शरदचन्द्र पौडेल
“रित्ता शब्दले मेरो सपना र बालापन चोर्ने दुस्साहस तिमीहरूले कसरी गर्न सक्यौ ?” यो भनाइ संयुक्त राष्ट्रसङ्घद्वारा स्पेनमा आयोजित विश्व जलवायु सम्मेलनमा संरक्षण क्षेत्रमा राजनीतिज्ञमा देखिएको अकर्मण्यताप्रति १६ वर्षे बालिका ग्रेटा थोनवर्गको आक्रोशका रूपमा आएको थियो । १५ वर्षको उमेरमा विद्यालय छोडेर स्वीडिस संसद्को अगाडि धर्ना बसेकी यी बालिकालाई संसारकै इतिहासमा पहिलोपटक गत सेप्टेम्बर २० मा विश्वका १६१ देशका ४० लाख मानिसले एकैपटक गरेको जलवायु हडतालको अगुवाइ गर्ने युवा अभियन्ताका रूपमा लिइन्छ । ‘भोलि छ, हालको मात्र सोचेर हुँदैन’ भन्दै जलवायु सङ्कटको हालको अवस्थामा तत्काल काम गर्न सबै वयस्कलाई आह्वान गर्दै आएकी यी बालिकालाई ‘द टाइम’ पत्रिकाले संसारभरका मानिसको धारणा परिवर्तन गर्न अभूतपूर्व योगदान गरेको भन्दै सन् २०१९ को वर्ष व्यक्ति घोषणा गरेको थियो । यही पृष्ठभूमिमा यस आलेखमा जलवायु परिवर्तनको विषयमा चर्चा गरिएको छ ।
मौसम र जलवायु भनेको फरक कुरा हो । कुनै निश्चित समयमा निश्चित भूगोलभित्रको वायुमण्डलको अवस्थालाई मौसम भनिन्छ । त्यही भूगोलमा लामो अवधिसम्म देखिने मौसमी अवस्थालाई जलवायु भनिन्छ । वैज्ञानिकले सामान्यतः ३० वर्षको अवधिमा पृथ्वीको सतहमा देखापर्ने तापक्रम आद्र्रता, चाप, हावा, वर्षा आदिको अवस्थालाई जलवायु भन्छन् । जलवायुको अवस्था सधैँ एकैनाशको कहिल्यै हुँदैन तर परिवर्तनले निश्चित बिन्दु ननाघ्दासम्म पुनः यथास्थितिमा आउन सक्ने चाहिँ हुन्छ । प्राकृतिक अवस्थामा यसरी नै जलवायुले स्थिरता ग्रहण गर्दछ । निश्चित गुणसहितको जलवायुको स्थिरताले नै त्यस जलवायुमा उपयुक्त हुने जीव जगत्को अस्तित्व र प्रवद्र्धन सम्भव हुन्छ । जीवको अस्तित्व र चरित्रमा उसको भित्री बनोट र बाहिरको वातावरणले महìवपूर्ण असर पारेको हुन्छ । अहिले मानवलगायत विभिन्न जीव पृथ्वीमा छौँ किनकि अहिलेको जलवायुसँगको अन्तरक्रिया हाम्रो अस्तित्व र विकासको लागि उपयुक्त छ ।
जीवले आफूलाई चाहिने ऊर्जाको उत्पादन आफैँ गर्छ यद्यपि वनस्पति र प्राणीमा उत्पादनको कच्चा पदार्थ र विधिमा भने अन्तर छ । जीवले ऊर्जाबाट कुनै काम गर्न तागत प्राप्त गर्छ । यसरी उत्पादन भएको आफ्नो शारीरिक र सीमित मात्राको प्राकृतिक शक्तिको उपयोग गरेर मानिसले काम गर्दै सभ्यताको विकास गरेको थियो । सन् १७६९ पछि जैविक शक्ति प्रयोगमा अभूतपूर्व परिवर्तन भयो । त्यो समयमा बेलायतमा भएको आविष्कारले शारीरिक शक्तिलाई मेसिनले विस्थापित गर्न थाले । मेसिनले मानिसले भन्दा धेरै बढी काम गर्न थाल्यो । मेसिनको शक्ति जैविक ऊर्जामा नभई जीवाश्म इन्धनमा आधारित थियो ।
