राजीव कुँवर
एक पश्चिमा महिलाले जापानी राजनीति एउटा सर्कसजस्तै हो भनेकी छन् । जापानी राजनीतिक नाटकमा जोकरहरूको बाहुल्य रहेको यी राजनीतिक विश्लेषक भन्छिन् । जापानी राजनीतिक गतिविधिमा काण्डहरूको अध्याय देख्न पाइन्छ । जापानलाई पूर्वको बेलायत मानिन्छ । त्यहाँ संवैधानिक आलङ्कारिक राजतन्त्र छ । दुई सदनात्मक व्यस्था भएको मुलुक जापानमा तल्लो सदन प्रतिनिधिसभा (२५ वर्ष उमेर पुगेका सांसद हुन योग्य) र माथिल्लो सदन नेसनल डाएट (३० वर्ष उमेर पुगेका सांसद हुन योग्य) संसदीय प्रणाली विद्यमान छ । जापानी राजनीतिक इतिहासमा सरकारी संरचनामा धेरै परिवर्तन भएका छन् । कुलीनतन्त्र र सैनिक शासनको साक्षी जापानी इतिहास छ । अमेरिकी जर्नेल मकार्थरले प्रदान गरेको संविधान दोस्रो विश्व युद्ध उत्तराद्र्धमा जापानमा प्रचलन रहेको विदितै छ । लादिएको संवैधानिक दस्तावेजमा राजनीतिक चटकबाहेक के छ र ?
राजनीतिक उथलपुथल र सामाजिक दोष र दुर्बल पक्षहरूले ग्रसित समकालीन जापानको स्वभाव र प्रकृति त्यसअनुरूपको चरित्र निर्माण गरेको हो । ७५ वर्षदेखि जापानी लोकतन्त्र तरल थियो तापनि आर्थिक रूपमा सम्पन्न छ । लगभग विकसित पश्चिमा देशहरूको दाँजोमा जापानको स्तर छ । पहिलो विश्वको हाराहारीमा एउटा पूर्वेली देश जापानको कडा परिश्रममा आश्रित आर्थिक आधुनिकीकरण नै हो । ती महिला राजनीतिक विश्लेषक क्रिष्टमस रूखजस्तै जापानी राजनीतिक प्रणालीको उपमा दिन्छिन् ।
जापानमा नेतालाई होइन, दललाई मत खसालिन्छ । संसद्मा बहुमत प्राप्त दलले आफ्नो नेतालाई सरकार प्रमुख चुन्छ । त्यसैले दल लोकप्रिय भए पनि नेता अलोकप्रिय हुन सक्छन् । मताधिकार समावेशी हुन प्रतिनिधिमूलक वर्ष २० बाट १८ मा झारिएको भए पनि मतदानमा उल्लेख्य युवकयुवतीको सहभागिता न्यून छ र उत्साहजनक छैन । युवाको हित र स्वार्थ जापानी राजनीतिमा प्रतिविम्ब नभएको आरोप लगाउने गरिन्छ ।
वर्तमान जापानी प्रधानमन्त्री सिन्जो आबेले सन् २०१२ बाट पदभार ग्रहण गरेपछि आबेनोमिक्स भन्ने अर्थनीति अघि सार्नुभएको हो । शीतयुद्धको अन्त्यसँगै जापानको अर्थतन्त्र मन्दीबाट प्रताडित छ । यो तीन दशकदेखि खासै गतिशील नभएको अर्थविद् र नीतिज्ञहरू तर्क दिन्छन् । यसलाई उद्धार गर्न अर्थतन्त्रको सुधारको साहसिक नीतिबारे प्रस्ट खाका ‘आबेनोमिक्स’ हो । अर्थतन्त्रमा मन्द गतिलाई जोगाउन सरकारी हस्तक्षेप निरन्तर छ । आबेनोमिक्स तीनवटा रामवाणको रणनीति अख्तियार गरेको छ ।
सन् २०१३ मा सञ्चालनमा आएको सो आर्थिक कदममा तीनवटा अर्जुनदृष्टि छ– वित्तीय पहँुच, मौद्रिक सरलीकरण र संरचनागत सुधार । यसका प्रमुख लक्ष्य आन्तरिक समृद्धि र उत्पादनको अभिवृद्धि गर्दै मुद्रास्फीतिलाई दुई प्रतिशतमा कायम राख्नेछ । आबेको संरचनागत सुधारको नीतिमा जापानको समृद्धिको सम्भावनाको द्वार खोल्नु हो । जसमा प्रतिस्पर्धाको बढोत्तरी, श्रमिक बजारको सुधार र व्यापारिक सम्झौताहरूको विस्तार गर्नु हो ।
आबेनोमिक्स कडा अर्थनीति हो, जो व्यवहारमा स्वीकार्न जटिलतम छ । जापानी सरकारको वित्तीय उत्प्रेरणामा आधा रकमजस्तो लगानी भएको छ । सो विषयगत क्षेत्रमा संवेदनशील पूर्वाधार निर्माणजस्तै पुलपुलेसा, सुरुङमार्ग र भूकम्प प्रतिरोध सडक सञ्जालमा केन्द्रित छ । दोस्रो वाण, अभूतपूर्व सम्पत्ति खरिद कार्यक्रम थियो । यो मौद्रिक नीतिको ऐतिहासिक परीक्षणमा छ । यसअन्तर्गत बैङ्क अफ जापानले अर्थतन्त्रमा तरलता प्रवेश र निवेश गरेर वस्तुगत सरलीकरणमा जोड दिएको छ ।
