logo
२०८१ मंसिर ११ मंगलवार



प्रयोग गर्न नसकिएको पर्यटन

विचार/दृष्टिकोण |




प्रतीक ढकाल

पर्यटन पेशा, व्यवसाय वा प्रवृत्ति मात्र होइन, सोच, पद्धति र व्यवहार पनि हो । त्यसरी नै पर्यटन भनेको पर्यटकहरूको आवतजावत मात्र होइन, संस्कृति, प्रकृति र भूगोलको सुवासको विस्तार पनि हो । कसैलाई आपूmमा आकर्षित गर्न सक्नुको नाम हो पर्यटन । त्यही आकर्षणलाई आजीविकामा रूपान्तरण गर्ने पद्धतिको रूपमा विकास गराउँदै लैजाने निरन्तर प्रक्रियाको नाम पनि हो पर्यटन ।
पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने अपार सम्भावना बोकेको मुलुक भएर पनि नेपालको पर्यटन क्षेत्रले कहिल्यै सक्षम नेतृत्व पाएन र यस्तो प्रचुर सम्भावना पनि सधैँ कुण्ठित नै रह्यो । नेपालको इतिहासमै पर्यटन क्षेत्रको मर्मज्ञका रूपमा डा. हर्क गुरुङ जन्मिनुभयो तर त्यसपछि कुनै कुशल नेतृत्व जन्मेन । डा. गुरुङ त आफैँ योजनाकार, आफैँ पदयात्री, प्रकृतिका पुजारी, हिमालप्रेमी हुनुहुन्थ्यो र नेपालको पर्यटन क्षेत्रलाई व्यवसायीकरण गर्न सकिन्छ भनेर लाग्ने प्रथम अभियन्तासमेत हुनुहुन्थ्यो । उहाँकै सक्रियतामा नेपालमा पर्यटन मन्त्रालयको स्थापना भयो, आफैँ प्रथम पर्यटनमन्त्री बन्नुभयो र पर्यटन विकासको सम्भावनाका केही खाका पनि कोर्नुभयोे । तर उहाँको अवसानपछि यो क्षेत्रले नेतृत्व नै गुमायो । डा. गुरुङपछि कर्ण शाक्यलगायतका केही मर्मज्ञको उदय त भयो तर पनि उहाँहरूको काम मुलुकका लागि कम र आफ्नै व्यावसायिक कुशलतामा बढी केन्द्रित भयो । विज्ञहरूलाई काम गर्न पनि सार्वजनिक पदमा पुग्दा मात्र सजिलो हुने रहेछ । निर्णायक पदमा नभएपछि आफ्नो सोच आफैँसँग मात्रै रहने रहेछ । सम्भवतः उहाँहरूलाई पनि मुलुकले चिनेन र यो क्षेत्रको नेतृत्वको खाडल हालसम्म पनि कायमै रह्यो ।
मुलुक पर्यटन वर्षको सँघारमा छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष तोकिएको छ र २० लाख पर्यटक पु¥याउने सार्वजनिक उद्घोष पनि गरिएको छ । तर राष्ट्रको यो आकाङ्क्षालाई विदेशी पर्यटकहरूका माझमा कसले पु¥याइरहेको छ ? यही सोचनीय प्रश्नमा यो आलेख केन्द्रित छ ।