मेसिनको असीमित शक्तिका कारण औद्योगिक क्रान्तिले गति लियो । मेसिनको उपयोग असीमित किसिमले हुन थाल्यो । जीवाश्म इन्धनको माग पनि असीमित भयो । यसको इन्धन बालेर शक्ति निकाल्दा कार्बनडाइअक्साइड ग्यास पृथ्वीमा जम्मा हुन थाल्यो । जति धेरै मेसिनको शक्ति उपयोग गर्ने उद्योगधन्दाको विकास र विस्तार भयो त्यति नै बढी कार्बनडाइअक्साइड थुप्रिँदै गयो । यसरी बितेको दुई सय वर्षमा वायुमण्डलमा असाध्यै धेरै कार्बनडाइअक्साइड जम्मा भएको छ र प्रत्येक वर्ष थपिँदैछ । कार्बनडाइअक्साइडले पृथ्वीबाट ताप बाहिर जान नदिई तातो राख्ने काम गर्दछ । वायुमण्डलमा कार्बनडाइअक्साइड धेरै थपिएपछि पृथ्वी थप तातो भएको छ । यसलाई विश्वव्यापी उष्णता भनिन्छ ।
औद्योगिक क्रान्तिपछि पृथ्वीको ताप १.१ डिग्री सेन्टिग्रेडले बढेको छ । अहिलेकै दरमा कार्बन उत्सर्जन भइरह्यो भने यस शताब्दीको अन्त्यसम्म तापक्रम औद्योगिक क्रान्ति हुनु अगाडिको बेलाभन्दा ३.५ डिग्री सेन्टिग्रेडले बढी हुनेछ । यो तातोले जलवायुमा ठूलो परिवर्तन ल्याउनेछ । यो परिवर्तन ठूलो मात्र हुनेछैन, दुई डिग्री नाघेपछि फेरि पहिलेकै अवस्थामा आउन नसक्ने पनि हुन्छ । पृथ्वीमा नितान्त नयाँ जलवायुको अवस्था हुनेछ । हालका जीवजन्तु, भौतिक अवस्था र वायुमण्डलीय प्रक्रिया निश्चित तातोमा मात्र अस्तित्वमा आएको हो । तातोको नयाँ अवस्थामा यी चिज यही रूपमा रहन सक्दैनन् । हामीले कहिल्यै नभोगेको अवस्था आउनेछ । वैज्ञानिकले दुई डिग्रीभन्दा बढी ताप बढेर आउने परिवर्तन हाम्रा लागि सङ्कट
हो भन्छन् ।
जलवायु परिवर्तनले संसारभर नराम्रो र गम्भीर असर पार्नेछ । बढी तातोले सघन तातो हावा बहने, व्यापकमात्रामा बालीनाली बिग्रने र प्राणी र वनस्पतिमा ठूलो परिवर्तन ल्याउनेछ । तातो बढ्दा हिउँको पत्र र हिमनदी पग्लेर समुद्रमा पानीको मात्रा बढ्नेछ । अहिलेकै दरमा ताप बढे समुद्रको सतह आठ फिट उठ्नेछ, कतिपय टापु र राष्ट्र हराउनेछन् भने किनारमा बसेका सहर डुब्नेछन् । धेरै र बारम्बार पानी पर्दा बाढी पहिरोको प्रकोप बढ्नेछ । यो परिवर्तनले मौसम विषम मात्र बनाउँदैन बारम्बार दोहोरिइ(रहने पनि बनाउँछ । तातो हावा र समुद्रले डरलाग्दा हावाहुरी र वर्षा गराउनेछ । सुख्खा क्षेत्रमा खडेरी र आगलागीको समय बढ्नेछ । आगोको समस्या विकराल हुनेछ । आगलागी ठूलो, बढी विनाशकारी, खर्चिलो र असाधारण हुनजानेछ ।
प्रत्यक्ष असर डरलाग्दो हँुदाहुँदै पनि प्रभाव झन् भयावह हुनेछ । यसले असमानता र द्वन्द्व बढाउनेछ । संसारका ८० करोड गरिबले उपयोग गर्ने मकै, गहुँजस्ता बालीको आपूर्ति अस्थिर हुन जाँदा मूल्य बढ्छ । यसबाट गरिबी झनै बढ्छ । बसिरहेको ठाउँ बस्नयोग्य नहुँदा शरणार्थीको सङ्ख्या बढ्छ । समुद्रको सतहमाथि उठेको कारणले मात्र १० करोड मानिस विस्थापित हुनेछन् । बसाइँसराइ र द्वन्द्वले लडाइँ र झगडा वृद्धि हुनेछ । वासस्थान विनाशको समस्यामा परेका जनावर, कीरा फट्याङ्ग्रा र वनस्पतिलाई झन् सङ्कट आउनेछ । केही तातो मात्र बढ्दा समुद्रको ‘कोरल रिफ’ (मुगा आदि) ७० देखि ९० प्रतिशत मर्छ । करिब ५० प्रतिशत जनावर र वनस्पति मासिनेछन् । गे्रटाको उक्त आक्रोश यही सङ्कटप्रति लक्षित थियो ।
