनि झन् फराकिलो बनाउँदै लगेको छ । त्यसैले नयाँ सञ्चार प्रविधिले हरेक व्यक्तिको अभिव्यक्ति क्षमताको अत्यधिक वृद्धि गरेको छ । टेलिफोनको आविष्कारले समय र भूगोल एउटै नभए पनि दुईजना वा केही व्यक्तिबीचको कुराकानी हुन सक्ने अवस्था सिर्जना गरेको थियो । यन्त्रको सहायताले हुन सक्ने अन्तरवैयक्तिक संवादले सञ्चारलाई नयाँ युगमा पु¥याएको थियो । सन् १९९० को दशकसँगै विश्वभर नै क्रमशः अन्तरवैयक्तिक संवादजस्तो लाग्ने तर व्यक्तिले एकैपटक धेरै व्यक्तिलाई आफ्नो कुरा राख्न सक्ने प्रविधिले परम्परागत आमसञ्चारमाध्यमलाई प्रभावित तुल्याउँदै गयो । नयाँ सहस्राब्दीको प्रारम्भसँगै यो प्रवृत्ति बलियो बन्दै गयो ।
आज एकातिर पत्रकारिताका छापा, रेडियो र टेलिभिजनजस्ता परम्परागत माध्यम प्रयोगमा छन् । अर्कोतर्फ अनलाइन माध्यममा पनि पत्रकारिता झन्झन् प्रभावकारी हुँदै गइरहेको छ । अनि परम्परागतमाध्यम र अनलाइन कम्लिमेन्ट्री र सप्लिमेन्ट्री भूमिकामा अग्रसर भइरहेका पनि छन् । त्यसैगरी, कम्प्युटर र इन्टरनेटका कारण आमसञ्चारमाध्यम सम्मिलनको प्रक्रियाबाट अगाडि बढिरहेका छन् । आज कम्प्युटर र इन्टरनेट सबै किसिमका आमसञ्चारमाध्यमका लागि मेरुदण्ड साबित भइसकेका छन् ।
यही परिवेशमा हरेक व्यक्ति इन्टरनेटमा आधारित सञ्जालमा स्वच्छन्द विचरण गर्न सक्ने भएको छ । हरेक व्यक्तिले सूचनाको निर्वाध प्रसार गर्न सक्ने अवस्था सिर्जना हुँदै जानु समाजको अग्रगमनको लक्षण हो । तर, यस सन्दर्भमा जिम्मेवारी र नैतिक पक्षको पनि सर्वोपरि स्थान हुनैपर्दछ । अनि यो विषयमा विमर्श गर्दा संस्थागत आमसञ्चारमाध्यमको भूमिका झन् बढ्दै जाने देखिन्छ । पत्रकारिताको आधारभूत सामाजिक उत्तरदायित्व आमनागरिकलाई सुसूचित गर्नु हो । सुसूचित नागरिक सबै प्रकारका नागरिक तथा राजनीतिक अधिकारका संरक्षक तथा प्रवद्र्धकमात्र होइन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पहरेदार पनि हुन्छन् । त्यसैले आममानिसको हितका लागि वा अरूको हानि नहुने प्रत्याभूतिसाथ लिखित, मौखिक वा चित्रमय सूचनाको प्रसार गर्न सक्ने असीमित क्षमता भएका नागरिक लोकतन्त्र र लोकतन्त्रको प्राणवायुका रूपमा चिनिएको पत्रकारिताका लागि अत्यन्त अनुकूल हुन्छन् ।
पुरानो जमानाका पत्रकार जनताका तर्फबाट जनताका लागि सूचना प्रवाहमा संलग्न हुन पाएकोमा गर्व गर्दथे । आज पत्रकारिताको त्यो उत्तरदायित्व आममानिसले पनि व्यापक रूपमा निर्वाह गर्न थालेका छन् । तर, यो अवस्थालाई नागरिक पत्रकारिता भन्नु उपयुक्त हुँदैन । यसो भन्नका लागि प्रर्याप्त आधार छन् ।