यो मुलुक विश्वकै मानचित्रमा एउटा अनौठो ठाउँ भएको कुरालाई हाम्रै सरकारी संयन्त्रले समेत प्रचारमा ल्याउनै सकेनन् । पर्वत, पर्वतीय पर्यटन र पर्वतारोहणका लागि यो मुलुक विश्वकै पहिलो स्थानमा पर्दछ । संसारभरिमै आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा मात्र हिमाल छन् । त्यसमध्ये नेपालमा आठवटा पर्दछन् । ती आठवटा हिमाल पनि यति गौरवशाली छन् कि संसारको सर्वोच्च शिखर सगरमाथा नेपालमै पर्दछ । दोस्रो अग्लो माउण्ट केटु (गडविन अस्टिन) र नवौँ स्थानको अग्लो नंगा पर्वत (पाकिस्तान) बाहेक बाँकी ‘टप टेन’ का आठवटा हिमाल नेपालमै छन् । चुलीहरूको सङ्ख्यालाई आधार मान्ने हो भने त आठ हजार मिटरभन्दा बढी उचाइ भएका चुलीहरू संसारभरिमा जम्मा २० वटा छन् र त्यसमध्ये १४ वटा नेपालमा पर्दछन् । तर यति गौरवशाली सम्पत्तिलाई पनि नेपाल सरकारले कहिल्यै ‘क्यास’ गर्न सकेन । यति मात्र होइन सात हजार मिटरभन्दा बढी उचाइ भएका हिमाल नेपालमा मात्र १२२ वटा छन् । छ हजार मिटरमाथिका चुचुराहरूलाई गन्ने हो भने त नेपालमा हिमालको सङ्ख्या झण्डै झण्डै १४ सय जति पुग्छ । यही तथ्यलाई पनि आजसम्म उनै डा. हर्क गुरुङलाई उद्धृत गर्दै भन्नुपरेको छ किनकि त्यसपछिका कसैले पनि यो क्षेत्रमा कुनै उल्लेख्य काम गरेकै छैनन् । नेपाल पर्वतारोहण सङ्घ त छ तर त्यसको काम पर्यटन मन्त्रालयको पर्वतारोहण सम्बन्धी कामका लागि प्राविधिक पक्ष हेर्ने सहयोगीको रूपमा रहनु मात्रै हो । त्यसले आफैँ अघि सरेर वा सरकारको आशयलाई नाघेर अगाडि जानै सक्दैन ।
पर्यटन मन्त्रालय आफैँले कुनै सिर्जनात्मक काम गरेकै छैन । केवल आरोहणको अनुमतिपत्र बाँडेर बसेको छ । आफैँले पठाएका सम्पर्क अधिकृतहरू हिमालको फेदीसम्म नपुग्दा पनि कुनै कारबाही गर्न सक्दैन यो मन्त्रालय । सम्पर्क अधिकृतकै इतिहासमा ४२ दिनसम्म सगरमाथाको आधारशिविरमा बिताउने प्रबोधसागर ढकाल र दर्जनौँ टिमको एक्लै जिम्मा लिने ज्ञानेन्द्र श्रेष्ठ र तिलकराम पाण्डेजस्ता इमानदार कर्मचारीहरूलाई छुट्याएर कदर गर्नसमेत सक्दैन यो मन्त्रालय । सबैभन्दा लज्जास्पद कुरो त के छ भने पर्यटन मन्त्रालय आफैँले अहिले तोकेका सयवटा पर्यटकीय गन्तव्यको सूची हात पार्न स्वयं यस पङ्क्तिकारले पर्यटनमन्त्रीको सचिवालयमा दुई पटकसम्म धाउँदा पनि एउटा मुद्रित सूचीसमेत हात पार्न सकेन । पर्यटन मन्त्रालय नीति, नियम, विधान, लोकलाज र मन्त्रिपरिषद्ले तोकेको मापदण्डलाई समेत मिचेर आफूले चाहेको व्यक्तिलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नमै व्यस्त छ । मुलुकलाई दिशानिर्देश गर्नुपर्ने मन्त्रालय एउटा व्यक्तिलाई च्यापेर हिँडिरहेछ र पनि हामी जनता यही नेतृत्वले नेपालमा पर्यटन क्षेत्रको विकास गरिदेला भनेर पर्खन अभिशप्त छौँ । मुलुकका लागि योभन्दा ठूलो दुर्भाग्य के नै हुनसक्छ र ?
