logo
२०८१ मंसिर ११ मंगलवार



विश्वविद्यालयको दौड राजनीतिमा

विचार/दृष्टिकोण |




डा. प्रमोद ढकाल

सुनिन्छ– नेपाली विश्वविद्यालयहरूमा नयाँ राजा छनोट गर्नका लागि दौड सुरु भइरहेकोछ । यो दौड पनि विगतका दौडहरूजस्तै महŒवपूर्ण छ, किनकि यो दौडले यो राष्ट्रनिर्माणका लागि अत्यावश्यक र अति उच्चतम संस्थाको भविष्यसँग सम्बन्ध राख्दछ । विद्यावत अर्थतन्त्रको द्रुत निर्माण भइरहेको वर्तमान विश्वसन्दर्भमा कुनै पनि राष्ट्रका लागि विश्वविद्यालयजस्ता विद्याका उच्चतम संस्थाको महŒव कति होला भनेर कुनै लेखले अथ्र्याउन आवश्यक पर्दैन । हरेक तप्काका नेपालीलाई थाहा छ, यो कति महŒवपूर्ण छ भनेर ।
छोराछोरीको विद्या आर्जनका लागि पहिले नेपालमा ‘फिस’ तिर्ने र पछि विदेशमा ‘फिस’ तिर्ने नेपाली अभिभावकलाई थाहा छ, विद्या कति ‘मूल्यवान्’ हुन्छ भनेर । शासकहरूलाई थाहा छ, उनीहरूले नेपाल र नेपालीका लागि कति मूल्यवान् शिक्षाको अवसर दिइरहेका छन् ? विद्या आर्जन गर्न विदेश जाने युवालाई थाहा छ, किन ऊ जसरी पनि विदेश नै बस्नुपर्छ ? नेपालमै विद्याको व्यापार गर्न सफल उद्यमीलाई थाहा छ, विद्याको विनिमयदर कतिसम्म उच्च हुन सक्छ ? र, ती इतरका उद्यमीलाई थाहा छ विद्याको विनिमयदर कतिसम्म न्यून हुन सक्छ ? धमिलो पानीमा माछा मार्न सजिलो मान्ने नेपालीलाई थाहा छ विद्याको धमिलो पानी कति उपयोगी वस्तु हो ? अनि ती अवसरबाट वञ्चित नेपालीलाई पनि अन्य केही कुरा थाहा छ, विद्याकै बारेमा । उसलाई थाहा छ, ऊ कसरी विद्याबाट ठगिएको छ वा ऊ कसरी विद्याद्वारा ठगिएको छ वा ऊ विद्याका कारण मूलप्रवाहमा नअटाएर मझेरीको कसिङ्गरझैँ बढारिएर कसिङ्गरदानीमा फ्याँकिएको छ ।
देश र विश्वविद्यालयमा राजनीति गर्नेहरूलाई लाग्छ– विद्यावत उत्पादन अमेरिका र चीनमा भएर के भो त उनका हातमा पनि सेलफोन बजेकै छ र उनका फेसबुकमा पनि संवाद चलेकै छ । देशमा रोजगारी नभएर के भो त उनकहाँ पनि रेमिट्यान्सको फल फलेकै छ । शिक्षित नेपाली विदेश गएर के भो त विदेशी लगानीकर्ताले ठुल्ठूला सम्झौतापत्रमा यहाँ रोजगारी ल्याइदिने आस घोलेकै छ । तर पनि नेपाली विश्वविद्यालयमा समस्याको चाङ बढेकै छ, एकगठ हुनुपर्ने नेपालीबीचको खुट्टा काटाकाट र विमतिको पारो चढेकै छ, विद्यावत बन्ने नेपाली सपना बिरामी भएर लडेकै छ ।
त्यसो भए समस्याको चुरो के हो त ? दुर्भाग्यवश त्यसको एउटा चुरो छैन, समस्याका धेरै चुरा छन्, धेरै चिरा छन् र धेरै लेख्न यो पत्रिकाका पानामा ठाउँ थोरै छ । त्यसैले आज यही सम्मुखमा रहेको दौडको आयोजनाको मात्र कुरा गरौँ ।