पहिलो, अब नवोदित लोकतान्त्रिक देशमा पनि पत्रकारिता पुरानो जमानाको जस्तो अवस्थामा रहेन । पत्रकारिता क्रमशः व्यवसाय वा उद्योगमा परिणत भइरहेको छ । यसमा संलग्न हुन पुरानो जमानामा प्रतिबद्धता पहिलो गुण थियो होला । उदाहरणका लागि पञ्चायतकालमा सम्पादक हुने पहिलो योग्यता जेलनेलको सजाय भोग्न पनि तयार हुनु वा पञ्चायतको पक्षमा जस्तोसुकै तर्क पेस गर्न तयार हुनु नै मानिन्थ्यो होला । तर, आज नेपालमा पनि पत्रकारिता रोजगारीको एउटा क्षेत्र हो । राष्ट्रिय आयमा यो क्षेत्रको पनि योगदान हुन थालिसकेको छ । पत्रकारिता आज विशिष्ट पेसा हो र यो पेसा अँगाल्न विशिष्ट क्षमता, गुणको आवश्यकता पर्दछ । यो पेसाका केही मूल्य र मान्यता पनि छन् ।
अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा पत्रकारिताका आचारसंहिताहरू तय गरिएका छन् । पत्रकारिताका अभियन्ता सत्य–तथ्य र स्वच्छतालाई कुनै पनि अवस्थामा नजरअन्दाज गर्न हुँदैन भन्नेमा निकै जोड दिइरहेका छन् । विद्यालय, विश्वविद्यालय र कैयन तालिमकेन्द्रमा मात्र होइन, दिनहुँ वा हरेकपल समाचार कक्षमा पत्रकारिताका मूल्य, मान्यता, सीप र नैतिकताबारेमा गहन विमर्श भइरहेका छन् ।
यस परिवेशमा सुसूचित, प्रविधिमैत्री र आफूलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्न सक्ने नागरिकलाई सशक्त नागरिक भन्नुपर्दछ । सशक्त नागरिक पत्रकारितामैत्री हुन्छ । नागरिकको यस्तो सशक्तीकरणलाई प्रोत्साहित गर्नुपर्दछ । तर, असीमित प्रापकसमक्ष सूचनाको प्रसार गर्ने व्यक्तिको जीवनशैलीलाई नागरिक पत्रकारिता भन्नुहुँदैन । व्यक्तिले आफूलाई अभिव्यक्त गर्नेक्रम बेरोकटोक हुन्छ, यसक्रममा सम्पादनको प्रक्रिया पूरा गरिएको हुँदैन । यसलाई विनाकुनै हस्तक्षेप सूचनाको प्रसार गर्ने क्षमताका रूपमा व्याख्या गर्न सकिएला । तर, एक्काइसौँ शताब्दीमा प्रोपागन्डाको नयाँ स्वरूपका रूपमा फेक न्युजको बिगबिगी बढिरहेका बेला सूचना प्रसारको संस्थागत व्यवस्था झन् बढ्दै जानेछ । यस्तो संस्थागत व्यवस्था पत्रकारिताका माध्यमबाटै गर्नुपर्दछ ।
लामो इतिहास वा अभ्यासबाट परीक्षित पत्रकारिताका व्याकरण बुझेका पत्रकार नै अप्ठ्यारो परिस्थितिमा पनि जनतालाई अलमलमा पर्नबाट जोगाउँदै बाटो देखाउन प्रभावकारी हुन सक्छन् । त्यसैले नागरिक पत्रकार होइन, सूचनाको प्रभावकारी सम्प्रेषण गर्न सक्ने सशक्त नागरिक भनौँ । किनकि समाजप्रति अझ जिम्मेवार बनाउने सूचना सशक्त नागरिक निर्माण गर्ने अभियान अझ सशक्त र सक्रिय बन्नु पत्रकारिताका लागि उन्नत अवसरको मार्ग प्रशस्त हुनु हो । आमसञ्चार साक्षरता अखबार बढ्न जान्नु वा कम्प्युटर खोल्न जान्नुमात्र होइन, आमसञ्चारमाध्यममा प्रस्तुत गरिएका सूचनाको आधिकारिकताको परीक्षण गर्न सक्नु पनि हो ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)