logo
२०८१ मंसिर ११ मंगलवार



पर्यटन प्रवद्र्धनका सूत्र

विचार/दृष्टिकोण |





उत्तरकुमार पराजुली

पर्यटनले गतिको सङ्केत गर्छ, गतिले जीवनको । त्यसैले पर्यटनलाई जीवनदायी तत्वका रूपमा लिन सकिन्छ । पृथ्वी घुम्नाले जीवन सम्भव भएको छ । यही गतिका कारण हरेक दिन फरकफरक किसिमले सूर्य, ग्रह, तारा उदाउँछन्, अस्ताउँछन् । पृथ्वीको पर्यटकीय गुणले हाम्रो जीवन सधैँ नवीन प्रतीत हुन्छ । नयाँ रस र उमङ्गका साथमा जीवन यात्रा चलिरहेको छ ।
पर्यटनलाई बुझाउने हाम्रो ग्रामीण भाषा तीर्थयात्रा हो । शास्त्रले तीर्थलाई जङ्गम तीर्थ र स्थावर तीर्थ गरी दुई किसिमका हुन्छन् भनी परिभाषित गरेको छ । जङ्गम तीर्थले डुलघुम गर्ने गुरु, सन्त, महात्मा, योगीलाई जनाउँछ भने स्थावर तीर्थले स्थिर रहने पवित्रस्थल, नदी तट आदि भन्ने बुझिन्छ । मान्छेले ज्ञान आर्जनका लागि चाहिने ज्ञान सिक्न पहिले जङ्गम तीर्थ यात्रा गर्छ । गुछुङगुछुङ हिँड्दै बाबा लो ते हो ? (बुबा यो के हो ? ) आम्मा लो ते हो ? (आमा यो के हो ?) बाट सुरु गरेको जङ्गम तीर्थ यात्रा ठूलाठूला महाविद्यालय, विश्वविद्यालयको विद्यावारिधिक बनुञ्जेलसम्म चलिरहन्छ । जङ्गम तीर्थ यात्राले कसरी सिक्ने र के सिक्नेको टुङ्गो लगाइदिएपछि थप सिकाइका लागि स्थावर तीर्थ यात्रा सुरु हुन्छ । यसबेला व्यक्ति आफैँ कसैका लागि जङ्गम तीर्थ बन्दै रहेको हुन्छ । त्यसैले पर्यटन जीवनपर्यन्त चलिरहने प्रक्रिया हो भन्न सकिन्छ ।
“जीवन यात्रा हो, बाहिर निस्क” भनेर हाम्रो पूर्वीय सनातनमा तय गरिएका सोह्र संस्कारमध्ये न्वारनका दिन गरिने निष्क्रमण संस्कारलाई महŒवका साथ सम्झनुपर्छ । व्रतबन्ध वा भनौँ उपनयनका बखत गायत्री गुरुका आज्ञाले झोलीमा खर्चबर्च लिएर थप अध्ययनका लागि गरिने काशी यात्राको नाटकीय गतिविधिले पनि पर्यटन हाम्रो जीवनचर्याको अभिन्न अङ्ग हो भन्ने कुराको सङ्केत गर्छ । त्यसैले पढ्ने, तपस्या गर्ने उद्देश्यले गरिने यात्रीलाई पनि पर्यटक भन्न सकिन्छ ।
व्यक्तिका जीवनमा साधना गरिने धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थ प्राप्तिका लागि पनि पर्यटन नितान्त आवश्यक छ । विभिन्न सन्दर्भले भाँडिएको चित्त शान्तिका लागि पनि पर्यटन अचूक औषधि मानिन्छ । ध्रुवको बनवास, रामको वनवास, पाण्डवको वनवास, गृहस्थ धर्म भङ्ग हुँदा अर्जुनले गरेको तीर्थयात्रा, युद्धका नियम भङ्ग भएको भनी बलरामले गरेको तीर्थ यात्रा, गृहस्थी जीवनबाट विरक्त भएर उज्जैनी राजा भर्तृहरिले राजपाठ त्याग गरी गरेको तीर्थ यात्रा, राजकुमार सिद्धार्थको गृह त्यागलाई चित्त शान्तिका लागि गरिएका पर्यटकीय गतिविधिका केही उदाहरण हुन् भन्न सकिन्छ । यसरी पर्यटनलाई तनाव व्यवस्थापन, आवेग व्यवस्थापनका रूपमा प्राचीनकालदेखि प्रयोग गरिँदै आएको पाइन्छ ।
