रामदयाल राकेश
सम्पूर्ण मिथिलाञ्चलमा मकर सङ्क्रान्तिको महान् पर्व बडो धुमधाम, उत्साह र उमङ्गको साथमा प्रत्येक वर्ष मनाउने परम्परा छ । कृषकहरू आफ्नो कृषि कार्य सम्पन्न गरेर यस पर्वलाई मनाउने गर्दछन् । यिनीहरू फुर्सदमा हुन्छन् । गृहस्थीको कुनै बोझ हुँदैन । तसर्थ, तनावविहीन भएर यस मकर सङ्क्रान्तिको पर्वलाई मनोरञ्जनपूर्ण ढङ्गबाट अति आनन्दित हुन्छन् ।
यो पर्व मुख्यतः कृषिसँग जोडिएको हुनाले यसमा तिल अन्नको भरपुर प्रयोग हुन्छ । प्रत्येक साल माघ महिनाको १ गते अर्थात् प्रथम दिन यो पर्व हर्षोल्लासपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मनाइन्छ । यस पर्वमा उपवासको कुनै प्रावधान नभएकाले शरीरलाई सुन्दर, स्वस्थ र सुगठित बनाउने प्रयास गरिन्छ । यस पर्वको अवसरमा स्नानको सर्वोपरि स्थान हुन्छ । जाडो यामभरि ननुहाउने मानिस पनि यस दिन स्नान नगरीकन अन्न, जल ग्रहण गर्दैनन् । स्नान पनि एउटा शारीरिक व्यायाम नै हुने गरेकाले स्नानपश्चात् शरीर स्फुर्तिवाण हुन्छ । अल्छीभन्दा अल्छी मानिस पनि स्नान गरेपछि फुर्तिलो भइहाल्छ ।
माघ स्नानको महŒव वेदपुराणमा पनि उल्लेख भएको पाइन्छ । एकाबिहान मानिस कुनै जलाशय (नदी, कुवा र इनार) आदिमा गएर स्नान गर्ने गर्दछन् । धर्मशास्त्रहरूमा माघ महिनामा प्रतिदिन गङ्गा–जमुनाजस्तो पवित्र नदीहरूमा स्नान गर्नुलाई पुण्यदायक र फलदायक मानिएको छ, यस दिनमा नदीको दोभानमा स्नान गर्नुलाई अति पवित्र मानिन्छ । छिमेकी राष्ट्र भारतको प्रयाग र हरिद्वारको पौरीमा र आफ्नो देशको त्रिवेणी र नारायणघाटको सङ्गममा स्नान गर्नुलाई शुद्ध एवम् पवित्र मानिन्छ । त्रिवेणी सङ्गमको स्नानलाई सर्वाधिक महŒव दिइएको पाइन्छ । यसै दिनदेखि केही मानिस माघ मासभरि प्रतिदिन स्नान गर्ने प्रारम्भ गरेर पुण्यको कामना गर्दछन् ।
तर, माघ महिनाको सङ्क्रान्तिको स्नानलाई सबैभन्दा पुण्यदायक एवम् फलदायक मानिएको छ । स्नानपश्चात् अरिपन लोककला चित्रित गरेर भूमिलाई शुद्ध पार्ने परम्परा छ । यसमा अष्टदल कमलको चित्र अङ्कित गरेर सूर्य भगवान्को सादर, सप्रेम एवम् सश्रद्धा आह्वान र पूजन गर्ने परम्परा छ । कहीँ–कहीँ यस पर्वको उपलक्ष्यमा ठूलो मेला पनि लाग्छ किनभने यो दिनलाई धेरै पवित्र मानिएको छ, यसलाई एउटा साँस्कृतिक एवम् धार्मिक समारोहका रूपमा मनाउने परम्परा छ । प्रातःकाल स्नानादी सम्पन्न गरेर खिचडी (जाउला) र उखुको दान गर्ने प्रथा पनि प्रचलित छ तर सबैभन्दा महŒवपूर्ण तिलको दान मानिन्छ । मकर सङ्क्रान्तिको शुभ अवसरमा तिलको दान र यसको सेवन स्वास्थ्यप्रद मानिन्छ ।
तिलको लड्डु र दही चिउरा खानु र आफ्ना इष्टमित्र, स्वजन, कर कुटुम्ब र नातागोतालाई ख्वाउँदा एउटा सामाजिक समारोहको झझल्को दिन्छ । विवाहिता छोरीहरूलाई यस पर्वमा सामेल हुनका लागि निम्ता गरेर बोलाउने परम्परा पनि छ । यो व्यक्तिगत होइन, सामाजिक पर्वका रूपमा आफ्नो परिचय प्रस्तुत गरिसकेको छ । तसर्थ, यसबाट समाजमा सुमधुर सम्बन्ध पनि स्थापित हुन जान्छ ।
पुराण कथा ः
एकपल्ट जाबाली महर्षिसँग सुनाग नामक मुनिले मकरसङ्क्रान्तिको महŒवका बारेमा सोधेका थिए । जाबाली महर्षिले उत्तर दिएका थिए कि यस पर्वमा भगवान् शङ्करको प्रतिमालाई घिउसित अभिषेक गरेर तिलको फूल र बिल्बपत्र चढाएपछि शङ्कर भगवान् खुब खुसी भएर आशिर्वाद दिनुहुन्छ ।