दुर्बल आर्थिक क्षेत्रमा यस नीतिले केही ब्याज दर बढाएको छ । तेस्रो वाण, लामो समयसम्म विलम्ब गरेको संरचनागत सुधारको पक्ष हो । यसमा व्यापारिक नियमन घटाउने, श्रम बजारको उदारीकरण र कृषि क्षेत्रको सुधार, व्यावसायिक करको न्यूनीकरण र मानव पँुजीको विविधीकरणले जापानी अर्थतन्त्रलाई गतिशील बनाउन उद्यत छ । समावेशी अर्थनीतिमा ऊर्जा, वातावरण र स्वास्थ्य सेवा क्षेत्रलाई सर्वसुलभ पहँुच गराउनु हो ।
आबेनोमिक्समा मौद्रिक नीतिबमोजिम वासलातमा दोब्बर गरिएको र सम्पत्ति खरिदको तह ७० प्रतिशत कुल गार्हस्थ उत्पादनमा ओगटेको अवस्था हो । यो दरको तुलनामा अमेरिकाको फेडरल रिजर्भ र युरोपेली युनियनको सेन्ट्रल बैङ्कको जम्मा २५ प्रतिशतभन्दा कम रहेको छ । यसले सार्वजनिक ऋण बढेकोबारे अर्थतन्त्रमा निराशा छाएको छ । त्यस्तै नकारात्मक ब्याजदरले अपेक्षित आर्थिक र वित्तीय सफलता नरहेको र बैङ्किङ प्रणाली ध्वस्त हुने अर्थशास्त्रीहरूले अनुमान गर्छन् ।
सन् २०१८ को जनवरीमा बैङ्क अफ जापानले माइनस ०.१ प्रतिशत ब्याजदर कायम राखेको थियो । यसको अर्थ बचत गर्दा पनि ब्याज तिर्नुपर्ने हो । सन् २०१३ मुद्रास्फीति २ प्रतिशत लक्ष्यभन्दा कम डिसेम्बर २०१७ मा एक प्रतिशत रहेको थियो । आबे सरकार केही सफलता र आर्थिक प्रगति हासिल गरेको दाबी भने गर्छ । ट्रान्सप्यासिफिक पार्टनरसिपको विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको अडानले जापानको वैदेशिक व्यापारमा अवरोह पैदा गरेको छ ।
वाहन व्यापार र बौद्धिक सम्पत्तिको विषयगत क्षेत्रमा अमेरिका जापान सम्बन्धमा विमति देखापरेको छ । आबे एउटा नयाँ संस्करणको ‘कम्प्रिहेन्सिभ एन्ड प्रोगेसिभ अग्रिमेन्ट फर ट्रान्सप्यासिफिक पार्टनरसिप’ सम्झौता गर्नुपर्ने उपाय बताउनुहुन्छ । अमेरिकाको सामिप्यताले जापानसितको द्विपक्षीय सम्बन्ध एक कोशेढुङ्गा साबित भएको छ । ट्रम्प प्रशासनले जापानले मुद्रा अवमूल्यन गरेको गुनासो पोख्छ । आबेनोमिक्सको अभ्यासले अवमूल्यन बजारमा जापानको प्रशासनले खेल खेलेको आरोप अमेरिकाले लगाएको छ । पहिलो विश्वस्तरका देशहरूमा ब्याजदर शून्य प्रतिशत रहेको छ र तरलताको जालोमा फसेको भनिन्छ ।
हाईटेक इलेक्ट्रोनिक्स, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स आदि प्रयोगद्वारा श्रम बचत गर्ने प्रविधिमा जोड दिने आबेनीतिमा उल्लेख छ । त्यस्तै आन्तरिक पर्यटन प्रर्वद्धन र बजारमा पूर्ण रोजगारीले अर्थतन्त्र सबल हुने आबेको बुझाइ छ । अर्थविद्हरू आबेनोमिक्सको अभ्यासले मुद्रास्फीति उच्च बनाएको र त्यसलाई नियन्त्रण गर्न नसकेको तर्क पेस गर्छन् । ११ ट्रिलियन डलरको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनमा २४५ प्रतिशत ओगट्नु चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्छ । सो ऋणभार दिगो नहुने र करमा अश्रित दायरा बढाए पनि आर्थिक समस्या हल नहुने विचार व्यक्त गर्दछ ।