जलवायु परिवर्तनको खराब प्रभावबाट हामी मुक्त हुन सक्दैनौँ । तातोका कारण हिउँ पग्लिँदा नदीको स्रोत कम हुन्छ । हिमनदी फुटेर बाढी आउन सक्छ । पानीको घटबढले जलविद्युत् प्रभावित हुन्छ । मौसमी विविधता हुने पहाडका जीवजन्तु, वनस्पति र खेतीपातीमा सीधै नराम्रो प्रभाव पर्छ । आकाशे पानीमा निर्भर खेती अधिक वर्षा र सुक्खाका कारण बिग्रन्छ । वर्षात्मा बाढी पहिरो र सुक्खाको बेला आगलागी र खडेरी पर्छ । असजिलो अवस्थाको प्रभाव कमजोरमाथि सघन पर्दछ । नेपालका गरिब समुदाय यस्तो अवस्थामा झनै अप्ठेरोमा पर्छन् ।
वैज्ञानिकहरू जलवायु सङ्कटको यो भयावह परिणामलाई रोक्न सकिने बताउँछन् । पृथ्वीको तापलाई पुनः फर्किनसक्ने दुई डिग्रीभन्दा माथि जान नदिने हो भने सङ्कट पन्छाउन सकिन्छ । तर यसका लागि तत्कालै कठोर कदम चाल्नुपर्दछ । कार्बन उत्सर्जन घटाएर र अन्य उपायद्वारा वायुमण्डलमा भएको कार्बनडाइअक्साइडको मात्रा घटाएर राष्ट्रहरूले तापलाई दुई डिग्रीभन्दा माथि जानबाट रोक्न सक्छन् । सन् २०१५ मा पेरिसमा राष्ट्रहरूले कार्ययोजनामा सहमति गरेका थिए । तर सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने अमेरिका सहमतिबाट पछाडि हटेपछि अन्योल भएको छ । यद्यपि अन्य राष्ट्रको प्रतिबद्धता यथावत् छ ।
वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा दुई किसिमले घटाउन सकिन्छ– कार्बन उत्सर्जन कम गरेर र भइरहेको मात्रा घटाएर । वर्तमानको कार्बन उत्सर्जन दर घटाउन विकासशीलभन्दा पनि विकसित देशका मानिसले आफ्नो रहनसहन र खानपानमा आमूल परिवर्तन गर्नुपर्छ । उनीहरूको हालको जीवनशैली र उपभोगस्तरले कलकारखाना र सवारीबाट निस्कने उत्सर्जन घट्दैन झन् बढ्छ । जीवाश्म उलर्जाको स्थानमा नवीकरणीय ऊर्जाको प्रयोग महìवपूर्ण रूपमा बढाउनुपर्छ । वनस्पतिले वायुमण्डलमा भइरहेको कार्बनडाइअक्साइड सोस्न सक्छ । त्यसकारण वनजङ्गल रोपेर र क्षेत्र बढाएर भइरहेको मात्रा घटाउन सकिन्छ ।
अत्यन्तै न्यून औद्योगीकरणको नेपाल बढी कार्बन उत्सर्जन गर्ने विश्वका प्रदूषक राष्ट्रमा पर्दैन । बरु वनजंङ्गल संरक्षण गरेर कार्बनको मात्रा घटाउन योगदान गर्ने राष्ट्रमा पर्छ । कार्बन व्यापारबाट नेपालले छ अर्ब रुपियाँ प्राप्त गर्ने भनेको यसकै पुरस्कार हो । विश्व समुदायमा नेपाल दोषी छैन तर अन्यको खराब व्यवहारका कारण कमजोर वर्गका नेपाली नराम्ररी प्रभावित हुन्छन् । त्यसकारण हामीले उत्सर्जन नियन्त्रण गर्न सजग रहने र सोस्नका लागि वृक्षरोपण र वनजङ्गलको थप संरक्षण गर्नुपर्छ । समुदायलाई जलवायु परिवर्तनले ल्याउन सक्ने प्रभावको प्रतिरोध गर्न सक्षम बनाउन ढिलाइ गर्नुहुँदैन ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)