जुनारबाबु बस्नेत
नेपालमा राणा शासन अन्त्य भएको दुई वर्षअघि चीनमा जनवादी क्रान्ति (१९४९) सफल भएको थियो । त्यसको दुई वर्षअघि बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएको थियो । अमेरिकी स्वतन्त्र क्रान्ति (१७६५–८३), फ्रेन्च क्रान्ति (१७८९–९९) परिघटनापछि भारत र चीनमा भएको त्यो परिवर्तनलाई विश्व इतिहासमै विराट मानिन्छ । चीन अहिले क्रान्ति सफलतापछिको ७०औँ वर्ष मनाइरहेको छ । त्यसक्रममा बेइजिङको मध्यमागको विशाल प्रदर्शनीमा संसारको आकर्षण छ । क्रान्तिपछि नयाँ सरकार घोषणा गरिएको १ अक्टोबर १९४९ लाई आधार मानेर गएको अक्टोबर १ देखि यो प्रदर्शनी आरम्भ गरिएको हो । परम्परागत कृषिमा आधारित त्यतिबेलाको अर्थतन्त्रदेखि अहिलेको समृद्ध चीनका हरेक अब्बल आयाम प्रदर्शनीमा प्रतिविम्बित छ ।
चीनले यो सात दशकमा हासिल गरेको उपलब्धि यतिबेला चिनियाँ नागरिकका लागि मात्र होइन, विश्वभरिका लागि स्तब्ध पार्ने विषय किन भएको छ ? हुन पनि चीनका हरेक वर्ष र हरेक परिघटनालाई सजाइएको प्रदर्शनीमा देश र विदेशका सर्वसाधारणदेखि अन्वेषकसम्मको असाध्यै चासो छ । चिनियाँ भाषामा सटिक जानकारी दिने युवती तथा तिनको अङ्ग्रेजी अनुवादकले सुस्पष्ट रूपमा सजाइएको तस्बिर, वृत्तचित्र, कला आदिको जानकारीको विशेषता अति विशिष्ट छ । यो अहिले पर्यटकीय गन्तव्यजस्तै पनि बनेको छ । हरेक चीज वस्तुको संरक्षण र त्यसले दिने इतिहास, संस्कृति, ज्ञान अनि यावत् प्रक्रियालाई आर्जन गर्ने बजार पारख अझ बढी अध्ययनयोग्य छ ।
चीन विश्व अर्थतन्त्रको अमेरिकापछि सबैभन्दा ठूलो अर्थतन्त्र हो । केही वर्षअघि उसले जापानलाई उछिन्दै दोस्रो स्थानमा आएको हो । सबैभन्दा तीव्रत्तर वृद्धिदरमा अगाडि बढेको चिनियाँ अर्थतन्त्र निर्यातमूलक अर्थतन्त्र पनि हो । अमेरिका र चीनबीच जारी व्यापार युद्धले केही असर पारे पनि चालु वर्षमा छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धि रहेको छ । व्यापार अवरोधले अर्थतन्त्रमा केही शिथिलता छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार चीनको सन् २०१९ को कुल गार्हस्थ उत्पादन १४.१० ट्रिलियन (खर्ब) अमेरिकी डलर छ । विश्वमा सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिती गरेको मुुलुक चीनसित ३.३१ ट्रिलियन डलर विदेशी मुद्रा सञ्चित छ । त्यसमध्ये अमेरिकी सरकारी बन्डमा सबैभन्दा बढी लगानीका कारण चीन–अमेरिका लामो द्वन्द्व दुवै मुुलुकको हितमा नभएको स्पष्ट छ । सायद केही समयपछि बादल फाट्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट पनि यो सङ्केत आइसकेको छ ।