विद्यार्थीको यात्रा विद्या आर्जनका लागि हुन्छ भने अर्थार्थीको यात्रा अर्थोपार्जनका लागि केन्द्रित हुन्छ । भारतको प्राचीन विश्वविद्यालय तक्षशिलामा अध्ययन पूरा गरे पनि आत्मशान्ति नपाउनुभएका पाणिनि हिमाली क्षेत्रतिर हानिनुभएको थियो । यही यात्रा साइतमा उहाँले अर्घाखाँचीको पणेना दह छेउमा आई बसेर शान्त चित्तसित संस्कृत भाषाको अनुपम व्याकरण अष्टाध्यायी रचना गरेको भनिन्छ । व्यापारीको यात्रा कति असीम हुन्छ भन्ने कुरा “कोऽति भारः समर्थाना किं दूरं व्यवसायिनां” भन्ने सूक्तिले दिन्छ । इसापूर्व १३० देखि इस्वी संवत् १४५४ सम्म निकै चर्चा चलनमा आई एसिया युरोपलाई जोड्ने रेशमी मार्ग (सिल्क रोड) यसको ज्वलन्त उदाहरण हो । यात्राले विश्वबन्धुत्वको विकास गरेका तमाम उदाहरण पाइन्छन् । त्यसैले त पर्यटनलाई विश्वबन्धुत्वको विकास गर्ने महìवपूर्ण आयामका रूपमा लिइन्छ ।
प्राचीनकालमा विभिन्न समाजको अध्ययन गर्न, सामाजिक व्यवहार तथा जीवनोपयोगी सीपको आदानप्रदान गर्न योगी, सन्तमहन्तका रूपमा भ्रमण गर्ने प्रचलन थियो । देवर्षि पदवी पाएका नारद पौराणिक कालका चर्चित यात्री हुनुहुन्छ । विभिन्न क्षेत्रका समाजको अध्ययन भ्रमण गरी लेखिएका वाल्मीकिका रामायण, योगवासिष्ठ अमर कृति हुन् । त्यसैगरी महर्षि व्यासद्वारा लेखिएका पुराणहरूमा त्यस बेलाको सामाजिक स्थितिको मात्रै विश्लेषण छैन कतिपय भावी समाजको प्रक्षेपण पनि छ ।
चर्चित लेखक पूर्णप्रकाश नेपाल यात्रीका कृतिहरू पनि देश भ्रमणकै उपज हुन् । योगी नरहरिनाथले पनि यो पर्यटन संस्कार अपनाउनुभएको थियो । उहाँले लेखेका कृतिहरू देश भ्रमणकै उपज हुन् । चीनियाँ यात्री हुयान साङ (इस्वी ६०२–६६४)ले चीन र नेपाल तथा भारतको आर्थिक संस्कृतिका प्राचीन अवस्थाको इतिहास कोर्नुभयो । उनी एक बौद्ध भिक्षुका रूपमा भ्रमण गरेका थिए । इटालियन व्यापारी मार्कोपोलो (इस्वी १२५४–१३२४) चर्चित रेशमी मार्ग हुँदै चीनसम्म पुग्नुभयो । प्रख्यात इटालियन जहाजयात्री क्रिस्टोफर कोलम्बस (१४५१–१५०६) ले अमेरिका र युरोपियाको सम्बन्ध जोड्नुभयो । पुर्तगाली यात्री भास्को डिगामा (१४६०–१५२४) ले युरोप र भारतको सम्बन्ध जोड्नुभयो । वेगलको यात्राले चाल्र्स डार्विनलाई विकासवादको सिद्धान्त स्थापित गर्न सघायो ।
यात्राले नै अमेरिकाको मकै युरोप एसिया आयो । एसियाको धान अमेरिका पुग्यो । चीनको चियाले विश्वमा चिनिने मौका पायो । नेपालको राडीपाखीको बयान पश्चिममा मुलुकमा पुग्यो । मञ्जुश्री, श्रीकृष्णको काठमाडौँ ताल दर्शनको यात्राले काठमाडौँ उपत्यकाको मानव बसोवासको रूपरेखा को¥यो । यसरी देशको राजनीतिक सीमा कोरिनुभन्दा कैयौँ अघिदेखि मानव विकासका लागि पर्यटन वृत्तिले सहयोग गर्दै आएको देखियो ।
