जयनारायण आचार्य
पर्यटन आर्थिक विकासको आधारमात्र होइन, राष्ट्रिय एकताको प्रतीक पनि हो । नागरिकबीचको वर्गीय सीमा घटाउने, भौगोलिक दूरी हटाउने, आफ्नोपनको अनुभूति गराउने र मुलुकप्रतिको जिम्मेवारीबोध गराउने कार्य पर्यटनको विकासबाट सम्भव छ । नेपालीबीचको सम्बन्ध, सहकार्य र सहअस्तित्वको माध्यम पर्यटनलाई बनाउन सकियो भने देशको विकासको साथै राष्ट्रियताको सम्बद्र्धन हुनेछ ।
पर्यटन नेपालको तुलनात्मक, प्रतिस्पर्धी र सक्षमताको लाभको क्षेत्र हो । अन्य क्षेत्रको विकासका लागि तत्काल ठूलो लगानी आवश्यक पर्छ । नेपालले समृद्विको लक्ष्य हासिल गर्न स्रोतको अभाव र लगानीको कारण यी सम्भावना दीर्घकालीन प्रयासका विषय हुन्छन् । त्यसैले नेपालको आफ्नो सम्भावनाका क्षेत्र र अन्य देशको भन्दा पृथक र अलौकिक प्रकृति, स्रोत र साधनको उपलब्धताका कारण यसको तुलनात्मक र प्रतिस्पर्धी क्षमता बढी हुन्छ । साथै, आफ्नै बलबुता, जनशक्ति, स्थानीय स्रोत–साधनमा निर्भर भएर नै पर्यटनबाट लाभ लिन सकिने भएकाले यसलाई नेपालको समृद्विको आधार मानिन्छ ।
पर्यटन र यसका लाभलाई जति तल्लो तह र वर्गसम्म विस्तार गरिन्छ, त्यति नै यसले समावेशी र समानुपातिक समृद्धिमा टेवा पु¥याउँछ । तर, नेपालको पर्यटन तल्लो वर्गसम्म पुग्न र स्थानीय उत्पादनसँग आबद्ध भएको छैन । विदेशी वा स्वदेशी पर्यटक स्थानीय उत्पादनका उपभोगकर्ता पनि हुन । यदि हामीले त्यसलाई स्थानीय उत्पादनसँग जोड्यौँ भनेमात्र त्यसको लाभ विस्तार हुन्छ । नाम्चेबजार पुग्दा क्यान बियर, क्याप्सिकानो र अमेरिकानोको कफी होइन, स्थानीय शेर्पा चिया, रारा जाँदा सेतो चामलको भात होइन, मार्सी र सिमीको खाना, गुल्मी जाँदा चिनीको चिया होइन, खुदोको चिया जब उपलब्ध हुन्छ, तबमात्र पर्यटन समृद्धि र समानुपातिक विकासको आधार बन्न सक्छ ।
राज्यले सन् २०२० लाई पर्टयन वर्ष घोषणा गरेको सन्दर्भमा यसको लाभ लिनुपर्छ नै तर त्यसका लागि दिगो तयारी र प्रसार–प्रचारलाई व्यापक बनाउनुपर्छ । तोकिएको कुनै समयलाई पर्यटन वर्ष घोषणा गरी गरिने लक्षित विकासभन्दा पनि हरेक वर्ष पर्यटकीय वर्ष होस् भन्नेतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ । नेपालमा पर्यटनको उत्कृष्ट सम्भावना र त्यसले राष्ट्रिय विकासमा पु¥याउन सक्ने योगदानबारे धेरै चर्चा गरिरहन पर्दैन । हामीसँग रहेका प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदा र धरोहर विश्वमै आकर्षक मानिन्छन् तर ती सम्पदासम्मको पहुँच भने सहज छैन । भूपरिवेष्ठित परिवेश र अलौकिक भौगोलिक अवस्थिति हाम्रा लागि वरदान हो । त्यसलाई थप उपयोगी र मुलुकको समृद्धिमा आबद्ध गर्न पर्यटकीय पूर्वाधार पहिलो सर्त हुन्छ ।
नेपालले पर्यटक भिœयाएर त्यसबाट आर्थिक उन्नति गर्नेसम्बन्धी धेरै योजना बनाइसकेको छ । तर, योजनाबमोजिम गति अगाडि बढ्न नसकेको साँचो हो । अब हामीले पूर्वाधारमा लगानी बढाउनुपर्छ ।
