logo
२०८१ मंसिर ११ मंगलवार



नयाँ वर्ष कहाँ कसरी ?

विचार/दृष्टिकोण |




विश्वनाथ खरेल

आफ्नो रीतिथिति, धर्म, संस्कृति, भेषभूषा आदि आधारमा प्रत्येक देशले नयाँ वर्ष मनाउँदै आएका छन् । यसैलाई मध्यनजर गरेर आफ्ना चाडपर्व मनाउने चलन संसारभरि नै रहि आएको छ । संसारमा दुईकिसिमको पात्रो प्रचलित छ । एउटा चन्द्रमासअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हँुदा नयाँ वर्ष पनि तिथिकै आधारले मनाइन्छ भने अर्को सौर्यमासअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हँुदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाइन्छ । नेपालमा सौर्यमासअनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । तर, अन्य धेरै चाडपर्व प्रायः चन्द्रपात्रोअनुरूप नै मनाइँदै आएको छ ।
नेपालमा नयाँ वर्ष सुरु भएको अवसरमा आफन्त, साथीभाइ र इष्टमित्रहरूलाई एक–अर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । यस दिनलाई नयाँ उत्साह, उमङ्ग, जोश, जाँगर, शक्ति र सहयोग प्राप्त गर्ने दिवसका रूपमा मनाउँछौँ । विश्वका कतिपय देशहरूमा जनवरी १ तारिखदेखि नव वर्ष आ–आफ्नै किसिमले मनाउने परम्परा रहेको छ । कतिपय देशमा भने जनवरी १ मा नभई देशको पात्रोअनुसार नयाँ वर्ष मनाइन्छ ।
भारत
भारतमा ठाउँपिच्छे विभिन्न किसिमले नयाँ वर्ष मनाइन्छ । बङ्गालमा नयाँ वर्षको अवसरमा देवीदेवताको पूजा गरिन्छ । साथै रवीन्द्र सङ्गीत र हाँसखेल, ख्यालठट्टा, नाचगान गरेर मनाइन्छ । कुमाउ र गढवाल प्रदेशमा नयाँ वर्षको दिन पहेँलो लुगा लगाएर आफ्ना बन्धुजनहरूलाई उपहार प्रदान गरिन्छ । राजस्थानमा मीठो पकवान बनाएर बाँड्ने, खुवाउने गरिन्छ । विहारमा महिलाले जौका बाला सजाएर गीत गाउँदै शुभकामना दिने गर्छन् । आसाममा शुभ वस्तुलाई हेरी त्यस वर्षभरि नै शुभ हुनेछ भन्ने धारणा पाइन्छ । पञ्जावमा गणेश र लक्ष्मीको पूजा गरी शुभकामना व्यक्त गर्दै नाचगानको आयोजना गरिन्छ । कास्मिरमा देवीदेवताका शक्तिपीठहरूमा पूजाआजा गर्ने, आफ्ना छोरीको घरमा मीठा–मीठा खानेकुरा खाई सुखद जीवनको शुभकामना व्यक्त गरिन्छ ।
चीन
यस दिन चिनियाँ रातभरि जागा रहन्छन् र आफ्ना मान्यजनहरूबाट आशिर्वाद लिई राम्रो भोजन ग्रहण गरी सफा–सुग्घर भई मनाउँछन् ।
थाइल्यान्ड
आफ्नो घर–आँगन सफा–सुग्घर गरी दीपावली मनाउने, बौद्ध गुम्बाहरूमा गई प्रार्थना गरेर आफन्तहरूलाई शुभकामना आदान–प्रदान गरेर बडो उमङ्गको साथ यो चाड मनाइन्छ ।
कोरिया
यहाँ नयाँ वर्ष मनाउन तीन दिनसम्म सरकारी बिदा दिइन्छ । तीन दिनसम्म पसलहरू बन्द हुने गर्छन् । यस दिन चामलको रक्सी तथा चामलको रोटी अनिवार्य रूपमा खान्छन्÷खुवाउँछन् । यसो ग¥यो भने एक वर्ष आयु बढ्छ भन्ने
जनविश्वास छ ।
कुवेत
यस दिन रातभरि घरमा दीपावली गरी साथीभाइबीच नाचगान गरी खुसीले शुभकामना आदान–प्रदान गरिन्छ ।
मेक्सिको
यस दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ । एउटै चर्चमा आएर सयौँ मानिस विवाहबन्धनमा बाँधिन्छन् भने मन नपरेका जीवनसाथीसँग पनि त्यही दिन छोडपत्र गरिन्छ र मन परेको जीवनसाथी रोजिन्छ ।
अमेरिका
नयाँ वर्षको दिनमा अभिनन्दन समारोह गरेर मनाउने चलन छ ।
जापान
