प्रदीप नेपाल
केही दिन पहिले नेकपाका वरिष्ठ नेता माधव नेपालले पालिका सरकारहरू भ्रष्ट भए भन्नुभयो । अहिलेसम्म नेकपामा भ्रष्टाचारको कुहेगन्ध नलागेका माधवजीको त्यो भनाइ पढेपछि मैले पहिलो प्रतिक्रिया लेखेको थिएँ । यदि यो सत्य हो भने साह्रै नराम्रो भयो । त्यसैले यो मेरो लेख पालिका सरकारसँग जोडिएका साथीभाइका लागि हो ।
पुँजीवाद भनेकै भ्रष्टाचारी शासन हो । कमजोर मन भएका, निष्ठामा प्रश्न उठेका मानिसहरू पुँजीवादमा सहजै बहकिन्छन् । पैसामा बहकिनेहरू रछ्यानमा डुब्दा आपूm खुस्किएको थाहा पाउँदैनन् । भ्रष्टाचार, जनतालाई स्वीकार्य नहुने अपराध हो भन्ने पनि तिनलाई थाहा हुँदैन । लाख दिए पनि ठिक्कै, करोड अथवा करोडहरू दिए पनि ठिक्कै । पसिना नपरेको पैसा जति भए पनि उडाउन अप्ठ्यारो लाग्दैन ।
तर दिनेले हिसाब नगरी पैसा दिँदैन । त्यो पैसा, उसको घुसखोरमाथिको लगानी हो । लगानी गरेपछि दाताले त्यसको प्रतिफल खोज्छ । संसारमा कसैले पनि नाफा नोक्सानको हिसाब ननिकाली कतै लगानी गर्दैन । अहिले नेपालमा किन्ने र बेचिनेहरू छ्याप्छ्याप्ती छन् । साहु महाजनहरू लगानी गर्न पैसा बोकेर हिँडेका छन् । यता सरकार पनि ‘मल’ (व्यापारिक केन्द्र) खोलेर बसेको छ । सुन काण्ड, मेलम्ची ‘नखाने पानी’ आयोजना, बौद्ध जोरपाटी हिले सडक, विभिन्न विमान काण्डहरू यसैकारण बदनाम भएका हुन् । भर्खरै बालुवाटारको जग्गा प्रकरण बजारमा आएको छ । बालुवाटार प्रकरण घरजग्गा दलालले मालपोत, अख्तियार र नेता सबैलाई किनेर आफ्नो लगानी उठाएको हो । पहिले यस्तो कुकार्यमा नेपाली काँग्रेसका नेताका नाउँको बिगबिगी थियो । अहिले नेकपाका नेताहरूको नाम पनि बग्रेल्ती आइरहेको छ ।
घुस खानु भनेको दास हुनु हो । त्यो भनेको कुनै प्रतिष्ठान वा कुनै सम्पन्न व्यक्तिको नोकर हुनु हो । आपूm हुनुको गर्व मरेका मानिसहरू घुस खान्छन् । किनभने उनीहरूलाई म को हुँ भन्ने नै थाहा हुँदैन ।
कम्तीमा नेकपा र नेपाली काँग्रेसमा यस्तो हुनु हुँदैनथ्यो । किनभने यी दुुवैले आफ्नो गन्तव्य समाजवाद भनेका छन् । इमानदार नहुने हो भने त समाजवाद सपनाको गन्तव्य मात्र हुन्छ, विपनाको होइन । भ्रष्टाचार गर्ने हो भने यिनीहरूले पनि हिन्दू राज्य, राजतन्त्र जिन्दावाद भने भइहाल्छ ।
माथि बिग्रिएको छ । हावा नचली पात हल्लिँदैन । त्यसैले तपाईंहरू कहिल्यै पनि माथितिर नहेर्नुस् । तपाईं जहाँ उभिनुभएको छ, त्यतै मात्र हेर्नुस् । आफ्नो पालिकाका कसैले पनि – ऊ ! भ्रष्टाचारी गयो – भनेर पिठ्युँ पछाडि पनि भन्न नसकोस् । साथीहरू हिलोमै कमल फुल्छ, काँडाघारीभित्रै स्वादिलो एंँेसेलु पाइन्छ ।
