रामप्रसाद गौतम
नेपालले २०२० मा पर्यटन वर्ष मनाउँदैछ भने अमेरिकामा प्रकाशित एक पुस्तकले नेपाल भारत–चीनको बीचमा लुकेको सबैभन्दा राम्रो गन्तव्य भनेर प्रशंसा गरेको छ । यस्तो बेलामा देशको समग्र विकासका साथै पर्यटनको क्षेत्रमा समेत अलिकति फरक तरिकाले सोच्न सकिन्छ र सोच्नुपर्छ ।
पर्यटनका विभिन्न आयाम हुन सक्छन् तर त्यसको मुख्य मर्म रमणीय यात्रा, फरक खाना र प्रेमपूर्ण परिवेशको सिर्जनालाई मानिन्छ । त्यसैले नेपालजस्तो अविस्मरणीय भौगोलिक परिदृश्य, अलौकिक हावापानी र तातो चिसोको सौहार्द संयोजन भएको देशमा बनेको सबैभन्दा सीधा र राम्रो दु्रतमार्गलाई यातायातका साथै पर्यटनका दृष्टिले पनि विश्वकै अलौकिक गन्तव्य बनाउन सकिन्छ ।
विकास आफैँ हुँदैन, गर्नुपर्छ र यसले मानव जीवनलाई सहजता प्रदान गर्नुपर्छ । विकास मानव जीवनमा सकारात्मक परिवर्तनका लागि सार्थक बन्न सक्यो भने त्यो वास्तवमा उत्तम मानिन्छ । कस्तो विकासलाई सबैभन्दा राम्रो र सफल विकास भन्ने प्रश्न आएमा मानिसको सोच परिवर्तन गर्नसक्ने क्षमताको विकास सबैभन्दा राम्रो मानिन्छ ।
कसैले चन्द्रमामा पुग्ने कामलाई राम्रो भन्ला, कसैले औषधि विज्ञानमा भएको चमत्कारलाई विकास भन्ला, कसैले इन्टरनेटलाई ठूलो भन्ला तर मानिसको दिमागलाई सकारात्मक काममा क्रियान्वयन गर्नसक्ने विकास नै सर्वथा उत्तम हो किनभने त्यो सोचले थप सुन्दर सिर्जना गर्न सक्छ । भौतिक रूपमा जमिनमा देख्न सकिने सडक, पानी, बिजुली, जहाज आदि सबैको सन्तुलित उत्थान जसले मानिसको दैनिकीमा सहजता प्रदान गर्छ त्यही विकास हो । त्यसैले मानिसको जीवनमा सारभूत परिवर्तन गर्न नसक्ने निर्माणमूलक सबै काम नियमिततासँग आलिङ्गन भएर आउने नियमित र प्रक्रियागत उत्थान कार्यलाई सामान्य विकासको श्रेणीमा राख्नुपर्छ । परिवर्तनले मानव जीवनमा थोरै भए पनि खुसियाली र सहजता दिन सक्यो भने त्यो विकास स्मरणीय र उल्लेख्य मानिन्छ ।
मङ्सिर २८ गते एक नेपाली व्यापारी चीन घुमेर नेपाल आएका थिए । उनले भने अनुसार चीनमा धेरै नगरपालिकाले सार्वजनिक साइकलको व्यवस्था गरेका छन् र ती साइकल सडकको निश्चित ठाउँमा राखिएको हुन्छ । यी साइकल चलाउन जान्ने जो कोहीले शुल्क तिरेर सहरको जुनसुकै ठाउँमा लैजान पाउँछन् अनि त्यो साइकल जुन कुनै ठाउँमा छोडेर ऊ काममा जान पायो, फर्किंदा उसले यसैगरी अर्को साइकल लिएर आउन पनि सक्यो ।
देख्दा यो सामान्यजस्तो लाग्छ तर यो चीनको विकासको नमुना हो किनकि साइकलको लागि छुट्टै लेन चाहियो । यी विद्युतीय साइकलका लागि चार्ज स्टेशन चाहियो, भाडा उठाउने प्रणालीको विकास गर्नु नै प¥यो तर यसले वातावरण संरक्षणमा सहयोग गर्न सक्यो । जनताले सार्वजनिक यातायातबाट भोग्न परेका यावत् पीडा भोग्न नपर्ने भयो । सुरक्षा नगरपालिकाले नै गर्ने भयो । तसर्थ यो अति नै उपयोगी विकास प्रतिविम्ब हो ।
त्यसै दिन काठमाडौँमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोटेश्वर – माइतीघर २. ५ किमि साइकल लेनको उद्घाटन गर्नुभयो । यो चीनको जस्तो आधुनिक प्रविधि होइन । यसले पूरै सहरलाई समेट्न सकेको छैन साथै अहिले नेपालसँग विद्युत् चार्जवाला साइकलको व्यवस्था पनि भएको छैन । तर काठमाडौँका महìवपूर्ण ठाउँमा साइकल सडक बनाउने हो भने पक्कै पनि महानगरपालिकाको वातावरण प्रदूषणमा कमी आउनेछ, जाम र दुर्घटनाको समस्या कम हुनेछ अनि यहाँको जीवन एकप्रकारले सहज हुनेछ । त्यसैले नेपालका केही सहरलाई साइकलमैत्री सहर बनाउने हो भने इन्धनको बचत, जनस्वास्थ्यमा सुधारलगायत विभिन्न कुरामा सहजता र सरलता आउनेछ । यसरी साइकलमैत्री सहरहरूको निर्माणले नेपाललाई धेरै कुरामा सुविधा पुग्नेछ । यसबारेमा सम्बन्धित सरकारले केही सोच्नुपर्ने देखिन्छ ।