श्रद्धापूर्वक पूजा गरेर शङ्करको प्रतिमालाई प्रदक्षिणा गरेको खण्डमा अझ बढी पुण्य र फलको प्राप्ति हुन्छ । ‘त्रयंबक’ मन्त्र ‘उँ नुँ स’ को उच्चारण गरेपछि अझ पुण्यप्रद मानिन्छ । दधिमंथनको दान पनि यस अवसरमा गर्नु अझ पुण्यदायी मानिएको छ । एकपल्ट कृपाचार्यकी श्रीमती कृपिले दुर्वासा ऋषिसँग आफ्नो निर्धनता एवम् निःसन्तान हुनुको दुःखलाई दूर गर्ने प्रार्थना गरेपछि दुर्वासा ऋषिले उनलाई दधिमंथनको उपाय बताएको कुरो पनि पुराणमा उल्लेख भएको पाइन्छ । यसबाट उनको दुःख र दरिद्रता नष्ट हुन गएको थियो ।
मिथिलाञ्चलमा यस पर्वलाई मकर सङ्क्रान्ति, तिला सङ्क्रान्ति, तिलवा चिउडा (चिउरा) भनिन्छ भने भोजपुरा क्षेत्रमा यसलाई खिचडी भनिन्छ । सूर्य दक्षिणायनबाट उत्तरायणमा प्रवेश हुने हुँदा यही तिथिदेखि सूर्यको गतिमा परिवर्तन हुनेक्रममा यसको राप एवम् ताप पनि क्रमशः बढ्दै जान्छ र जाडोको यन्त्रणा पनि शिथिल हुँदै जान्छ । तसर्थ, यस तिथिको मानिसको जीवनमा पनि प्रभाव पार्नु सर्वथा स्वाभाविकै हो, यसदेखि नै बूढापाकामा पनि जोश एवम् जाँगर चल्न थाल्छ र सूर्यको प्रकाशबाट यिनीहरूले घामको सेवन गरेर भिटामिन ‘डी’ को प्राप्ति गर्ने गर्दछन् । सूर्यको आराधना एवम् अर्चना गर्दा यसको रश्मिमा रापको अभिवृद्धि हुँदै जान्छ र चिसोबाट मानिसलाई मुक्ति पनि मिल्दै जान्छ । सूर्यलाई आरोग्यप्रदायक देवताका रूपमा मानिसले अन्तस्करणबाटै अभिप्रेरित भएर पूजाआजा गर्न थाल्छन् । यस पर्वको महान् सन्देश नै मित्रता, शान्ति र अनेकतामा एकता हो भन्न सकिन्छ ।
मकर सङ्क्रान्ति मिथिलाञ्चलमा मात्र सीमित होइन अपितु थरुहटमा पनि बडो धुमधाम र जोश–जाँगरसित मनाउने सदीयौँ पुरानो परम्परा छ । थारूहरूले यसलाई नव वर्षका रूपमा मनाउने गर्दछन् । मिथिलाञ्चलमा यसलाई शाकाहारीको पर्वका रूपमा लिइन्छ भने थरुहटमा यसलाई मांशहारीको पर्वका रूपमा मनाइने प्रचलन रहेछ ।
साहित्यकार फणिश्याम थारूको शब्दमा “पश्चिमाञ्चलका थारू जातिले अन्य क्षेत्रमा भन्दा यो चाड दसैँभन्दा पनि विशेष रूपमा धुमधामसित मनाउँछन् । यो चाडमा ३४ दिन अगावैदेखि नै यहाँका मानिसले खाने, पिउनेबाहेक अन्य कामकाज गर्दैनन् । मसान्तको रातभरि यिनीहरू भाले बासुन्जेल दारु पिउँदै नाचगान गर्दछन् । यहाँ पशुपक्षीको बलि पनि दिइन्छ । तर, मासु घर लैजान पाइँदैन ।–फणिश्याम थारू ः थारू लोकसंस्कृति र चाडबाड पृ. ९७ ।)
यस्तै वरिष्ठ संस्कृति विज्ञ सत्यमोहन जोशीले काठमाडौँ उपत्यकामा मकर सङ्क्रान्ति कसरी मनाइन्छ, त्यसबारेमा आफ्नो पुस्तक ‘नेपाली चाडबाड’ मा यसरी उल्लेख गर्नुभएको छ,
“काठमाडौँ उपत्यकाका नेवारहरू माघेसङ्क्रान्तिलाई ‘घ्यो– चाकु सँल्हु’ घिउ र चाकु खाने सङ्क्रान्ति भन्दछन्, फेरि कोहीकोही ‘हाम्रो सँल्हु’ (तिलको प्रधानता भएको सङ्क्रान्ति) पनि भन्दछन् । त्यस दिन आमाहरूले आफ्ना छोराछोरीहरूको शिरमा आरोग्य लाभ होस् भनेर तेल घसिदिन्छन्, फेरि कान सफा गरी तेल हालिदिन्छन् । कृषकहरूचाहिँ घाम तापेर तोरीको तेल खुब मालिस गर्दछन् । यो चाड मनाउँदा छोराछोरी पाइनसकेका नयाँ दुलहीहरू तथा छोराछोरी नहुने आइमाईहरू प्रायः माइतमा गई चाड मनाउने गर्दछन् ।’’
(पृ ५३ )
त्रिशूली र कालीगण्डकी नदीको सङ्गममा स्नान गर्दा अक्षय फल प्राप्त हुने विश्वाससहित भक्तजन देवघाट जान्छन्, किनभने यो तनहुँ, नवलपरासी र चितवन जिल्लाको समेत सङ्गम स्थल हो । मकर सङ्क्रान्तिका विषयमा आयुर्वेदमा धेरै महŒव दर्शाइएको छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)