logo
२०८१ मंसिर ११ मंगलवार



सार्वजनिक सवारी : सेवा कि सास्ती

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल

पञ्चायतकालकै कुरा हो यो । तत्कालीन साझा बसमा यात्रा गर्दा व्यहोर्नुपरेको कठिनाइप्रति व्यङ्ग्य गर्दै ‘मह’ जोडीले निकालेको गाउँखाने कथाको प्रहसनमा सोधिएको थियो– ‘पहिले पस्नै गाह्रो, पसेपछि निस्कन झन् गाह्रो के हो ?’ ठ्याक्कै त्यही अवस्था छ अहिले काठमाडांँसहित देशैभरिका सार्वजनिक यातायातको । खै कसले गर्ने हो खबरदारी ?
न समयमा छुट्छन्, न समयमा पुग्छन्, न सिट र क्षमताअनुसार यात्री भर्छन्, न तोकिएको मापदण्ड पूरा गर्छन् । अहँ, त्यस्तो केही पूरा गर्दैनन् । त्यसैले अकल्पनीय दुर्घटना हुन्छ । आफू पर्छन् र अरूलाई पनि पार्छन्, मार्छन् । तर चेत्दैनन् । सिन्की खाँदेझैँ मान्छे खाँद्छन् । पञ्चमीका पाइला चाल्दाझैँ चलाउँछन् सवारी । बित्ता–बित्तामा यात्री चढाउँछन् र झार्छन् । चढाउने र झार्ने ठाउँको ठेगान छैन, भए पनि टेर्दैन कसैले । बिगारिसकेका छन् बानी सबैले । बाटा पनि उस्तै छन् फेरि ।
कुनै महिना पुग्न लागेका गर्भवती महिलालाई सार्वजनिक बसमा यात्रा गरायो भने थापाथलीको प्रसूतिगृहमा लैजानै पर्दैन । झ्याँक्ने, उचाल्ने र थचार्ने गर्नेबित्तिकै नवजात शिशुले तोकिएको समय अगावै अवतरण गर्न बेर लाग्दैन । सडकमा पैदल हिँड्ने मान्छेसँग प्रतिस्पर्धा गरेझैँ मानेर साह्रै ढिलो गरेको ठानेर कुनै यात्रुले ‘जाउँ न हो गुरु’ भन्यो भने झम्टन्छन् उल्टै ।
बिहान बेलुकाको समयमा सकभर कुनै पनि सार्वजनिक सवारी साधनमा भित्र छिर्नै सकिँदैन । कसैगरी छिरियो भने ढाड (कम्मर) सोझो पारेर उभिन पाइँदैन, मिल्दैन । कतिपय साधनमा त समाउने डण्डी र झोतो पनि हुँदैन । घ्याच्च रोक्दा, च्यापिँदा, ठोक्किँदा, कुल्चाइमा पर्दा अइया र आच्छु ग¥यो भने सवारीचालक र सहचालकको खप्की खानुपर्छ । ‘सुविस्तासँग यात्रा गर्न खोज्नेले निजी सवारी साधन किनेर गए हुन्छ नि !’ बोल्यो कि पोल्यो । यस्तो पीडाबाट पार लगाउने निकाय कुन छ ?
काठमाडौँको जोरपाटी ओरालोमा पुगेपछि १५, ३० र ४५ मिनेटसम्म रोक्ने चलन रहेछ । आफ्नै यातायात सेवाको अर्को बस नआउन्जेलसम्म रोक्ने । त्यस्तो चलनले यात्रुहरू हैरान ! बाबा गोकर्णेश्वरको बस ४५ मिनेटसम्म रोकेपछि सहन सकेनन् यात्रुले र आवाज उठाए, चर्को विरोध जनाए ।
तर चालक र कण्डक्टरले त सित्तैँमा लैजान चढाएका यात्रीझैँ झपारे । सुन्दै नरमाइलो लाग्ने । विकल्प छैन कता भाग्ने, कोसँग हो गुहार माग्ने ? पैसा तिरेर यात्रा गर्दा पनि गाली नसुनीकन यात्रा गर्न पाउने कुनै यात्री भए भाग्यमानी हुन् । नत्र सार्वजनिक सवारी साधनमा चढेपछि अप्रिय वचन सुन्दिनँ भनेर सुखै छैन । सिट नपाएपछि ढोकामा उभिने र सिटका डण्डी समातेर अडिनेलाई सहचालकले पछिपछि सर्न भन्दा अटेर गरेको जस्तो लागेमा गरिने सम्बोधन त साहुले आसामीलाई हकारेजस्तै हुन्छ । दिनहुँ त्यस्तै सुन्दै यात्रा गर्नुपर्ने बाध्यता छ । सभ्य, शिष्ट, मिष्ट भाषा र व्यवहार त सवारीसाधनका कर्मचारी र यात्री दुवैलाई सुपाच्य नहुनेजस्तो । नव आगन्तुकले त्यस्तै व्यहोर्नुपर्दा लाग्छ कस्तो कस्तो !
