शर्वराज आचार्य
तत्कालीन राजा वीरेन्द्रले सन् १९७५ (वि.सं. २०३२) मा भएको राज्याभिषेकमा उपस्थित शाही अतिथिहरूको बिदाइका समयमा नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राख्नुभयो । राजाबाट शान्तिक्षेत्रको प्रस्ताव राख्नुपर्ने कारण बुझेर विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले पनि विक्रम संवत् २०३३ पुस १६ गते एउटा वक्तव्यमार्पmत राष्ट्रिय मेलमिलापको घोषणा गर्नुभयो । त्यस दिन गणेशमान सिंहसहित बीपी र अन्य नेता भारतको निर्वासन छोडी हवाईजहाजबाट नेपाल प्रवेश गर्नुभयो । त्यसैले पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवस भनिन्छ ।
तत्कालीन अवस्थामा दक्षिण एसियामा देखिएका उथलपुथलको प्रभाव नेपालमा पर्ने देखेर राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राखेको र बीपीले राष्ट्रिय मेलमिलाप नीतिको घोषणा गरेको बुझिन्छ । शान्तिक्षेत्रको प्रस्तावलाई पञ्चायती व्यवस्थाको सुरक्षार्थ ल्याइएको प्रस्ताव तथा राष्ट्रिय मेलमिलापलाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा बस्न असजिलो स्थिति बनाएकाले नेपाल प्रवेश गर्ने निहुँमा राजाका सामु राखिएको प्रस्ताव हो भन्ने अर्थ गरियो । नेपाल प्रवेशपछि बीपी कोइराला र राजा वीरेन्द्रबीच भेटघाट र कुराकानी हुन थालेको देखिन्छ । कुराकानीपछि गणेशमानले विश्वेश्वरलाई ‘तिमी’ सम्बन्धी गरेको प्रश्न, वि.सं.२०४६ देखि हालसम्म पत्रकारहरूले सञ्चारमाध्यममा प्रयोग गरेको ‘तिमी’ र नेपाली व्याकरणले अथ्र्याएको ‘तिमी’ का सन्दर्भमा यो लेख तयार गरिएको छ ।
मेलमिलाप अख्तियार गरेपछि मात्र बीपी कोइरालालाई राजासँग कुराकानी गर्ने अवसर मिल्यो । गणेशमानबाट कुराकानीमा विश्वेश्वरलाई राजाबाट ‘तपाईं’ वा ‘तिमी’ के भनियो भनी प्रश्न सोधियो । विश्वेश्वरले गणेशमानलाई दिएको उत्तरको सार के थियो भने राजाले सबै जनतालाई ‘तपाईं’ भन्नुपर्छ भनी आन्दोलन गरेर हिँडेको मानिस मलाई मात्र ‘तपाईं’ वा ‘तिमी’ भन्नुले कुनै अर्थ राख्दैन । अर्थात् राजाबाट सबै जनतालाई ‘तपाईं’ भन्नुपर्छ, नकि ‘तिमी’ ।
पहिलेदेखि नै राजसंस्थाले जनतालाई ‘तपाईं भन्ने चलन थिएन । यसको के आशय हो भने प्रजातन्त्र आएपछि राजसंस्थादेखि जनतासम्म सबैले परस्पर ‘तपाईं’ भनेर सामाजिक समानताको वातावरण बनाउनुपर्छ । वि.सं.२००७ को जनक्रान्तिले राणाशाहीको शासनलाई हटायो तर राजाको मुखबाट जनतालाई भन्ने ‘तिमी’ हटाउन सकेन । राष्ट्रिय मेलमिलापले सामाजिक आन्दोलनबाट ‘तिमी’ लाई प्रतिस्थापन गरी ‘तपाईं’ लाई स्थापित गर्न खोज्यो । २०४६ चैत २६ गते नेपालमा प्रजातन्त्रको पुनःस्थापना भयो तर बीपी कोइरालाले भनेजस्तो सामाजिक आन्दोलन हुन सकेन । किनभने राजसंस्थाले त जनतालाई ‘तपाईं’ भन्नुपर्ने वातावरण बन्यो तर पत्रकार जगत् भने तपाईं छोडेर ‘तिमी’को प्रयोगतर्पm अग्रसर हुन थाल्यो ।
