विजय गुरुङ
तोला ल्होसार अर्थात् तमु ल्होछार गुरुङ नयाँ वर्ष, नयाँ वर्ग फेरिने दिन गुरुङ (तमु) भाषामा ल्हो तुवै दिन, ल्हो छार, पुसे १५) भनि विभिन्न नामले उच्चारण गर्ने गरिन्छ । विभिन्न जातजातिको आ–आफ्नै संस्कार, संस्कृति र चालचलन, भेषभूषा रीतिरिवाज पाइन्छ । यसै सन्दर्भमा गुरुङ जातिमा पनि विभिन्न रहनसहन रीतिरिवाज छन् । गुरुङको सबैभन्दा ठूलो पर्व तमु ल्होछार हो । यसलाई संसारभरि छरिएर रहेका गुरुङहरूले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिन भनेर सामाजिक हिसाबले मनाउने गर्छन् । यो क्रम आजकल सहर बजार, गाउँघर, देशविदेश जताततै मनाइएको विभिन्न सामाजिक सञ्जाल र समाचारमा देखिन्छ ।
यो चाडको सुरुआत यो समयमा घरगाउँका मुखिया, समाजका अगुवाहरूले लामा पुरोहित, (पज्यु, क्ह्याप्री ) हरूले प्रकृति पूजा गर्ने, आ–आफ्ना पितृको पूजा, ख्येहरूको पूजा, आफ्ना घरपरिवार, नाता कुटुम्बलाई कुनै किसिमको दुःखपीडा रोगव्याधि नलागोस्, सबैको राम्रो होस् भनेर वर्षभरि लगाएको अन्नपातदेखि पशुपक्षीको पनि संरक्षण होस् भनी सामूहिक पूजा गर्ने गर्थे । समाजका सबैको घरघरबाट सङ्ख्या हेरेर मान्छेपिच्छे मुठी उठाएर वनभात (स्योंकैं) खाने गरिन्थ्यो । यो चलन बसाइसराइँ, त्यसबेलाका मुखियाहरू वा गाउँ समाजका टाठाबाठाले संरक्षण नगरेको र त्यस बेलाका शासकहरूको आफ्नोभन्दा फरक भाषा लिपि संस्कार संस्कृति भएका दस्तावेजहरू जलाइदिएको वा मासिदिएको हुनाले त्यसमध्ये गुरुङ जातिको भाषा, लिपि, संस्कार, संस्कृति लोप भएको भन्ने गरिन्छ । यसका कारण गुरुङहरूले बोल्ने भाषामा पनि एकरुपता पाइँदैन ।
गोर्खामा बोल्ने भाषा छुट्टै, लमजुङको छुट्टै, तनहुँ, स्याङ्जा, कास्की, पर्वतको आ–आफ्नो भेगअनुसार फरक फरक छ । गुरुङको घना बस्ती भएका कास्की, लमजुङ, पश्चिम गोर्खा, तनहुँ, स्याङ्जा, पर्वतभन्दा अन्य ठाउँका गुरुङले आफ्नो भाषा बोलेको विरलै पाइन्छ । हुन त सरकारी तथ्याङ्क हेर्दा गुरुङहरू नेपालका सबै जिल्लामा धेरै थोरै रुपमा भएको पाइन्छ । नेपाल, भारत, सिक्किम, भुटान, बर्मा आदि ठाउँमा गुरुङहरूको बसोवास छ । हाल आएर त झन् नेपालका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, चितवन भरतपुर, धरान, बुटवल, नेपालगञ्जलगायत हङकङ, बेलायत, जापान अमेरिकालगायत संसारका विभिन्न देशमा बसाइसराइँ गर्दै बसोवास गरेको पाइन्छ ।