पर्यटन विकासको अर्को मुख्य सर्त अर्को देश र सहरसँगको जोडाई (कनेक्टिभिटी) हो । स्थल, हवाई र जलसबै क्षेत्रबाट जति बढी मुलुक र सहरलाई नेपालसँग जोड्न सकिन्छ, त्यति धेरै पर्यटक आगमन बढ्ने सम्भावना हुन्छ । अर्कोतर्फ आन्तरिक कनेक्टिभिटीले मुलुकको समृद्धिमा ठूलो सहयोग गर्छ । जब पूर्वको मानिसलाई सहजै सुर्खेत आउने वातावरण बन्छ, तब सुर्खेत, दैलेख, जुम्ला वा कर्णालीमा आन्तरिक पर्यटकको पहुँच बढ्ने हो । यसका लागि इलामको मानिसलाई काठमाडौँ आएर सुर्खेत जाने बाध्यता हटाइदिनुपर्छ । त्यसको साटो झापा या विराटनगरबाट सिधा सुर्खेत र रारा जोड्न सकियो भनेमात्र पर्यटक आगमन बढ्न जान्छ ।
भूपरिवेष्ठित अवस्थितिको बाध्यता पक्कै पनि छ । त्यसैले नेपाललाई जति बढी मुलुकसँग हवाई यातायातको माध्यमबाट जोड्न सक्छौँ, त्यसले बढीभन्दा बढी पर्यटक आउने वातावरण स्वतः निर्माण हुन्छ । नेपाल आउने रुट, भिन्न देशको अध्यागमन नियमले समेत पर्यटकको आवागमनमा प्रभाव पार्दछ । तसर्थ, सन् २०२० लाई पर्यटकीय वर्ष मनाउँदा अन्तर्राष्ट्रिय सम्बन्ध र परिवेशलाई अनुकूल बनाउने पहल गरिनु जरूरी छ ।
पर्यटन विकासको अर्को महŒववपूर्ण सर्त बजारीकरण हो । सरल भाषामा भन्नुपर्दा जति बढी हल्लाखल्ला गर्न सकियो त्यति ठूलो नै बढी हाम्रा सम्पदा र उत्पादनको परिचय देश–विदेशमा फैलन्छन् । विदेशमा हेर्दा ५० लाख जनसङ्ख्या र सानो क्षेत्रफल भएको मुलुकले पनि वार्षिक सात करोड पर्यटक भिœयाउँछन् । उदाहरणका रूपमा हामी सिङ्गापुरलाई हेर्न सक्छौँ । पर्यटकबाट हुने आम्दानीकै कारण ती मुलुक विश्वकै सम्पन्न र शक्तिशाली बन्न पुगेका छन् । मानवनिर्मित सम्पदालाई बेचेर कतिपय मुलुकहरूले पर्यटक आकर्षित गरिरहेका छन् भने हामीसँग प्राकृतिक रूपमा प्राप्त अथाह सम्पदा छन् । जुन विश्वका हरेक कुनामा बस्नेका लागि चासो हुन्छ ।
सूचना–प्रविधिको अधिकतम प्रयोगबाट पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ । आधुनिक बजार अनुरूप पर्यटन बजारीकरणका परम्परागत शैली र तौरतरिकामा परिवर्तन गर्न आवश्यक छ । तस्बिर, भिडियो र सन्देश हेरेरै मानिसलाई नयाँ–नयाँ ठाउँमा जान प्रेरित गरिन्छ । भूकम्पपछि प्रभावित भएको पर्यटन अहिले पुनरुत्थानको चरणमा छ । यस समयमा अझ बढी प्रचार–प्रसार र बजारीकरणको आवश्यकता छ । अर्कोतर्फ आजको पर्यटक मोबाइल वा ल्यापटपमा नक्सा, स्थानको परिचय, सेवा–सुविधा हेरेर सामाजिक सञ्जालबाटै सम्पर्क गरी गन्तव्यसम्म पुग्न थालेका छन् ।
मुलुकको दिगो पर्यटन विकासको आधार आन्तरिक पर्यटनको प्रवद्र्धन नै हो । नेपालमा विदेशी पर्यटकले पर्यटनको आधार खडा गरिदिएको इतिहास छ । अर्थात् पर्यटन भन्नु नै विदेशीको आवागमन हो भन्ने बुझाइ छ । हामीले चीनलाई उदाहरणका रूपमा लिन सक्छौँ । त्यहाँ जति विदेशी पर्यटक पुग्छन्, त्यसको कैयौँ गुणा बढी स्वदेशी पर्यटकले चीनको एक ठाउँबाट अर्को ठाउँ घुम्छन् । हामीले अब आन्तरिक पर्यटकलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ ।
सन् २०१६ मा करिब सात लाख हाराहारी विदेशी पर्यटक नेपाल आएको तथ्याङ्क छ भने अनौपचारिक तथ्याङ्कअनुसार १५÷१६ लाख नेपाली आन्तरिक घुमफिरमा निस्किएका थिए । यो तथ्यले के सङ्केत गरिरहेको छ भने अब नेपालीमा पनि घुमफिर गर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । विदेशीजस्तै नेपालीले पनि खर्च गर्न सक्छन् । बुझ्ने भाषा, मिल्दो संस्कृति र एउटै रुचि हुने समुदाय एक स्थानबाट अर्को स्थानमा घुम्दा पर्यटन विकासको आधार सुनिश्चित हुनेछ ।
