लोकमणि पौडेल
हिजोआज विभिन्न सञ्चारमाध्यममा हिन्दु धर्मसम्बन्धी अनेक दृष्टिकोणहरू प्रकाशमा आइरहेको देखिन्छ । त्यस्ता लेखहरूमध्ये एकाधलाई छाडेर बाँकी लेखहरू अपूर्ण र अपुष्टजस्ता लाग्छन् । कतिपय दृष्टिकोणहरू प्रायोजित रूपमा हिन्दु धर्मलाई कमजोर देखाउने मनसायले अभिप्रेरित भएका देखिन्छन् भने कतिपय लेखहरू हिन्दु धर्मसम्बन्धी अवधारणाहरूको अपूर्ण ज्ञानका कारण अपरिपक्व देखिन्छन् । फेरि कतिपयमा हिन्दु धर्म र सनातन–धर्म एउटै नभएर दुई पृथक विषय हुन् भन्ने भ्रमले पनि काम गरेको देखिन्छ । एकातिर हिन्दु धर्ममाथि राजनीति भइरहेको छ भने अर्कातिर हिन्दु धर्मलाई लिएर राजनीति गरिरहेका पनि भेटिन्छन् । यी र यस्ता अनेक कुराहरूले हिन्दु धर्मलाई अनेक प्रश्नका कठघरामा उभ्भिन बाध्य बनाएको छ । यहाँ हामी तिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ ।
सनातन–धर्म नै हिन्दुधर्म हो ?
सनातनको शाब्दिक अर्थ परापूर्वकालदेखि चलिआएको भन्ने हो– शाश्वतस्तु ध्रुवो नित्य–सदातन–सनातन । अनि सनातन–धर्म भनेकै वैदिककालदेखि चलिआएको धर्म हो– सनातनश्चासौ धर्मस्य सनातन–धर्म । वैदिककालमा सनातन–धर्मको कुनै अर्को निश्चित नाम थिएन । कोही यसलाई वैदिक धर्म भन्थे, कोही आर्यधर्म भन्थे । उतिबेला मानिस जोसँग बढ्ता डराउँथे अथवा जुन चीज बढी शक्तिशाली ठान्थे, उसैलाई खुसी पार्ने उद्देश्यले उसैको पूजा गर्थे । सूर्य, अग्नि, जल, वायु, नाग आदिको पूजा आजको समाजसम्म पनि तन्किएर आइरहेको छ । पूजाको अर्को विकल्प पनि थियो– वैदिक साहित्यमा वर्णित देवीदेवताको पूजा गर्ने । वेदमा पनि सूर्य, अग्नि, वायु, जल, वराह, सिंह आदिको उल्लेख थियो र छ । यही नै हाम्रो प्रमुख ईश्वर हो भन्ने थिएन । अलग–अलग समाजका अलग–अलग पुजनीय थिए र तिनका पुजकलाई सनातनी भनिन्थ्यो । धेरै पछि आएर सनातन–धर्मलाई हिन्दु धर्म भन्न थालिएको हो ।
हिन्दु धर्मको नामकरण कसरी ?