मेरो जानकारीमा सर्वप्रथम ‘तिमी’को प्रयोग बीबीसीको नेपाली भाषाका पत्रकारबाट प्रारम्भ भएको छ । तिनताका राजसंस्थाले प्रधानमन्त्रीसँग कुराकानी गर्दा ‘तिमी’ को प्रयोग किन गरे ? भनी पत्रपत्रिकामा चर्चा भएको थियो । यसकारण वि.सं.२०४६ पछि समेत राजाले पुरानो हैकमी संस्कार देखाउन प्रधानमन्त्री र जनतालाई ‘तिमी’ शब्द प्रयोग गर्न छोडेको देखिन्न । बीपीले राजसंस्थादेखि सबै नेपालीसम्म परस्पर ‘तपाईं’ भनाउन गरेको सामाजिक आन्दोलनको परिणाम सार्थक भएको देखिन्न । यहाँनेर पत्रकारहरूबाट बुझेर वा बुझेर राजसंस्थाको आलोचना गरेको त देखियो तर आ आफ्ना प्रसारण र प्रकाशनमा भने त्यही हैकमी संस्कार देखाउने सर्वनाम (ऊ, उनी, तिमी) र क्रियापद (भने, बताए, गरे जस्ता) प्रयोग हुन थालेको भेटिन्छ । नेपाली भाषाका आदरार्थी भनी चिनिने तँ, तिमी, तपाईं र हजुर जस्ता शब्द र तिनले सङ्गति लिने क्रियापदसँग वंशानुगत सामन्ती चेतना पनि छ भन्नेतर्फ नेपाली पत्रकारले सोचेको देखिन्न । बरु बीपी कोइरालाले सामन्ती चेतना हटाउन सबैलाई ‘तपाईं’ सर्वनामले भाषिक व्यवहार गर्नुपर्छ भनी सोच्नुभएको रहेछ ।
पत्रकारहरूले गरेको ‘तिमी’को प्रयोग हेर्दा उनीहरूमा शक्ति र पदका आधारमा ‘तपाईं’ सर्वनामको प्रयोग नगर्ने सोच बनाएको हो कि भन्ने देखिन्छ । यो सोचअनुसार प्रसारण र प्रकाशनमा आदरलाई गौण बनाउन खोजिएको होे भने पत्रकारहरूले अनुसन्धानात्मक लेखनमा जस्तै पत्रकारिताको लेखनमा कर्मवाच्य र भाववाच्यको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्तो प्रयोग विस्तार गर्न सके पत्रकारिताका क्षेत्रको भाषामा विशेष क्षमता विकसित हुनसक्ने थियो । तर पत्रकारहरूबाट परम्परादेखि चलिआएको अधिक कर्तृवाच्यको प्रयोग गरेको देखिन्छ । आफ्नो शक्ति र पदका आधारबाट राजाले अर्कोलाई प्रयोग गर्ने ‘तिमी’ जनताले अर्कोको शक्ति र पद देखेर प्रयोग गर्ने ‘तपाईं’ र पत्रकारले अर्काको शक्ति र पद देखे पनि भन्दिने र लेखिदिने ‘तिमी’ ले कर्तृवाच्यका वाक्य नै खोजेका छन् । यस्ता आदर कर्तृवाच्यका औपचारिक वाक्यले शक्ति, पद, प्रतिष्ठा आदि आधारमा वहन गर्ने व्याकरणिक तत्व हुन् ।
