रमाकान्त शर्मा
प्रविधिमा भएको विकासले समाजको हरेक क्षेत्रमा प्रभाव पारेको छ । एक्काइसौँको दोस्रो दशकसम्ममा बीसौँ शताब्दीको अन्त्यतिरभन्दा मानव जीवनका व्यावहारिक पक्षमा मात्र होइन, सोचाइमा समेत आकाश–पातालको भिन्नता आइसकेको छ । हिजो जसले पुस्तक राम्रोसँग पढ्न सक्छ, पढेको स्मरण गर्न सक्छ र परेको बेलामा लेखेर वा बोलेर व्यक्त गर्न सक्छ, त्यही व्यक्ति बौद्धिक कार्यमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्थ्यो । सबैले चाहँदैमा लेखपढ गर्न सूचनाको पहुँचसम्म पुग्न सम्भव थिएन । समाजका टाठाबाठा सम्पन्न व्यक्तिले मात्र ज्ञान प्राप्त गर्ने र प्रयोग गर्ने अवसर पाउँथे । एककिसिमबाट भन्दा सूचनाको स्रोतमा पनि सिन्डिकेट थियो । बीसौँ शताब्दिको अन्त्यतिर एक्काइसौँ शताब्दीको सुरुदेखि ज्ञान प्राप्त गर्ने, प्रयोग गर्ने तौरतरिकामा पनि फेरबदल आयो ।
विगतमा जस्तो राम्रोसँग लेखिएका सामग्री वाचन गर्न, लेख्न र सूचना सङ्कलन गर्न आवश्यक परेको बेला बोलेर वा लेखेर सङ्कलित ज्ञानलाई निकाल्न सक्नु पर्याप्त भएन । ज्ञानका लागि पुस्तकबाहेक अन्य धेरै स्रोतहरू पनि बजारमा आए । सूचना भण्डार गर्ने तथा स्मरण गर्ने कामका लागि अब कम्प्युटरको हार्डडिक्स नै पर्याप्त भयो । हातले अक्षर लेख्नै नसक्ने व्यक्ति पनि ठुल्ठूला प्रतिस्पर्धात्मक परीक्षा पास गर्न सक्ने भए । सूचना प्रविधिको विकासले जीवनका चुनौतीमा समेत परिवर्तन ल्यायो ।
एक्काइसौँ शताब्दीमा सफलता प्राप्त गर्न पहिलेदेखि महŒव दिँदै आएका सीपहरू पढाइ, लेखाइ र गणितीय सीपमात्र पर्याप्त भएनन् । यी सीपको साथै समस्या समाधान गर्ने, समालोचनात्मक चिन्तन गर्ने, सहकार्य गर्ने, सिर्जनात्मकताजस्ता सीपहरू नभएसम्म समाजमा शिक्षित व्यक्तिका रूपमा रहन, रोजगारी र व्यवसायमा सफलता प्राप्त गर्न, विश्वबजारमा बिक्न असम्भवजस्तै भयो । अब एकोहोरो पढाइ, लेखाइ र गणितीय सीपमा मात्र दक्षता हासिल गरेर जीवन सफल पार्न नसक्ने अवस्था सिर्जना भएको छ । शिक्षा दिनु भनेको भविष्यमा जिउन सहज पार्ने, खुसी जीवन बिताउन सहयोग गर्ने हो । यस्ता एक्काइसौँ शताब्दीमा आएर थपिएका सीपहरू सिकाउनका लागि शिक्षण सिकाइका तौरतरिका र मूल्याङ्कनका प्रक्रियासमेतमा परिवर्तनको आवश्यकता भयो ।
हुन त हाम्रा विद्यालयमा हुनुपर्ने अझै तीन÷चार प्रतिशत बालबालिकाले विद्यालयको मुखै देख्न पाएका छैनन् । अभिभावकको आर्थिक अवस्था निकै नाजुक, पढाउनुपर्छ भन्ने चेतनाको कमी, बालबालिकाको विशेष शारीरिक समस्याजस्ता कारणले ती बालबालिका विद्यालयसम्म पहुँच नपुगेको हुन सक्छ । ती बालबालिकालाई विद्यालयमा ल्याउन सचेत समुदाय, स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म लाग्नु टड्कारो