सम्झौँ, पौडीको दौडको आयोजना पानीमा गरिन्छ, म्याराथन दौडको आयोजना सडकमा र रिलेदौडको आयोजना खास मैदानमा । त्यस्तै राजनीतिको दौड राजनीतिक मैदानमा, प्रविधिको दौड प्राविधिक मैदानमा र विद्याको दौड विद्याको मैदानमा गरिनु राम्रो हो । मानव सभ्यताले धेरै पहिले त्यो कुरा जानेको हो । चाणक्य विद्याको दौडमा भाग लिन पट्ना छाडेर तक्षशिला गएका हुन् र राजनीतिको दौडमा भाग लिन तक्षशिला छोडेर पट्ना गएका हुन् । सय वर्षअघिका नेपालीले पनि विद्यामा दौडन काशी जाने, सुन धनका लागि दौडन बर्मा र कुतीतिर जाने, जागिर र पेन्सनका लागि दौडन लाहोर वा गोरखपुरतिर जाने, अनि गाउँको जिम्मा र भन्सारको ठेक्काका लागि दौडन राणाका दरबारतिर जाने ठीक हो भनेर जानेका थिए । आज राजनीति बदलिएको छ, अर्थतन्त्र बदलिएको छ, जागिर र पेन्सनका केन्द्र बदलिएका छन् र विद्याका क्षेत्र र केन्द्र पनि बदलिएका छन् । विश्व समुदाय नै विद्यावत हुनेछ भन्ने हल्ला छ ।
हल्ला र शक्तिकेन्द्रहरू बदलिएर के गर्ने ! हिजो ठेउलेखोलाका दहमा खेलेको पौडीलाई पौडीकुण्ड (स्वीमिङ पुल) मा सारे पनि पौडी पौडी नै हो, पानीले आफ्नो धर्म बदलेको छैन । आज पनि राजनीति राजनीति नै हो, त्यसको खेलका नियम बदलिएका छैनन् । त्यस्तै हो शिक्षा, विद्या, विज्ञान, नवप्रवर्तनको कुरा पनि, तिनको खेल मैदान राजनीतिमा सरेको छैन । पौडीकुण्डमा हालिनुपर्ने पानी भलिबल मैदानमा हालेर के गर्ने, पानीले पृथ्वीको गुण लिएको छैन ।
तर, नेपालको कुरा अर्कै छ । राष्ट्रको समृद्धिका लागि आवश्यक सबै खेलको खेलमैदान राजनीतिमा सारिएको छ । आजका शासक ात्र होइन, यो आज प्रतिपक्षमा बन्चरो लिएर बसेका हिजोका शासकलाई र भोलिको शासक बन्न लालायित नवराजनीतिज्ञहरूलाई पनि यो भनिएको हो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने विद्या र राजनीति दुवै आवश्यक कुरा हुन् र पनि ती भिन्न कुरा हुन् । विद्याको आत्मगत चरित्र, विद्याको संस्थागत चरित्र र विद्याका पारखी खेलाडीको चरित्र राजनीतिक हुँदैन । तर, नेपालमा भने विद्यावत संस्थाका राजा छान्ने दौडको आयोजना राजनीतिक खेलमैदानमा भइरहेको छ ।
समस्यालाई स्थायित्व दिन राजनीतिका वादशाहलाई विद्याको पनि वादशाहका पदमा राखिएको छ । नेपालका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीलाई बनाइएको छ । त्यस्तो गर्नुहुँदैन भनेर लडिएको खुला विश्वविद्यालयमा त्यो पद शिक्षामन्त्रीकहाँ सारिएको छ, कुरा मूलतः उही नै हो । त्यसैले सके सोझै वादशाहको र नसके दलाल (ब्रोकर) को फेरो समातेर राजनीतिक दौडको अग्रपङ्तिमा को आउने हुन् उनीहरूले नै बाँडिचुँडी यहाँका उपकुलपति आदि नाम गरेका राजा रजौटाका पदहरू प्राप्त गर्ने गर्छन् ।
सम्झना छ, नेपाली संसद्मा बुझाएका खुला विश्वविद्यालयसम्बन्धी दस्तावेज विश्वविद्यालय अनुदान आयोगका तात्कालिक अध्यक्षलाई बुझाउन जाँदा उनी आफूले त्रिवि जीवनमा जहिलेसुकै उच्च प्रशासनिक पदमा काम गरेको र कहिल्यै अर्काको मुनि बस्न नपरेको बताएका थिए । उनलाई यो बताउन कुनै आवश्यक परेको थिएन कि उनले ज्ञानविज्ञानको कुन क्षेत्रलाई नयाँ मोड दिए, के नयाँ कुरा आविष्कार गरे, कसरी उनको पेसा विद्यावत थियो, विद्यावत