आजको बढ्दो जनसङ्ख्या, देशहरूका आआफ्नै अर्थराजनीतिक, सामाजिक–सांस्कृतिक गतिविधिलाई सन्तुलित राखी देश विकास गर्न पर्यटन व्यवसाय एक महìवपूर्ण आधारशिला बन्न पुगेको छ । गुणस्तरीय पयर्यटन व्यवसायको विकास तथा प्रवद्र्धनका लागि केही सूत्रहरू अवलम्बन गर्नुपर्ने जरुरी देखिएको छ ।
भाषा संयोजनको आवश्यकता
“चार कोशमा पानी फेरिन्छ आठ कोशमा बोली फेरिन्छ” भन्ने लोककथनले पर्यटन व्यवसायमा भाषाको महìवका बारेमा छर्लङ्ग पार्छ । देशको एउटै कामकाजी भाषाको त क्षेत्रअनुसार सयकडौँ भाषिक, उपभाषिक भेदले भाषिक सञ्चारमा अलमल ल्याउने गर्छ भने भिन्न परिवारका भाषाभाषीसित सञ्चार गर्नु कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैले आफ्नो देश, क्षेत्रमा आउने पर्यटकको भाषाको जानकारीले पर्यटकलाई गुणस्तरीय सेवा दिन सकिन्छ । यसले पर्यटक आगमनमा गुणोत्तर वृद्धि हुन्छ ।
हाम्रो जस्तो पर्यटन व्यवसायका थुपै्र सम्भावना रहेको मुलुकमा होटेल तथा लज व्यवसायीहरूले अन्तर्राष्ट्रिय सम्पर्क भाषाको सामान्य जानकारी हुनु आवश्यक हुन्छ । व्यक्तिको वैयक्तिक भिन्नताले उच्चारणमा फरक हुनुले भाषाको बुझाइमा समस्या आउने सर्वमान्य कुरा हो । यस्ता समस्यालाई हाउभाउ तथा साङ्केतिक भाषाको प्रयोगले न्यून बनाउन सकिन्छ । यस्ता साङ्केतिक भाषाको सामान्य अभिमुखीकरण आफ्नो देशमा भित्रिएका पर्यटकलाई सुरुकै दिनमा गर्नुपर्छ ।
पथप्रदर्शक वा मार्गदर्शकको व्यवस्था
पर्यटन व्यवसायमा पथप्रदर्शक वा मार्गदर्शकको भूमिका उच्च हुन्छ । पथ प्रदर्शकले केवल अमुक ठाउँमा जाने बाटो देखाउने मात्र होइन यात्राका क्रममा पर्ने विभिन्न ठाउँका विशेषताको वर्णन, त्यहाँको रहनसहन र तत्काल त्यहाँ देखिएको परिदृश्यको उचित ढङ्गले स्पष्ट पार्न सक्नुपर्छ । त्यसैले पर्यटन व्यवसायीले राम्रो सम्पर्क भाषा भएको, वाक्चातुर्य कला, प्रत्युत्पन्न मतिवाला पथप्रदर्शकको व्यवस्था गर्नुपर्छ । पथप्रदर्शकले कुनै ठाउँको परिचय दिँदा सत्यतथ्यमा आधारित दिनुपर्छ । त्यहाँको सामाजिक मूल्य मान्यता, परम्परागत विश्वास त्यसमा लुकेको वैज्ञानिक चेतनासमेतको व्याख्या गरिदिँदा हाम्रो मूल्यमान्यताले अन्तर्राष्ट्रियकरण हुने अवसर पाउँछन् ।
सरसफाइ
पर्यटन व्यवसायमा असर पार्ने अर्को महìवपूर्ण कुरा सरसफाइ हो । व्यक्तिगत सरसफाइ वातावरणीय सरसफाइमा कुन ज्यादा महìवपूर्ण भन्ने तुलना गर्न सकिँदैन । त्यसैले सरसफाइ भन्नाले समग्र सरसफाइकै कुरा बुझ्नुपर्छ । अहिले खानपान, रहनसहन, वातावरणीय तथा हावापानी परिवर्तनका कारणले हरेक क्षेत्रका मान्छेको रोग प्रतिरोध क्षमता शक्ति घटिरहेको अवस्थामा सबैखालका कारणले हुने बिमारीको अपजस खप्ने अचानो सरसफाइ भएको छ । त्यसैले पर्यटन व्यवसायलाई प्रवद्र्धनका लागि सबै पक्षबाट सरसफाइमा ध्यान दिनु जरुरी छ ।