गुरुङ जातिको सामाजिक पर्व अर्थात् नयाँ वर्ष, नयाँ वर्ग फेरिने दिन भएको हुनाले तमु ल्होछार भनिएको हो । कसैले वर्ग फेरिने दिन भएको हुनाले ल्होसार पनि भन्ने गर्छन् तर अर्थ एउटै हो । तिब्बती अथवा भोट मूलका जातिले ल्होसार भन्छन् । ल्हो भनेको वर्ग र सार भनेको नयाँ सर्ने वर्ग । नयाँ वर्ग ल्होसार । ल्होछारको पनि ल्हो भनेको वर्ग र छार भनेको फेरिने, सर्ने अर्को नयाँ वर्ग आउने भएकोले ल्होछार भन्ने चलन छ । ल्हो (वर्ग) प्रत्येक वर्षमा फेरिन्छ अथवा सर्छ । ल्होकोर (वर्ग) अनुसार प्रत्येक १२ वर्षमा ल्हो (वर्ग ) फेरि दोहोरिन्छ । यसलाई ल्होकोर भनिन्छ ।
तिब्बती (मञ्जुश्री) ज्योतिषशास्त्र अनुसार ल्होकोर (वर्गहरू) १२ वटा हुन्छन् । ती सबै ल्हो (वर्ग)हरू विभिन्न जनावर र चराचुरुङ्गीको नामबाट रखिएको छ । जसमा सबैभन्दा पहिलो ल्हो (वर्ग) चाहिँ यही वर्षको आउने ल्हो (वर्ग) च्यु ल्हो (मुसा वर्ग) हो ।
बाह्रवटा वर्ग (ल्हो)हरू
१ ) च्यु ल्हो (मुसा वर्ग)
२) लों ल्हो (गाई वर्ग) तिब्बती, शेर्पा, तामाङहरू यसलाई गोरु वर्ग भन्छन् ।
३) तो ल्हो (बाघ वर्ग )
४) हिं ल्हो (बिरालो वर्ग) तिब्बती, शेर्पा, तामाङलगायतले खरायो वर्ग भन्छन् ।
५) मुप्री ल्हो (गरुड वर्ग )
६) सप्री ल्हो (सर्प वर्ग)
७) त ल्हो (घोडा वर्ग)
८) ल्हु ल्हो (भेडा वर्ग)
९) प्र ल्हो (बाँदर वर्ग)
१०) च्ह्या ल्हो (चरा वर्ग)
११) खि ल्हो (कुकुर वर्ग)
१२) फो ल्हो (मृग वर्ग) तिब्बती, तामाङ र शेर्पाहरूले यसलाई फाग्लो ल्हो (बँदेल वर्ग) भन्छन् ।
यसैगरी महिना पनि यसरी नै जनवार र चराचुरुङ्गीको नामबाट राखिएको हुन्छ तर यसको नेपालमा खासै व्यवहारमा चलेको पाइँदैन जसमा पहिलो महिना चाहिँ बाघको नामबाट आउँछ, महिना पनि पुसबाट नै सुरु हुन्छ । महिनाहरू हुन् ः तो (बाघ) पुस, हिं (खरायो) माघ, मुप्री (गरुड), सप्री (सर्प), त (घोडा महिना), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (चरा), खि (कुकुर ), फो (मृग), च्यु (मुसा) र लों (गाई ) मङ्सिर हुन् ।
गुरुङले विभिन्न किसिमका चाडपर्व मनाउँदै आएको भए पनि कति पर्व संस्कृति लोप भइसके तर पनि प्रकृतिसँग नजिक रहेर प्रकृतिलाई नै सबैथोक मान्दै चाडपर्व मानेको पाइन्छ । जसमा टोह्टे पर्व, ल्होछारसहित विभिन्न सामाजिक पर्व छन् । हिमाली र उच्च पहाडी भेगमा बसोवास गर्ने, आफूलाई मङ्गोल मूलका जाति भनी दाबी गर्नेहरूले ल्होछार चाड मनाउने गरेको पाइन्छ । गुरुङ, तामाङ, भोटे, शेर्पा, ह्योल्मो, तोक्पेगोला, थकालीहरूले मनाउँछन् ल्होछार । यी जातिले विभिन्न हिसाबले ल्होछार पर्व आआफ्नो संस्कार, संस्कृति अनुसार मनाउने गर्छन् । गुरुङ जातिले मनाउँदै आएको पर्व पुसे १५ लाई तोला ल्होछार अर्थात् तमु ल्होछार भनिन्छ । पौराणिक हिसाबले मानिँदै आएको कथन र भनाइ अनुसार तिब्बती (मञ्जुश्री) ज्योतिषशास्त्र अनुसार तोला ल्होछारको सुरुआत पुस महिनाबाट हुन्छ ।