अभियानको कस्तो रूपान्तरणकारी योजना र लगावद्वारा उनको संस्थाका विद्यार्थी, शिक्षक र कर्मचारीको मन जितेका कारण वा कुन प्रतिस्पर्धा जितेका कारण उनका अरू साथीहरूलाई नदिइएका पदहरू उनलाई दिइएको थियो ? र, अरू नभएर उनी नै ओहोदामा बस्नुले गर्दा उनको संस्थामा उस्तै प्रकृतिका अरू संस्थामा भन्दा के–कति रूपान्तरण आएको थियो ? अनुमान गर्न सकिन्छ, उनले आफ्नो राजनीतिक पार्टीभित्र आफ्नो खेमाको नेतालाई अवश्य भन्न सफल थिए होलान् कि उनी कुन कारणले अरूभन्दा माथिल्लो मर्यादाका हुन् । मान्न सकिन्छ, प्राज्ञिक पेसाको मैदानमा दौडनुपर्ने दौड राजनीतिक पेसाको मैदानमा दौडिएको हुनाले उनलाई विद्यावत रूपान्तरणबारे चर्चा गर्न पनि आवश्यक परेन होला । यो प्रवृत्तिको व्याप्तताले नेपालका विश्वविद्यालयको गरिमाले उचाइ चुम्यो कि अधोगतिको पिँध चुम्यो त्यो यहाँ बताइरहनुपर्दैन ।
त्यसैले यदि नेपाललाई आफ्नो देश पनि विद्यावत होस् भन्ने कुनै प्रेम र लगाव छ भने जो जुन कुलको मानिस हो, ऊ उही कुलको कुलपति हुनुपर्छ अरू–अरूका कुलको कुलपति हुने होइन भन्ने ज्ञान हुनुपर्छ । राजनीतिक नेता राजनीतिक कुलको पति हुने र गच्छेअनुसार राजनीतिक पदाधिकारी हुने कुरा त तर्कसम्मत हो तर ऊ नै विश्वविद्यालयको कुलपति, सहकुलपति हुने र उसका कुलका सिपाहीलाई विद्यालय, विश्वविद्यालयका पदाधिकारी बनाउने कुरा समाजका लागि नितान्त घातक कुरा हो ।
विद्या र राजनीतिको मिसमासलाई घातक जानेर नै प्राचीन समयमा ऋषि र राजाको आसन छुट्याइएको थियो । फलस्वरूप न ऋषिका आसनमा राजा बस्थे, न राजाका आसनमा ऋषि । विद्यावत कुलका मानिस आफैँले आफ्नै कुलबाट जो–जसलाई रोजे उनी नै उनका कुलका अधिकारीहरू हुन्थे । अनि राजालाई राजगद्दी त्यागेर कठोर प्रायश्चित नगरेसम्म ऋषिका पद दिन निषेध गरिएको थियो र ऋषिलाई पनि ऋषिकुल नत्यागेसम्म राजा वा राजाको सिपाही बनाइँदैनथ्यो ।
त्यसैले भन्न सकिन्छ, विद्या र राजनीतिको क्षेत्रलाई छुट्याएरमात्रै राजनीतिमा पनि र विद्यालय, विश्वविद्यालयमा पनि इमानदारीले स्थान प्राप्त गर्छ । यो कुरा बुझेर, के हाम्रा नेताहरूले राजा र ऋषिको कुल छुट्याउने आँट गर्लान् ? के विद्यालय, विश्वविद्यालयको जागिर खाएर पनि राजनीतिज्ञको फेरो समाउनेहरूलाई विद्याबाट च्युत भइसकेका र राजनीतिक कुलमा पसिसकेका मानिस मान्न उनीहरू तयार होलान् ? के हाम्रा विद्यालय, विश्वविद्यालयलाई राजनीतिक पार्टीका अखडा नबनाएर ज्ञान, विज्ञान, नवप्रवर्तन र नयाँ–नयाँ विचारका उत्पादन र प्रसारण केन्द्र बनाउने हिम्मत उनीहरूले लिन सक्लान् ? के विद्याको राजा छान्ने दौड राजनीतिको मैदानमा गराउने प्रथा तोड्न सक्लान् ? अर्थात, के काशीको राजा छान्ने दौड कुतीमा गराउन छोड्लान् ?
(लेखक नेपाल खुला विश्वविद्यालयका परिकल्पनाकार र संस्थापक पनि हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?