रामप्रसाद आचार्य
उत्तर कोरियाले अमेरिकासित सार्थक वार्ता गरी आणविक विवाद अन्त्य गर्न चाहेको छ । विगत दुई वर्षमा कोरियाली प्रायद्वीपमा तनाव घटेका बेला सार्थक वार्ता गरी स्थायी शान्ति स्थापना गर्नुपर्ने उद्देश्यसहितको तत्परता उसले देखाएको छ । यसका लागि अमेरिका तयार हुनुपर्छ । लामो समयदेखिको अमेरिकी नाकाबन्दीले अप्ठेरोमा परेको उत्तर कोरियाले तत्काल निकास खोजेको छ । यदि निकास निस्केन भने उसले फेरि ‘नयाँ रणनीतिक अस्त्र’ निर्माण गर्ने सङ्केत गरेको छ ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० को आरम्भमा सन्देश दिँदै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो मुलुक शान्तिको पक्षमा रहेको र त्यसका लागि अमेरिकाले लगाएको नाकाबन्दी हटाउनुपर्ने माग गर्नुभएको छ । अमेरिकाले नाकाबन्दी नहटाए बाध्य भएर नयाँ रणनीतिक अस्त्र निर्माण गर्ने उहाँले बताउनुभयो । यो नयाँ रणनीतिक अस्त्रको कुरा निकै गम्भीर प्रकृतिको छ । अस्त्र होडबाजी बढे विश्वशान्ति नै खतरामा पर्ने भएकाले परिणाममुखी वार्ता गर्न अमेरिका र उत्तर कोरियाले अब ढिला गर्नुहुँदैन ।
सन् २०१७ निकै तनावपूर्ण रहेको कोरिया प्रायद्वीप बितेका दुई वर्षमा तनाव निकै घट्यो । यसको प्रमुख कारण अमेरिका र उत्तर कोरिया, दक्षिण कोरिया र उत्तर कोरियाबीच भएका उच्चस्तरीय भेटवार्ताले निर्माण गरेको विश्वासको वातावरणले हो । इतिहासमा पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सिङ्गापुरमा शिखरवार्ता भयो । यो शिखरवार्तामा भएको सहमतिअनुसार उत्तर कोरियाले लामो दूरीका क्षेप्यास्त्र परीक्षण बन्द गर्नुका साथै परीक्षण केन्द्र नष्ट ग¥यो । त्यसको बदला अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी हटाउनुपर्ने थियो । तर, अमेरिकाले तत्काल नाकाबन्दी हटाउन चाहेन । जसले गर्दा भियतनाममा भएको दोस्रो शिखरवार्ता उपलब्धिमूलक बन्न सकेन । तर पनि भेटवार्ता र विश्वास बढाउने काम भए । तेस्रोपटक दुई कोरियाको सीमा क्षेत्रमा ट्रम्प र किमबीच भेटवार्ता भयो । ट्रम्पले पहिलोपटक उत्तर कोरियाली भूमिमा पाइला राख्नुभयो । यसले उत्तर कोरियासितको विवादलाई केही हदसम्म मत्थर पार्ने काम ग¥यो ।
अमेरिकी नाकाबन्दीबाट पीडित उत्तर कोरियाले सन् २०१९ को अन्त्यसम्ममा नाकाबन्दी हटाउन अमेरिकालाई अल्टिमेटम दियो । यस अवधिमा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेन । दक्षिण कोरिया र जापानसित पनि उसले सम्बन्ध सुधारको प्रयास जारी राख्यो । सम्पूर्ण आणविक हतियार नष्ट नगरेसम्म नाकाबन्दी नहटाउने अमेरिकी पछिल्लो जवाफले उत्तर कोरिया निराश बन्यो । यदि अमेरिकाले नाकाबन्दी नहटाउने हो भने आणविक परीक्षणको नयाँ विकल्पका रूपमा अगाडि बढ्ने उत्तर कोरियाको पछिल्लो भनाइसँगै अन्तर्राष्ट्रिय चासो र चिन्ता बढेको छ । विश्व समुदायले चाहेको छ– अमेरिका र उत्तर कोरियाबीच सार्थक वार्ता गरी नाकाबन्दी पनि हटोस् र आणविक हतियार पनि नष्ट होस् । यसका लागि दुवैका शीर्षनेता तत्काल नयाँ चरणको वार्तामा बसी सहमति गर्नुपर्छ । विश्वको सर्वशाक्तिशाली मुलुक अमेरिकासँग टक्कर लिएको सानो मुलुक उत्तर कोरिया आणविक शक्ति भएकै कारण चर्चामा छ । उसको आणविक कार्यक्रम आणविक हतियार बनाउन प्रयोग नहोस् भन्नाका लागि नाकाबन्दी हटाउनुको विकल्प छैन ।
नाकाबन्दीले थिचिएको उत्तर कोरियाले बाध्य भई आणविक हतियारको कार्यक्रम अगाडि बढाएको हो । यसबाट छिमेकी दक्षिण कोरिया र जापान बढी त्रसित छन् । आणविक हतियार नबनाएको भए अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग वार्ता नै गर्नुहुन्थेन । अमेरिकासम्म मार हान्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र बनाएको छ उसले ।