कम्तीमा पनि राजधानी सहर सफा होस्, रातको अँध्यारोमा पनि अनौठो अनौठा हिमालका तस्बिरहरू विद्युतीय बोर्ड बनेर ठाउँ ठाउँमा चम्किरहून् र पो युवा पुस्तामा पनि हिमालप्रतिको आकर्षण बढ्छ, देश चिन्ने चेतना बढ्छ र मुलुकप्रतिको गौरवबोेध पनि बढ्दै जान्छ । गाङछेम्पो, उर्केमा, आमादब्लाम, थामसेर्कु, कुसुम कांगुरु, बरुञ्चे, चोलाचे, कुम्बाचे, पेथाङ्चे, ताओचे, स्यार्चे, ग्याचुङ्काङ, फुकाङ, तारेक्काङ, यालुङ्काङ, ताशिकाङ, तिलकाङ, चाम्लाङ, स्यार्फु, लिन्त्रेन, गन्धर्व, हिमलुङ, जनक, काङ्टेगा, किरात, नाम्पा, नुम्बुर, पातारासी, राम्ताङ, तिल्जे, याला, युब्रा, नागपाई गोसुम, कान्ति, भृकुटी, मालानफुलन, गंगापूर्ण, पाङ्गोङडोक्पा, पिसाङ, क्याजोरी, पुमोरी, भेम्दाङ्री, छुकुङ्री, गुर्कार्पोरी, काङग्युरी, लाङमोचेरी, लाङ्सिसारी, पान्मारी, नुम्री याङ्री, पेरी जस्ता अनौठा नाम भएका हिमाल पनि नेपालमै रहेछन् भनेर आम नेपालीले थाहा पाउँछन् ।
जापानको सम्मानित शिखर फुजी (३७७६ मिटर) भन्दा अग्लो ठाउँमा हाम्रा शेर्पा बस्तीहरू छन् । अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमान्जारो (५८९५ मिटर) भन्दा अग्ला चुचुरा हामीसँग हजारभन्दा बढी छन् । उत्तर अमेरिकी महादेशको डेनाली (६१९० मिटर), दक्षिण अमेरिकी क्षेत्रको एकान्कागुवा (६९९२ मिटर), अस्टे«लियाको सर्वोच्च मानिने माउण्ट कोस्क्यूज्को (२२२८ मिटर) भन्दा कति हो कति महŒवपूर्ण चुचुराहरू नेपालमै छन् । तर यसबारे जानकारी दिने कसले ? न त नेपालको गौरवबारे हाम्रो पाठ्यक्रममा पढाइ हुन्छ न त पर्यटन मन्त्रालयले नै केही गर्छ । अनि विदेशीले थाहा पाउने कसरी ?
माथि नै भनियो– पर्वतीय पर्यटनका लागि संसारभरिमै नेपालजस्तो कुनै मुलुक नै छैन । यस हिसाबले हेर्दा यो विश्वकै ‘पर्वतीय राजधानी’ हो । तर हामीले यही कुरालाई समेत प्रचारमा ल्याउन सकेका छैनौँ । जानेर भए पनि, नजानेर भए पनि हामीले निरन्तर मुलुकप्रति गद्दारी नै गरिरहेका छौँ । सिङ्गापुरमा समुद्र सतहभन्दा मात्र १०६ मिटर अग्लो ढिस्कोलाई माउण्ट फ्युरर नाम दिइएको छ र त्यहाँ बर्सेनि एक करोड ४७ लाख पर्यटक पुग्छन् । तर नेपाल स्वयंमा यति धनी भएर पनि सुनको थालमा कनिकाको भिक्षा मागेर बस्नुपर्ने बेला आएको छ ।
पर्वतीय पर्यटन बाहेक नेपालको दोस्रो पर्यटकीय क्षेत्र धार्मिक पर्यटन हो । आराध्यदेव पशुपतिनाथको उपस्थिति र भगवान् बुद्धको जन्मभूमि भएको नाताले भारत र चीन दुई देशका हिन्दू र बौद्ध पर्यटकलाई मात्र आकर्षित गर्न सक्ने हो भने पनि यहाँ लाखौँ पर्यटकको ओइरो लाग्ने देखिन्छ । १८ पुराणमध्येको एक स्कन्ध पुराणमा रहेको ‘नेपाल माहात्म्य’ नामक अध्यायलाई पुस्तकाकार कृतिका रूपमा प्रकाशित गरी भारतमा व्यापक प्रचारप्रसार गर्ने, भारतीय विद्वानहरूले नै चर्चामा ल्याएको डोलेश्वरलाई बद्री र केदारको समेत शिर मानेको कुरालाई अगाडि बढाउने, मुक्तिनाथ र दामोदरकुण्डको महिमालाई दक्षिण भारतमा अझ विस्तार गर्ने हो भने भारतीय पर्यटक भिœयाउनका लागि कुनै ‘रोइकराइ’ गरिरहनै पर्दैन ।
