विशेष समारोहका साथ आज नेपाल भ्रमण वर्ष सन् २०२० को उद्घाटन हुँदैछ । इस्वी संवत्को पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशाला र सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नुभएपछि पर्यटन वर्ष, २०२० को विधिवत् सुरुवात हुनेछ । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भिœयाउने तयारीमा रहेको सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिनदेखि पर्यटन दशक मनाउने अभियान सुरु गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको स्पष्ट गरेको छ । नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान दिँदै आएकाले यस वर्ष र आगामी दशकको सफलतासँगै नेपालमा पर्यटन क्षेत्रका नयाँ दिशा उघारिनेछन् । सन् २०२० सन्दर्भमा बन्ने पर्यटन विकासमा भौतिक, कानुनी, प्रशासनिक पूर्वाधार तथा पर्यटकको आवागमनले आगामी दिनलाई परिणाममुखी बनाउनेमा विश्वस्त हुन सकिनेछ । नेपालको पर्यटन विकासका लागि थप पहलस्वरूप सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरी त्यसअनुसारका भौतिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै सुरु भएको पर्यटन वर्षको सफलताले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान दिने भएकाले यसलाई विशेष महŒवका साथ हेरिएको छ । एकजना पर्यटक नेपाल आउँदा औसतमा पाँच नेपालीले काम पाउने अवस्थामा पर्यटनको विकास नेपालको समृद्धिमा कोशेढुङ्गो सावित भएको छ । त्यसैले नेपालले पर्यटनजस्ता सम्भाव्य क्षेत्रमा गर्ने लगानीले मुलुकको समृद्धिका साथै अन्तर्राष्ट्रिय छविलाई थप उचाइमा पु¥याउनेछ ।
धेरै तयारी र विविध क्षेत्रको सहभागितामा मनाइने भ्रमण वर्षले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेख्य महìव पाएको सरकारी अधिकारीले विश्वास व्यक्त गरेकाले भ्रमण वर्षले अपेक्षित परिणाम प्रदान गर्नेछ । उद्घाटनलाई विश्वका मुलुकले दिएको महìवबाट पनि यसको सम्भावित सफलता आँकलन गर्न सकिनेछ । यो भ्रमण वर्षले आर्थिक उद्देश्य मात्र राखेको नभएर भावनात्मक रूपमा विश्वका जहाँसुकै रहे, बसेका नेपालीलाई नेपालसँग जोड्नेछ । ‘एक नेपालीले एक पर्यटक साथी नेपाल पठाऊँ’ भनेर सरकारले गरेको आह्वानलाई विदेशमा रहेका नेपालीले आत्मीयताका रूपमा लिएका छन् । विदेशमा रहेका नेपाली मात्र आइदिने हो भने पनि भ्रमण वर्ष निकै सफल हुनेछ ।
पर्यटन विकासका सम्भावनासँगै विभिन्न चुनौती रहेका सम्बन्धित व्यवसायीले औंल्याउँदै आएका छन् । समस्या नभएका कुनै क्षेत्र पनि नहुने भएकाले चुनौतीलाई अवसरमा बदल्न सक्नुमा नै सफलता निर्भर रहन्छ । पर्यटन वर्षको कार्यान्वयनले आगामी दिनमा यस क्षेत्रमा रहेका चुनौती पहिचान गर्दै पर्यटन दशकका लागि तयारी गर्न सहजता प्रदान गर्नेछ । अर्कोतिर पर्यटनको विकाससँगै नेपालको संस्कृति तथा सम्पदाको संरक्षण र विश्वव्यापी प्रचारमा पनि योगदान पुग्नेछ । एउटा पर्यटक नेपालबाट फर्कंदा उसको मनभरि नेपाल र नेपाली संस्कृति सजाएर फर्काउन सकियो भने त्यो दृश्य अर्को पर्यटकलाई नेपाल आउने प्रेरणा बन्न सक्छ । यस्ता सम्भावना र चुनौतीबीच नेपालले पर्यटन दशकका लागि सन् २०२० लाई प्रस्थानबिन्दु बनाउन सक्नेछ ।
सरकारले भनेजस्तै पर्यटनको विकास वा पर्यटन दिवसको सफलता एक पक्षको सक्रियताले मात्र सम्भव छैन । सम्बद्ध निकायबीचको समन्वयमा भौतिक पूर्वाधार विकास र पर्यटनमैत्री सुविधा विस्तार गर्दै मौलिक नेपाली आतिथ्य शैलीले नेपालको पर्यटन विकासमा योगदान दिन सकिनेछ । यस्ता कार्यमा सरकारको नेतृत्व र सहजीकरण आवश्यक हुनेछ तर निजीक्षेत्र, पर्यटन व्यवसायी र पर्यटन पेशामा आबद्ध श्रमिकको व्यवहारले पनि पर्यटकको मन जित्ने वा नजित्ने भएकाले सबै पक्षले आ–आफ्ना स्थानबाट पर्यटकमैत्री व्यवहार प्रदर्शन गर्नु त्यत्तिकै आवश्यक छ ।
नेपालले अवलम्बन गरेको सङ्घीयता अनुकूल पर्यटकीय क्षेत्रको पहिचान र अभिलेखीकरण गरेर सङ्घीय र प्रदेश सरकार तथा स्थानीय तहहरूले संयुक्तरूपमा आगामी दिनमा नयाँ पर्यटन नीति जारी गर्नु आवश्यक छ । नेपालको हवाई सेवामा क्रमशः सुधारका मापदण्ड पूरा भएकाले युरोप क्षेत्रको उडानको पुनः सम्भावना देखिएको छ । यसै वर्षभित्र नेपालले यस्तो उडानको पुनः अनुमति पाएमा भ्रमण वर्ष आगामी दशकका लागि अर्को ठूलो उपलब्धि हुनेछ ।