logo
२०८१ मंसिर ११ मंगलवार



सूर्यग्रहण कसरी लाग्छ ?

विचार/दृष्टिकोण |




जयन्त आचार्य

सूर्य चन्द्रमाभन्दा करिब चार सय गुणा ठूलो छ । चन्द्रमाभन्दा सूर्य पृथ्वीबाट करिब चार सय गुणा टाढा छ । त्यसैले साधारण आँखाले हेर्दा चन्द्रमा र सूर्य दुवै उत्रै–उत्रै देखिन्छन् । चन्द्रग्रहण होस् वा सूर्यग्रहण दुवै समयमा चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुन आवश्यक छ । जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामीहरू चन्द्रग्रहण भयो भन्छौँ । त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण भएको भन्छाँै । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् । सूर्यग्रहणमा पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन् भने केही मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् । साधारणतयाः हामीहरू सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको हुन्छ कि भन्ने ठान्छौँ तर वास्तवमा चन्द्रग्रहणको तुलनामा सूर्यग्रहण नै धेरै हुने गर्छ ।
चन्द्रग्रहण पूर्णिमाको रातमा मात्र लाग्छ भने सूर्यग्रहण औँशीको दिनमा मात्र हुने गर्छ । यसरी विचार गर्दा प्रत्येक पूर्णिमा र औँशीमा किन चन्द्रग्रहण र सूर्यग्रहण लाग्दैन भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । अझ विचार गर्ने हो भने एक महिनामा चन्द्रमाले पृथ्वीलाई एक फन्को मारेर परिक्रमा गरिरहेको हुन्छ । यो परिक्रमा गर्नेक्रममा प्रत्येक महिना एकपटक सूर्यग्रहण र एकपटक चन्द्रग्रहण हुनुपर्ने हो तर यस्तो हुँदैन । यस्ता प्रश्नको जवाफ पाउन सर्वप्रथम पृथ्वी हिँड्ने बाटो र चन्द्रमा हिँड्ने बाटोबीचको कोणीय अन्तर बुझ्नु जरुरी छ । पृथ्वीको अक्ष र चन्द्रमाको अक्षबीचको कोणीय अन्तर करिब पा“च डिग्रीको छ । यसैले गर्दा यी दुई चन्द्रमा र पृथ्वीले बनाउने छायाँ एउटै धरातलमा सधैँ पर्दैनन् । त्यसैले प्रत्येक पूर्णिमा र औँशीमा ग्रहण नदेखिएका हुन् । जुन औँशी वा पूर्णिमाका दिनमा एउटै धरातलमा छायाँ पर्छ, त्यसबेला मात्र ग्रहण हुन्छ ।
नेपालबाट आज (पुस १०) गते सूर्यग्रहण देखिँदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण हो । तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहणमात्र देख्न सकिन्छ । मलेसिया, सिङ्गापुर, श्रीलङ्का, भारतको तमिलनाडु, ओमान, युनाइटेड अरब इमिरेटका विभिन्न स्थानहरूबाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, लाओस, म्यानमार, भुटान, नेपाल, ल्हासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहणमात्र देखिन्छ ।
खण्डग्रास सूर्यग्रहण, सर्वग्रास सूर्यग्रहण, खग्रास सूर्यग्रहण र वलय सूर्यग्रहण गरी जम्मा चारप्रकारका सूर्यग्रहण पृथ्वीबाट देख्न सकिन्छ । सूर्यलाई केही मात्रामा छेकिएर हुने सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सर्वग्रास सूर्यग्रहणमा सूर्य पूरै ढाकिन्छ । सूर्यलाई छोपी आकाशलाई समेत छेकेर हुने ग्रहणलाई खग्रास सूर्यग्रहण भनिन्छ । यस्तो सूर्यग्रहण लागेको समयमा पूरै अँध्यारो भई दिउँसै ग्रह र ताराहरू देख्न सकिन्छ । यस्तोखालको सूर्यग्रहण लामो समयको अन्तरालमा मात्र देख्न र अनुभव गर्न पाइन्छ । त्यस्तै सूर्य विम्बको बीचको भागलाई छेकेर हुने सूर्यग्रहण नै वलय सूर्यग्रहण हो । यस्तो ग्र्रहण भएको बेलामा सूर्यमा ठूलो प्वाल परेकोजस्तो देखिन्छ र सूर्य एक बालाजस्तो देखिन्छ । यस्तो सूर्यग्रहण पनि विरलै हुने ग्रहणमा पर्छ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमा नै नष्ट हुन गई मानिस सदाका लागि दृष्टिविहीनसमेत हुन सक्छ । त्यसैले सूर्यग्रहणका बेला नाङ्गो आँखाले कदापि हेर्न हँुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छायाँ हेर्नु नै हो ।
धार्मिक समुदायका मानिस ग्रहणका बेला दानदक्षिण गर्दा विशेष फल मिल्ने विश्वास गरी दान दिने, नदी तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्ध हुने गर्छन् भने तान्त्रिकहरू आफ्नो मन्त्र सिद्ध गराउनका लागि ग्रहण लागेका बेला अत्यन्तै उपयुक्त मान्छन् र मन्त्रको साधनासमेत गर्छन् । ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरि नै रहेका पाउन सकिन्छ । रोमनहरू ग्रहणका बेला चिच्याउने गर्छन् भने चीनमा ग्रहणलाई ड्र्यागनसँग जोडेर हेरिन्छ । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । उनी सूर्यग्रहणका बेला आफ्नै सहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेट्न सकिन्छ ।
आज लाग्ने सूर्यग्रहण नेपालबाट बिहान ८ बजेर ४३ मिनेटबाट सुरm भई ११ बजेर ३१ मिनेटमा समाप्त हुन्छ । बिहानको १० बजेर दुई मिनेट जाँदा सूर्यलाई करिब ३७ प्रतिशत ढाकेको देख्न सकिन्छ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुन्छ । यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू सूर्यग्रहण जोकसैले पनि सुरक्षित तरिकाले हेर्न सल्लाह दिन्छन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरूका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरू सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्छन् भने बालबालिकाका लागि भने विज्ञानमा रुचि उत्पनन गराउन यस्ता घटनाहरू उपयोगी हुने गर्छ ।

(लेखक अमेरिकी खगोल समाजका सदस्य तथा वाल्मीकि क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?