नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइट फोहोरले भरिँदै गएको छ । स्थानीयसँगको सहमतिमा दुई वर्षका लागि काठमाडौँ उपत्यकाको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ गतेदेखि फोहोर फालिँदै आएको १४ वर्ष पुगेको छ । त्यहाँ जग्गाको क्षमताभन्दा धेरै फोहोर थुपारिएकाले पटकपटक सवारी साधनको प्रवेशलगायत अन्य व्यवस्थापनमा समस्या आएको बताइएको छ । उपत्यकाका तीन सहरी क्षेत्रमा उत्सर्जन हुने फोहोर विसर्जन गर्न थालिएको १४ वर्ष पुग्दा पनि अन्य विकल्प तयार नहुँदा अबका दिनमा फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिएको छ । सिसडोलमा फोहोर फाल्ने ठाउँ भरिनुका साथै अव्यवस्थित भएको छ । त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास नगरिएको, फोहोर विसर्जनपछि गरिनुपर्ने फोहोरको ढाकछोप, स्वास्थ्य सुरक्षा विधि, फोहोर प्रशोधन र वातावरणीय संरक्षण हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । उनीहरू सो क्षेत्रबाट ल्यान्डफिल साइट हटाउन चाहन्छन् । त्यसका लागि पटकपटक स्थानीयले दबाबमूलक कार्यक्रम गरेका छन् । लामो समयसम्म त्यहाँ फोहोर फालिएको तर विगतको प्रतिबद्धताअनुसार विकल्प नखोजिएकाले उपत्यकाको फोहोर व्यवस्थापनमा जटिलता देखिएको हो । उपत्यकामा दैनिक ११ सय टन फोहोर सङ्कलन हुने गरेकोमा धेरै फोहोर त्यहाँ नै विसर्जन गरिँदै आएकाले यहाँ फोहोर व्यवस्थापनमा आउने व्यवधानले काठमाडौँमा मात्र नभएर उपत्यकाभरि नै समस्या आउनेछ ।
सिसडोलपछि नुवाकोटकै बञ्चरेडाँडामा वैकल्पिक ल्यान्डफिल साइट बनाइने तयारी गरिएको छ । सो स्थानमा निर्माण गरिने स्यानिटरी ल्यान्डफिल साइटको काम सम्पन्न गरी यही मङ्सिरदेखि बञ्चरेडाँडामा फोहोर लाने भनिए पनि भौतिक पूर्वाधारका काम नसकिएकाले केही समय सिसडोलमै फोहोर विसर्जन गर्नुपर्ने अवस्था छ । त्यसो त फोहोर व्यवस्थापनका लागि स्थान पहिचानमात्र वैकल्पिक व्यवस्था हुनसक्दैन । सरकारले उपत्यकाको फोहोर व्यवस्थापनमा विभिन्न विकल्प अगाडि सारेको छ । कम्पोष्ट मल र कुहिने, नकुहिने वस्तुको पृथकीकरण गरी फोहोरको परिमाण घटाउने, फोहोरलाई मोहरमा परिणत गर्नेजस्ता कार्यक्रम आएका छन् । फोहोर व्यवस्थापनमा परिवार र व्यक्तिलाई जिम्मेबार बनाउनु त्यत्तिकै आवश्यक छ । सरकार वा नगरपालिकाले आफ्नो घरआँगन सफा गरिदिन्छ भन्ने नागरिक मानसिकताको विकल्प खोज्नु पनि त्यत्तिकै आवश्यक हुन्छ ।
फोहोर व्यवस्थापनमा वैज्ञानिक मापदण्ड नअपनाइएकाले वर्तमान समस्या जटिल बनेको हो । सिसडोलमा जापानी प्रविधिअनुसार फोहोर फालिने र गन्ध तथा प्रदूषण नहुने बताइएकोमा हाल त्यस्तो नभएको पाइएको छ । यसरी हेर्दा फोहोरभन्दा फोहोरको व्यवस्थापनमा समस्या देखिन्छ । उच्चस्तरीय प्रविधि अपनाएमा फोहोर विसर्जनमा स्थानीयको सहयोग रहन सक्छ । सिसडोलमा फोहोर विसर्जन गरिँदा त्यहाँका बासिन्दालाई समस्या भएको होला तर त्यसैका कारण त्यस क्षेत्रमा भौतिक संरचना बनेका र स्थानीयलाई मिलेको मानवीय सहयोग बिर्सन हुँदैन । केही गल्ती कमजोरीले जनधनको क्षति भएको पनि छ तर समग्रमा कुनै पनि योजना वा परियोजनाले समस्यामात्र होइन स्थानीयलाई फाइदा पनि दिन्छ भन्ने विश्वासका साथ फोहोर व्यस्थापन गर्ने हो भने अझै केही समय सिसडोलमा फोहर विसर्जन गर्न सकिने देखिन्छ । उच्च प्रविधिको प्रयोग गरी सतर्कतापूर्वक फोहोर व्यवस्थापन गर्दै चराहरूले घरआँगनमा फोहोर पु¥याउन नसक्ने प्रबन्ध मिलाइको भए स्थानीयको अवरोध र समस्या आउने थिएन । सिसडोलमा मात्र नभएर बञ्चरेडाँडा वा अन्य स्थानका सन्दर्भमा पनि यो अनुभवबाट पाठ सिक्न सकिनेछ । साथै फोहोर व्यवस्थापनसम्बन्धी काम गर्न सक्षम निकायको स्थापना, वैज्ञानिक उपकरण, प्रविधि तथा अभ्यास, पर्याप्त स्रोत परिचालन गरेर दीर्घकालीन फोहोर व्यवस्थापन गर्न सकिनेछ ।
स्थानीयवासीले सफा वातावरणमा बस्न पाउने अधिकार संविधानतः प्राप्त गरेका छन् । यसका लागि सरकारलगायतका निकाय संवेदनशील छन् । स्थानीयवासीले पनि आफ्ना माग र भनाइ सरकार वा सरोकारी निकायसँग राखेर त्यसअनुसार काम गर्न गराउन सक्नु उचित हुन्छ । यहाँ फोहोर फाल्नै दिँदैनौँ भन्नु सार्वजनिक जग्गामाथि रहेको सरकारको स्वामित्वलाई चुनौती दिएको ठहर्नेछ । स्थानीयले विकास निर्माणको माग गरेर फोहोर व्यवस्थापनमा सहयोग गर्नुलाई अन्यथा भन्न सकिँदैन तर सिसडोलमा व्यक्तिगत हितमा पनि फोहोर विसर्जनमा अवरोध गरिएका समाचार पनि आएका थिए, जसलाई स्वाभाविक र औचित्यपूर्ण भन्न सकिँदैन ।