प्रजातन्त्रको पुनःस्थापनापछि नेपालले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ । विभिन्न समुदाय, क्षेत्र, उमेर समूह तथा शारीरिक अवस्थाका व्यक्तिलाई ज्येष्ठ, अपाङ्गता, एकल महिला, दुर्गम र अन्य लक्षित वर्गका नागरिकलाई भत्ता प्रदान गरेर उनीहरूको जीवन उन्नत बनाउने कार्यक्रमलाई नेपालले प्राथमिकता दिएको छ । स्वास्थ्य बीमा सबै नागरिकका लागि लक्षित गरी ल्याइएको बृहद्स्तरको कार्यक्रम हो । सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२÷७३ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक गरेको थियो भने यसअघि २०७१ सालमा स्वास्थ्य बीमा नीतिअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेको थियो । २०७२ चैत २५ बाट नमुना कार्यक्रमका रूपमा सुरु भएको यो कार्यक्रम मुलुकैभर विस्तार गरिने उद्देश्यअनुसार हालसम्म २४ लाख ५० हजार व्यक्ति कार्यक्रममा आबद्ध भइसकेका छन् । आगामी वर्षभित्र देशका ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गरिनेछ । उपचारका क्रममा सर्वसाधारणलाई पर्ने आर्थिक भार व्यवस्थापन गर्न नागरिक स्वयं र सरकारको संलग्नतामा ल्याइएको यो कार्यक्रममा जनताको सहभागिता बढ्दै छ । पूर्व सोभियत सङ्घ र सङ्घमा आबद्ध केही मुलुकमा प्रचलित सामाजिक स्वास्थ्य बीमा वा अमेरिकाको मेडिकेयर प्रणाली अथवा नेपालमा सुरु गरिएको स्वास्थ्य बीमाले बढ्दो स्वास्थ्य उपचारको दायित्वलाई सरकार र नागरिकमा वितरण गर्ने गर्छन् । योगदान गर्न सक्दा तिरिएको थोरै प्रिमियम (योगदान) ले बिरामी भएका बखत ठूलो राहत दिनु र लिनु यस्ता कार्यक्रमका उद्देश्य हुने गर्छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रदान गरेको छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक प्रदान गरेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ ले योगदानको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आमनागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ । नेपालले स्वास्थ्य बीमा कार्यक्रलाई लोककल्याणकारी कार्यक्रमका रूपमा स्थापित गरेकाले विपन्नताका कारण बीमा योजनामा सहभागी हुन असमर्थ विपन्न परिवारका सदस्यले प्रिमियम (योगदान) तिर्न नसके पनि बीमा सेवाको लाभ प्राप्त गर्न सक्नेछन् । सरकारले ल्याएको यस्तो उदार कार्यक्रममा सहभागी भएर विपन्न सर्वसाधारणले पनि सुविधा लिन सक्नुपर्छ ।
निकै उपयोगी बीमा कार्यक्रमबारे यथेष्ट जानकारी हुन नसक्दा सर्वसाधारणको सहभागिता अपेक्षित रूपमा बढाउन सकिएको देखिँदैन । कार्यक्रममा सहभागी बीमित व्यक्तिले उचित र स्तरीय उपचार नपाएको गुनासो पनि गर्दै आएका छन् । स्वास्थ्य केन्द्रका भौतिक पूर्वाधार, उपकरण, प्रविधि तथा जनशक्ति अभावका कारण स्वास्थ्य बीमा व्यवस्थापनमा समस्या देखिएको छ । बीमित व्यक्तिलाई सरकारी अस्पताल र स्वास्थ्य संस्थामार्फत सुविधा प्रदान गरिने भएकाले ती अस्पतालले उपचार तथा औषधिमा आफ्नो चित्त बुझाउन नसकेका गुनासो बीमितले गर्ने गरेका छन् । बीमा सेवा खरिद गरेका व्यक्तिको पहिलो सेवा बिन्दु सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरू हुने भएकाले ती निकायमा गुणस्तरीय सेवा नपुग्दासम्म बीमितलाई विश्वस्त बनाउन सकिँदैन ।
जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिएमा त्यहाँको सिफारिस लिएर केन्द्रमा पठाइने गरिएकाले उपचार प्रक्रिया लामो र झण्झटिलो भएको बीमितको अनुभव छ । भौतिक सुविधा तथा शै्ययाको अभाव, अस्पतालको कमजोर पूर्वाधार, आवश्यक विशेषज्ञ चिकित्सकको उपलब्धतामा कमी, ल्याब परीक्षणका स्थितिमा व्यापक सुधार गरेर बीमितलाई कार्यक्रमप्रति आकृष्ट र विश्वस्त बनाउन नसक्दासम्म यो कार्यक्रम पूर्णतः सफल हुन सक्नेछैन । सरकारी अस्पतालबाट उपचार दिन नसकिएको अवस्थामा निजी अस्पतालबाट पनि सेवा उपलब्ध हुन सक्ने कार्यविधि भए पनि बीमितको अपेक्षा र सेवाबीचको असन्तुलनले बीमा सेवामा चुनौती देखिएका छन् । चिकित्सक तथा औषधिको अभाव, आवश्यक औषधि समयमै पाउन नसक्नु, स्वास्थ्य चौकीको दूरीजस्ता थप चुनौती निवारण गर्दै यो कार्यक्रमलाई दुर्गम क्षेत्र र विपन्न समुदायमा लक्षित गर्न सकिएमा अपेक्षित परिणाम प्राप्त हुनेछ । बीमा कार्यक्रमसँगै उपचार गर्नुभन्दा रोग लाग्नै नदिने अवस्था सिर्जना गर्न ध्यान दिनु पनि आवश्यक छ, जसका लागि नियमित स्वास्थ्य परीक्षण, सुरक्षात्मक विधि अपनाउन र जीवनशैलीमा सुधार गर्न सर्वसाधारण विशेष चनाखो हुनुपर्छ ।