सन्तोष गौतम
भूमण्डलीकरणको वर्तमान युगमा कुनै पनि राष्ट्रको राष्ट्रियता त्यसको भौगोलिक सीमाभित्र मात्र सीमित छैन । यसले एकातिर राष्ट्र र राष्ट्रियताको पुरातन अवधारणामा परिवर्तन ल्याइरहेको छ भने अर्कोतर्फ राज्यहरूबीचका सम्बन्धका आधार पनि पुनः परिभाषित हुँदै गइरहेका छन् ।
बसाइँसराइ र प्रतिभा पलायन खासगरी विकासोन्मुख मुलुकहरूका लागि गम्भीर समस्याको रूपमा देखा परिरहेका छन् । अवसर र सुविधाको खोजीमा युवा विश्वका कुनाकाप्चामा पुग्ने क्रम बढिरहेको छ । राज्यको सुन्दर भविष्यको रेखाङ्कन गर्नसक्ने सक्षम व्यक्तिहरूले आफ्नो ज्ञान, श्रम र सीपले पराइ भूमिलाई सिञ्चित गरिरहेका छन् । राज्यका आवश्यकता र प्राथमिकतामा योगदान दिनसक्ने सशक्त युवा दिग्भ्रमित भइरहेका छन् । आफ्ना योजना र कार्यक्रमहरूमा राज्यभित्र र बाहिर रहेका क्षमतावान व्यक्तिहरूलाई सङ्गठित र क्रियाशील बनाउन सकेमात्र राज्यका लक्ष्यहरू प्राप्त गर्न सम्भव छ । प्रतिभा र आवश्यकताबीच तादात्म्य नहुँदा राष्ट्रनिर्माणको अभियानले आशातित गति प्राप्त गर्न सक्दैन र सकिरहेको छैन । त्यसैले भूगोलका विभिन्न क्षेत्रमा विभिन्न क्षमतामा काम गरिरहेका नेपालीको ज्ञान, सीप, क्षमता र ऊर्जालाई योजानाबद्धरूपमा सदुपयोग गर्ने नीति वर्तमान सरकारले लिएको छ ।
लामो समयसम्म नेपालको अर्थतन्त्र न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र डरलाग्दो व्यापार घाटाको अवस्थाबाट गुज्रियो । जनअपेक्षाहरू उच्च रहे तर विकासको गति सुस्त रह्यो । यस्तो पृष्ठभूमिमा वर्तमान सरकारले राष्ट्रलाई समृद्ध र राष्ट्रवासीलाई सुखी बनाउने दीर्घकालीन लक्ष्य अघि सारेको छ । विक्रम संवत् २०७९ सम्म मुलुकलाई अति कम विकसितबाट विकासशील स्तरमा पु¥याउने, २०८० र ८१ सम्ममा सुख र सम्मृद्धिका आधार सिर्जना गर्ने, उच्च आर्थिक वृद्धि हासिल गरिसक्ने सकारात्मक र युगान्तकारी लक्ष्य सरकारले लिएको छ । पाँचवर्षे योजनामा लगभग सात प्रतिशतको आर्थिक वृद्धिलाई १०.३५ तथा प्रतिव्यक्ति आय एक हजार ४७ बाट एक हजार ५९५ अमेरिकी डलर पु¥याउने चुनौतीपूर्ण लक्ष्य हासिल गर्न विश्वका विभिन्न देशमा रहेका नेपालीले आफ्ना ज्ञान, सीप, विज्ञता र विविधतापूर्ण क्षमतालाई स्वदेशको हितमा सम्भव भएसम्म खर्चिनु आवश्यक छ । त्यस्तै सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न र तिनलाई साँचो अर्थमा जनताको जीवनमा प्रतिविम्बित गर्न पनि गैर आवासीय नेपालीको योगदानको ठूलो आवश्यकता छ । विदेशमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका धेरै नेपाली नागरिकले केवल अवसर र पहिचान पाए नेपाल फर्कने चाहना देखाउनु राष्ट्र निर्माणको दृष्टिकोणले अत्यन्त उत्साहप्रद हो ।
अविकसित देशहरूमा ‘ब्रेन ड्रेन’ (बौद्धिक पलायन) भइरहँदा समृद्ध देशहरूमा ‘ब्रेन गेन’ (बौद्धिक प्राप्ति) भइरहने र यसले धनी र गरिब राष्ट्रबीचको खाडल बढ्दै जाने अवस्था छ । बसाइँसराइका ‘पुल र पुस फ्याक्टर’ (तान्ने र घचेट्ने कारक) हरूको उचित व्यवस्थापन नहुँदासम्म मानिसले आफ्नो देश छोड्ने प्रवृत्ति घट्ने अवस्था रहँदैन । यही क्रमसँगै अङ्कुराउँदै, फुल्दै, फक्रँदै गरेका तथा परिपक्वता हासिल गरिसकेका प्रतिभाको समेत पलायन भइरहनाले गरिब देशहरूमा प्रतिभाको खडेरी हुने अवस्था रहन्छ । यसको उपज देश गरिबी, प्रतिभा पलायन र पछौटेपनको दुश्चक्रमा फस्ने सम्भावना रहन्छ ।