म पुराना कुरातिर जान्न । मसँगैका साथीहरूले पूर्णकालीन भएर किन काम ग¥यौं ! तपाईंहरूमध्ये कतिले हामीलाई घरको बुइँगलमा लुकाएर जोगाउनु भएको थियो ! केका लागि ? यही भ्रष्ट, फटाहा, ज्यानमारा पुँजीवाद ल्याउनका लागि ? हाम्रो लक्ष्य त धेरै पर छ । त्यो अझै पनि सङ्घर्षमय छ । तर नेकपा र नेपाली काँग्रेसका साथीभाइले इमानको अठोट गर्ने हो भने समाजवाद साह्रै परको समाज पनि होइन ।
सङ्घीयताले त्यो यात्रालाई निकै वर तानेको छ । नेपाल समृद्ध हुनुपर्छ, नेपालीहरूले सुख पाउनुपर्छ कसले भन्दैन र ? पञ्चायतले पनि ‘लोकल प्रजातन्त्र’ भन्दै सुख र समृद्धिकै नारा लगाएको थियो । नेपाली काँग्रेसले पनि चलिरहेका उद्योगधन्दाको मर्ममा बञ्चरो हान्दा पनि सुख र समृद्धिकै नारा लगाएको थियो । पछिल्लो समयमा, त्यसमा पनि अधिकांश ठाउँमा तपाईंहरू नै नगरपालिकाको मेयर अथवा गाउँ विकास समितिको अध्यक्ष उपाध्यक्ष नै हुनुहुन्थ्यो । तपाईंहरूकै बीचमा प्रतिस्पर्धा हुन्थ्यो । तपाईंहरू नै कहिले जित्नुहुन्थ्यो अथवा जित्नुहुन्नथ्यो । इटहरी र हेटौँडा नमुना नगरपालिका थिए ।
मेरो काम यतिबेला पार्टीको गीत गाउने होइन । मैले त अब नमुना पालिका र त्यहाँका जनप्रतिनिधिको गीत गाउने हो । इटहरीका मेयरले आफ्नै घर भत्काएर बाटो फराकिलो बनाउनुभयो । धरानका नवनिर्वाचित मेयरले सेवाको जस्तो प्रतिबद्धता गर्नुभयो, यिनै हुन् समाजवाद ल्याउने अभियन्ताहरू । सप्तकोशी (यो नाम मेरो प्रस्ताव हो, निर्णयका लागि दिएको दबाब होइन) प्रदेशको राजनीतिमा चासो राख्ने सबैलाई थाहा छ– इटहरीका मेयर नेकपाको हुनुहुन्छ अनि धरानका मेयर काँग्रेसको ।
टाउकाका नेताहरू थाक्नुभएको छ बेस्सरी । साँच्चै सङ्घीयताको यात्रामा हिँडेको भए उहाँहरू लोकतान्त्रिक गणतन्त्रपछिको चुनावमा उठ्नुहुँदैनथ्यो । राजनीतिमा लोभानी पापानी मिसिएपछि मान्छे भरसक कुर्सीमै बसेर एक्कैचोटी ब्रह्मनालमा सुत्न पाए हुन्थ्यो भन्ने निष्कर्षमा पुग्दारहेछन् । म गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा पनि बसेको थिएँ । अघिल्ला दुुईपटकको कुरो ठीकै थियो । पछिल्लो मन्त्रिपरिषद्मा म आफैँ अपराधी भएको महसुस गर्थें । बिचरा आठ दशक नाघेका, सधैँभरि बालुवाटारमै बैठक बस्नुपर्ने, दश मिनेट बसेपछि कहिले सहाना प्रधान र कहिले रामचन्द्र पौडेललाई, बैठक चलाउँदै गर्नुस् है भनेर कोठाबाट बाहिर निस्कने गिरिजाप्रसादलाई हामीले कति बोझ बोकाएका हौँला जस्तो लाग्थ्यो । हारिजिती अहिले के.पी. ओलीको मन्त्रिपरिषद्को ताल पनि त्यस्तै छ ।
