गीता श्रेष्ठ
चेतना नहुने हो भने एउटा मानव र पशुमा कुनै अन्तर हुँदैन । यही चेतनाका कारण मानव सृष्टिको सबैभन्दा श्रेष्ठ प्राणी हो तर चेतनशील मानव आजभोलि एकाङ्गी हुँदै गएको छ । यो समस्या अत्याधुनिक सुविधासम्पन्न सहरवासीमा बढी छ । उनीहरूमा मपाइँत्व छ, मानवीय संवेदनशील भावना मर्दै गएको छ । त्यसैले त आधुनिक हुँदै गएको भनिएका मानव जङ्गली युगको जस्तो मानवीय व्यवहार देखाउँदैछन् । संस्कार, संस्कृति, धर्म अनि मानवीय गुणवत्तायुक्त मानव पाउनै गाह्रो हुँदै गएको छ । यो नेपालको मात्र हैन, विश्वकै समस्या हो ।
हुन त विश्वका विकसित मुलुकवासीहरू अब मानव हुनुको अर्थ खोज्न थालेका छन्, आफ्नो जीवनशैली परिवर्तन गर्न थालेका छन् र उनीहरू प्रकृतिको निकटता चाहिरहेका छन् । तर मानव सभ्यताको सुरुवात भएको मानिने नेपालमा भने मानव मानव जस्तो नवप्रर्वक बन्न सकेको छैन । आयातित कुरामै रमाएर आफूलाई भुल्दै मानवता बिर्सदै गएको छ ।
हाम्रो समाज आजभोलि कता कता भौँतारिएको, विचलित भएको र व्यक्ति समाजबाट विमुख भएको पाइन्छ । वनजङ्गल र नदी किनारका बस्तीमा स्वस्थ हावापानी अनि स्वच्छ खानेकुरा खाएर आफ्ना चाडपर्व–रीतिरिवाज अनि संस्कृति बचाउँदै आएका हामी नेपाली आजभोलि आधुनिक बनेका छौँ तर यो आधुनिकताले सिङ्गो मानव सभ्यतामा श्रेणी विभाजन गरिदिएको छ । धनी, गरीब, शिक्षित, अशिक्षित, सहरिया, गाउँले (पाखे) जस्ता उपमाले हामी मानव–मानवको अस्तित्वलाई एक हौँ भनेर सहिष्णु हुनुको साटो दुत्कारिरहेका छांँ ।
यहाँ उठाउन खोजिएको विषय सभ्यता र संस्कृतिको हो अनि त्यो सभ्यता र संस्कृतिभित्र मानवता अर्थात् मानवीय संवेदनशील भावनाको हो । यो भावना म¥यो भन्नेहरू धेरै छन् तर मरिसकेको चाहिँ छैन । हो कङ्क्रिटको जङ्गलमा बसोवास गर्नेहरूमा मानवीय संवेदनशील भावना मर्दै गएको छ । उनीहरूको खानपानदेखि उनीहरूले लिने श्वाससमेत दूषित रहेका कारण मस्तिष्क नै दूषित भएको छ जसको परिणाम मानव हुनुको गुण हराउँदै गएको छ ।
गाउँघरमा मानवीय संवेदनशीलता कायमै छ । मेलापात, ऐँचो–पैँचो, मर्दा–पर्दा सघाउने संस्कृति कायम छ । त्यसैले त गाउँमा बस्नेहरू भौतिक सुविधामा बाहेक अरू सबै कुरामा सुखी छन्, खुसी छन्, निरोगी छन्, बलिया छन् ।
सहर भनेको ‘नगर’ हो र पौराणिककालदेखि नै नगरलाई महŒव दिएको थियो तर आधुनिक कालको सहरजस्तो थिएन त्यतिबेलाको नगर । नगर व्यापार–व्यवसाय गर्ने, शासन–प्रशासन चलाउने थलोका रूपमा लिइन्थ्यो र यसको वातावरणीय पक्ष अनि मानव कल्याणका लागि चाहिने सबै पूर्वाधार हुन्थे । तर आजभोलि नेपालका सहरमा पुर्खाले विकास गरेका मानवीय सभ्यता झल्काउने कुरा मासिएका छन्, छ त केवल भौतिक सुविधा, जसले रोग र भय मात्र बढाइरहेको छ । यससँगै मानवता हराउँदै गएको छ ।
आफूलाई सहरवासी भन्नेहरू सानोभन्दा सानो विषयमा मैत्री र हितकारी हुन चाहँदैनन् । घर अगाडि धेरै नै जग्गा खालि राखिन्छ तर सडकका लागि एक इन्च जग्गा पनि छोड्न मान्दैनन् । साँघुरो सडक, कसैलाई आपत–विपत् परेर कसैको घर अगाडि सवारी साधन छेउ लगाएर राखेको रहेछ भने त्यहाँ ठूलै लफडा हुन्छ । यसको विपरीत गाउँघरमा यस्तो समस्या पर्दा घरबाहिर मात्र हैन भित्रै आश्रय दिने चलन अहिले पनि छ । यसका लागि दुर्गम ग्रामीण क्षेत्र जानुपर्दैन, काठमाडौँकै काँठ क्षेत्रमा गए देख्न र भोग्न पनि सकिन्छ ।