जति चाक्ला र फराकिला बाटा भए पनि जाम हुन्छ उस्तै । सार्वजनिक सवारीका साधनले नै हो अधिकांश ठाउँमा जाम गराउने । पटक पटकभन्दा एकैपटक धेरैजना यात्री कोचेर, पाइला पाइलामा रोकेर, आफूले गाली खाएर र अरूलाई पनि सरापेर सेवा पु¥याएको ठान्ने कुनै निकाय छ नेपालमा भने त्यो हो सार्वजनिक यातायात । न कुनै यात्रीले राम्रो सेवा पाएँ भन्छ, न कुनै यातायातले राम्रो सेवा पु¥याउँछ र स्याबासी लिन्छ, दिन्छ । छैन त्यस्तो ।
सेवा दिनेलिने दुवै सन्तुष्ट नहुने सार्वजनिक सवारीलाई सन्तुष्ट हुने बनाउने अवस्थामा पु¥याउन के गर्नुपर्ने होला ? त्यतातिर पनि सोच्ने, सुधार्ने उपाय खोज्नतिर अब ढिलो गर्न हुन्न कि ! कि सधैँ यस्तै तरिकाले चल्छ भन्ने सोचमा हो जिम्मेवार निकाय ? त्यसो हैन भने खै के छ सास्तीबाट उम्कने उपाय ? काठमाडौँको नयाँ बसपार्कबाट भक्तपुर जान दुई घण्टा लाग्छ, लगाइन्छ । कलङ्की, रत्नपार्क र सातदोबाटोबाट साँखु पुग्न साढे दुई घण्टा । त्यति समयमा त पैदलै यात्रा गरेर पनि पुग्न सकिन्छ होला झोलाझाम्टा नभएमा । त्यस्तै हो अन्यत्र जहाँ पुग्न खोजे पनि । बाटामा उत्रेर लघुशङ्का गर्ने ठाउँ खोज्दा कतै पाइँदैन, खुला दिसामुक्त देश घोषणा भैसकेपछि पनि । गन्तव्यमा पुगेर ओर्लेपछि दीर्घशङ्का गर्ने कतै ठाउँ भाग्यले भेटिए रु. १०।– तिर्नैपर्छ, लघुशङ्का गरेको सजाय हो पाँच रुपियाँ । बाटाभरि भोजनालय छन् जताततै, शौचालय छैनन् ।
लामो दूरीका सवारी साधनले जहाँतहीँ रोक्दैनन् । जहाँ तिनीहरूको चिनजान र खानपान हुन्छ । रोके वापतको भत्ता मिल्छ, अन्तको तुलनामा जे किने पनि मूल्य दोब्बर तिर्नुपर्छ यात्रुले । त्यहाँबाट यताउता गरे बस छुट्छ । बस मात्र छुटे पनि त्यति फरक पर्दैनथ्यो, मालसामान र झोलाझाम्टा पनि लैजान्छ । हारगुहार गर्दा, हप्की र दप्की सुन्नुपर्छ । सास्ती हो कि सेवा हो यो ?
सुगम क्षेत्रमा पर्ने कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट काठमाडौँसम्मको दूरी सवा तीनसय किलोमिटर छ । बिहान साढे पाँच बजे छुटेको बस बेलुका सोही समयमा पुगेमा ठीकै मान्नुपर्छ । त्यस्तै बेलुका साढे ६ बजे छुटेको बस बिहान सोही समयमा पुगेमा राम्रै भन्नुपर्छ । सात आठ घण्टामा पुग्नुपर्ने ठाउँमा १२ घण्टासम्मको यात्रा गर्दा हुने वा व्यहोर्नुपर्ने कठिनाइका बारेमा आफँै अनुमान गर्न सकिन्छ । न समयमा पाइन्छ खाना खान, न त पाइन्छ शौचालय जान । प्यास लागे पनि पानी पिउँदैन यात्रीले, न खान पाउँछ भोक लागेमा । पोखराबाट तौलिहवासम्मको दूरी सवा दुईसय किलोमिटर स्याङ्जा पाल्पा हुँदै जाँदा । पाँच छ घण्टामा पुग्न सकिने ठाउँमा १२ घण्टामा पु¥याए भाग्य ! यस्तै हो अन्यत्रबाट आउने–जाने बसको यात्रा । जात्रा देखिन्छ । देखाउँछन् । नचाहेर पनि हेर्न र व्यहोर्नुपर्छ । यस्तो सास्ती कहिले टर्छ ? सम्बन्धित निकायले के गर्छ, के हेर्छ ?
