logo
२०८१ मंसिर ११ मंगलवार



मुलुकको छवि चम्काउने कूटनीति (सम्पादकीय)

विचार/दृष्टिकोण |





वर्तमान विश्वमा कूटनीतिको महŒव बढ्दै तर बदलिँदो छ । परराष्ट्र नीति वा कूटनीति निरपेक्ष अवधारणा होइनन् । समय, सन्दर्भ, परिवेशले यस्ता नीति निर्धारण गर्न सहयोग गरेका हुन्छन् । परराष्ट्र नीति राष्ट्रले बनाउँछ, यसका मापदण्ड र आधारमा बन्ने कूटनीति व्यक्तिका दक्षता, अनुभव र ज्ञानका आधारमा पनि प्रचलन र प्रदर्शित हुन्छन् । त्यसैले परराष्ट्र नीतिमा राज्य र कूटनीतिमा व्यक्ति प्रभावी रहन्छन् । आधुनिक नेपालका परराष्ट्र र कूटनीतिक सम्बन्ध प्रजातन्त्रको स्थापनासँगै औपचारिक रूपमा अगाडि बढेको मानिन्छ तर यसअघि नेपालले अपनाएका आन्तरिक र बाह्य कूटनीतिक दक्षताकै कारण नेपाल कस्तै प्रतिकूल समयमा पनि औपनिवेशिक दलनमा परेन । पुर्खाहरूको यही योगदानका आधारमा नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र रहेको गौरव हामीसँग छ । नेपाली कूटनीतिका विशेषतालाई आधुनिक कोणबाट बुझ्न पनि आवश्यक छ । तत्कालीन आवश्यकता, भूबनोट र समय, सन्दर्भले यस्ता नीति निर्धारण गर्ने भएकाले नेपालले पनि विगतदेखि मित्रराष्ट्रहरूसँग गतिशील कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्दै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पूर्वराजदूत सङ्घद्वारा बुधबार आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’ मा राष्ट्रिय हितलाई सर्वोपरि राखी मित्रराष्ट्रहरूसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा जोड दिएर वर्तमान आवश्यकता सम्बोधन गर्नुभएको छ । नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई परिष्कृत गर्दै हाम्रो परराष्ट्र नीतिको मूल मर्मअनुसार कूटनीतिक माध्यमद्वारा राष्ट्रको गरिमा सुदृढ तुल्याउँदै जानु आवश्यक छ । यो निरन्तर प्रक्रिया पनि हो । राजनीतिक सङ्क्रमणकाल किनारा लगाउँदै गर्दा यहाँको राजनीतिक स्थायित्व, आर्थिक विकास, मुलुकको अन्तर्राष्ट्रिय व्यक्तित्व अभिवृद्धि गर्न नेपाली कूटनीतिले सफलता प्राप्त गर्दै आएको छ । संवादमार्फत नेपालले गरेको सशस्त्र द्वन्द्व व्यवस्थापन र विशिष्ट राजनीतिक परिवर्तनलाई विश्व समुदायले आश्चर्यका रूपमा हेर्दै हार्दिकतापूर्वक स्वागत गर्नुका पछाडि नेपालको कूटनीति कला पनि महŒवपूर्ण मानिएको छ ।
मुलुकको व्यक्तित्व निर्माण र अन्य मुलुकसँगको सम्बन्धलाई परिणाममुखी तथा प्रगाढ बनाउन राजदूतहरूको भूमिका महŒवपूर्ण हुनेगर्छ । राजदूत राज्यका प्रतिनिधि हुने भएकाले उनीहरूलाई साधारण व्यक्तिभन्दा माथि र राज्यभन्दा तलका विशेष पात्र भनेर बुझ्दा फरक पर्दैन । द्वन्द्वमा फसेका कतिपय मुलुकलाई सफल कूटनीतिज्ञले द्वन्द्वबाट मुक्ति दिन सफल भएका छन् । व्यक्तिको कूटनीतिक कौशलमा कतिपय दुई देशबीचका द्वन्द्व भ्रातृत्वमा परिणत भएका छन् भने कतिपय अवस्थामा कूटनीतिक अपरिपक्वता र सुझबुझको अभावमा मुलुकबीचका शताब्दीऔँ पुराना सम्बन्धमा उतारचढाव आएका देखिन्छन् । यसर्थ कूटनीतिलाई पेशा होइन कला हो भनेर बुझ्न आवश्यक छ । कूटनीति फगत जागिरको ‘सेवा समूह’ मात्र नभएर राजनीति, भूराजनीति र आर्थिक नीतिलाई समग्रमा राष्ट्रहितार्थ परिचालन गर्नसक्ने दक्षता पनि भएकाले यसलाई साँगुरो अर्थमा बुझ्न र प्रयोग गर्नहुँदैन ।
पूर्वराजदूत, राजदूत वा राजदूत हुन आकाङ्क्षीहरू एउटै फाँटमा विचरण गर्ने प्राणी भएकाले पूर्वराजदूतले वर्तमान र वर्तमानले आगामी राजदूत पुस्तालाई ज्ञान तथा अनुभवजन्य शिक्षा दिन सक्छन् । एउटा मुलुकले आफ्नो मुलुक र नागरिक वा त्यहाँको राजनीतिक–सामाजिक जीवनलाई कसरी हेरिरहेको छ र कहाँ सच्याउन आवश्यक छ भन्ने अनुभव पूर्व राजदूतहरूमा रहेका हुन्छन् । यही अनुभवका साथ नयाँ राजदूतहरूले मुलुकको प्रतिनिधित्व गर्दै आफ्नो कूटनीतिक कला प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसैले राजदूतीय अनुभव आदानप्रदानको स्थायी संयन्त्र यस दिशामा सहयोगी हुन सक्छ । पछिल्ला दशक आर्थिक कूटनीति र विकास साझेदारीले विश्वभरमा पराराष्ट्र सम्बन्ध र कूटनीतिको लयमा व्यापक परिवर्तन आएका छन् । राजनीतिक रूपमा शत्रुतापूर्ण अवस्थामा रहेका मुलुकहरूबीच पनि आर्थिक सामीप्यले आपसी निर्भरता बढाउँदै गरेको छ । यस्तै विकासशील तथा अल्पविकसित मुलुकहरूले पनि आफ्ना कूटनीतिक दक्षतामार्फत विकास र समृृद्धिमा विश्वको ध्यानाकर्षण गर्न सफल हुँदै आएका छन् । यस्तो अवस्थामा नेपालका कूटनीतिज्ञहरूलाई धेरै सुखद अवसर मिलेको छ । उदार अर्थतन्त्र, खुलाबजार, प्रजातान्त्रिक प्रणालीमार्फत नेपालले सुरु गरेको समृद्धि र उन्नयनको यात्रालाई कूटनीति क्षेत्रका पूर्व तथा वर्तमान व्यक्तित्वले थप गति प्रदान गर्न सक्नेछन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?