logo
२०८१ मंसिर ११ मंगलवार



सडकमा सुरुङ युग (सम्पादकीय)

विचार/दृष्टिकोण |






नेपालको भौगोलिक बनावटका कारण सडक, सिञ्चाइ, विद्युत् उत्पादन तथा प्रयोजनमा दसौँ हजार किलोमिटर सुरुङ बनाउन सकिने देखिएको छ । विज्ञहरूका अनुसार सुरुङको प्रयोग गरी कतिपय खोला तथा नदी मिसाएर वृहत् सिञ्चाइ तथा बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न सकिने जानकारले बताएका छन् । सुरुमा निर्माण लागत तुलनात्मक रूपमा महँगो परे पनि त्यसको मर्मत–सम्भार, भौतिक तथा मानवीय पक्षबाट गरिनुपर्ने सुरक्षाका लागि सुरुङ संरचना सस्तो पर्ने विज्ञहरूले बताउने गरेका छन् । नेपालले सडक यातायातलाई सहज बनाउन विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको शिलान्यास गर्नुभएपछि अहिले त्यहाँ त्यसम्बन्धी काम भइरहेको छ भने अन्य छवटा सुरुङमार्गको प्राविधिक अध्ययन सकिएको छ । एउटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । वर्तमान सरकारले नेपालको सडक यातायात प्रणालीलाई सुरक्षित र आधुनिकीकरण गर्न सुरुङमार्ग युग प्रारम्भ हुनेगरी निर्माण र अध्ययन कार्य तीव्र पारिएको छ । नवलपुर र नवलपरासीमा पर्ने महेन्द्र राजमार्गअन्तर्गतको दाउन्ने, सिन्धुलीको बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखाको लामाबगरमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भई ती स्थानमा सुरुङमार्ग निर्माण सम्भव देखिएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जा र मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ । काठमाडौँको टोखाबाट नुवाकोटको छहरे, काठमाडौँको थानकोटदेखि मकवानपुरको चित्लाङसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य सुरु भइसकेको छ । सेती राजमार्गअन्तर्गतको बीपीनगर–खुटिया–दिपायल खण्ड, सिन्धुलीको खुर्कोट–चियाबारी, गोदावरी कुण्ड–मानेचौरमा पनि सुरुङ निर्माणको गृहकार्य भइरहेको छ ।
चालु अर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा १३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ५९ करोड रुपियाँ विनियोजन गरिएको छ । यी आयोजनाको निर्माण तयारीसँगै मुलुकको सडक यातायात सुरुङमार्ग युगोन्मुख भएको देखिन्छ भने आयोजना सम्पन्नतापछि सडकको दूरी घट्नेमात्र नभई, सडक सोझो भई जोखिम न्यूनीकरण हुनेछ । त्यसैगरी, भक्तपुरको पलाँसेदेखि धुलिखेलसम्म सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग
(जाइका) को आर्थिक तथा प्राविधिक स्रोतमा एक वर्षअघि नै सम्भाव्यता अध्ययन गरी प्रतिवेदनसमेत तयार भइसकेको छ । अध्ययनले सो सुरुङमार्ग निर्माण सम्भव देखिएको छ । ज्यादै जोखिमयुक्त भनिने बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङ निर्माणका लागि ‘ग्लोबल टेन्डर’ आह्वानको तयारी भइरहेको र अबको एक महिनाभित्र टेन्डर आह्वान हुनेछ, जसको विस्तृत परियोजना डीपीआर तयार भइसकेको छ । नेपाल सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ ।
वर्तमान सरकारको नेतृत्वमा नेपालले एकपछि अर्को महŒवपूर्ण भौतिक पूर्वाधारको विकास गरिरहेको छ । सडक, विद्युत् र सिञ्चाइमा हुने भौतिक पूर्वाधारले दीर्घकालीन महŒव राख्नेछ । केही दशकसम्म काठमाडाँै उपत्यका मूलतः पृथ्वी राजमार्गको भरमा पर्नुपर्ने अवस्था थियो तर क्रमशः सडक सुधार, सुरुङमार्गका निर्माणजस्ता परियोजना कारण काठमाडौँलगायत नभएर मुख्य सहर सडक सञ्जालमा जोडिनेमात्र होइनन्, सुरक्षित पनि हुनेछन् । उत्तर र दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो रसुवागढी–गल्छी–ठोरी मार्गको बेत्रावती–स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने तयारी सरकारले गरेको छ । काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन यसै हप्ताबाट चिनियाँ प्राविधिक टोलीद्वारा अध्ययन भइरहेको छ ण्। यी मार्गको निर्माणपछि उत्तर पहाडी क्षेत्रको सडक यातायातमा सहजता हुनेछ र पृथ्वी राजमार्गको एकल निर्भरतालाई कम गर्दै उपत्यकामा यातायाताका थप वैकल्पिक मार्ग तयार हुनेछन् । सडक निर्माणमा नेपाल नयाँ युगमा प्रवेश गर्दैगर्दा यस्ता सुरुङको बहुउपयोग गर्न सकिनेतर्फ पनि ध्यान दिन सकिनेछ । खासगरी एउटै खर्चमा यस्ता सिञ्चाइका कुलो निर्माण, बिजुली र टेलिफोनका तार विस्तारलगायत प्राविधिक रूपमा सम्भाव्य काम पनि यिनै सुरुङबाट गर्न सके यसको बहुउपयोगबाट लागत मूल्य घटाउँदै थप उत्पादकत्व बढाउन सकिनेछ । यसका साथै सुरुङमार्गको विस्तार तथा विकासका लागि अबका दिन प्राविधिक जनशक्तिको उत्पादनसहित विश्वका अनुभव र नयाँ प्रयोग अवलम्बन गरी नेपालले पूर्वाधार विकासमा तीव्र फड्को मार्न सक्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?