नयाँ वर्षको अवसरमा हरिया वृक्षहरू घरवरिपरि सजाएर शुद्ध जलको प्रयोग गरिन्छ । यस दिनमा आफ्ना मान्यजनबाट आशिर्वाद लिएर मीठा फलफूल खाएर र आफूले लिएको ऋण तिर्ने चलन छ ।
बेलायत
डिसेम्बर ३१ देखि नै घर–घरलाई झिलिमिली पारिन्छ । यस दिन नाचगान गरेर, नयाँ कपडा लगाएर नयाँ वर्ष मनाइन्छ । रातको ठीक १२ बजे बढाइँ हुन्छ र त्यसको अर्थ हो– पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुवात हुनु ।
फ्रान्स
नयाँ वर्षको अवसरमा फ्रान्समा बसिली दिवसका रूपमा दीपावली गर्ने चलन छ ।
म्यानमार
नयाँ वर्षको दिन शान्ति र समृद्धि प्राप्तिका लागि भगवान् बुद्धको पूजाआजा र प्रार्थना गर्ने चलन छ । बर्मेली समाजमा नव वर्षको यो पर्वलाई विजान भनिन्छ ।
आयरल्यान्ड
यो वर्षमा शुभ प्रतीक हेर्ने चलन छ । त्यहाँ शुभका रूपमा कालो वस्तुलाई मानिन्छ । तसर्थ काला, लामा कपाल भएका युवकयुवती आफ्नो घर प्रवेश गर्नुलाई शुभ मानिन्छ ।
जर्मनी
ठूलो एउटा धातुको भाँडोमा पानी राखिन्छ । त्यसमा पैसा खसाएर आफ्नो आकृति हेरी एक वर्षको भविष्यवाणी गर्ने चलन छ ।
इन्डोनेसिया
नव वर्षलाई गाङ्लुगन भनिन्छ । त्यहाँ मानिस नयाँ लुगाफाटा पहिरिन्छन् । मीठा–मीठा भोजनहरू खान्छन् र एक–अर्कामा बधाइ एवम् शुभकामना व्यक्त गर्छन् ।
स्पेन
नयाँ वर्षको दिन कम्तीमा पनि एक दर्जन अङ्गुर खाएर मनाउने चलन छ ।
भ्याटिकन सिटी
नव वर्षको बिहान शुभसङ्केतका रूपमा आकाशमा सेतो परेवा उडाइन्छ । सिटी चर्चको हातामा एउटा केक काटिन्छ र त्यसलाई नव वर्षको प्रसादस्वरूप ग्रहण गरिन्छ ।
स्कटल्यान्ड
नव वर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरुष वा नारीको प्रवेश भएमा अशुभ ठान्छन् भने अग्ला र कालो केश भएका पुरुष वा नारीहरूको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतीक मान्छन् ।
इरान
नव वर्षको आगमनलाई नौँराज भनिन्छ । जौ र गहुँका अङ्कुरणमा दियो बालेर शुभकामना साट्दै रमाइलोसँग उत्सव मनाइन्छ ।
पोर्चुगल
साँढे जुधाएर रमाइलो गर्नुको साथै सहरभरि धुनी जगाएर शुभकामना आदान–प्रदान गरिन्छ । सो अवसरमा पटकाबाजी गरिन्छ ।
दक्षिण अफ्रिका
नयाँ वर्षको दिनमा युवकयुवतीलगायत विवाहयोग्य पुरुष–स्त्रीको सामूहिक विवाह गर्ने चलन छ ।
मङ्गोलिया
यस दिन मङ्गोलियनहरू रातभरि जागा रहेर आफ्ना आमा, बाबु वा मान्यजनबाट आशिर्वाद प्राप्त गरेर एवम् मीठा खानेकुरा खाएर मनाउँछन् ।
विश्वमा पुसको तेस्रो हप्ताको मध्य अर्थात् जनवरी १ तारिखदेखि नयाँ वर्ष प्रारम्भ हुन्छ । यसरी नव वर्षको स्वागत तथा अभिनन्दन गर्ने कलाकौशल आ–आफ्नो देशमा आ–आफ्नै किसिमको रहेका छन् । समष्टिगतमा हेर्दा संसारका विभिन्न राष्ट्रहरूमा नव वर्ष उत्सव विशेष उल्लासपूर्ण वातावरणमा मनाउने गरिन्छ ।
विश्वका सम्पूर्ण मानव समुदायहरू नव वर्षको उपलक्ष्यमा आपसमा बधाइ शुभकामना, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दछन् । पुरानो सालमा घटेका तीतामीठा अनुभवहरू चटक्कै बिर्सी बाँकी कतिपय कार्यहरू सफल गराउने विश्वाससाथ समस्त मानव समुदायका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ ।

(लेखक नेपाल सरकारको पूर्वयोजना अधिकृत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?