फोहोरका स्रोतहरू भान्सा, शारीरिक निष्काशन (थुक, सिँगान, खकार, दिसा, पिसाब, पसिना) अस्पताल, खेतीबाली, उद्योग, व्यापार, निर्माण जस्ता कुरा भएकाले यसलाई निषेध गर्न सम्भव छैन । त्यसैले सरसफाइ भनेको फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापनको सर्वोत्तम उपाय कछुवा सिद्धान्तको अवलम्बन हो । जसरी कछुवाले आफ्ना अङ्गहरूलाई आफ्ना खोलभित्र समेट्छ त्यसैगरी हामीले उत्पादन गर्ने फोहोर पनि हामीले समेट्न सक्नुपर्छ । अर्थात् त्यसको थान्को लाउन सक्नुपर्छ ।
हामीले पर्यटक ल्याउने योजना गर्दा परोक्ष रूपमा फोहोर बढाउने योजना पनि गरिरहेका हुन्छौँ । यसको उदाहरण सगरमाथामा थुप्रिने फोहोर नै यथेष्ट छ । पर्यटकको त्यस्ता विशेष गन्तव्यको प्रवेश बिन्दुमा पर्यटकलाई जाँचेर उसले लगेको सामग्री र त्यसको सङ्ख्या, आयतन, तौलको विवरण राख्ने । ऊ फर्केर आउँदा ती सामग्रीका खोल, खाँदा वा प्रयोग गर्दा फालिने वस्तुको विवरण लिने र फालिने वस्तु फिर्ता नल्याई फोहोरका रूपमा फालिएको ठहर भएमा नियमबमोजिमको जरिवाना तिनुपर्ने व्यवस्था गर्ने हो भने पर्यटकीय गन्तव्य सधैँ सफा राख्न सकिन्छ ।
यात्रा प्रबन्ध
पथप्रदर्शकसित हिँड्ने व्यवस्था मिलाएका पर्यटकलाई यात्रा व्यवस्थापन गर्न निकै सजिलो हुन्छ । पथप्रदर्शक र भरिया लिएर हिँड्ने पर्यटकको आर्थिक लगानी स्वतः बढ्छ । धेरैजसो पर्यटक आफ्नै सुरमा हिँड्ने सोचका हुन्छन् । त्यसैले यस्ता पर्यटकका लागि सानो स्केलको विशिष्ट नक्सा, त्यस क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक परिचय दिने पुुस्तक, पोस्टर, पुस्तिका, मार्गचित्र, विद्युतीय मार्गचित्र जस्ता यात्राका लागि आवश्यक र उपयोगी सामग्री उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । सञ्चार प्रविधिले विश्वलाई चकित पारेको आजको जमानामा अनलाइन अफलाइन रोडम्यापको प्रयोग गरी आफ्नो गन्तव्यको बाटो सुध्याउन सकिन्छ । तर सोका लागि दूरसञ्चारको नेटवर्कलाई अझै भरपर्दो बनाउनु जरुरी छ । टुरिस्ट गाइड एप्स् बनाएर पनि पर्यटकलाई यात्राका सुविधा बढाउन सकिन्छ ।
यात्रा सबै सहज हुँदैनन् । साहसिक यात्राको मजा छुट्टै हुन्छ । साहसिक यात्रामा रमाउने पर्यटकका लागि पनि विभिन्न क्षेत्रहरूको पहिचान, प्रचार र प्रवद्र्धन गर्नु आवश्यक छ । यात्राका जोखिमहरूलाई मुख्य दुई तरिकाले हेर्न सकिन्छ । पहिलो पहिचान भएका जोखिम र दोस्रो आकस्मिक जोखिम । जङ्गली जनावरको जोखिम, हिमाली क्षेत्रमा उचाइका कारणले हुने समस्या, जलयात्रामा हुने जोखिम पूर्वपरिचित जोखिम हुन् । विशेष सावधानी अपनाएर यी जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । तर एक्कासि मौसममा भएको परिवर्तनले हुने वर्षा, हिमपात, हुरीबतास जस्ता जोखिमका बारेमा विगतका घटनाको अनुभवको अभिलेखीकरण र अध्ययनबाट यात्रीलाई सचेत र सजग बनाउने व्यवस्था मिलाउनुपर्छ । मौसमको भरपर्दो भविष्यवाणी गर्न सक्ने संयन्त्र तथा सञ्चारको व्यवस्था गर्न सकेमा नेपालका थुप्रै क्षेत्रमा साहसिक यात्रा गर्ने पर्यटकको आगमन बढ्नेछ ।