नहुनुको तुलनामा सुविधा भएको मान्नुपर्ने होला । तर समय र जमानानुसार भएको सुविधा दिएको मान्न सकिन्न, पाइन्न । लाग्ने शुल्कका बारेमा गुनासो नगरौँला रे लौ । तर शुल्क तिरेपछि पाउनुपर्ने न्यूनतम सुविधा त दिइनु÷हुनुप¥यो नि ! यात्रीले सेवाप्रदायक संस्थाका प्रतिनिधि र सेवाप्रदायक संस्थाका कर्मचारीले यात्रीहरूसँग सभ्य भाषामा सवाल जवाफ गर्दा पनि त केही बिग्रन्न होला नि ! होलान् सवारी चालकहरू र सह–चालकहरू सुशिक्षित नभएका, तालिम नपाएका पनि ।
सवारी साधनको दर्ता नम्बर, चलाउन पाइने सडकको अनुमतिपत्र, चालक अनुमतिपत्र दिँदा वा लिँदा शर्तसहित दिने र लिने व्यवस्था मिलाउन त अवश्य पनि सकिन्छ र तदनुसार भए नभएको अनुगमन र नियमन गर्न सकिन्छ नि ! हो, त्यही भएन, गरिएन । सुविधाका नाममा सास्ती दिइयो । सेवाका नाममा सकस थपियो । समयमा खान र शौचालय जान नपाउने भएपछि कस्तो हुन्छ होला, सहजै अनुमान गर्न सकिन्छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गरेकै हुनाले वा गर्नुपर्नाले रोगी भएका कति
होलान् ? समयमा पुग्न नसकेर क्षति व्यहोर्नुपरेका पनि कति होलान् ? त्यसको खोजबिन भएको छैन । खोजबिन हुने र क्षतिपूर्ति दिनुपर्ने मुलुकमा कसरी सार्वजनिक यातायात सञ्चालन गरिएको
छ ? त्यतातिरको अनुभव पनि यतातिर प्रयोग गर्नुपर्ने दिन अवश्य आउनेछन् । त्यो बेला पछुताउने कि अहिलैदेखि सिक्ने, सुधार्दै जाने, मिलाउने र सेवा दिलाउने प्रयास गर्ने ? सोचनीय विषय हो यो ।
बस, मिनी बस, माइक्रो बस, टेम्पो, ट्रक, टेक्सी, जीप, कार, अटोरिक्सा व्यवसायी समिति, चालक र सहचालकको मात्रै कुरा हैन, छैन । तिनीहरूलाई अनुमति दिने, अनुगमन र नियमन गर्ने निकायमा मात्रै सीमित रहँदैन । तपाईं हामी यात्रीको पनि हो जो ती साधनको प्रयोग गर्छौं । आफू पीडित बन्छौँ र अरूलाई पनि पीडा दिएका हुन्छौँ । आफू सुन्छौँ र अरूलाई पनि सुनाउँछौँ । हामी जस्ता छौँ, हाम्रा सेवाप्रदायक संस्था पनि छन् उस्तै । दिने र लिने दुवै उस्तै भएपछि सुधारमा तीव्रता आउँदैन । ‘तिमी उस्तै, म पनि उस्तै, जाउँ सुस्तै सुस्तै’ भनेजस्तो हुन्छ ।
हाम्रा सरकारमा पुगेका मन्त्रीहरू पनि हामीबीचबाटै छानिएर गएका हुन् । तिनीहरूलाई गाली गर्दैमा वा ताली ठोक्दैमा सबै सुध्रिँदैन एकैचोटि । आफू, आफ्नो घर, परिवार, समाज, टोल, गाउँ, ठाउँ, सहरका कहर सुधार्ने प्रयासमा कति लागेका छौँ ? जति लागेका छौँ त्यति नै फल पाउँछौँ । नत्र पाउदैनौँ । यस्तै रहन्छ । सास्ती व्यहोर्नुपर्छ ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?