logo
२०८१ मंसिर ११ मंगलवार



भीषण आगलागी, जनजीवनमा बर्बादी

विचार/दृष्टिकोण |




जगदीश रेग्मी

दक्षिण अस्ट्रेलियामा विगत सेप्टेम्बरदेखि भीषणरूपमा आगलागी भइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार उक्त आगलागीका कारण १८ जनाको मृत्यु भएको, एक हजार २९८ घर जलेको, ४४२ घरमा क्षति पुगेको, तापक्रम ४७ डिग्री सेल्सियसभन्दा बढी रहेको, चार करोड ८० लाख वन्यजन्तु मरेका, नौ लाख छ हजार हेक्टर वनक्षेत्र विनाश भएको र लाखौँ वनस्पति नोक्सान भएको समाचार प्राप्त भएको छ । उक्त दुर्घटनालाई मध्यनजर राख्दै त्यहाँको सरकारले सुख्खा खडेरी लाग्ने आँकलन गरी वातावरणीय सङ्कट अवस्था घोषणा गरेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्य हरेक वर्ष आगलागीको चपेटामा परिरहन्छ । आगलागीको दृष्टिले उक्त राज्य प्रमुख जोखिम क्षेत्रमा पर्ने र जिउधनको नोक्सानको दृष्टिले १५ प्रतिशत जोखिममा रहेको जनाइएको छ । त्यसैगरी विश्वको सबैभन्दा विशाल र वर्षावन नामले परिचित अमेजन वनमा मानवीय कारणले गर्दा बर्सेनि आगलागी भई ठूलो धनराशि खर्च भइरहेको छ ।
नेपालमा पनि अनियन्त्रित डढेलोका कारण हरेक वर्ष कैयौँ हेक्टर वन जङ्गल विनाश भएको र त्यसबाट वन, वन्यजन्तु तथा वनस्पतिको विनाश, धनजनको क्षति, भौतिक संरचनाको नोक्सानी तथा वातावरणमा नकारात्मक असरहरू परिरहेको छ । नेपालमा डढेलोले हिउँद (मङ्सिरदेखि मध्य फागुन) र गर्मीयाम (मध्य फागुनदेखि वैशाखसम्म) प्रभाव पारेको देखिन्छ । प्रायःजसो वैशाखको दोस्रो सातामा डढेलोको समस्या अधिकतम हुन्छ । झण्डै ८३ प्रतिशत डडेलोका घटना मध्य फागुनदेखि वैशाखसम्म र ६० प्रतिशत डढेलो मध्य चैतदेखि मध्य वैशाखसम्म एकै महिनामा हुने गरेको देखिन्छ । प्रायःजसो नोभेम्बरदेखि फेब्रुअरीसम्म नेपालको माथिल्लो भूभागमा र मार्चदेखि मेसम्म तल्लो भूभागमा वन डढेलोको समस्या देखिने गर्छ । मध्य मार्चदेखि जुनसम्म नेपालको पश्चिमी क्षेत्रमा बढी डढेलो लाग्छ भने त्यसअघि पूर्वी क्षेत्रमा देखापर्छ । तल्लो भूभागका चौडापाते वनमा आगलागी धेरै हुने गर्दछ, जहाँ गर्मीयाममा वायुमण्डल र जमिनको सतहको तापक्रम अधिकतम र आद्र्रता कम हुने गर्छ ।
वनको डढेलो भनेको मानवीय वा प्राकृतिक (हावाहुरी, चट्याङ आदि) कारणले गर्दा वनजङ्गलको सतह वा छत्रमा हुने आगलागी हो । प्रज्वलनशील पदार्थ, अक्सिजन र आगोको स्रोत ः यी तीन मुख्य तत्वको संयोजनमा आगलागी हुन्छ । आगलागी मुख्यगरी सुख्खा क्षेत्र, हावाहुरी र प्रायः न्यानो ठाउँमा हुनेगर्छ । आगलागीले स्थानगत रूप लिँदैन र स्थानगत असर गर्छ भन्ने पनि छैन । यसले विश्व वातावरणमा असर पार्छ । आगलागीबाट पृथ्वीको तापक्रम वृद्धि हुने (ग्लोबल वार्मिङ), पानीचक्र (वाटर साइकल) मा असर गर्नुका साथै वातावरणमा कार्बनको मात्रा वृद्धि गर्छ । यिनै कारणबाट विश्व वातावरण प्रदूषित हुन्छ । नेपालमा प्रायःजसो मानवीय कारणले डढेलो लाग्ने गरेको छ । जसमध्ये ६४ प्रतिशत आगो नियतवश र ३२ प्रतिशत आगो लापरवाही र दुर्घटनाका कारणले लाग्ने गर्छ । झिँगटा जलाउँदा, नयाँ पालुवाका लागि वनको सतहमा आगो लगाउँदा र चुरोट खाएर वनमा लापरवाहीपूर्वक ठुटो फाल्नाले आगलागी भएको पाइन्छ । प्राकृतिक कारणले लागेको आगलागीको घटना हालसम्म सूचीकृत गरिएको छैन ।