सुरुमा हिन्दु भन्ने शब्द प्रचलनमा थिएन । अथवा यसको न्वारन नै भएको थिएन । अहिले विश्वमा देखिएका अरू धर्महरूभन्दा यो कैयौँ गुणा पुरानो हो । अर्को कुनै निश्चित सम्प्रदाय या धर्मको आविर्वाभ नहुँदासम्म यसलाई कुनै नाम दिनुपर्छ भन्ने सोचको विकास भएकै थिएन । जब पश्चिमबाट इसाई, यहुदी आदि धर्महरूको प्रचार हुन थाल्यो तबदेखि विद्वान्हरूले यसको पनि कुनै नाउँ राख्नु आवश्यक ठाने । त्यसपछि यसको नाउँ हिन्दु धर्म भयो । जसरी सनातन शब्दमा सङ्कीर्णता थिएन उसरी नै हिन्दु शब्दमा पनि कुनै सङ्कीर्णता देखिँदैन । अहिले आएर दुवै एक–अर्काका पर्याय बनिसकेका छन् । अझ गहिरिएर भन्दा सनातन धर्मलाई हिन्दु धर्मले प्रतिस्थापन गरिसकेको अवस्था छ । हिन्दु धर्मको नामकरणका बारेमा अनेक मतमतान्तर प्रचलित छन् । तीमध्ये प्रमुख तीन मतलाई यसप्रकार टिप्न सकिन्छ–
मत १– हिन्दु शब्द फारसी भाषाबाट आएको हो । सिन्धु नदीका किनारमा बस्ने मानिसलाई फारसीहरू हिन्दु भन्ने गर्थे । सिन्धुदेखि उत्तर–पूर्वका मानिस हिन्दुका नामबाट परिचित भएका हुन् । जसरी सप्त फारसीमा हप्ता बन्यो, उसरी नै सिन्धु फारसीमा हिन्दु बनेको हुनुपर्छ ।
मत २– हिन्दु शब्द चन्द्रमालाई बुझाउने इन्दु शब्दबाट बनेको हो । चिनियाँ भाषामा चन्द्रमालाई इन्तु भनिन्छ । यताका मानिसको ज्योतिषशास्त्र चन्द्रमाबाट प्रभावित भएको देखेकाले चिनियाँले यताका मानिसलाई इन्तु नामले सम्बोधन गरेका हुन सक्छन्, जो कालान्तरमा हिन्दु शब्दमा रूपान्तरित भएको हुनुपर्छ ।
मत ३– वृहस्पति आगममा रहेको एउटा श्लोकले हिमालयदेखि इन्दु सरोवरसम्मको भू–भाग हिन्दुहरूको वासस्थान रहेको बुझाउँछ । त्यहाँ भनिएको छ, “हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम् । तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।”
नामको विवाद उचित कि अनुचित ?
सनातन शब्दले परम्परादेखि चलिआएका विश्वका कुनै पनि कुनाकाप्चामा रहेका रीति–परम्परा–सम्प्रदायलाई समेत बुझाउने हुनाले हामीकहाँ प्रचलित सनातन–धर्मलाई कुनै नाउँ दिनु वाञ्छनीय थियो । त्यसैले पछिका विद्वान्हरूले हिन्दु शब्दको निर्माण गरेका हुन् । अहिले पूरै विश्वले हामी सनातनीहरूलाई हिन्दुकै नामले चिन्छ । हिन्दु धर्ममा अनेकौँ ग्रन्थहरू प्रकाशित भइसकेका छन् । हाम्रो वैदिक दर्शनलाई पश्चिमाहरू हिन्दु दर्शनका नामले जान्दछन् । यो नामले प्रचार–प्रसार पाएको लामो समय भइसक्यो । अहिले आएर नामको विषयलाई लिएर विवाद गर्नु भनेको नदुखेको टाउको दुखाउनुजस्तै हो । अनेक विदेशी विद्वान्हरूले “हिन्दु धर्म” को नाम लिएर व्यक्त गरेका अनेक महŒवपूर्ण उद्गारका कारण पनि हामीले “हिन्दु” शब्दको संरक्षणसँगै यसको प्रयोग गर्नु आवश्यक बनेको छ ।
हिन्दु धर्मका प्रवर्तक को ?
बुद्ध धर्मका प्रवर्तक भगवान् गौतम बुद्ध भएझैँ, शिख धर्मका प्रवर्तक गुरु नानक भएझैँ, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट भएझैँ र इस्लाम धर्मका प्रवर्तक पैगम्बर मुहम्मद भएझैँ हिन्दु धर्मका प्रवर्तक को हुन् ? विष्णु, शिव, ब्रह्मा वा इन्द्र ? कि देवी दुर्गा वा लक्ष्मी या ऋषिहरू ? वास्तवमा हिन्दु धर्मका प्रवर्तक यी कोही पनि होइनन् । तर, यी सबैबाट यो परिपोषित र परिपालित छ । सनातन धर्मको सुव्यवस्थाका लागि पूर्वज ऋषिहरूबाट वेद, पुराणलगायत अनेक शास्त्रहरूको रचना गर्ने महान् काम भएको छ । यसको पनि लामो परम्परा छ र अद्यापि चलिरहेको छ । कोही पनि निश्चित प्रवर्तक नभएकाले यसका यिनै भगवान् वा यिनै प्रवर्तक हुन् भन्ने कुनै आधार छैन । यस हिसाबले हेर्दा यसको क्षेत्र विशाल छ ।
हिन्दु भनेका को त ?