वन्यजन्तु, जलजन्तुको असुरक्षा यात्रीले अनुमान गर्न सक्छन् । तर मान्छेबाटै हुने असुरक्षा अत्यन्तै डरलाग्दो हुन्छ । “वसुधैव कुटुम्बकम्” उक्तिमा आघात पार्न दिनुहुँदैन । बाटोेघाटोमा विभिन्न अपाङ्गता, गरिबी देखाएर माग्ने प्रवृत्ति पनि पर्यटकलाई मन नपर्ने कुरा हुन् ।
विश्वका चर्चित गन्तव्यहरू रहेको हाम्रो देश पर्यटकका लागि सस्तो पर्यटकीय क्षेत्रको रूपमा चर्चित छ । गुणस्तरीय सेवा दिने सीप हामीसित भएन भने पर्यटकको बसाइ लम्ब्याउन सकिन्न । यसले पर्यटन व्यवसायबाट अपेक्षित आयआर्जन हुन सक्तैन । पर्यटकलाई स्तरीय सेवा पनि उपलब्ध गरौँला, उनीहरूको बसाइ पनि लम्ब्याउँला, पर्यटक पनि बढाऔँला तर उनीहरूले उपभोग गर्ने वस्तु हाम्रा स्थानीय वा भनौँ स्वदेशी हुन सकेनन् भने आर्जन गरेको पैसा विदेशतिरै जान्छ । उनीहरूले गरेको फोहोरमैला मात्र देशमा रहन्छ । ‘धानचामल धामीलाई, व्यथा हामीलाई’ जस्तो हुन्छ । त्यसैले पर्यटकलाई स्थानीय उत्पादन प्रयोग गर्ने अवस्था ल्याउने नीति अख्तियार गर्नुपर्छ । विदेशी पर्यटक भित्रिँदा विदेशी मुद्रा आर्जन हुन्छ । देशमा समृद्धि बढ्छ । यो हाम्रो सकारात्मक सोच हो । तर एउटा भनाइ छ “ पैसा एक्लै आउँदैन अर्थात् मनि डज नट कम अलोन । यस कुरालाई विशेष महìवका साथ बुझ्नुपर्ने हुन्छ । हाम्रो हवाई मार्गको चेकजाँच फितलो छ भन्ने कुरा विभिन्न सुन काण्डले देखाएकै छन् । त्यसैले हवाई मार्ग वा स्थलमार्ग जुनसुकै मार्गबाट आउने पर्यटकको राम्रो चेकजाँचको व्यवस्था मिलाउनुपर्छ ।
पर्यटकको जिउधनको सुरक्षा गर्नु हाम्रो परम कर्तव्य हो भने ती पर्यटकद्वारा गरिने क्रियाकलापको सूक्ष्म निगरानी राख्नु हाम्रो दायित्व पनि हो । पर्यटक कति दिनको भिसामा आएको र सो समयावधिपछि बाहिरिएको नबाहिरिएको कुराको अभिलेख राख्ने कुरा पनि उत्तिकै महìवपूर्ण हुन्छ । यसका लागि स्थानीय तहदेखि केन्द्रसम्मको सम्पर्क सञ्जाल स्थापित गर्नुपर्ने हुन्छ । नेपाल भ्रमण वर्ष सन् २०२० ले हाम्रो पर्यटन व्यवसाय प्रवद्र्धनको एक कोशेढुङ्गा स्थापित गरी हाम्रो जस्तो भौगोलिक, सामाजिक, सांस्कृतिक, जैविक तथा वातावरणीय विविधताको भरपूर उपयोग गर्न मद्दत पु¥याउनेछ । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउन विविधता संरक्षण र पर्यटकको सेवा सुविधाका लागि आवश्यक पूर्वाधार विकासका लागि प्राथमिकताका साथ लाग्नु जरुरी छ ।

(लेखक साहित्यकार हुनुहुन्छ )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?