नेपालमा प्रत्येक वर्ष डढेलोका कारण जलाधारीय क्षेत्र र महìवपूर्ण पारिस्थितिकीय प्रणालीको गुणस्तरमा ह्रास आउने गरेको छ । नेपालमा सन् २००९ को वर्षलाई आगलागीका दृष्टिले विनाशकारी वर्षका रूपमा लिइन्छ । उक्त वर्षको १२ मार्चमा एकै दिनमा १४१ स्थानमा आगलागी भयो र जसका कारण धेरैजसो उच्च पहाडका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू नराम्रोसँग जलेका थिए र सोही वर्षको २५ अप्रिलमा ३५८ वटा आगलागीका घटना भए र राष्ट्रले ४९ जना व्यक्ति गुमाउनुप¥यो । त्यसैगरी सन् २०१६ नेपालका लागि अर्काे विनाशकारी वर्ष हुन पुग्यो, जसमा ११ जनाले ज्यान गुमाए भने करिब १.३ मिलियन हेक्टर वन क्षेत्रको विनाश भयो । सन् २००५ देखि सन् २०१९ जुनसम्मको तथ्याङ्क अध्ययनबाट १०४ जनाको मृत्यु, ९० जना घाइते र ६४७ घर वन आगलागीका कारण क्षति भएको पाइएको छ ।
नेपालमा आगलागी नियन्त्रणका लागि केही साङ्गठनिक, कानुनी र नीतिगत प्रयास भने नभएका होइनन् । वन डढेलो प्रकोप व्यवस्थापनको मुख्य जिम्मेवार निकाय वन तथा वातावरण मन्त्रालय हो । अहिलेसम्म एक जना वन डढेलो सम्पर्क व्यक्ति तोकिएको तर डढेलो प्रकोपको समष्टिगत व्यवस्थापन गर्ने कुनै पनि शाखा वा प्रशाखा गठन भएको छैन । तथापि वन तथा भू–संरक्षण विभाग अन्तर्गतको भू–सूचना तथा मूल्याङ्कन प्रणाली शाखाले डढेलोको प्रकोपको पहिचान र अनुगमन गरिरहेको छ । त्यसैगरी नीतिगत व्यवस्था अन्तर्गत वन डढेलो व्यवस्थापन रणनीति, २०६७ कार्यान्वयनमा छ । ‘कार्यान्वयन योजना’ तयारी, समुदायमा आधारित वन डढेलो व्यवस्थापन समूहको परिचालन, डढेलो नियन्त्रण क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन, इसिमोड र वन तथा भू–संरक्षण विभागको साझेदारीमा क्षतिको विवरण सङ्कलन, भण्डारण तथा पुनप्र्राप्तिसम्बन्धी व्यवस्था गरिएको छ । कानुनी व्यवस्थाअन्तर्गत वन ऐन २०४९ मा प्राकृतिक वनमा आगो लगाउने व्यक्तिलाई रु. दश हजारसम्म जरिवाना लगाउने वा बढीमा एक वर्षको जेल वा दुवै सजाय हुने व्यवस्था छ ।