सहरमा साइकलमैत्री सडकको निर्माणमा ध्यान दिने र विद्युतीय साइकलको ‘एसेम्बल्ड’ नेपालमै गर्ने परिपाटीको विकास गर्न आवश्यक देखिन्छ ।
यसबाहेक नेपालमा एउटा परियोजना २०७४ सालबाट सुरु भएको छ । ७२ किमिभन्दा केही लामो काठमाडौँ – निजगढ फास्ट ट्रयाक (द्रुतमार्ग) को काम पनि धमाधम भइरहेको छ । दुई चार ठाउँमा सुरुङ र पुल बनाउने काम अर्को वर्षबाट मात्र सुरु हुने कुरा भइरहेको छ । सडक, पुल र सुरुङ गरी तीन तरिकाबाट काम गरेर अहिलेसम्मकै छोटो सडक बनाउने प्रयास भइरहेको छ । सिस्नेरीमा १२० मिटरको पहाडलाई काटेर सडक बनाइँदैछ भने मकवानपुरकै तीन ठाउँमा सुरुङ खनेर बाटो बनाइँदैछ । महादेव डाँडामा ३.३५, धोन्द्रेमा १.६३ र लेन डाँडामा १.४३ गरी जम्मा ६.४१ किलोमिटरको सुरुङ बनाएपछि यो सडकले पूर्व जाने गाडीको दूरी र समयमा ठूलो बचत गर्ने निश्चित छ ।
यो मार्गमा ७१ वटा साना खालका र १६ वटा ठूला गरी लगभग ८७ वटा पुल बनाउने गरी सडक स्वरूप तयार भएको छ । विशेष प्रकृतिका पुल भन्नाले ८० मिटरसम्म उचाइ भएका र ‘स्पान’ पनि चौडा भएका पुललाई बुझिन्छ । यी पुल बनाउने क्षमता नेपाली ठेकेदारमा नभएकाले यसका लागि वैदेशिक ठेकेदारलाई बिडिङ गर्नुपर्ने अवस्था छ ।
यो मार्गको ५३ किलोमिटर हिस्सा मकवानपुरमा, ७.९ किमि ललितपुरमा, ७.६ किमि बारामा र ४ किमि काठमाडांँैमा पर्छ । टनेल र विशेष पुल पनि मकवानपुरमै बन्नेछन् । यो सडक बनाउँदा हजारांँ रुख काट्नुपर्ने भएकाले एक रुख काटे बराबर २५ रुख रोप्नुपर्ने नीति अनुसार राजदमार र निजगढमा इपिल, सिसौ, खयर आदिका बेर्ना पनि उमारिँदै छ ।
निर्माण चरणमा रहेको मौकाका द्रुतमार्गको एक साइडमा साइकल लेन बनाएर निजी अथवा भाडाका साइकल चलाउन पाउने व्यवस्था गर्ने हो भने यो सडकको बीच बीचमा बसोबास गर्ने हजारौँ मानिस पनि सस्तोमा राजधानी लगायत तराईसम्म नै साइकलमा आवतजावत गर्ने थिए । त्यसैगरी विश्वभरका पर्यटकले पनि एकपटक यो पहाड र तराईबीचको दूरी वारपार गर्ने थिए ।
यसका लागि सुरक्षित साइकल लेन, सरसफाइको व्यवस्था, छेउमा हरियालीपूर्ण रुख र फूलको व्यवस्था गर्ने । ठाउँ ठाउँमा विश्राम गर्न केही होटल, विश्रामस्थल बनाउने हो भने यो एउटा रमणीय पदमार्ग पनि बन्नेछ । यसले वातावरणमा पनि कुनै प्रकारको नकारात्मक असर पार्ने थिएन ।
नेपालका अन्य मार्ग यस्ता सीधा छैनन् तर काठमाडौं– निजगढ, बुटवल–भैरहवा– लुम्बिनी, कोहलपुर–नेपालगञ्ज र विराटनगर–इटहरी–धरानका सडकलाई साइकलमैत्री बनाएर सडकवर्ती जनसमुदायलाई आवतजावत गर्न सहजता प्रदान गर्नुका साथै पर्यटकलाई पनि एक दिनको रमणीय यात्राको अवसर दिने नीति लिने हो भने नेपालले लाखौँको इन्धन बचाउनुको साथै यात्रालाई समेत सहज बनाउने थियो । धुलिखेल–बनेपा–काठमाडौँको सडकलाई पनि साइकलमैत्री बनाएमा अहिलेको जाम र प्रदूषणमा आधा फरक पर्नेछ भने दुर्घटनाको सम्भावना न्यून भई मानव जीवनको पनि रक्षा हुनेछ ।
(लेखक प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ ।)