लक्की चौधरी
पश्चिमा थारूहरूले मनाउने विशेष पर्व हो– ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारूले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारूहरूको बसोवास छ । ठाउँअनुसार यो पर्वको नाम फरक भएको हुन सक्छ । यद्यपि, माघेसङ्क्रान्तिको नामले सबै नेपाली समुदायले यस पर्वलाई माघ १ गते मनाउने प्रचलन रहँदै आएको छ ।
बाह्र महिनामध्ये माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ रहन गएको सत्य हो । यद्यपि, पछि यसलाई ‘माघी’ भनी सम्बोधन गर्न थालियो । विशेषगरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउन शुरु गरेपछि माघलाई माघी भन्न थालियो । पश्चिमका थारूले यो पर्वलाई माघका रूपमा मनाउँछन् । तर, पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोवास गर्ने थारूहरूले साझा पर्वका रूपमा माघलाई ‘माघी’का रूपमा मनाउँदै आएका छन् । उच्चारण जुन शब्दबाट गरिए पनि आखिर भन्न खोजेको ‘माघ’ नै हो । यो पर्वको सुरुवात पश्चिमा थारूले गरेका हुन् । पश्चिमा थारूले यसलाई विशेष पर्व (नयाँ वर्ष) का रूपमा मनाउने हुनाले पर्वको उत्पत्ति पनि पश्चिममै भएको सहजै अनुमान गर्न सकिन्छ ।
स्वतन्त्र विश्वकोह, नेपाली विकिपिडियाले ‘माघी’ सम्बोधन गरेको छ । त्यसमा लेखिएको छ, “माघी नेपालमा बसोवास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।” माघेसङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारू गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गङ्गटा, अनदीको भात, मुरही, जाँड, रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरि थारूहरू जाग्राम बस्छन् । त्यस रात दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । गीत सबै मौखिक हुन्छ । थारू अगुवाहरूले गीतलाई कण्ठस्थ पारेका हुन्छन् । अर्थात् उनीहरू धमार गीत रचना गर्न विशेष भेउ जान्दछन् । रातभरि जाग्राम बसी गीत गाउने गायकहरूको सत्कारका लागि जाँर (जाँड) रक्सी र खानपानको व्यवस्था गरिएको हुन्छ । जाग्राम बसी गीत गाउनेलाई विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।
के हो माघ लहान ?
माघ १ गतेलाई पवित्र दिनका रूपमा हेरिन्छ । सुँगुर, बङ्गुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिन हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा जलाशयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारूहरूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यस दिन जलदेवतासँग पानी खरिद गरेर थारूहरू स्नान गर्छन् । एक हातले नाक समातेर डुबुल्की मार्छन् । डुबुल्कीसँगै पानीभित्र सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभर जानअञ्जानमा गरिएका गल्ती (पापकर्म) पखालिन्छ, नष्ट हुन्छ भन्ने विश्वास थारूहरूमा छ । नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व घरमुलीले गर्छन् । गाउँभरिका सदस्यहरू सामूहिक रूपमा जलाशयमा रमाइलो गर्दै जाने र नुहाउने गर्छन् । यो परम्पराले सामूहिकताको विकास गरेको छ । सहयोगको भावनाको विकास गरेको छ ।
ढोग आशिर्वाद
उसो त घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरूप ढोग गर्ने र आशिर्वाद लिने प्रचलन सबै समुदायमा छ । थारू समुदायमा पनि त्यो विद्यमान छ । तथापि, गाउँघरका सदस्यहरूले कामविशेषले देशबाहिर, गाउँबाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नान गरी ठूलालाई ढोग गरी आशिर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई सम्मान दिन्छ र दीर्घायु तथा सुखी जीवनको मनग्य आशिर्वाद पनि प्राप्त हुन्छ । त्यसैले ढोग आशिर्वादले एक–अर्कालाई जोडेको छ । ठूलाको सम्मान र सानाको माया यसमा अन्तरनिहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई नै जोडेको छ । व्यक्तिको मनमा शान्ति भएपछि समाज गाउँमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशभर शान्ति हुन्छ र अहिंसारूपी समाजको सिर्जना हुन जान्छ । त्यसैले ढोग आशिर्वादको महŒव सबै समुदायमा छ ।
