logo
२०८१ मंसिर ११ मंगलवार



व्यवस्थित दाहसंस्कार

विचार/दृष्टिकोण |




कमल रिजाल

पशुपति क्षेत्र विकास कोषले बागमतीतटमा चिम्नीयुक्त दाउराको चितास्थल बनाउन लागेको छ । केही दिनअघि यसै दैनिकमा आएको समाचार हो, यो । समाचारअनुसार हाल आर्यघाटमा विद्यमान (परम्परागत र विद्युतीय दुवै) चितास्थलले नपुगेपछि थप बनाउन लागिएको हो । यो राम्रो कुरा हो, विद्यमान संयन्त्रले नभ्याएपछि थप खोजी हुनुपर्छ, गर्नैपर्छ तर अब पनि दाउराकै प्रयोग गर्नेतर्फ सोच बनाउनु राम्रो होइन । दाउराको चिम्नीयुक्त चितास्थल बनाउने खर्चमा केही थपथाप गरे विद्युतीय शवदाह यन्त्रकै क्षमता बढाउन सकिन्छ । बढी नै थप्नुपरे पनि खुट्टा कमाउनुहुन्न सम्बद्ध निकायले । विद्युत्् खपतमा पनि खासै समस्या छ जस्तो लाग्दैन । नेपाल विद्युत्् प्राधिकरण आफैँ उपभोक्तासँग बढी विद्युत् खपतको माग गरिरहेको छ । यसको अर्थ हो– प्राधिकरणसँग बिजुली प्रशस्तै छ ।
अहिले समयको माग नै विद्युतीय शवदाय यन्त्र हो भन्ने बिर्सन हुन्न कसैले पनि । हरेक दृष्टिकोणले यसको उपयोगिता बढी देखिएको छ अहिलेको परिप्रेक्ष्यमा । दाउराको प्रयोगले एकातर्फ वातावरण दूषित गराउँछ भने अर्कोतर्फ वन फँडानीको समस्या जगाउँछ । यसले गर्ने भनेको वातावरण प्रदूषण नै हो । साथसाथै समय बचतको मूल्यलाई पनि बेवास्ता गर्नुहुँदैन । दाउरा प्रयोगमा एउटै शव जलाउन तीन घन्टाभन्दा बढी समय लाग्छ । जब कि विद्युतीय शवदाह यन्त्रमा एक घण्टाभित्र हुन्छ । सङ्घीय राजधानी काठमाडौँवासीलाई यसै पनि समयको अभाव छ । जहाँ जहिले दौडादौड र कुदाकुद हुन्छ । सुविधासम्पन्न अस्पताल बढी यतै भएकाले जिल्लातिरबाट यता आउनेहरू पनि उत्तिकै हुन्छन् । यथाशक्य छिटो काम सकेर जानुको महŒव छुट्टै हुन्छ उनीहरूलाई । सुरुमा विद्युतीय शवदाह यन्त्रको प्रयोगमा त्यति रुचि राख्दैनथे प्रायः नेपाली । शवदाह अघि र पछि गर्नुपर्ने परम्परागत संस्कारका कारण असजिलो मान्ने गरिएको हुनुपर्छ त्यतिबेला । उनीहरूलाई यसतर्फ आकर्षित गर्न निकै प्रयास नगरेको होइन कोषले । सञ्चारमाध्यमहरूले समेत होस्टेमा हैँसे गर्नुपरेको थियो यसमा । तीमध्ये केही लेख तथा टिप्पणी यसै दैनिकमै प्रकाशित भएका थिए ।
अहिले निकै परिवर्तन आइसकेको छ, परम्परागत अवधारणामा । विद्युतीय शवदाह गृहमै पनि त्यस्ता परम्परागत कृत्य पूरा गर्न सकिने व्यवस्था मिलाइएको बुझिएको छ । त्यसबाट पनि यसतर्फको आकर्षण बढेको हुनुपर्छ । यसको अर्थ यससम्बन्धी परम्परागत मान्यतामा पूरै परिवर्तन आइसकेको छ भन्ने होइन । अहिले पनि पुरानै मान्यताका पछि लाग्ने पनि थुप्रै छन्, गाउँ–समाजमा । उनीहरू अहिले पनि सकेसम्म दाउराकै प्रयोग गर्न रुचाउँछन्, चाहन्छन् तर बिस्तारै त्यसमा पनि परिवर्तन आउनेमा शङ्कै छैन । धर्मसंस्कार र संस्कृति भनेका मानिसको भावनासँग जोडिएका विषय हुन् । यसमा जबरजस्ती गर्नुहुँदैन । गर्ने गराउने सबै समय नै हो । घाउ लगाउने पनि समय, निको पार्ने पनि समय । परम्परा बसाउने पनि समय, परिवर्तन गराउने पनि समय । उसको अगाडि झुक्न सबैले बाध्य हुनुपर्छ, भएका छन्, हुँदै जानेछन् ।