उत्तर कोरियाका युवा नेता किमले भावी सन्ततिलाई आणविक हतियारको भारी नबोकाउने भन्दै अमेरिकाले नाकाबन्दी हटाएमा कोरिया प्रायद्वीपमा स्थायी शान्ति हुने भनी राष्ट्रपति ट्रम्पसँगको पहिलो वार्तामा गर्नुभएको प्रस्तावलाई अमेरिकाले सकारात्मक रूपमा लिनुपर्छ । अमेरिकाले चाहने हो भने कोरिया प्रायद्वीपमा शान्ति र स्थायित्व टाढा छैन ।
यस वर्षको अन्त्यमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्धको नाकाबन्दी हटाएर, आणविक कार्यक्रम बन्द गराउन सक्नुभयो भने उहाँ र उहाँको पार्टीलाई ठूलो राजनीतिक उपलब्धि हासिल हुन सक्नेछ । त्यसका लागि पनि ट्रम्पले तत्काल नयाँ वार्ताका लागि पहल गर्न आवश्यक छ ।
पछिल्ला घटनाक्रमलाई हेर्दा नाकाबन्दी हटेको खण्डमा उत्तर कोरिया आणविक हतियारबाट अलग हुन चाहेको छ । आणविक हतियार उसका लागि बाध्यता हो । यो बाध्यताको अवस्था अन्त्य हुनुपर्छ । विकास, समृद्धि र शान्तिका लागि उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र जापानसँग सहकार्य गर्नुपर्छ ।
बितेका दुई वर्षमा उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव कम भएको छ । दुई कोरियाली शीर्षनेताबीचको शिखर वार्ताले यो सम्भव भएको हो । यसलाई निरन्तरता दिँदै स्थायी शान्तिका लागि शान्ति सन्धि गर्नुपर्ने भएको छ । दुई कोरियाबीचको युद्ध (सन् १९५०–५३) पछि अहिलेसम्म शान्ति सन्धि हुन सकेको छैन । जसले गर्दा दुवै मुलुक अहिलेसम्म पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा छन् । त्यसैले गर्दा अब दुई कोरियाबीच स्थायी शान्तिका लागि शान्ति सन्धि गर्न ढिला गर्नुहुँदैन । अमेरिकाले चाहेको खण्डमा नाकाबन्दी पनि हट्न सक्छ । कोरियामा शान्ति सन्धि पनि हुन सक्छ । कोरियालाई आणविक हतियारमुक्त पनि बनाउन सकिन्छ । यतिमात्र होइन, शान्तिपूर्ण सहअस्तित्वका आधारमा दुई कोरियाबीच एकीकरण पनि असम्भव छैन । यसका लागि अमेरिकाले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । कोरियामा शान्ति भएन भने अमेरिका पनि सुरक्षित हुन सक्दैन । उत्तर कोरियामा अब आणविक हतियार बनाउन र परीक्षण गर्नुपर्ने अवस्था आउन दिनुहुँदैन ।
किमको ‘नयाँ रणनीतिक अस्त्र’ को सङ्केत नयाँ हतियार बनाउन होइन, शान्ति वार्ता गरी नाकाबन्दी हटाउन दबाबका लागि हो । अमेरिकी नेतृत्वलाई पनि राम्ररी के कुरा थाहा छ भने उत्तर कोरियाले बाध्यताले आणविक हतियार बनाएको हो । यो वास्तविकतालाई बुझेर अमेरिकाले सार्थक वार्ताद्वारा उत्तर कोरियाविरुद्धको नाकाबन्दी हटाउने र शान्ति साथै अहस्तक्षेपको प्रत्याभूति दिलाई आणविक अस्त्रमुक्त बनाउनुपर्छ । हतियारको होडबाजीले मानव सभ्यतालाई बचाउन सक्दैन ।
कोरिया प्रायद्वीप लामो समयदेखि पीडामा छ । किम इल सुङको नेतृत्वमा जापानी उपनिवेशबाट मुक्त भए पनि विदेशी कारणले विभाजित भएका दुई कोरिया र त्यहाँका बासिन्दा मिलेर बस्न चाहन्छन् । त्यसैले नयाँ वर्ष २०२० लाई शान्ति, मेलमिलाप र स्थायित्वको वर्ष बनाउन अमेरिका र उत्तर कोरियाली नेतृत्वले सार्थक वार्ता गर्नुपर्छ । कोरियामा शान्ति कायम भयो भने यसले विश्वलाई नै नयाँ सन्देश दिनेछ ।
अमेरिका–इरान तनाव
अमेरिकाले इरानका वरिष्ठ सैनिक अधिकारी कासिम सुलेमानीको हत्या गरेसँगै तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरी सुलेमानीको हत्या गरिएको हो । इरानले त्यसको बदला लिने घोषणा गरेको छ । इरानले प्रतिक्रियास्वरूप इराकमा रहेका दुई अमेरिकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामाथि कुनै किसिमको आक्रमण भए इरानमा तत्कालै प्रत्याक्रमण गर्ने चेतावनी दिनुभएको छ । जसले गर्दा परिस्थिति गम्भीर बनेको छ ।
सुलेमानीको शवयात्रामा १० लाखभन्दा बढी मानिस सहभागी भए । शवयात्रामा भएको भागदौडमा ४० जनाले ज्यान गुमाए । अमेरिका र इरानबीचको यो पछिल्लो तनावले मध्यपूर्वमा शान्ति र स्थायित्व सङ्कटमा पर्नसक्ने भनी चिन्ता व्यक्त गरिएको छ । तनाव अरू बढ्न नदिन दुवै मुलुक संयमित हुन आवश्यक छ ।
(लेखक गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)