नेपाल विद्युत् प्राधिकरणलाई घरधनीले सौर्य ऊर्जा बिक्री गर्न सक्ने भएका छन् । निजी घर वा कार्यालयको छानामा जडित उपकरणबाट उत्पादित सौर्य ऊर्जा विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा जोडेर प्रतियुनिट सात रुपियाँ ३० पैसामा बिक्री गर्न सकिनेछ । व्यक्ति वा संस्थाले महिनाभरि खपत गरेको विद्युत् प्राधिकरणको विद्युत् परिणाम र निजले प्राधिकरणलाई बिक्री गरेको ऊर्जाको परिणामको हिसाब गरी खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएमा त्यसबापतको रकम प्राधिकरणबाट प्राप्त गर्न सकिनेछ । बढी भएको सौर्य ऊर्जा व्यक्ति वा संस्थाले बिक्री गर्न सक्ने र नेपाल विद्युत् प्राधिकरणले किनिदिनेछ । प्राधिकरणका जुनसुकै शाखाबाट पनि यस्तो सुविधा लिन सकिन्छ । यसरी उत्पादन भएको सौर्य ऊर्जा प्राधिकरणको ग्रिडमा पठाउन मिल्ने प्रावधानसहितको कार्यविधि दुई वर्षअघि स्वीकृत भएपछि विभिन्न निकाय र उद्योगले यस्तो सेवा उपयोग गर्न थालिसकेका भए पनि सर्वसाधारणलाई यसबारे पर्याप्त जानकारी नहुँदा ठूलो परिमाणमा ऊर्जा किनबेच हुन भने सकेको छैन । जब कि यस्तो सुविधा लिन बाइ डिरेक्सनल मिटर (नेट मिटरिङ) आवश्यक पर्ने र बजारमा सहजै रूपमा उपकरण उपलब्ध हुने भएकाले ऊर्जा बेच्न चाहने व्यक्ति वा कार्यालयले ठूलो आर्थिक लगानी र झन्झट बेहोर्नुपर्ने देखिँदैन । एउटै इलेक्ट्रोनिक्स मिटरमा विद्युतीय ऊर्जा लिने र दिने खपत युनिट ‘रिड’ गर्न सक्ने भएकाले प्राधिकरणको विद्युत् कति खपत भयो र व्यक्तिले कति युनिट उत्पादन गरेर प्राधिकरणलाई दियो भन्ने स्वचालित हिसाब देखिने भएकाले यस्तो सुविधाको उपयोगमा धेरै समस्या झेल्नु नपर्ने भएकाले उपभोक्तालाई आकर्षित गर्न सकिने देखिन्छ ।
आवासीय भवनले उत्पादन गर्ने सौर्य ऊर्जालाई विद्युत् उत्पादन संस्थालाई बिक्री गर्ने कार्यको थालनी अमेरिकामा सन् १९८५ बाट सुरु भएको र अहिले अमेरिकाको म्यासाचुसेट, कोलोराडो, क्यालिफोर्नियालगायतमा लोकप्रिय रहेको बताइन्छ । सौर्य ऊर्जा बिक्री गर्न चाहेमा उपकरण (सोलार प्यानल) आफैँले जडान गर्नुपर्ने हुन्छ । आवासीय घरमा पाँच सय वाटदेखि पाँच किलोवाटसम्म ऊर्जा उत्पादन गर्न सकिने र एक किलोवाटसम्मको ऊर्जा उत्पादन गर्नका निम्ति सोलार प्यानल राख्दा औसतमा एक लाख ७५ हजार रुपियाँसम्म खर्च लाग्ने जानकारले बताएका छन् । एकपटक जडान गरिएका यस्ता उपकरणको आयु सरदर २० वर्ष रहने र एक किलोवाटको उपकरण जडान गर्दा २० वर्षमा करिब २८ हजार आठ सय युनिट सौर्य ऊर्जा उत्पादन हुन सक्छ । प्राधिकरणले हाल प्रतियुनिट सरदर १० रुपियाँका दरले ग्राहकलाई विद्युत् बिक्री गर्दै आएकाले वैकल्पिक ऊर्जा उत्पादन गरी आफ्नो विद्युत् उपयोग युनिट र खर्च कम गर्न सकिनेमात्र होइन, आम्दानी पनि गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्र र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाडौँ, पोखरा र विराटनगरमा सौर्य ऊर्जा उत्पादनका बारेमा गरेका अध्ययनअनुसार काठमाडौँका घरका छानामा १५, विराटनगरमा १९ र पोखरामा १२ वर्गमिटरमा सोलार प्यानल जडान गर्न उपयुक्त रहेको देखाएको छ । एक किलोवाटसम्म ऊर्जा उत्पादन गर्ने प्यानल राख्ने हो भने काठमाडौँका ८५, विराटनगरका सतप्रतिशत र पोखराका ७० प्रतिशत घरमा सोलार प्यानल जडान गर्न सकिने सोही अध्ययनले देखाएकाले विद्युत् अभाव कम गर्न यस्तो पहल र प्रविधि उपयुक्त हुन सक्छ ।
प्रचारको अभावमा सर्वसाधारणलाई धेरै जानकारी भएको नपाइएकाले यसबारे पर्याप्त प्रचार–प्रसारको आवश्यकता देखिएको छ । सर्वसाधारणले तत्कालै यस्ता कुरामा विश्वास गर्नेे आधार देखिरहेका छैनन् । कसरी ऊर्जा उत्पादन गर्ने, कसरी ग्रिडमा जोड्ने, प्राधिकरणले भनेअनुसार पैसा आउने हो कि होइन भन्नेमा पूर्ण रूपमा ग्राहक जानकार र विश्वस्त नभएसम्म घरायसी ऊर्जा उत्पादन र यसको किनबेच उल्लेख्य रूपमा हुन सक्दैन । तर, व्यापक प्रचार–प्रसार र यसका फाइदा बेफाइदाबारे जानकारी दिएर वैकल्पिक ऊर्जामार्फत विद्यमान विद्युत् अभाव न्यूनीकरण गर्न सकिनेछ । ग्राहकलाई आफूले खपत गरेको प्राधिकरणको बिजुली र उत्पादन गरेको घरेलु ऊर्जा बेच्दा समग्र रूपमा सस्तो पर्ने प्रत्याभूति दिन नसक्दासम्म यसको आमप्रयोग हुन सक्दैन । साथै, घरघरबाट ग्रिडमा तार जोड्दा हुन सक्ने विद्युत् जोखिमबारेमा उपभोक्तालाई स्पष्ट र विश्वस्त बनाउन पनि त्यत्तिकै आवश्यक छ ।