म अहिले फिनल्याण्ड र स्वीट्जरल्याण्डको उदाहरण दिन सक्दिनँ । तर देश हाँक्ने भनेको युवाले नै हो । हामीहरूले त सल्लाह दिने होे । केन्द्रीय सरकारभन्दा पालिका सरकारमा युवा बढी छन् । अपवाद त जहाँ पनि हुन्छ । तर पनि हामीले स्वीकार गर्नैपर्ने कुरो के हो भने हामीभन्दा पछिको पुस्ता हामीभन्दा जान्ने र प्रविधिमैत्री छ ।
पालिकाका साथीहरू ! मैले तपाईंहरूलाई पुल्क्याएको होइन, जिम्मेवारीबोध गराउन खोजेको मात्र हो । तपाईंहरू माथितिर कहिल्यै नहेर्नुस् । आफ्नो जिम्मेवारी आफ्ना मतदाता र आपूm निर्वाचित क्षेत्रका जनता मात्र हुन् । तपाईंहरूलाई यो गह्रुङ्गो जिम्मेवारीबोध होस्, माथि फेरि २०१७ या २०५८ सालको इतिहास दोहोरिँदैन भनेर कसैले ग्यारेण्टी गर्न सक्दैन । तर तपार्इंको क्षेत्रका जनतालाई तपाईंहरूले अधिकार र कर्तव्यको ज्ञान, त्यो पनि आफैँ उदाहरण बनेर सिकाउन सक्नुभयो भने सङ्घीय सरकारमा बस्नेहरूले कहिल्यै कू को सन्त्रासमा बस्नुपर्ने छैन ।
हिजो गाउँ घरमा, अगेनाको डिलमा बसेर मकै खाँदै देखेका सपनाहरू पालिका सरकारबाटै पूरा हुन्छन् भन्ने झिनो सपना देखेको छु यतिबेला मैले । दलाल पुँजीवादले अहिलेसम्म तिनको शिकार गरेको छैन । भारतको नेपालप्रतिको एउटा गम्भीर चासो छ रे नेपालको लोकतान्त्रिक गणतन्त्रप्रति । पहिले एउटा राजालाई पट्याउँदा सबै काम हुन्थ्यो रे । अब त्यति काम गर्न १२ जनाका अगाडि थैलो खोल्नुपर्छ । सुन्या कुरा हो, सत्य असत्यको निर्णय गर्ने अधिकार जानिफकारलाई मात्रै हुन्छ ।
हाम्रो देशमा माथिका नेता र तलका कार्यकर्ताको जीवनशैलीमा नै अत्यन्त ठूलो विभेद आइसकेको छ । मानिसहरूको नैतिकता पनि मरेको छ । आज राप्रपा, भोलि नेकपा, पर्सी सङ्घीय समाजवादी हुने र निकोपर्सि काँग्रेस अनि फेरि घुमेर नेकपा हुनेहरू राजनीतिको जागिर खाने काम बाहेक अरू केही सक्दैनन् । त्यसैले तलका पालिकाहरूले मानिसहरूलाई भिœयाउँदा म कुन पार्टीमा जाँदैछु भन्ने बुझ्नसक्ने अवस्था चाहिँ बनोस् । राजनीति सेवा हो, त्याग हो, दुःख पनि हो भन्ने सत्यलाई नबुझ्नेहरूका लागि समाजवाद, पुँजीवाद एउटै हुन् तर नामचाहिँ कुरो मिलाउन मात्र अलग अलग हुन् भन्ने ज्ञान हुन्छ । यस्तो ज्ञान भएकालाई पार्टीमा भिœयाएर अर्को चुनावमा यिनै हाम्रा प्रतिनिधि भन्नुपर्दा तपाईंहरूको कुन फजिती हुँदो हो !
(लेखक नेकपाका नेता हुनुहुन्छ । )