विभिन्न समाचार प्रकाशन र प्रसारण गृहले ‘तिमी’ र ‘तपाईं’ के प्रयोग गर्ने भन्नेबारेमा आपसमा छलफल गरेको बुझिन्छ । सबैले आफ्ना आफ्ना संस्थामा छलफल चलाए होलान् । तर यिनीहरूले औपचारिक वा कामचलाउ भाषामा प्रयोग गर्ने ‘तिमी’ र ‘तपाईं’मा एकरूपता देखिएको छैन । यिनका कुनै गृहले ‘तपाईं’ र कुनै गृहले ‘तिमी’कै प्रयोग गरिरहेका छन् । त्यसैले केही समय अगाडि प्रधानमन्त्री केपी ओलीबाट पत्रकारितामा ‘तिमी’ सर्वनाम प्रयोग गर्नेहरूले परिवारमा आफ्ना आमाबाबुलाई पनि ‘तिमी’ भन्छन् कि क्या हो ? भन्ने प्रश्न गरेको हुनुपर्छ । पत्रकारिता वा सञ्चार जगत्लाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्तै राज्यको अङ्ग मान्ने हो भने यसले प्रयोग गर्ने भाषामा एकरूपता हुनुपर्छ । पत्रकारिता राज्यको अङ्ग होइन भने यसले अन्य अङ्गले प्रयोग गर्नेभन्दा अलग शैली निर्माण सक्ला । यस्ता अलग शैली त मानव समाजका ससाना समूहका आफ्नै पनि हुन्छन् तर राज्यको चौथो अङ्ग पत्रकारिता राज्यको सानो अङ्ग होइन ।
यसले सामाजिक प्रचलनका शैली छोडेर अर्कै शैली निर्माण गर्न मिल्छ र ? प्रचलनमा ल्याएको ‘तिमी’ शैली सामाजिक र व्याकरणिक दृष्टिले चोर, डाँका हत्यारा, गुण्डा र बदमासलाई प्रयोग गर्न मिल्ने देखिन्न । किनभने तिनीहरू सामाजिक आचरणका दृष्टिले समान्य (तिमी) र उच्च (तपाईं) आदर शैली प्रयोग गरिने समूहमा पर्दैनन् । शैलीमा त सामाजिक प्रतिविम्बन हुन्छ । तसर्थ चोर, डाँका, गुण्डाहरूलाई न त ‘तपाईं’ न त ‘तिमी’ शैलीको प्रयोग गरिन्छ । समाजले त तँ, तिमी र तपाईंमा देखिने आदरका तहलाई आदर सापेक्ष र आदर निरपेक्ष शैली प्रयोग गरेको देखिन्छ । प्रकाशन र प्रसारण गृहबाट प्रयोग गरिने पत्रकारहरूका भाषा शैलीमा पनि यस्तो आदर सापेक्ष वा आदर निरपेक्ष सामाजिक प्रयोगको प्रतिविम्बन अपेक्षित ठानिन्छ ।
राष्ट्रिय मेलमिलापमा बीपीले सबैलाई तपाईं प्रयोग गराउने प्रचलन आवश्यक ठान्नुभयो तर प्रजातन्त्रको पुनःस्थापनापछि पत्रकारले पत्रिकामा खबर प्रवाह गर्दा सबैलाई तिमी प्रयोग गर्न प्रारम्भ गरे । व्याकरणले भाषामा रहने सामाजिक प्रतिविम्बन अनुसार तिमीको प्रयोग गरिरहेको छ । अहिले गोरखापत्रसहित धेरै अखबार र प्रसारणका पत्रकारले व्याकरणले देखाएको बाटोमा तँ, तिमी र तपाईंसम्बन्धी आदरको प्रयोग गरेकै देखिन्छ । जसलाई राज्यका अन्य अङ्गले पनि अनुसरण गरिरहेका छन् ।
तर केही प्रकाशन र प्रसारण गृहका औपचारिक भाषामा ‘तिमी’ शैली प्रयोग गर्ने पत्रकारहरू पनि बृहत् नेपाली समाजका सदस्य हुन् । बृहत् नेपाली समाजले प्रयोग गर्ने तँ, तिमी र तपाईंसम्बन्धी आदरको यथावत् प्रयोग रहिन्जेल बृहत् समाजका थोरै सदस्यबाट भएको ‘तिमी‘ शैलीको प्रयोगलाई बृहत् सामाजिक प्रयोगका आधारमा नियम बनाउने व्याकरणले आफ्नो नियमभित्र कसरी समेट्न सक्छ र ? बरु आज राष्ट्रिय मेलमिलाप दिवसको दिनमा ‘तपाईं’ र ‘तिमी’ शैलीको प्रयोगका बारेमा विश्वेश्वरप्रसाद कोइरालाको भनाइ स्मरण गर्ने हो कि ? á
(लेखक लामो समयसम्म प्राध्यापन
पेशामा सँलग्न हुनुहुन्थ्यो।)