विवाह, व्रतबन्धकै कुरा गर्ने हो भने पनि आफ्नै आँगन पोल्नुपर्छ भन्थे हाम्रै पूर्वजहरू अघि कुनै बेला तर अहिले पार्टी–प्यालेसमा बसेर खुसीसाथ नातिनीको गोडाको पानी खान थालेका छन् हजुरबाहरू । भोजभतेरका लागि खेतका गरा र बारीका पाटा खोजिन्थे कुनै बेला । त्यस्ता काम पनि पार्टी–प्यालेसमै सम्पन्न हुने गरेका छन्– हिजोआज । खाने भाँडामा दुना, बोहता र टपरीको खोजी हुन्थ्यो । शुद्ध पनि हुने र सफाइको झन्झट पनि नपर्ने भएकाले तिनका खोजी भएका होलान् तर अहिले स्टिल र प्लास्टिक प्लेटहरूले नै तिनका काम गरिरहेका छन् तर कसैले पनि प्रश्न उठाएका छैनन् यसबारे ।
अन्त्येष्टि संस्कार पनि त्यस्तै हो । जरुवा पानी खोज्दै पँधेरातिर धाउने गर्थे पहिलेका मानिस । एघाराँै दिनसम्म गर्नुपर्ने कार्य पँधेरामै सकेर क्रियाकर्म कर्ताको खानपानको प्रबन्धसमेत पँधेरामै गर्नुपर्ने हुन्थ्यो तर अहिले यस्ता कार्यसमेत सके घर–आँगनमै सम्पन्न भइरहेका होलान् नभए पनि मठमन्दिर वा आश्रमघरतिर भने पक्कै हुने गरेका छन् । किरियापुत्री बस्नकै लागि झन्डै पाँच दर्जनजति कोठा पशुपति क्षेत्र विकास कोषअन्तर्गत नै बनेका छन् । अन्यत्र पनि त्यस्ता आश्रम थुप्रै पाइन्छन् । नपुग स्थान थपिँदै गएका छन् । उल्टै कोठा नपाएर हैरान हुनेहरू फेलापर्न थालेका छन् । कतिले एक÷दुई रात खुला चौरमा बिताएर भएर पनि पालो कुर्ने गरेका छन्– कोठाका लागि । खोई त कहाँ कसले औलो ठड्याउन सकेका छन् ? छैनन्, आखिर सक्दैनन् पनि किनकि समयको माग नै यही जो भइसकेको छ ।
आन्तरिक प्रशासनमा पनि कोषले ध्यान दिनुपर्ने क्षेत्र धेरै छन् । किरियापुत्रीका सुविधाका लागि आफ्नैमातहत सहकारीबाट बाहिरभन्दा आधा सस्तो मूल्यमा समान उपब्ध गराउने गरिएको दाबी गर्छन् । कोषका कर्मचारीहरू तर सामग्री कस्ता मिल्छन् भने किरियापुत्रीले लगाउनुपर्ने मेखला नै तीन दिनभन्दा बढी टिक्दैनन् । दस दिनमा तीनवटा मेखला फेर्नुपर्ने अवस्था छ । यो कसैप्रति आक्षेप होइन । त्यस्तै समस्या शवदाह संस्कारमा पनि छ, खासगरी परम्परागत दाहसंस्कारको पक्षमा । सेवाग्राही आफैँले दाहसंस्कार गर्न चाहे पहिलो कुरा समान नै पूरा पाउँदैनन् । दोस्रो कुरा आफैँले बोकेर ल्याउनुपर्ने समस्या छ । कोषकै तर्फबाट जलाउन चाहने सेवाग्राहीले दाहक कर्मचारीको घुर्की र ब्ल्याकमेलको सामना गर्नुपर्ने हुन्छ । कोषले घाट र दाहसंस्कारको शुल्क लिँदा दाहकको ज्याला पनि जोडेर लिएको हुन्छ तर दाहकलाई छुट्टै नजराना न टक्र्याई सेवाग्राहीले छुट्टी पाउँदैनन् । यस्तो किन ? आर्यघाटमा समेत यस्तो चल्छ भने कहाँ पुगेर मुक्तिको सास फेर्ने सेवाग्राहीले । दाहक शुल्क नपुग भए बढाउनुपर्छ, कोषले पनि ध्यान दिनुपर्छ तर एकपटक तिरिसकेका सेवाग्राहीलाई थप शुल्कको कुरा उठाएर मानसिक पीडा थप्नुहुँदैन । मृत्यु अवश्यम्भावी छ । सबैले एक दिन जानैपर्छ । ढिलोेचाँडोको कुरा हो, सबैको जाने बाटो त्यही हो । अन्यत्रको कुरा छाडिदिउँ कहाँ के भइरहेको छ । कम्तीमा आर्यघाटमा मात्र भए पनि सफा, स्वस्थ र स्वच्छ प्रशासन हुन सकोस् ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?