गत तीन हप्तायता काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्ति अनियमित भएको छ । विद्युत् प्राधिकरणका अनुसार माग र आपूर्तिमा सन्तुलन नभएकाले यस्तो अवस्था आएको हो । राजधानी उपत्यकालगायत मुलुकैभर जाडो बढेकाले विद्युत्लगायत अन्य ऊर्जाको खपत बढेपछि विद्युत् आपूर्तिमा पनि समस्या देखिएको हो । शनिबार काठमाडौँको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भएको र ताप अझै घट्न सक्ने भएकाले विद्युत् आपूर्तिमा अझै समस्या आउन सक्ने देखिन्छ । देशभर तापक्रम घट्दै गएकाले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर, इन्डक्सनजस्ता उपकरणको व्यापक प्रयोगले विद्युत् माग बढ्ने भएकाले हिउँदमा विगतमा पनि विद्युत् आपूर्तिमा समस्या हुने गर्दथ्यो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका उपभोक्त हाल भएको विद्युत् अनियमित ‘लोडसेडिङ’ नै हो कि भन्नेमा चिन्तित देखिएका छन् तर विद्युत् प्राधिकरणले भने लोडसेडिङ नहुने स्पष्ट गरेको छ । यसबीच भएका विद्युत् लाइनको विस्तार तथा जाडो लागेसँगै विद्युत्को माग उच्च भएकाले देखिएको समस्या क्रमशः व्यवस्थापन हुने देखिएको छ । अत्यधिक उपयोगका कारण विद्युत् आपूर्तिमा समस्या आएको भए पनि यस्तो समस्या लामो समयसम्म नरहने प्राधिकरणको स्पष्टोक्तिले उपभोक्तालाई राहत मिलेको छ ।
चिसो बढेसँगै एलपी ग्यासको पनि माग बढेको छ । चिसो बढेपछि अन्य दिनको तुलनामा १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ । निगमले मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने गरेकोमा गत महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात गरेको छ । आर्थिक वर्ष २०७१÷०७२ मा २५ लाख आठ हजार २९९ मेट्रिक टन एलपीजी ग्यास आयात भएको थियो । २०७२÷०७३ मा २१ लाख चार हजार १९२ मेट्रिक टन आयात गरिएको थियो । जुन वर्ष भारतीयले आपूर्ति घटाएकाले आयात घटेको थियो । ०७३÷७४ मा ३१ लाख दुई हजार ९२८ मेट्रिक टन आयात भएको थियो भने २०७४÷७५ मा ३७ लाख पाँच हजार ७० मेट्रिक टन आयात भएको छ । २०७५÷७६ मा ४० हजार मेट्रिक टन पुगेको बताइएको छ । विद्युत् र ग्यासको आपूर्ति बढेकाले पनि पछिल्ला वर्ष नेपालको वन क्षेत्रमा सुधार आएको जनाइएकाले विद्युत् र ग्यासको आपूर्ति बढ्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ तर ग्यासको आपूर्तिले नेपाली मुद्रा बिदेसिने गरेको तथ्य बिर्सन हुँदैन । विद्युत्मा नेपाललाई आत्मनिर्भर बनाउँदै विद्युत्को प्रयोग बढाई ग्यास आपूर्तिमा कमी गर्न सकिएमा व्यापार सन्तुलनमा सकारात्मक परिणाम देखिन सक्छ । त्यसैले नेपालले ग्यासभन्दा विद्युत्को उपयोगलाई बढावा दिनुले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन सुखद परिणाम आउनेछ ।
जाडोमा तराई–मधेस क्षेत्रमा लाग्ने तुवाँलो र शीतलहरले जनजीवन कष्टकर हुने गरेको छ । विगत वर्षहरूको तुलनामा यस वर्षको हिउँदमा तराई क्षेत्रमा विद्युत्को माग बढेको पाइएको छ । तराई क्षेत्रमा पनि विद्युत् खपत गरी न्यानो बनाउने उपकरणको बढ्दो प्रयोगले विद्युत्को खपत बढेको हो । यसबाट जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्ने अवस्थाको अन्त्य हुँदै जाने सम्भावना देख्न सकिनेछ । नेपाल सरकार, स्थानीय तहहरू र स्थानीय प्रशासनको सक्रियतामा तराई क्षेत्रमा वितरण गरिएका न्याना कपडा तथा दाउराले त्यहाँको जनजीवनलाई केही हदसम्म राहत गरेको छ । जाडो आउने पूर्वजानकारी हुने भएकाले त्यसको तयारी गर्नु हरपरिवारको सामान्य दायित्व नै हुन्छ । अति विपन्नबाहेक अन्य परिवारले सरकारको मुख नताकेर आफैँले पनि जाडोको सामना गर्न आवश्यक तयारी गर्नुपर्ने हुन्छ । सरकारले उपलब्ध गराउने दाउरा बालेर तत्काल न्यानो पाउन सकिने भए पनि यसबाट हुने वनविनाश र धूवाँको उत्सर्जनले स्थानीयलाई नै बढी हानि गर्ने भएकाले समस्याको दीर्घकालीन समाधानमा नागरिक सचेतना पनि महŒवपूर्ण हुने गर्छ । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत् खपत प्रतिव्यक्ति वार्षिक २४५ किलोवाट आवर वाट युनिटबाट करिब दोब्बर हुनेगरी ४२६ पु¥याउने लक्ष्य राखेको छ । यसबाट पनि जाडोबाट बच्न नागरिकलाई सहज हुनेछ । यसरी विद्युत् उपयोग गर्न सक्नेगरी नागरिकको आर्थिक क्षमता वृद्धि गर्नु त्यत्तिकै आवश्यक देखिन्छ ।