पुरु रिसाल
नेपाल आयल निगमको कारोबारको थालनी थापाथलीमा भाडामा लिएको दुई कोठाबाट २०२७ साल पुसको २६ गते भएको थियो । अहिले सातै प्रदेशमा आफ्ना कार्यालय खोली सेवा दिँदै छ । यसको काम यसरी बढ्यो ।
अचम्म लाग्ला, केही वर्ष अघिसम्म डिजेल र मट्टीतेलको मूल्यमा फरक हुँदा डिजेलमा मट्टीतेल मिसाइन्थ्यो । मट्टीतेल सस्तो थियो किनभने मध्यमवर्गीय परिवार र निम्न आय भएको परिवारले मट्टीतेल नै बढी प्रयोग गर्दथ्यो, प्रत्येक घरमा बत्ती बाल्न मट्टीतेल नै
चाहिन्थ्यो । आमजनताले उपभोग गर्ने पदार्थ भएकाले राहतका रूपमा मट्टीतेल सस्तो थियो । तर, खाना पकाउन ग्यासको प्रयोग र बत्ती बाल्न बिजुलीको प्रयोग क्रमशः बढ्दै गएपछि मट्टीतेलको उपभोग घट्दै गयो । तर नेपाल आयल निगमले बिक्री गर्ने मात्रा भने घटेन । कारण थियो सस्तो मट्टीतेल किनेर महँगो डिजेलमा मिसाउने र नाफा बढी लिने ।
डिजेलको गुणस्तरीयता जोगाउने उपाय अपनाइयो– डिजेल र मट्टीतेलको भाउ एउटै बनाउने । त्यसो गर्नासाथ मट्टीतेलको माग अकस्मात घट्यो, अहिले मट्टीतेल भण्डारण गर्ने ठाउँलाई परिवर्तन गरी पेट्रोल वा डिजेल राख्ने बनाइयो । समय जति बद्लिँदै जान्छ, उपभोग प्रवृत्ति पनि परिमार्जन हुँदै जान्छ । कुनै बेला नाङ्गो खुट्टा नै हिँड्ने समाज थियो, काँचो छालाको च्वाइँ–च्वाइँ बज्ने र गोडाभरि फोका उठाउने पलान्चो जुत्ता प्रचलनमा आयो, अहिले एडिडास र रिबक जुत्ताको जमाना आयो । भविष्यमा अझै गुणस्तरीय जुत्ताको चलन आउला । त्यस्तै कुनै बेला खाँडी र कोराको कपडा मूल्यवान् मानिन्थ्यो, अब कसैले पनि प्रयोग नगर्ने भएकाले ती जातका कपडा पाइँदैनन्, उम्दा कपडाले तिनलाई विस्थापित गराइदिए । पेट्रोलियम पदार्थमा पनि पहिले सल्फरको मात्रा बढी भएका डिजेल पेट्रोल प्रयोग गरिन्थ्यो तर अब जति कम मात्रामा सल्फर हुन्छ, त्यही नै गुणस्तरयुक्त मानिन्छ । युरो ४ को पेट्रोलको प्रयोग थाल्दा आहा कति गुणस्तरीय आयो भनिन्थ्यो– अहिले त्योभन्दा पनि अर्को गुणस्तरीय अर्थात् युरो ६ गुणस्तरको पेट्रोल अन्तर्राष्ट्रिय बजारमा छ । यसले पनि प्रदूषण गराउँछ भनेर विद्युतीय सवारी साधनहरू बिस्तारै–बिस्तारै बढ्दै छन् । यसैलाई भनिन्छ– संसारको विकास र विकासजन्य परिवर्तन ।
विकसित मुलुकहरू गुणस्तरबारे अति नै सचेत छन् । त्यहाँ कुनै उद्योगले गुणस्तरहीन उत्पादन बजारमा ल्यायो भने एकातिर सरकारी निकायले पहिलोपल्ट चेतावनी दिएर छोड्छ, दोस्रोपटक उत्पादनको इजाजत नै बन्द गरिदिन्छ । उपभोक्ता पनि सचेत छन्, गुणस्तरमा कमी देख्नासाथ त्यस्ता सामान बहिष्कार नै गरिदिन्छन्, अनि कहाँ बिक्री गर्ने आफ्ना उत्पादन ।
गुणस्तरकै प्रसङ्गमा एउटा कुराको सम्झना आयो– मट्टीतेललाई डिजेलको बदला पेट्रोलमा मिसाउन थालियो । अनि केही नलागेर मट्टीतेलमा नीलो रङ घुलन गरियो । त्यसो हुँदा पेट्रोलमा मिसाउन नसकिने भयो । यिनै परिवेशमा आएको छ– नेपालमा पनि युरो ६ पेट्रोल प्रचनलमा ल्याउने युग । वातावरण प्रदूषण न्यूनीकरण गर्न नेपाली बजारमा नेपाल आयल निगममार्फत युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री सुरु गरिएको छ । कार्बन उत्सर्जनको मात्रा घटाई वायु प्रदूषण कम गर्न युरो–६ मापदण्डको पेट्रोल उपभोक्ताको मागका आधारमा बिक्री गर्न निगमले थालेको छ ।