कोही बुद्धिष्ट हिन्दु होइनन् भन्छन् भने कोही शिख भनेका अहिन्दु हुन् भन्छन् । कसैले किरातीलाई हिन्दु मान्दैनन् भने कसैले जैनहरूलाई हिन्दु मान्दैनन् । फेरि कतिपय सनातनीले समेत आफूलाई हिन्दु भन्न नरुचाएका प्रशस्तै उदाहरण भेटिन्छन् । यदि यी सबै हिन्दु होइनन् भने हिन्दु भनेका को हुन् त ? वैष्णवहरू हिन्दु हुन् कि होइनन् ? जैनलाई हिन्दु मान्ने कि नमान्ने ?
असङ्ख्य देवी–देवता मान्ने पनि छन् । देवी–देवता केही पनि नमान्ने पनि छन् । बलिप्रथाका समर्थक पनि छन्, विरोधी पनि छन् । पूर्वजन्म र पुनर्जन्म मान्ने पनि छन् नमान्ने पनि छन्, अर्थात् आस्तिक पनि छन् र नास्तिक पनि छन् । आस्तिकहरूको प्रतिनिधित्व गर्ने अनेक उपधर्म र सम्प्रदायहरू र तिनका दर्शन यहाँ विद्यमान छन् भने नास्तिकहरूको प्रतिनिधित्व गर्ने चार्वाक पन्थ पनि हिन्दु धर्मकै एउटा दर्शनका रूपमा चिनिँदै आएको छ । भनेपछि, हिन्दु भनेर कसरी चिन्ने ?
छोटकरीमा भन्नुपर्दा जसले ओमकार मान्छ, त्यो नै हिन्दु हो । यो हिसाबले हेर्दा “ओम् मानेपेमे हूँ (ॐ मणिपद्मे हूँ)” भन्ने बुद्धिष्टहरू पनि हिन्दु हुन् । ओम् ह्रीं णमो अरिहताणं... भन्ने जैनहरू पनि हिन्दु हुन् । शिख धर्मको त प्रवर्तन भएकै हिन्दु धर्मको संरक्षणका लागि हो । शिख धर्मका प्रथम गुरु, गुरु नानकले रामको वन्दना गरेको इतिहास छ । शिख धर्मका दसौँ गुरु, गुरु गोविन्द सिंहले कवितामै लेख्नु भएको छ, “सकल जगत में खालसा पंथ गाजे, जगे धर्म हिन्दु सकल भंड भाजे ।”
अज्ञानताका कारण कतिपयलाई आफू हिन्दु हुँ भन्ने पनि हेक्का नभएको वर्तमान अवस्था छ । वास्तवमा जो इसाई होइनन्, जो इस्लाम होइनन् र जो यहुदी होइनन् ती सबै हिन्दु हुन् । बुद्धका विचारलाई जीवनदर्शन मान्नेहरू बौद्ध हुन्, विष्णुलाई आराध्यदेव मान्नेहरू वैष्णव हुन् । शिवलाई प्रमुख ठान्नेहरू शैव हुन् । भगवती अथवा दुर्गालाई सर्वोच्च मान्नेहरू शाक्त हुन् । तर, सबै हिन्दु हुन् ।
हिन्दु धर्ममा जातपात र छुवाछूत व्यवस्था
हिन्दु धर्मका मुख्य ग्रन्थहरूमा जातपातको व्यवस्था छ तर त्यसलाई छुवाछूतको दृष्टिबाट हेरिएको छैन । जातपातको व्यवस्थालाई हिन्दुग्रन्थहरूमा वर्णव्यवस्था अर्थात् वर्णाश्रम व्यवस्था भनिएको छ । समाजमा रहेका मानिसलाई उनीहरूको योग्यता र कर्मका आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार भागमा विभाजन गर्ने प्रणाली नै वर्ण व्यवस्था हो । गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ–
चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः ।