आवश्यकता छ भने अर्कोतर्फ विद्यालयमा आएका बालबालिकालाई सानै कक्षामा सिक्नुपर्ने आधारभूत कुराहरूमा दक्षता प्राप्त गर्नेगरी सिकाएर टिकाउनुपर्ने आश्यकता छ । विभिन्न अध्ययनले विद्यालयमा अध्ययनरत तथा तह पूरा गर्दै गरेका विद्यार्थीको उपलब्धि निकै कमजोर देखाएका छन् । तोकिएका परम्परागत सीपमा पनि कमजोर अवस्थामा रहेका बालबालिकालाई विश्वबजारमा बिक्न सक्ने, समसामूहिक समाजमा समायोजन हुन सक्ने सीपहरू सिकाउने कुरा त्यति सजिलो छैन ।
समसामूहिक समाजमा अति आवश्यक र भविष्यमा जीवन जिउन आवश्यक पर्न सक्ने सीपहरू नै सिकाउन नसक्ने हो भने हाम्रो शिक्षाले बालबालिकालाई सहयोग गर्न सक्दैन । शिक्षाको नाममा समयको बर्बादी र झाराटाराइमात्र हुन्छ । आफ्ना पूर्वजहरूले आर्जन गर्दै आएका ज्ञान, सीप, मूल्य–मान्यतासँग परिचित हुने, आलोचनात्मक तरिकाले विश्लेषण गर्ने, उपयुक्त ज्ञान, सीप र प्रविधिलाई संरक्षण गर्ने बानीको निर्माण गरिनुपर्दछ । अर्कोतर्फ ‘वर्डक्लास’ शिक्षा तथा यो विश्वलाई नै एउटा कक्षा मानी पूर्वमा जापानका विद्यार्थीले पश्चिममा अमेरिका तथा विश्वको कुनै पनि देशका विद्यार्थीले आर्जन गर्दै गरेका ज्ञान, सीप र अनुभवहरू हाम्रा विद्यार्थीले पनि पाउनुपर्ने आवश्यकता छ । सम्भव भएसम्म अन्य देशका विद्यार्थीसँग हाम्रा विद्यार्थीले छलफल गर्ने, अनुभव बाँड्ने मौकासमेत जुट्नुपर्दछ ।
एक्काइसौँ शताब्दीका लागि आवश्यक ज्ञान, सीप बालबालिकालाई सिकाउनका लागि समय सान्दर्भिक, विश्व परिवेशअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने, चालु पाठ्यक्रममा परिमार्जन गर्नुपर्ने हुन्छ । तत्काल नयाँ पाठ्यक्रम निर्माण तथा समय सान्दर्भिक परिमार्जन हुन नसकेमा पनि विद्यमान पाठ्यक्रम र पाठ्यपुस्तकको प्रायोगमा पनि त्यस्ता सीपहरूलाई विकास गर्नेगरी शिक्षण सिकाइ गर्नुपर्ने आजको आवश्यकता हो । जसरी सङ्गीतकर्मीले सामान्य बाजाबाट पनि मीठो सङ्गीत निकाल्न सक्छ, त्यस्तै हाम्रा शिक्षकले पाठ्यक्रममा भएका कमिकमजोरी हटाउने र विद्यार्थीलाई आवश्यक ज्ञान, सीप प्राप्त हुने गरी सिकाउन सम्भव हुन्छ । शिक्षकहरूमा आफ्ना विद्यार्थीलाई जीवनमा काम लाग्ने, सीप विश्वबजारमा बेच्न सक्ने सीप सिकाउँछु भन्ने सोच भएमा शिक्षण सिकाइका तौरतरिकामा परिवर्तन गर्न सकिन्छ र पाठ्यक्रममा भएका कमिकमजोरी हटाई सक्षम विद्यार्थी उत्पादन गर्न सकिन्छ । शिक्षक र व्यवस्थापकमा परिवर्तनलाई आत्मसात् गर्ने, त्यसैअनुसार बानीव्यवहारमा परिवर्तन गर्ने इच्छा शक्ति हुनुपर्छ ।