अहिले इन्डियन आयल कर्पोरेसनबाट ल्याएर सिधै सवारीसाधन प्रयोगकर्तालाई बिक्री गरिएको छ । आगामी अप्रिलबाट सबै पम्पबाट युरो–६ मापदण्डको इन्धन बिक्री गर्ने प्रबन्ध छ । “प्रयोगकर्तालाई बानी पार्न अहिले मागका आधारमा बिक्री गरिरहेको हो । नेपाल आयल निगमको भनाई छ, ‘अप्रिलदेखि सबै उपभोक्तलाई युरो–६ मापदण्डको इन्धन बिक्री गरिनेछ । त्यसका लागि इन्डियन आयल कर्पोरेसनले सघाउँदै आएको छ ।
अहिलेसम्म युरो–४ मापदण्डको इन्धन बिक्री हुँदै आएकोमा अब दुई तह माथिको युरो–६ इन्धन नेपाली उपभोक्ताले आफ्ना सवारी साधनमा प्रयोग पाएका छन् । युरो–४ मापदण्डको तुलनामा युरो–६ ले वातावरण प्रदूषण घटाउँछ । युरो–६ मा सल्फरको मात्रा १० पीपएममात्र हुने भएकाले प्रदूषण निकै कम हुन्छ । सल्फरले कार्बन मोनोअक्साइड उत्पादन गर्ने भएकाले सल्फरको मात्रा कम हुँदा स्वतः प्रदूषण कम हुन्छ । युरो–४ मा ५० पीपीए सल्फर हुन्छ । युरो–४ भन्दा युरो–६ मापदण्डको तेल निकै गुणस्तरीय हुन्छ । यसले स्वतः वातावरण प्रदूषण घटाउने अपेक्षा गरिएको छ । युरो–६ ले माइलेज पनि धेरै हुने भएकाले सवारीको इफिसेन्सी पनि बढ्छ । सवारीसाधनको इन्जिन टिकाउ हुन्छ र कम बिग्रन्छ ।
अहिले नयाँ गाडीलाई युरो–६ इन्धन प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा आईओसीको मथुरा डिपोबाट युरो–६ मापदण्डको पेट्रोल ल्याएर बिक्री गरिएको थियो । अप्रिलबाट सबै ठाउँमा युरो–६ को इन्धन आउँछ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ गरेर ल्याई यहाँका सवारीसाधनमा प्रयोग गर्ने भएकाले भारतमा इन्धनको गुणस्तर सुधार हँुदा यहाँ पनि स्वतः हुनेछ । अप्रिलबाट भारतभर सबै सवारीसाधनमा युरो–६ प्रयोगमा आउँछ । युरो–६ विश्व बजारमा चलेको इन्धनको सबैभन्दा पछिल्लो संस्करण हो । उक्त इन्धन नयाँ र गुणस्तरयुक्त हुन्छ । इन्धन प्रयोग गर्ने सबै सवारीसाधन निर्माण कम्पनीले युरो–६ इन्धन प्रयोग गर्ने गरी सवारी साधन उत्पादन गर्न थालेका छन् । तत्कालका लागि निगमले गुणस्तरीय डिजेल उपलब्ध गराउन सक्ने भएको छ– कारण अब डिजेल पाइपबाट आउँछ । ट्याङ्करमा ढुवानी गरिँदा डिजेलमा जति मात्रामा गुणस्तरमा कमी आउँथ्यो, पाइपलाइनबाट ल्याइदा त्यति आउँदैन । नेपाल सरकार र भारत सरकारको उच्चस्तरमा भएको सहमतिअनुसार इन्डियन आयल कर्पोरेसनको उल्लिखित योगदानस्वरूप पाइपलाइनको निर्माण भएको हो ।
गुणस्तरकै कुरा गर्दा ग्यास कम्पनीहरूले बजारमा उपलब्ध गराउँदै आएका ग्यास सिलिन्डरसम्बन्धमा भने सबैको गुणस्तरयुक्त हुन्छ नै भन्ने छैन । कुच्चिएका र रङ उडेका सिलिन्डरहरूलाई गुणस्तरीय भन्न सकिएला र ? त्यसैले ग्यास सिलिन्डरको गुणस्तरीयतालाई ठीक नापोमा ल्याउनुपर्दछ । निकट भविष्यमा नेपाल आयल निगमले पनि ग्यासको कारोबार गर्ने सन्दर्भमा विचार गर्दा पक्कै पनि गुणस्तरीय सिलिन्डर आउनेछन् । त्यसो त ग्यासलाई पाइपद्वारा घर–घर पु¥याउन सके सबैभन्दा गुणस्तरीय हुने थियो, तत्कालका लागि त्यो सम्भव नभए पनि दुर्घटना ननिम्तिने गुणस्तरका सिलिन्डर घर घरमा पु¥याउने व्यवस्था आवश्यक छ ।
त्यसो त गुणस्तरका कुरा गर्दा आजभन्दा भोलि, भोलिभन्दा पर्सि हुने नयाँ उत्पादन गुणस्तरीय हुँदै जान्छन्, नभए बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन । निगमको नारा “पेट्रोलियम पदार्थमा शुद्धता” लाई सक्रियतापूर्वक लागू गर्न सक्नु नै सफलताको मापदण्ड हो ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)