नेपालको विकास, समृद्धि र नेपालीको सुखको सपनालाई सार्थक बनाउनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश एक्काइसौँ शताब्दीको नेपालको हित अनुकूल बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सुझबुझपूर्ण प्रयासको एक दृष्टान्त हो– ब्रेन गेन सेन्टर । अर्को शब्दमा भन्नुपर्दा पराइभूमिमा रहनु परे पनि मातृभूमिको भलाइमा कुनै न कुनै हिसाबले जोडिने गैर आवासीय नेपालीको चाहनालाई सम्बोधन गर्ने प्रयास हो ब्रेन गेन सेन्टर । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाको एक एकाइको रूपमा रहेको यो सेन्टरले हाल आफ्नो वेबसाइटमार्फत विविध क्षेत्रका नेपालीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । लामो राजनीतिक सङ्क्रमणपछिको जनादेश प्राप्त बहुमतको सरकारमाथिका जनअपेक्षा पूरा गर्ने काम सरकार एक्लैको प्रयासबाट सम्भव नहुने भएकाले सहभागितामूलक विधि अवलम्बन गर्दै विविध क्षेत्रको विज्ञता र चाहनालाई राष्ट्रनिर्माणको आवश्यकतासँग जोड्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको छ ।
देश भर्खर सङ्घीय संरचनामा प्रवेश गरेको छ । तीन तहका सरकारका अधिकार क्षेत्र र जिम्मेवारी बारेका कानुनी गाँठाहरू फुक्न र आफ्ना सीमाभित्र प्रभावकारी रूपमा सेवाप्रवाह गर्न केही समय पक्कै लाग्छ । सङ्घात्मक मोडेलको राज्य संरचनाअन्तर्गत अधिकार निक्षेपण र विकेन्द्रीकरणको अभ्यासका सुरुवाती दिन पक्कै चुनौतीपूर्ण छन् । एकात्मक संरचनामा अभ्यस्त राज्य संरचना भएकाले यसका अवशेषबाट सजिलै मुक्ति पाउन कठिन छ । अर्कोतर्फ कार्यन्वयनका सुरुवाती चरणमा संविधानको मर्म अनुसारका जिम्मेवारी वहन गर्ने ल्याकत र अनुभवको कमी हुनु स्वाभाविक हो तर यही निहुँमा अघि बढ्न हिच्किचाउनु राज्य पुनःसंरचना र सम्मृद्धितर्फको यात्रामा घातक हुनसक्छ ।
स्थानीय र प्रादेशिक विशेषताको पहिचान गर्दै त्यसको समुचित प्रवद्र्धन गर्ने विशिष्टीकृत योजना निर्माण गरी समृद्धितर्फको यात्रा सहज र द्रुत बनाउने कार्यमा मातृभूमिप्रति अगाध प्रेमभाव राख्ने हरेक नेपालीको भूमिका रहन्छ । सङ्घीय राजनीतिक र प्रशासनिक संस्कारमा अभ्यस्त हुन र स्थानीय र प्रादेशिक विशेषता र आवश्यकता अनुसारका समृद्धिका कार्यक्रम सशक्त रूपमा अघि बढाउन राज्य सञ्चालनको साँघुरो दायरा वा सङ्कीर्ण घेराबाट बाहिर आउन आवश्यक छ । यसमा परिस्थितिवश पलायन भएका प्रतिभाहरूको भूमिका महìवपूर्ण हुनसक्छ ।
ब्रेन गेन सेन्टरले विश्वका विभिन्न भूभागमा सेवा गरिरहेका नेपाली विज्ञहरूलाई नेपालका तल्लोतहका जनतासम्म पुगेर समस्या र सम्भावनाको खोजी गरी राज्यको नीति निर्माणमा सुझाव प्रस्तुत गर्ने अवसर उपलब्ध गराउँछ । सेन्टरसँग आबद्ध भएर स्वतःस्फूर्त रूपमा सञ्चालित अभियान ‘ब्रेन गेन इनिसिएटिभ’ ले नेपालको शिक्षाको गुणस्तर उकास्न र कृषि, पर्यटन, भौतिक पूर्वाधार एवं अन्य विविध क्षेत्रको रूपान्तरणका लागि विभिन्न देशका विश्वविद्यालयमा कार्यरत नेपाली प्राध्यापक एवं अन्य विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरूको विज्ञता उपयोग गर्ने नीति लिएको छ । यसअन्तर्गत कार्य गर्ने विज्ञहरूले सङ्घीय संरचनाअन्तर्गतका स्थानीय, प्रदेश र सङ्घीय तहमा नीति निर्माण तथा योजना तर्जुमामा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
यसरी ब्रेन गेन सेन्टरको अभीष्ट नेपालीको विज्ञताको पहिचान, प्रवद्र्धन, समन्वय, प्रोत्साहन र राष्ट्र निर्माणमा परिचालन गर्ने रहेको छ । विशेषगरी गैर आवासीय नेपालीको ज्ञान, सीप, दक्षता र पुँजीको उपयोग गरी सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्ने यसको लक्ष्य छ । यो अभियान राज्यको दिगो रूपान्तरणमा एक सार्थक प्रयास सावित हुने कुरामा दुईमत छैन ।
(लेखक परराष्ट्र मन्त्रालय, ब्रेन गेन सेन्टरका विज्ञ हुनुहुन्छ ।)