शिक्षकहरूले आफूलाई ‘अपडेट’ गर्ने प्रयास नगर्ने हो भने विद्यार्थीलाई विश्वपरिवेशको शिक्षा दिन सम्भव छैन । कम्प्युटर, नेट, इन्टरनेट र सूचना प्रविधिको प्रयोग गर्न नसक्ने व्यक्ति निरक्षरसरह हो । शिक्षकमा आधुनिक सूचना प्रविधिको सामान्य सीप नभएमा आफूलाई निरक्षरसरह मानी डिजिटल साक्षर हुन प्रयास गर्नुपर्दछ । विद्यालयमा भवन, कक्षाकोठा, शिक्षक दरबन्दी कम भएको वा नभएकालाई मात्र समस्या देख्ने प्रवृत्ति धेरै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापकमा छ । सोचलाई परिवर्तन गरी कुन तरिकाले आफ्ना विद्यार्थीलाई समसामूहिक परिवेशमा सक्षम बनाउने भन्ने कुरालाई चुनौतीका रूपमा लिने हो भने सूचना प्रविधि, नेट, इन्टरनेट, सूचना प्रविधि सहयोगी सामग्रीका रूपमा आउँछन् । सूचना प्रविधिका लागि सामग्रीहरू व्यवस्थापन गर्नु, नेट, इन्टरनेट जडान गर्न पनि विभिन्न स्रोत–साधनको व्यवस्था हुन सक्छ । विद्यालय भवन बनाउन जस्तै सूचना प्रविधि प्रयोगका लागि पनि चन्दादाता र सहयोगीहरू पाइन सक्छन् ।
कतिपय अभिभावकले आफ्ना बालबालिकाले धेरै कुरा कण्ठस्थ सुनाएको, गृहकार्य धेरै गरेको देख्दा खुसी हुने र शिक्षकले सिर्जनात्मक क्षमता विकास गर्नेखालका सीपहरू सिकाउँदा विद्यालयले बालबालिकालाई पढाउँदैन, के–के गर्छन् ? भन्ने गरेको पनि पाइन्छ । अभिभावकले पनि बालबालिकालाई आलोचनात्मक तरिकाले सोच्न, आफ्ना कुराहरू राख्न, समूहमा कार्य गर्न उत्प्रेरित गर्नुपर्छ । विद्यालयले अभिभावक शिक्षामार्फत समुदायलाई यस्ता विषयमा सचेत बनाउन सक्छ । धेरै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूमा अझै पनि हाम्रो कार्यकालमा विद्यालयको तह बढाउन, भवन थप्न सकेमा आफू सफल भएको ठान्ने गरेको पाइन्छ । यस्तो सोचमा परिवर्तन गरी कसरी विद्यार्थीको सिकाइलाई प्रभावकारी र जीवनोपयोगी बनाउन सकिन्छ ? भन्ने चिन्तामा लाग्नुपर्ने आवश्यकता पनि छ ।
संविधानमा माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकारले चाहने हो भने शिक्षामा धेरै परिवर्तन सम्भव छ । केही नगरपालिका तथा गाउँपालिकाले पालिकाभित्रको शिक्षाको अवस्थालाई देखिनेगरी सुधार गरिसकेको अवस्था पनि छ । यसका लागि स्थानीय तहले पालिकाभित्रको शिक्षाको अवस्था आँकलन गर्ने, सुधारका सम्भावनाहरू खोज्ने, दीर्घकालीन सोचसहितको शैक्षिक योजना बनाउने र प्रतिबद्ध भएर कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता छ । कम्प्युटर किनेर बाँड्ने कार्यले मात्र न त शिक्षण सिकाइमा सूचना प्रविधको प्रयोग हुन्छ न त बालबालिकाले एक्काइसौँ शताब्दीका लागि आवश्यक सीपहरू नै सिक्न पाउँछन् । जनशक्ति सक्षम नभएसम्म समृद्ध समाज सम्भव नहुने हुनाले पनि प्रदेश सरकार र सङ्घीय सरकार बालबालिकालाई जीवन जिउन सक्ने बनाउन शैक्षिक सुधारका लागि लाग्नुपर्दछ ।
(लेखक शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख हुनुहुन्छ ।)