यस महिनाबाट दिन लम्बिँदै जाने, रात छोटिँदै जाने र सूर्य दक्षिणायणबाट उत्तरायण हुँदै आउने हुनाले न्यानो दिनको शुभारम्भ हुन्छ । मङ्गोल नश्लका गुरुङ, तामाङ, भोटे, शेर्पा, ह्योल्मो, तोक्पेगोला, थकाली जातिहरूले सुखद दिनको खुशी मनाउने कारणले पनि परापूर्वकालदेखि उनीहरूले मान्ने पर्व भनेको तोला ल्होसार हो भन्ने गरिन्छ । वर्षभरिको खेतीपाती अन्नबाली भिœयाइसकेको सन्तोष, खुशी र सुखको महसुस गर्ने हँुदा पनि तोला ल्होछार भनिएको हो भन्ने गरिन्छ । तर कुनै लिखित आधार भने पाइँदैन ।
यो ल्होसारलाई हुम्ला जुम्लाका गुरुङ र अन्य जातिले पनि भव्य रुपमा मन्ने गरेको पाइन्छ । तोला ल्होसार भनिए पनि नेपालमा हाल आएर गुरुङहरूले तमु ल्होछार भनी मनाउने चलन व्यापक भएको छ । सुरु सुरुमा परम्परालाई धान्ने किसिमले सहर बजारमा गुरुङहरूको बसाइ अति नै न्यून थियो । त्यस समयमा सबै स्रोतसाधन पनि उपलब्ध थिएन । बाटोघाटोको सुविधा हँुदैनथ्यो त्यसैले गाउँघरमा पुसे १५, ल्होछार मनाउने भनेर सबै आफन्तहरू भेला हुने, प्रत्येक घरबाट परिवारिक सङ्ख्या हेरी मुठ्ठी चामल, नुन, तेल, मरमसला, दाल, सागसब्जी उठाउने, समाज हेरी कुखुरा, बोका, खसी, राँगा, भैँसी काटेर एकै ठाउँमा जम्मा भई स्योंकैं (वनभोज) खाने चलन थियो ।
गाउँमा सबैभन्दा बुढाबुढी वा साइनोले सबैले मान्नुपर्ने आफन्तकहाँ गएर आशीर्वाद लिने गरिन्थ्यो । आशीर्वाद लिन मान्यजनकहाँ जाँदा घर गाउँमा जे पाइन्छ, फलफूल मान्यजनलाई कुन वस्तु मन पर्छ त्यो सामान, लत्ताकपडा, दूधको परिकार, खुवा, कुराउनी, खीर, माछा मासु, नारी पा (कोदाको रक्सी) आदि लगेर मान्यजनलाई खुशी बनाउन पाइयो भने आशीर्वाद लाग्छ भन्ने चलन थियो । टाढा टाढा विवाह भएर गएका चेलीबेटीले आफ्ना मान्यजनकहाँ आशीर्वाद लिन आउँदा भरिया नै लगाएर थुन्सेमा सेलरोटी, केराको घरी, कोदोको रक्सीको पुङ, आलुदम, कुखुराको रोष्ट आदि परिकार ल्याइदिने चलन थियो । चेलीबेटीले ल्याएको कोसेलीको पैँचोमा मान्यजनको घरबाट पनि आशीर्वादका साथै मासको टीका लगाइदिँदै सक्दो दक्षिणा, सेलरोटी लगायत उपलब्ध सामग्रीहरू नयाँ लत्ताकपडासहित त्यसैगरी भारी पु¥याई पठाउने चलन गुरुङ (तमु) हरूमा चल्दै आएको थियो ।