सारमा जापानी सरकारले यिनै विषयगत क्षेत्रमा पथप्रर्दशक हुने आबेनोमिक्स सराहनीय मानेको र अरू देश उत्प्रेरित हुने विचार व्यक्त भएका छन् । आबेले जापानी अर्थतन्त्रको भविष्य, भाबी पिँढी र जापानको दीर्घकालीन हितका लागि आबेनोमिक्स नीति जारी गर्नुभएको हो । यसको मूल ध्येयमाथि उल्लेख गरेझैँ आर्थिक अड्चन निदान गर्दै आर्थिक वृद्धिको नयाँ मार्गचित्र प्रशस्त गर्नु हो । सामाजिक संरचनामा नवप्रर्वतन, नगरिकको बहुलता र सशक्तीकरण, छरितो नियमन र कानुन, अन्तर्राष्ट्रिय अवसरहरूको आकर्षण र व्यावसायिक प्रतिस्पर्धामा अब्बलजस्ता नीतिगत विषयहरू समावेश छन् । वर्तमान जापानी अर्थतन्त्रले बुढ्यौली समाज र जनसङ्ख्यादरको सङ्कट समस्या झेल्दै आएको छ । जापानी सरकार दिगो आर्थिक लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।
समाजको पञ्चम संस्करण एउटा नयाँ सामाजिक ढाँचा निर्माणमा जोड दिएको छ । भनिन्छ, यो समाज मानवीय सभ्यताको अर्काे पहल र चरण हुनेछ । दिगो आर्थिक विकास यसको लक्ष्य हो भने नयाँ आवश्यकताको माग, वस्तु तथा सेवाको खपत, उच्च आय र उत्पादनको बढोत्तरी समाजको पाँचौँ संस्करणको पहिलो स्वरूप हो । यस समाजको दोस्रो पक्ष सामाजिक सवालको हल गर्न तथ्याङ्कको नयाँ औद्योगिक व्यवस्थामा त्यसको प्रयोगसँग जोड्नु हो । समाजको प्रथम संस्करण भनेको सिकारी युग, समाज दुई– कृषिप्रधान समाज, समाज तीन– औद्योगिक समाज र समाज चार– सूचना समाज र समाज पाँच– अर्को पिँढीमैत्री समाज हो ।
पुरानो समाज उच्च चाप भएको, सीमित, एकाङ्की र स्वसहयोगजस्ता प्रकृतिको थियो । तर, आजको समाजमा कृत्रिम, सशक्त, सञ्जालीकरण र सञ्चार सहयोगी छ । त्यसैले समाज पाँच एउटा नयाँ सामाजिक सम्झौता र आर्थिक नमुना बन्ने उद्घोष गरेको छ– आबे सरकारले । सो लक्ष्यको नतिजा प्राप्त गर्न व्यापारमा जोड दिनु प्रविधिको दोहन गरी रोबोटिक्स, इन्टरनेट अफ थिङ्स र ठूला तथ्याङ्कको दैनिक जीवनस्तरमा प्रवाह पार्नेछ ।
नयाँ प्रविधि स्वाभाविक रूपमा नयाँ प्रशासनिक बोझलाई हलुका, ज्ञानको रोजाइ र सिर्जनात्मकता अभिवृद्धि गर्नेछ । आबे हरेक दिन हरेक तवरमा जापानको भविष्य आधा मार्गमा आईपुग्दै छ भन्ने नारा लगाउनुहुन्छ । समाज पाँच संस्करण एउटा सुपर स्मार्ट समाज वा चरम छरितो समाज, जहाँ यथार्थ सूचना– स्वास्थ्य र चिकित्सा तथ्याङ्कसम्बन्धी र शिक्षाको पहँुचले हासिल गर्न सकिनेछ । आबेको नीतिले जापानलाई जनसङ्ख्या समस्या, बुढ्यौली समाजको चुनौती र ऊर्जा र पर्यावरणका मुद्दाहरूको सामना गर्दै त्यसको समाधान गर्न नचुक्ने अग्रणी देश बन्ने कल्पना गर्दछ । आबे त्यस्ता नेता जो गतिशील आर्थिक समाज हासिल गर्न उत्पादनको सुधार र नयाँ बजारको खोज गरेर समाज पाँच स्थापित गर्ने अठोट गर्नुहुन्छ ।
आबेनोमिक्स जापानी समाजको समस्या निदान गर्ने अचुक नीति हो । तर, आर्थिक समस्या समाधान गर्न विभिन्न कठिनाइ र सीमितताले सोचेअनुरूप परिणाम दिन नसकेको अर्थविद्हरू राय दिन्छन् । तर नीति भने सान्दर्भिक र समयोचित छ । पश्चिमा विश्वको नीति आबेले साभार गरे पनि विकसित र उन्नत समाजका हाँकहरू विविध छन् । जापानको चुनौती र नेपालको सार्वजनिक मामिला भिन्नखाले समयको सन्दर्भमा भए पनि हामी एउटै महादेशीय भूगोलमा छौँ । सार्वजनिक नीतिको केही परस्परता र बुझाइमा नेपालमा पनि नीतिगत मन्थन गर्न सकिन्छ ।
(लेखक त्रिविमा राजनीतिशास्त्रको विद्यावारिधि छात्र हुनुहुन्छ ।)