द्रुत रेलमार्ग, अन्तरीक्ष अन्वेषण, समुद्रमाथि पुल र द्रुत मार्ग निर्माण, कृत्रिम टापु र त्यसमा आधुनिक सहरजस्ता अनकौँ आश्चर्य चीनका प्रमुख विकास नमुना छन् । अर्थतन्त्रको संरचनाअनुसार चीनको समग्र अर्थतन्त्रमा कृषि सात दशमलव नौ प्रतिशतको मात्र हिस्सा छ । ७० वर्षअघि यो अंश लगभग ९० प्रतिशत थियो । अहिले ४०.५ प्रतिशत हिस्सा उद्योगले धानेको छ भने ५१.६ प्रतिशत सेवाक्षेत्रले ओगटेको छ । जनशक्तिका हिसाबले सबैभन्दा बढी अर्थतन्त्रमा योगदान रहेको सेवा क्षेत्रमा ४४ प्रतिशत श्रम शक्ति छ । झन्डै आठ प्रतिशत योगदान रहेको कृषिमा अझै पनि २७ प्रतिशत श्रमशक्तिले रोजगारी पाएका छन् भने औद्योगिक क्षेत्रमा २९ प्रतिशत रोजगारी रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले माओ त्से तुङको नेतृत्वमा चीनको राजनीतिक क्रान्ति सफल गरे पनि आर्थिक विकासमा भने आरम्भका तीन दशक अलमल नै रह्यो । आर्थिक विकासको चमत्कारका लागि माओपछि देङ सियाओ पिङको खुला र बजार अर्थतन्त्रले सबैभन्दा व्यापक प्रभाव पारेको छ । सन् १९५०–७३ सम्म दुई दशमलव नौ प्रतिशतमात्र आर्थिक वृद्धि रहेको थियो । सन् १०७३ देखि केही वर्ष त चिनियाँ अर्थतन्त्र सङ्कुचनमै गएको थियो । यो अवस्थाले नै देङलाई आर्थिक सुधारको अपरिहार्य आवश्यकता महसुुस भयो ।
देङलाई आर्थिक सुधारका महान् नेताका रूपमा प्रदर्शनीमा विशिष्ट पहिचान दिइएको छ । राज्यको स्वामित्वमा रहेको अर्थतन्त्रलाई व्यक्तिले प्रत्यक्ष लाभ पाउनेगरी सामूहिकरण गर्न देङको ठूलो कदम थियो । त्यसलाई कतिपयले नकारात्मक रूपमा पनि लिए । माक्र्सवादसित केही बेमेल पनि थियो त्यो कदम तर चिनियाँ विशेषताको समाजवादका रूपमा त्यसलाई विकसित गरियो, गरिँदै छ । देङको नेतृत्वमा विदेशी लगानी खुला गरियो । सस्तो श्रम शक्ति र अनुशासित समाज चीनमा विदेशी कम्पनी नाफा कमाउन ओइरिए । व्यापार र उद्यममा विदेशी लगानीसित मिलेर निजी क्षेत्रको कर्पोरेट तवरको सहभागिताले अर्थतन्त्रमा चमत्कार ल्याउन थाल्यो । राज्यमातहतमा भएका कैयौँ उद्योगधन्दाको प्रतिफल असाध्य न्यून थियो । तिनलाई या त करारमा या त निजीकरण गरियो । लाखौँ श्रमशक्ति एकैपटक बेरोजगार भए पनि निजी क्षेत्रले ज्ञान र सीपबाट खारिएका सिपालु श्रमशक्तिलाई अझ बढी तलबमा काम दिन
सफल भयो ।
सुधारको फलस्वरूप चीनको अर्थतन्त्रमा व्यापक परिवर्तन आयो । सन् १९७८ देखि २०१३ सम्म चीनको औसत आर्थिक वृद्धिदर नौ दशमलव पाँच प्रतिशतले वृद्धि भयो । सन् १९७८ को तुलनामा कुल गार्हस्थ उत्पादनमा १० गुणाले वृद्धि भयो । यति विशाल चमत्कार कुनै पनि देश र अर्थतन्त्रको भएको छैन । परम्परागत कृषिमा आधारित अर्थतन्त्र चार दशकमा विज्ञान, प्रविधि र सूचनामा आधारित विकसित अर्थतन्त्रमा रूपान्तरित भयो । चीन समृद्ध अर्थतन्त्र भए पनि कम्युनिस्ट पार्टीका नेता तथा थिङ्क ट्याङ्कहरू अझै पनि चीनलाई विकासशील अर्थतन्त्र नै भन्न बढी उचित ठान्छन् । एसियाली