थारूहरूले माघ १ गते स्नान गरेपछि ठूलाको आशिर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले घरका सदस्यले ती चामल, नुन र दाललाई पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने छुट हुन्छ । थारूहरूले नुहाएर चोखो भएपछि सगुनका रूपमा ती चीजलाई छोएपछि अभिभावकको आशिर्वाद लिन्छन् । नजिकमा मठमन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवान्को पूजापाठ गर्छन् । ढोग आशिर्वादमा अभिभावकले वर्षभरिका लागि सुख, शान्ति, प्रगतिको आशिर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशिर्वाद लिने प्रचलन छ । यो प्रचलनले गाउँका सदस्यबीच एक–अर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका खेल्छ । ढोग आशिर्वादपछि मात्र खानपिन गरिन्छ । खानपिन पनि सामूहिक रूपमा आगो ताप्दै गर्ने प्रचलन छ । सोबेला सुख–दुःखका कुरा पनि साटासाट हुने गर्छ । एक–अर्कालाई बुझ्नमा त्यसले फाइदा गर्छ ।
चेलीबेटीलाई निसराउ
माघ १ गते थारूहरूले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनका रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारस्वरूप प्रदान गरिन्छ । आजभोलि थारूहरूमा नगदसहित निसराउ दिने प्रचलन बढेको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य रूपमा माइत ल्याइएको हुन्छ । माइत आएका चेलीहरू फर्कने बेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणवश माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घरमा जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । नाता–कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले पनि निसराउ (उपहार) दिने चलनलाई महŒवसाथ हेरिन्छ ।
सम्बन्ध जोड्ने चाड
माघी पर्वले एक–अर्काबीच भएको तिक्तता हटाउँछ । काम गर्ने सिलसिलामा कसैसँग रिसइबी भएको छ भने माघ १ गते जलाशयमा स्नानपछि अङ्कमाल गर्नाले वर्षभरिको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, बिमार सबै हट्ने र वर्षभरिको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्वका रूपमा हेरिन्छ । एक–अर्कालाई ढोग आशिर्वाद लिने प्रचलनलाई थारूहरूले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसो गर्दा गाउँका सदस्यबीच एकता, मित्रता र आपसी सहयोगको भावनामा वृद्धि हुन जान्छ ।
नयाँ वर्ष किन
माघ पर्वलाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुचारु गर्छन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब मिलान तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरूको पारिश्रमिक दिने गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ति गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ति गरिन्छ । जवान भएका छोराछोरीको विवाह पनि माघ महिनाबाटै सुरु गर्ने गरिन्छ । वर्ष दिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारूहरूले यस पर्वलाई नयाँ वर्षका रूपमा लिन्छन् ।
थारूहरूले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । खाने चामलदेखि, पैसाको जोहो, ढिक्रीलगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चीजको जोहो गर्छन् । मासुका लागि सुँगुर, बङ्गुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गङ्गटा, सिपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । अहिले गाउँघरमा महोत्सव गर्ने प्रचलन बढेको छ । जिल्ला–जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्क्राइत महोत्सव सुरु हुने गरेका छन् । यसले थारू समुदायको कला संस्कृतिको जगेर्ना पनि गरेको छ र अर्कोतर्फ आफ्नै घरमा उत्पादित परिकार बिक्री गरेर आम्दानी पनि बढेको छ । माघ पर्वका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसारले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । यो पर्वमा विशेषगरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारूहरूले माघको पहिलो सातासम्म रामरमाइलो गरिन्छ ।
(लेखक गोरखापत्र दैनिकका उपसम्पादक हुनुहुन्छ ।)