आन्तरिक पर्यटनलाई प्राथमिकता दिनुको मतलब नयाँ गन्तव्य विस्तारको अवसर सिर्जना गर्नु पनि हो । किनकि विदेशीलाई स्थापित गन्तव्यमा घुमाउन जति सजिलो छ, नयाँ ठाउँमा लैजान तयार पार्न त्यति नै जोखिम छ । यसका लागि आन्तरिक पर्यटकबाटै गन्तव्य प्रवद्र्धन र विकास गर्न सकिन्छ । आज पनि नयाँभन्दा पुरानै स्थानको सेरोफेरोमा नेपाली पर्यटन घुमेको छ । उदाहरणका लागि रारा र खप्तडलाई सधैँभरि ‘भर्जिन ल्यान्ड’का रूपमा राखेरमात्र नेपालले त्यसको महŒव बुझेको ठहरिँदैन । त्यसको सुन्दरतालाई विश्वमाझ पु¥याएर खर्चालु पर्यटक भिœयाउने माध्यम बन्नुपर्छ ।
पर्यटनले नेपालको आर्थिक–सामाजिक विकासमा कति योगदान पु¥याइरहेको छ भन्ने सन्दर्भमा गम्भीर समीक्षा गर्नुपर्ने समय आएको छ । पर्यटनलाई नेपालको गरिबी निवारण र रोजगारी सिर्जनाको एक उपायका रूपमा सदुपयोग गर्न सकेका छौँ या छैनौँ भन्ने समीक्षा गर्नुपर्छ । पर्यटक आउँदा हामीलाई फाइदा छ भन्ने सन्देश तल्लो तहसम्म पुगेको अवस्थामा मात्र पर्यटन विकासको आधार तय हुन्छ र त्यो नागरिकस्तरबाटै गरिनुपर्छ ।
पर्यटनलाई विकृत बनाउनुहुँदैन । यसले मुलुकको छवि बिग्रन्छ । राष्ट्रको छवि जति सकारात्मक बनाउन सक्यो पर्यटन आगमन त्यति नै राम्रो हुन्छ । पर्यटनमा जति राम्रो छवि कायम गर्न सकिन्छ, त्यति नै आन्तरिक तथा बाह्य लगानी आउने अवस्था सिर्जना हुन थाल्छ । जब विदेशी लगानी आउन थाल्छ, त्यसपछि स्वाभाविक रूपमा विदेशी नागरिक यहाँ आउने र घुमफिर गरी खर्च गर्ने प्रवृत्ति बढ्न थाल्छ । यसैगरी, आन्तरिक सुरक्षा अर्को महŒवपूर्ण पूर्वसर्त हो ।
नेपालको पर्यटनको मुख्य आधार हिमाल हुन् । पर्वतारोहण र पदयात्रा यहाँका मुख्य पर्यटकीय माध्यम हुन् । यी दुई क्षेत्रको माध्यमबाट नेपालले पर्यटक भिœयाउन सकेको छ । तर, विश्वव्यापी जलवायु परिवर्तन र हिमाली क्षेत्रमा थुप्रिरहेको फोहोरको मारमा यी हिमाल परिरहेका छन् । हामीले हिमाल र अन्य सम्पदाको संरक्षण र सरसफाइलाई प्राथमिकता दिएर काम गर्नुपर्छ । भ्रमण वर्षलाई लक्षित गरी ‘अफर’ र छुटहरू ल्याउन सकिन्छ । यसमा वायुसेवा कम्पनी र होटेलहरूले योगदान गर्न सक्छन् । यसलाई प्रचार–प्रसार गर्ने काममा सरकार तथा नेपाल पर्यटन बोर्डले तदारूकता देखाउनुपर्छ । अर्कोतर्फ नेपाल आइरहेका विदेशी वायुसेवा कम्पनीहरूलाई अनिवार्य रूपमा निश्चित प्रतिशत विदेशी बोक्नैपर्ने नीति ल्याउन सक्ने हो भने उनीहरूमार्फत पनि नेपालमा खर्चालु पर्यटक भिœयाउन मद्दत पुग्न सक्छ । विदेशी वायुसेवा कम्पनी अहिले वैदेशिक रोजगारीमा जाने नेपालीमा निर्भर छन् । ती नेपालीको सङ्ख्या कमी भयो भने उनीहरूले नेपाल उडान कटौती गर्ने पक्का छ ।
सन् २०२० को पर्यटन वर्षलाई सफल बनाउन पूर्वाधारको विकास, प्रचार–प्रसार, सरोकारवालाको सक्रिय सहभागिता र आन्तरिक र अन्तर्राष्ट्रिय परिवेशलाई आजैबाट अनुकूल पार्नेतर्फ सोच्न जरूरी छ । अब एक दशकमा कुनै एक वर्षलाई पर्यटन वर्ष मनाएरमात्र होइन, ‘हरेक दिन पर्यटकीय दिन’ बन्न सक्नेगरी नेपालको पर्यटकीय विकासको खाका तयार गर्न आवश्यक छ ।
(लेखक नेपाल सरकारका सहसचिव हुनुहुन्छ ।)