कतिपय भारतीय सन्तहरूले आफ्नो प्रवचनकै क्रममा पनि नेपालकै प्रचार गरिरहेका छन् । त्यस्तालाई पहिचान गरी नेपालमा सम्मानित गर्ने, मान–सम्मान वा विभूषण प्रदान गर्ने र सद्भावना दूतको रूपमा नियुक्त गरे सम्पर्क अझ प्रगाढ हुने देखिन्छ । त्यसरी नै चिनियाँ पर्यटकलाई आकर्षित गर्न बुद्धबारे प्रसारप्रचार गर्ने, पोताला दरबारमा बुद्ध जन्मस्थलबारे आधिकारिक सूचना टाँसेर नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने हो भने चिनियाँ पर्यटकको पनि ओइरो लाग्ने देखिन्छ । चिनियाँहरू धार्मिक मात्र होइनन्; साहसिक पर्यटनमा पनि उत्तिकै रुचि राख्छन् ।
जब यो पङ्क्तिकारले कुनै दिन चीनको एउटा ठूलो भेलामा “जापानकी जुन्को ताबेईले सगरमाथा चढेको ठीक ११ दिनपछि चीनकी फान्तोङले पनि सगरमाथा चढिन् तर इतिहासले उनलाई सधंँै दोस्रो बनायो । मात्र ११ दिनले दोस्रो” भन्दा सारा चिनियाँका अनुहारमा बिस्मात देखिन्थ्यो । उनीहरू रेकर्ड राख्ने कुरामा सधैँ अगाडि हुन चाहन्छन् । बरु हामीले नै उनीहरूको मनोविज्ञान बुझेर कुनै कार्यक्रम अगाडि सार्न सकेकै छैनौँ । रेकर्ड राख्नका लागि चीनले सन् १९७५ मा सगरमाथा चढ्न चार सय दश जनाको टोली बनाएर पठायो जो हालसम्मकै सबैभन्दा ठूलो टोलीको रूपमा रेकर्डमा छ ।
तर यस्ता भावनात्मक कुराहरूलाई समातेर नेपालको पर्यटन विकासमा जोड्नेतर्फ कुनै कामको सिन्को पनि भाँचिएको छैन । कोरियामा एउटा निभेको ज्वालामुखीको खाल्डो हेर्न हरेक वर्ष एक करोड ५३ लाख पर्यटक पुग्छन् । स्पेनले साँढे जुधाएको खेल देखाएको भरमा आफ्नो जनसङ्ख्याको तेब्बर पर्यटक भिœयाउँछ । तर हामी ?
पर्वतारोहणको कुरा गर्दा आम नेपालीलाई नै थाहा नभएको अर्को एउटा कुरो पनि उजागर गर्नु उपयुक्त हुने देखिन्छ । सन् १९२४ को हिउँदे ओलम्पिकमा एक नेपाली गोर्खा सैनिक तेजवीर बुढाले ‘अल्पाइनिजम्’ विधामा स्वर्णपदक नै पाइसकेका छन् । सन् १९२१ मा सगरमाथा चढ्ने बाटो पत्ता लागेपछि सन् १९२२ मा प्रथमपटक सगरमाथा चढ्न गएको ब्रिटिश पर्वतारोहण टोलीका एक सदस्य थिए यी तेजवीर बुढा । ब्रिगेडियर जनरल चाल्र्स जेफ्री बु्रस र लेफ्टिनेन्ट कर्नल एडवार्ड स्ट्रुटको नेतृत्वमा गएको यो टोलीले सगरमाथाको आठ हजार २३० मिटरको उचाइ छोयो । आजभन्दा ९८ वर्ष अगाडि ती आरोहीहरूलाई स्वर्णपदक प्रदान गर्ने क्रममा आधुनिक ओलम्पिकका जन्मदाता तथा तत्कालीन अन्तर्राष्ट्रिय ओलम्पिकका अध्यक्ष पियरे द कुबर्तिनले “धरतीको सर्वाधिक उचाइमा पुगेको यो मानव पाइलालाई इतिहासले कहिल्यै नबिर्सने” बताएका थिए । यो जीवित अभिलेख अहिले पनि बेलायतको विनचेष्टरमा रहेको गोर्खा सङ्ग्रहालयमा सुरक्षित छ र ‘डब्लुडब्लुडब्लु डट दगुर्खाम्युजियम डट को डट युके’मा गएर त्यो पदकलाई नै हेर्न सकिन्छ । तर उनले कहिल्यै नबिर्सिइने भनेको त्यो कुरालाई हामीले थाहासमेत पाएनौँ । योभन्दा विडम्बना अरू के हुनसक्छ र ?