व्यक्तिगत व्यवहार र प्रक्रियागत कठिनाइका कारण अहिलेसम्म पनि सरकारी प्रयास, पहल एवं नीतिगत तथा कानुनी प्रावधान प्रभावकारी हुन सकेका छैनन् । डढेलो व्यवस्थापन कार्यमा विभिन्न पहल भइरहे तापनि यसको समुचित व्यवस्थापनमा निकै चुनौती छन् । नेपालको जटिल भू–बनोट र सुरक्षा चुनौती, भू–परिधिको विशाल स्वरूप र आकार, जनतामा चेतनाको कमी आदि चुनौती छन् । डढेलो नियन्त्रण अति खर्चिलो कार्य भएकाले आर्थिक स्रोत, दक्ष जनशक्ति, आधुनिक यन्त्र उपकरण जस्ता समस्याले नियन्त्रण कार्यमा अवरोध पु¥याएका छन् । त्यसैले आगलागी नियन्त्रणका लागि मूल्याङ्कन, सूचना सङ्कलन, तथ्याङ्क व्यवस्थापन र अनुगमन, संस्थागत समन्वय र नेटवर्किङ एवं अन्तर्राष्ट्रिय समन्वय जस्ता रणनीतिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ ।
आगलागी नियन्त्रणको विषय सरकारको नीति, कार्यक्रम तथा योजनामा प्रमुख प्राथमिकतामा परेको छैन । यस कार्यलाई पहिलो प्राथमिकता दिई केन्द्रीयस्तरमा साङ्गठनिक संरचना स्थापना गर्नुपर्छ । त्यसैगरी राज्यका हरेक स्थानीय तहलाई जिम्मेवार बनाई वन कार्यालयसँगको समन्वय र साझेदारीमा कार्य गर्नेगरी डढेलो व्यवस्थापन स्रोत केन्द्र स्थापना गर्नुपर्छ । उक्त निकायहरूमा पर्याप्त बजेट, आगलागी नियन्त्रणका आधुनिक यन्त्र उपकरणहरूसहित कुशल जनशक्तिको प्रबन्ध मिलाउनुपर्छ । स्थापित निकायहरूको सङ्गठनात्मक सुदृढीकरण एवं डढेलो व्यवस्थापन क्षमता अभिवृद्धि गर्नेतर्फ पाइला चाल्नुपर्छ ।
डढेलो नियन्त्रण र व्यवस्थापनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय र निजी क्षेत्रहरूको आर्थिक प्राविधिक स्रोतसाधन जुटाउने; संस्थागत तथा प्राविधिक क्षमता विकासका लागि जनचेतना जगाउने एवं क्षमता अभिवृद्धि गर्ने; समुदायमा आधारित डढेलो व्यवस्थापन कार्यलाई प्रवर्धन गर्न आगो नियन्त्रण प्रणालीको विकास गर्ने; आगलागीका कारण मृत्यु भएका व्यक्ति एवं घाइते र तिनका परिवारलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्ने आदि उपायको अवलम्बन गर्नुपर्छ ।
वनक्षेत्र जस्तो बहुमूल्य सम्पदाको अमानवीय र अवैध किसिमले विनाश भइरहेको देखिन्छ । राष्ट्रिय दृष्टिकोणले महìवपूर्ण क्षेत्रहरू जस्तैः रामसार सूचीकृत सिमसार क्षेत्र, विश्व सम्पदा क्षेत्र, भूमण्डलीय हिसाबले अद्वितीय ‘इकोरिजन’ अन्तर्गत पहिचान गरिएका जैविक मार्गहरू, वन्यजन्तुका विशेष वासस्थान क्षेत्र, भूक्षय नियन्त्रणका लागि संवेदनशील क्षेत्र, प्रजाति वा वंशाणुगत स्रोत जस्ता विशेष क्षेत्रहरूको विनाश भइरहेको छ । वनस्रोतको अनुचित एवं अत्यधिक दोहन भई वनको क्षेत्रफल दिनप्रतिदिन घट्दो क्रममा छ, जसबाट जैविक विविधतामा ह्रास, पारिस्थितिकीय प्रणालीमा असन्तुलन, जलवायु परिवर्तन जस्ता वातावरणीय समस्या देखिएका छन् । मुख्य कुरा जैविक विविधतामा ह्रासका कारण वंशाणुगत स्रोत एवं प्रजातिहरू लोप हुने गम्भीर खतरा छ । तसर्थ आगलागीजस्तो संवेदनशील विषयमा वनविज्ञ तथा वातावरणविद्हरूको ध्यानाकर्षण हुन र सरकारलाई नियन्त्रण व्यवस्थापनमा स्पष्ट मार्गचित्र बनाई कार्यान्वयनतर्फ उपयुक्त सुझाव दिन अति जरुरी छ । 
(लेखक वन तथा भूसंरक्षण विभागका वन अधिकृत हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?