अर्थात् योग्यता (गुण) र काम (कर्म) का आधारमा चार वर्णहरूको व्यवस्था मैले नै गरेको हुँ । गीतामा चारै वर्ण (जात) को योग्यता र कामको परिभाषा पनि दिइएको छ तर त्यहाँ को ठूलो र को सानो भन्ने बारेमा कुनै उल्लेख गरिएको छैन । जसरी आधुनिक स्वास्थ्यविज्ञानमा मानिसको रगतलाई एन्टिजेन र एन्टिबडी भए नभएका आधारमा ए, बी, ओ र एबी गरी चार भागमा बाँडिएको छ, त्यसैगरी समाज सुव्यवस्थित होस् भन्ने मनसायले यहाँका मानिसलाई पनि चार भागमा बाँडिएको शास्त्रहरूमा
उल्लेख छ ।
जो जे कुरामा निपुण छ, उसलाई त्यस्तै पदमा आसीन गराउने हेतुले यो व्यवस्था गरिएको हुनुपर्छ । पढाउने, लेख्ने र खोजी गर्नेहरू ब्राह्मण, समाजलाई सुरक्षित गर्ने बलिया र निडरहरू क्षत्रीय, व्यापार–व्यवसाय गर्नेहरू वैश्य तथा खेतिपाती, ड्राइभरी, ढुवानीजस्ता सेवाका काम गर्नेहरू शूद्र । कहिलेकाहीँ एउटै व्यक्ति पनि घरि ब्राह्मण र घरि शूद्र अवस्थामा पुग्न सक्छ । वास्तवमा यो वर्णव्यवस्था हिन्दुहरूका लागि मात्रै नभएर समस्त मानव जातिका लागि हो । तर यसमा छुवाछूतजस्तो निकृष्ट अवधारणालाई मिसाउने काम पछि आएर हिन्दुको अहित चिताउनेबाट भएको हुनुपर्छ भन्ने सन्त–महन्थहरूको भनाइ छ । यसका चपेटामा हिन्दुहरू अद्यापि पिल्सिरहेका छन् । हिन्दु दर्शनका सुविख्यात व्याख्याता स्वामी विवेकानन्दले भन्नुभएको छ,
“अज्ञानतावश हिन्दु धर्ममा भित्रिएको छुवाछूतको अवधारणा यसरी नै रहिरह्यो भने हिन्दुत्व समाप्त हुनेछ ।”
छुवाछूतको अवधारणा वैदिककालमा थिएन । वैदिककालमा शूद्रको विवाह क्षत्रियसँग भएको र तीबाट ब्राह्मण, वैश्य आदि जन्मिएका प्रशस्तै उदाहरण पाइन्छन् । भगवान् श्रीरामले शवरीले दिएका जुठा बयर प्रेमपूर्वक खाएको चर्चा रामायणमा छ ।
हिन्दुधर्मकै ग्रन्थहरूमा छुवाछूतको उल्लेख किन ?
कतिपय अनुसन्धानदाताहरू हिन्दु धर्ममा छुवाछूत छ भन्ने सिद्ध गर्नका लागि रामायण, महाभारत तथा पुराण–उपपुराणका अनेक श्लोक अगाडि सार्छन् । यदि हिन्दु धर्मले छुवाछूतलाई स्वीकार गर्दैन भने ती हिन्दुग्रन्थहरूमा त्यस्तो किन लेखिएको हो त ? वास्तवमा रामायण, महाभारत, पुराण आदि ग्रन्थहरू धर्मग्रन्थ नभएर इतिहास ग्रन्थ हुन् । तिनमा लेखिएका कुरालाई आधार मानेर हिन्दु धर्मको अवधारणा बनाउनुहुँदैन । तत्कालीन समाजमा भएका अनेक अवस्थाहरूको चित्रण तिनमा पाइन्छ । हिन्दुहरूका धर्मग्रन्थ भनेर चिनिने शास्त्रहरूलाई प्रस्थानत्रयी भनिन्छ । तिनमा गीता, उपनिषद् र ब्रह्मसूत्र पर्दछन् । हिन्दुहरूका प्रमुख दर्शनशास्त्र भनेर चिनिनेछ नास्तिक र तीन आस्तिक गरी नौवटा दर्शनशास्त्र छन् । यिनमा कहीँ कतै पनि छुवाछुतको अवधारणा छैन । त्यसैले तत्कालीन इतिहाससँग आबद्ध हिन्दुग्रन्थहरू (धर्मग्रन्थ होइन) लाई आधार मानेर छुवाछूतका कुरा गर्नु विद्वता ठहर्दैन ।
(लेखक स्वतन्त्र लेखनमा सक्रिय हुनुहुन्छ ।)