यसरी एक नेपालीले अन्तर्राष्ट्रिय ओलम्पिकमा पाएको पर्वतारोहण विधाको स्वर्णपदक समेत सधैँका लागि हाम्रो विस्मृतिमा प¥यो । हामी जति कृतघ्न को होला ?
नेपालको तेस्रो ठूलो पर्यटकीय सम्भावनाको क्षेत्र हाम्रै समाजको विविधता हो । १२९ वटा भाषा बोलिने ठाउँ, १२५ जातजातिको बसोबास स्थल, १० भन्दा बढी धार्मिक सम्प्रदायको क्रीडास्थल, ७० मिटरदेखि ८८४८ मिटरसम्मको उचाइगत विविधताले यो मुलुकलाई रहस्यमयता, रोमाञ्चकता र विविधताको इन्द्रेणीकै रूपमा प्रस्तुत गरेको छ । एक दशक लामो जनयुद्धपछि छाएको शान्ति, भोको पेटमा पनि मुस्कुराउन सक्ने नेपाली जनताको विशेष क्षमता, हजारौँ विषयमा देखिएको विविधता र त्यसको व्यवस्थापन गर्नेजस्ता सबै कुरा नै विदेशीका लागि आकर्षणको केन्द्र बन्न सक्छन् । विदेशीले नेपाली साहित्यमा मात्र होइन, यहाँका दोहोरी गीत, लोकगीत, जातजाति, चाडपर्व, रीतिरिवाज, संस्कृति र भाषाका क्षेत्रमा समेत अनेकौँ विद्यावारिधि गरेका छन् । त्यस्ता सत्पात्रहरूको पहिचान, प्रोत्साहन र उनीहरूका कृतिहरूलाई व्यापक प्रचारप्रसार मात्र गर्ने हो भने पनि २० लाख पर्यटक पु¥याउन कुनै रडाको मच्चाउनै पर्दैन । यहाँको अनौठो प्रकृति र अद्भुत संस्कृतिको प्रचार मात्रै भए पनि नेपाल संसारकै आकर्षणको केन्द्र बन्न सक्छ । त्यही भएर नै यही पङ्क्तिकारको सक्रियतामा ‘नेपाल ः फर अल सिजन’, ‘हाम्रो सम्पत्ति ः संस्कृति र प्रकृति’ तथा ‘नेपाल ः एक पटकले पुग्दैन’ जस्ता मन छुने नाराहरू निर्माण गरिएका थिए । तर प्रचारप्रसारका अभावमा ती पनि त्यत्तिकै हराउँदै गए ।
प्रचारप्रसार गर्ने नै कसले ? स्वयं पर्यटन मन्त्रालयले नै ‘पर्यटन’ भनेकै बुझेझैँ लाग्दैन । ऊ त चियाको कित्ली बसालेको कति वर्ष भयो ? पर्यटकलाई खाना खुवाउन थालेको कति अवधि भयो ? भनेर वर्ष गणना गरेर बसेको छ । आफ्नै मान्छे ‘सिइओ’ नियुक्त गर्न पाए ठूलै उपलब्धि हुने ठानेर प्रतिस्पर्धाको मैदान नै खुम्च्याएर बसेको छ । पर्यटन बोर्ड चार वर्षदेखि लथालिङ्ग छ । र, मुलुकको मार्केटिङ गर्न विदेशमा खटाइएका राजदूतहरू टाइको गाँठो मिलाउन, जुत्ता टल्काउन, कोटको खल्तीको बिर्को मिलाउन र टकिङ पोइण्टको क्रमबद्धता मिलाउनमै व्यस्त छन् । उनीहरूलाई बिल मिलाउनै भ्याइ–नभ्याई छ देश चिनाउने काम कति बेला गर्नु ? राजनीतिक नियुक्तिवाला रहेछ भने त शक्ति सन्तुलन मिलाउनमै भ्याइ–नभ्याई होला । अनि कति बेला गर्नु देशको प्रचारप्रसार ? फेरि आफैँलाई देशको बारेमा केही थाहै छैन त के भनेर प्रचार गर्ने ? जुन देशमा सगरमाथा छ, त्यही देशको राजदूतलाई २० वटा हिमालको नाम थाहा छैन । जुन देशमा बुद्ध जन्मे, त्यही देशको राजदूतलाई पञ्चध्यानी बुद्धको समेत नाम थाहा छैन । अनि कसरी पत्याउँछन् विदेशीले त्यस्ताका कुरा ?
विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) भन्छ सन् २०१९ मा १.४ बिलियन मानिसले अर्को देशको यात्रा गरे जो सन् २०१८ को भन्दा पाँच प्रतिशतले बढी हो । तिनीहरूले १.७ ट्रिलियन अमेरिकी डलर खर्च गरे जो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो । भ्रमणमा निस्केका यी मानिसमध्ये भारत आइपुगेका एक करोड ७४ लाख पर्यटकको एक प्रतिशतलाई मात्र आकर्षित गर्न सके पनि १७ लाख पर्यटकलाई नेपाल भिœयाउन सकिने देखिन्छ । यसरी नै चीन भ्रमण गर्न आएका छ करोड ३० लाख पर्यटकमध्ये अधिकांश ल्हासास्थित पोताला दरबार हेर्न आउँछन् । त्यसको एक बीसांश मात्र नेपाल भित्राउन सकियो भने पनि ३२ लाख ५० हजार पर्यटक त उत्तरी बाटोबाट मात्रै आउन सक्ने सम्भावना देखिन्छ । यसका लागि हामीले गर्नुपर्ने कुराहरू पनि धेरै छैनन् । मात्र यत्ति कुरामा ध्यान दिए पुग्छ ः—
नेपालको वास्तविक परिचयलाई छातीमै बोकेर विदेशी भूमिमा पु¥याउन सक्ने र विदेशीको अभिरुचि अनुसार हर तरहले मुलुकको मार्केटिङ गर्न सक्ने योग्य र क्षमतावान् मानिसहरूलाई मात्र राजदूतको रूपमा नियुक्त गर्ने,
पर्यटन बोर्डमा भागबण्डाको आधारमा नभई पर्यटनको मर्म र प्रवृत्ति बुझेका मान्छेहरूलाई मात्र सञ्चालकको रूपमा पठाउने,
पर्यटन मन्त्रालयले आफ्नो नामको गरिमा कायम हुने खालका कामहरू मात्र गर्ने,
विद्यालय, विश्वविद्यालयहरूका पाठ्यक्रममा नेपाल चिनाउने कुराहरू बुद्ध, हिमाल, गोर्खा, शेर्पाजस्ता कुराहरूलाई उपयुक्त ढङ्गले समावेश गर्ने,
साह्रैै राम्ररी नेपाल चिनेको मान्छेलाई मात्र ल्हासाको वाणिज्यदूत बनाएर पठाउने,
वैदेशिक रोजगारीमा जाने हरेक श्रमिकलाई नेपालबारे राम्रा कुराहरूको पर्याप्त प्रशिक्षण दिएर मात्र पठाउने,
यति मात्र गर्न सके पनि नेपालको पर्यटन उद्योगले सही मार्ग समात्नेछ र समृद्धिको यात्रालाई अगाडि बढाउन सकिने देखिन्छ ।
(लेखक पर्यटन नियात्राकार हुनुहन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?