logo
२०८१ मंसिर ११ मंगलवार



रात्रि सेवाको सान्दर्भिकता (सम्पादकीय)

विचार/दृष्टिकोण |




बढ्दो जनसङ्ख्या र सीमित जमिनमा मानिस कोचिएर बस्नुपर्ने विश्व परिवेश बन्दैछ । जमिनको क्षेत्रफल बढाउन सम्भावना छैन तर यसको उपयोगमा विविधीकरण गरी अधिकतम उपयोग गर्न सकिनेछ । माल्दिभ्ससँग कम जमिन भएकाले उसले समुद्रमुनि मानव बसोवासको सम्भावना खोजिरहेको छ । मन्त्रिपरिषद्को घण्टौँ लामो बैठक समुद्रमुनि गरेर माल्दिभ्सले समुद्रमुनिको बसोवास पुष्टि गरिसकेको छ । जमिन कम भएको जापानले सुमद्रमाथि कान्साई विमानस्थल बनाएको छ । फ्रान्स र बेलायतबीच रहेको समुद्रमुनिको रेलमार्ग त चर्चित नै छ । यहाँ जमिनको क्षेत्रफल विस्तार गरिएको छैन बरु यसको उपयोगमा विज्ञान र विविधीकरणको प्रयोग गरिएको छ । जीवविज्ञानले जिउनका लागि सङ्घर्ष (स्ट्रगल फर इक्जिस्टेन्स) का पक्षमा मत व्यक्त गर्दछ । मानिसले समुद्रमुनि बाँच्न प्रयत्न गर्नु यस्तै सङ्घर्ष हो । यस्तै सङ्घषर््ा र आवश्यकतामा मानिसको जीवनमात्र चल्दैन संस्कृतिको निर्माण पनि हुन्छ ।
नेपालमा सार्वजनिक रात्रिकालीन जीवन नयाँ अनुभव हो । साँझ ६–७ बजेदेखि काठमाडौँ उपत्यकाको सार्वजनिक रात्रिकालीन जीवन निष्क्रिय हुने भएकाले यसलाई सक्रिय बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नयाँ बहस प्रारम्भ गर्नुभएको छ । यो बहसमात्र होइन आवश्यकता पनि हो । रात्रिजीवनलाई व्यवस्थित गर्न सक्दा दिउँसोको भीडभाड व्यवस्थापन गर्न सम्भव देखिन्छ । पर्यटन वर्षका सन्दर्भमा सार्वजनिक रात्रिजीवनको सक्रियताका पक्षमा जुन बहस र आवश्यकता देखिएको छ त्यसलाई सरकारी, निजीक्षेत्र र सर्वसाधारणको सहभागितामा आगामी दिन क्रमशः वृद्धि गर्दै लैजान सकिन्छ ।
त्रिभुवन विमानस्थल क्रमशः २१ घण्टा सञ्चालनमा आउने भएपछि प्रारम्भिक यात्रु लक्षित सार्वजनिक रात्रिकालीन जीवन सुरु गर्नु आवश्यक हुन्छ । यस्तै दाहसंस्कार, भित्री सहरी क्षेत्रमा बनाइने संरचना तथा त्यसका लागि आवश्यक सामग्रीको ढुवानी रातिमात्र गर्न पाउने व्यवस्था, खेल प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम तथा खुलामञ्च केन्द्रित विभिन्न समुदायका कार्यक्रम रातिमात्र गर्न पाउनेजस्ता विधि अपनाएर सार्वजनिक रात्रिजीवनलाई सक्रिय बनाउन सकिनेछ । यसैगरी सडक वा सार्वजनिक स्थानलाई राति खुला बजारका रूपमा प्रयोग गर्न दिएर किनबेच केन्द्रित व्यस्तता सिर्जना गर्न सकिनेछ । यस्ता बजारमा बिक्री हुने सामान तथा सेवाका लागि कोठाभाडा नलाग्ने भएकाले तुलनात्मकरूपमा सस्तो पर्ने भएपछि खुलाबजारका पसल क्रेताबिक्रेता दुवैको छनोटमा पर्न सक्छन् ।
बजार गतिविधि एक प्रकारको संस्कृति हो । अझै पनि राजधानीका कतिपय ज्येष्ठ नागरिक बजार भनेको असन मात्र हो भन्ने मानसिकता पाल्नुहुन्छ । यस्तो अवस्थामा रात्रिजीवनको सक्रियता भन्नेबित्तिकै कहाँसम्म यस्तो जीवन सक्रिय बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर पनि खोज्नुपर्ने हुन्छ । त्यसैले जीवनशैलीलाई क्रमशः सार्वजनिक रात्रिकालीन बनाउन एकपक्षको निर्णयभन्दा पनि यातायात, सुविधा, सुरक्षा, व्यापार सुविधाको एकीकृत वातावरण तयार गरेर किनमेल दिउँसो मात्र हुनसक्छ भन्ने व्यापार संस्कृतिमा परिवर्तन गरी रात्रिकालीन सार्वजनिक जीवन स्थापना गर्न सकिन्छ ।
नेपालले पर्यटक बढाउने उद्देश्यसहित पर्यटन लक्षित पूर्वाधारमा जोड दिएको छ । पोखरा, भैरहवा, निजगढका अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौँ–तराई दु्रतमार्ग सञ्चालनमा आएसँगै काठमाडौँको दिवाकालीन जीवनमा भीडभाड थपिनेछ । यस्तो अवस्थामा राजधानी र क्रमशः अन्य सहरी क्षेत्रमा सार्वजनिक रात्रिकालीन जीवन सक्रिय बनाउनु अनिवार्य हुनेछ ।
विकसित देशमा राति घण्टाका आधारमा पसलका कवल खासगरी रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिने प्रचलन छ । दिनभर एकजनाले रेष्टुरेन्ट सञ्चालन गर्छ राति अर्कैले सो कवलको खाली स्थान सदुपयोग गर्छ । खाली स्थानको दोहोरो प्रयोगले भाडा कटौती गरी सस्तोमा खाना उपलब्ध गराउन सकिने भएकाले ग्राहकको भीड लाग्न सक्छ । यस्ता दर्जनौँ पक्षको अध्ययन र अवलम्बनबाट सार्वजनिक रात्रिकालीन जीवन सक्रिय बनाउन सकिन्छ । यसलाई जमिनको दोहोरो प्रयोग वा विविधीकरण भनेर बुझ्न सकिनेछ । रातभर खाली बस्ने हाम्रा चोक तथा सडकलाई मापदण्ड, कानुन र प्राविधिक मैत्री उपयोग गरी रात्रिजीवन सक्रिय गर्न सकिनेछ ।
मनोरञ्जनसहित सपरिवार हिँड्न सकिने वातावरण भएमा सार्वजनिक रात्रिकालीन दिनचर्या सक्रिय बनाउन सकिनेछ । दिन(चर्या भनेको दिउँसोको चार प्रहरमात्र होइन भनेर पुष्टि गर्न पनि सार्वजनिक रात्रिजीवनको सक्रियता बढाउनु आवश्यक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?