सभ्यता वा संस्कार र आधुनिकता भनेको एकल प्रभुत्वमा रमाउनु हैन । मानिस जातैले समूहमा मात्र बाँच्ने प्राणी हो । मानिस समूहबाट विमुख हुने हो भने यसको अस्तित्व समाप्त हुन्छ । समूहबाट अलग्गिएको हरिण चितुवाको शिकार भएजस्तै समाजबाट विमुख भएको मानिस त्यस्तै अकल्पनीय दुर्घटनाको शिकार हुन्छ । यसै भएर पिता पुर्खाले समाज नभाँडियोस् भनेर अनेक धरोहर खडा गरेर गए तर आधुनिक भनिने यो पुस्ताले त्यसको संरक्षण त कता कता मासेर महल खडा गर्ने दुष्प्रयास ग¥यो । इतिहास मेटाउने, संस्कृति मेटाउने, संस्कार भत्काउने अनि मानवीय गुणवत्ताका यावत् पक्षलाई त्यागेर आधुनिकताको नाममा एक्लै रमाउने संस्कृति मानव सभ्यता हैन, सहरी सभ्यता त पटक्कै हैन । तर सहरीकरण वा आधुनिकताको अन्धानुकरणसँगै त्यो संस्कृति भत्किँदै गयो तापनि गाउँलेहरूले त्यो संस्कार–संस्कृति जोगाइराखेका छन् ।
भौतिक सुविधाले सहर जाति देखिए पनि योभन्दा पर मानव हुनुको अर्थ खोज्न गाउँले जीवन नै सयौँ गुणा जाति भन्नेहरू प्रशस्तै छन् । आज सहरवासीहरू ढिँडो खान गाउँगाउँ चहार्छन् किन ? सहरको सुविधाले सबै कुरा पुग्ने भए आज पश्चिमी मुलुकका पर्यटकहरू पाँचतारे सुविधासम्पन्न होटलमा बस्न छोडेर अनकन्टार गाउँका ‘होम स्टे’मा रमाउने थिएनन् । यसको एउटै कारण छ गाउँमा मानव सभ्यताको धुकधुकी छ ।
विश्वलाई आधुनिकीकरण गर्ने भनेर सबैलाई सहरवासी बनाउने योजना बनाइयो । नेपालले पनि अनकन्टार गाउँलाई पनि नगरपालिका घोषणा गरेर नगरवासी बनाएको छ । तर नगरवासी हुनुको अर्थ र तत्वबोध ती गाउँलेले पाउन सकेका छैनन् । घोषणा नगरको गरिए पनि नगरले दिने सुविधा नभएपछि गरिब जनता करको भारी बोक्न विवश छन् । उनीहरूमा आक्रोश उत्पन्न गराएको छ । गाउँलाई गाउँ जस्तो रहन दिइएको छैन । घरगोठ भत्काइएका छन्, खेतका गह्रामा डोजर कुदाइएका छन्, पाखापखेरा खोतलिएका छन् । अनि गाउँ उजाड बन्दैछ ।
प्राकृतिक रूपमा गाउँ उजाड भएपछि उजाड गाउँमा बस्नेहरूको मन–मस्तिष्क पनि उजाड हुने नै भयो । अहिलेको समस्या यही हो । तैपनि गाउँमा बस्नेहरूले मुलुकको धर्म, संस्कृति, परम्परा र मानवता साँचिराखेका छन् । मानव सभ्यताको ढुकढुकी अहिले गाउँमा मात्र छ – सहरता उजाड छ ।
आजभोलि गोष्ठी भनिन्छ गोष्ठीको सुरुवात पनि गाउँबाटै भएको हो । गाउँलेहरू गोठमा बसेर विचार विमर्श गर्थे, भावी योजना र रणनीतिका सार्थक निष्कर्ष निकाल्थे । आजभोलि यस्ता गोष्ठी पाँचतारे होटलमा हुन्छन् । गाउँघरमा मन्त्र जप गरिन्छ, सहरमा मन्त्रालय छ । मन्त्रहरूको घर नै मन्त्रालय हो र गाउँघर सिङ्गो मन्त्रालय हो । गाउँको मन्त्रले प्रकृति र मानवताको रक्षाका लागि कामना गर्छ सहरको मन्त्रालयले भ्रष्टाचारको दुर्गन्ध फैलाउँछ ।
अब सोचौँ विकसित सहर कि गाउँ ? सभ्य सहरवासी कि गाउँवासी ?
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संस्थापक सदस्य हुनुहुन्छ ।)