ल्होसारको अवसरमा सबैको घरमा नौथरी मिसिएको गेडागुडीदेखि परिकारहरू पकाएर खाने चलन पनि छ । एक आपसमा ल्होसारको शुभकामना (ल्होछारै आशिमलाँ ) आदानप्रदान गर्दै मीठामीठा परिकार बनाउँदै आफन्तहरू भेला भई ‘नारी पा’सहित नाचगान, रमाइलो गर्दै ल्होछार मनाउने चलन छ ।
यसैगरी ल्होसारको अवसरमा लामा गुरुहरूलाई बोलाएर घरको पूजाआजा बारबन्धन गर्ने, घर परिवारको ग्रहदशा काट्ने, परिवारलाई नराम्रो नहोस्, दुःखपीडा नपरोस् भनी सबैको नामबाट मन्तरेर लँुदा चढाउने, ल्हो (वर्ग) अनुसार वर्षभरि कुनै खालको रोगव्याधि नलागोस् भनी ग्रह काट्ने, रुपा (सातो डोरी) मन्तरी लगाउने, आउने वर्ष पनि फेरि खेतबारीमा खेतीपाती राम्रो होस्, बाढी पैह्रो, रोगव्याधि, आँधीहुरी असिनाले बालीनाली सखाप नपारोस् भनी पूजा गर्ने
चलन छ ।
हिजोआज नेपालका विभिन्न सहर बजार, गाउँघर टोलसहित संसारका विभिन्न देशका कुनाकुनामा तामझामका साथ भव्यरुपमा तमु ल्होछार मनाउने क्रम बढ्दैछ । पोखरामा त सुरुदेखि नै तमु ल्होछार मनाउँदै गरेको छ भने धरान चितवन, बुटवलसहित २०५४–०५५ देखि त काठमाडौँमा पनि भव्य रुपमा शुभकामना साटासाटसहित तमु ल्होछार मनाउँदै आएको छ ।
प्रत्येक वर्ष पुस १२–१५ गतेसम्म टुँडिखेलमा मनोरञ्जन दिँदै जातीय भेषभूषामा झाँकीसहित गुरुङ जातिको संस्कृति झल्किने खानपान खेलकुद, रक्तदान, प्रवचन कार्यक्रम, दोहोरी गीत प्रतियोगिता, छेलो, भलिबल, मोटरसाइकल ¥याली, विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तित्वलाई सम्मान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, लामा गुरुहरूबाट पुरानो ल्हो (वर्ग ) को बिदाइसहित आउने ल्हो (वर्ग)वर्षको लागि स्वागतसहित स्वास्ती संज्ञा, स्योकैं खाने कार्यक्रम भव्य रुपमा मनाइँदै आएको छ ।
यो ल्होछारको ऐक्यबद्धतालाई सम्बोधन गर्दै नेपाल सरकारले पनि नेपालभरि तमु ल्होसारमा बिदा दिने व्यवस्था स्थापित ग¥यो तर गणतान्त्रिक संविधान लागू भइसकेपछि भने गत सालदेखि ल्होसार पर्वका बिदाहरू कटौती ग¥यो । सबै जातजातिका पर्वमा सरकारले राष्ट्रिय पर्वको बिदा दिनुपर्छ ।
यो ल्होसार कार्यक्रमले संस्कृतिको संरक्षण त गरेकै छ तर अलि धेरै खर्चिलो भएको देखिन्छ । त्यसैले आगामी दिनमा खर्चलाई अलि कटौती र व्यवस्थित गरेर ल्होछार मनाउन सके राम्रो हुनेछ ।
(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)