पत्रकारकारहरूसँगको गत साताको अन्तरक्रियामा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक जिन जिह्न्वाले पटक–पटक चीन विकासशील अर्थतन्त्र भएको तर बेल्ट एन्ड रोड इनिसिटिभ्सका माध्यमबाट बाँकी विश्वसँगै साझा भविष्य बनाउन चाहेको बताउनुभयो । पेकिङ विश्वविद्यालयका प्राध्यापक एवम् नेसनल एकेडेमीका अन्वेषक प्रा. डा. सङ्ग सिमिङ्गले केही महिनाअघि सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको चौथो विस्तारित बैठकका निणर्यहरूको समीक्षा गर्दै जनचाहनाभन्दा एक कदम अगाडि पुगेर पार्टीले नीति र कार्यक्रमहरू कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो ।
उहाँले विकासशील अर्थतन्त्र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ्स
(बीआरआई) मार्फत एसिया, मध्यपूर्व, युरोप र अफ्रिका र ल्याटिन अमेरिकासम्म स्थल तथा जलमार्गमा सहज यातायात सञ्जाल विकास गर्ने अभियान सफलतापूर्वक अगाडि बढाएको बताउनुभयो । पार्टीका महासचिव एवम् राष्ट्रपति सि चिनफिङले सन् २०१३ मा थालनी गरेको परम्परागत सिल्क रोडलाई आधुनिकीकरण गर्दै स्थल तथा समुद्री मार्गबाट जोड्न नयाँ अभियानले विश्व अर्थतन्त्रलाई नयाँ स्वरूप दिने विश्वास गरिएको छ । भूसतह तथा जलमार्गबाट रेल, सडक र पानी जहाजको अब्बल मार्गहरू विकास यसको लक्ष्य हो । १५२ भन्दा बढी मुलुक तथा संस्थाहरू कुनै न कुनै रूपले बीआरआईमा जोडिएका छन् । चिनियाँ नेता तथा बुद्धिजीवीहरू नेपालको समृद्धि होस् भन्ने चाहन्छन् । त्यसका लागि पूर्वाधार विस्तार र पर्यटन विकास भएको हेर्न चाहन्छन् ।
बीआरआईले चीनलाई मध्य एसिया तथा युरोपसँग सडक मार्गले जोड्छ । प्रशान्त तथा हिन्द महासागर हुँदै दक्षिण पूर्वी एसिया (आसियान), दक्षिण एसिया, मध्य–पूर्व, अफ्रिका हुँदै युरोप र दक्षिण अमेरिकी मुुुलुकहरूसम्म पुग्ने सामुद्रिक मार्गहरूको विस्तार गरेको छ । पूर्वाधार व्यापक बनाउने, चौथो तहको औद्योगिक पार्कहरूको विकास गर्ने, सबैखालका व्यापार अवरोधहरू हटाउने योजना बीआरआईको छ । प्रा. सङ्गले बीआरआईले कुनै पनि देशको देशीय नीति र योजनालाई सम्मान गर्दै उनीहरूले नै छनोट गरेको विकास योजनालाई चीनले सहयोग गर्ने स्पष्ट पार्नुभयो । पश्चिमी विद्वान् तथा सञ्चारमाध्यमले लगाउन गरेको आरोपहरूको सटिक विश्लेषण गर्दै चीन विचारधारालाई निर्यात गर्न कहिल्यै इच्छुक नभएको प्रस्ट पार्नुभयो । चिनियाँ विशेषताको समाजवाद आफ्ना लागि मौलिक भएको दाबी थियो । सबैजसो अन्तरक्रिया चीनले बाँकी विश्व आफूसँगै समृद्ध होस् भन्ने चाहेको निष्कर्षमा केन्द्रित थिए । त्यसका लागि चीन बाँकी विश्वको सुझाव लिएर शान्तिपूर्ण रूपमा अगाडि बढ्ने प्रतिवद्धता झल्कन्थ्यो ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)