अपवादका क्षेत्रलाई छाडेर नेपालमा सरकारी भन्नेबित्तिकै गुणस्तरहीन वा अव्यवस्थाका रूपमा चिनिने गरेको छ– सरकारी विद्यालय, सरकारी अस्पताल, सरकारी योजना, सरकारी भवनलगायत अन्य पनि । यी क्षेत्रमा सरकारको अथाह लगानी परेको हुन्छ । सुन्दर नीति, योजना र कार्ययोजना पनि हुन्छन् तर परिणाम निजीको तुलनामा सरकारी (सार्वजनिक) क्षेत्रका वस्तु तथा सेवा प्रवाह कमजोर र अव्यवस्थित पाइन्छ । सरकारी क्षेत्रमा विशिष्ट विज्ञ तथा अनुभवी जनशक्ति क्रियाशील भए पनि उसले प्रदान गर्ने सेवा कमजोर देखिन्छ । एउटै शिक्षकले सरकारी र निजी विद्यालयमा पढाउँदा निजीको परिणाम राम्रो हुने, सरकारीको कमजोर हुँदा त्यहाँ कार्यरत जनशक्तिको दक्षतामा नभएर व्यवस्थापनमा रहेको कमजोरी पुष्टि गर्छ । ठूला संरचना तथा क्षेत्रफलमा फैलिएका प्रशस्त जनशक्ति रहेका सरकारी अस्पतालको तुलनामा कम क्षेत्रफल र सानो संरचनामा रहेका निजी अस्पतालको सेवा चुस्त तथा सफा देखिन्छ । यसका पछाडि पनि व्यवस्थापनको भूमिका हुन्छ र त बनाइएको होला एउटा प्रचलित उखान ‘सरकारी काम कहिले जाला घाम ।’ अपवादलाई छाडेर सरकारी अस्पतालमा उपकरण, शौचालय, सेवा प्रदानमा धेरै कमजोरी देखिन्छ । निजी अस्पतालमा हुने अस्वाभाविक महँगीले सर्वसाधारणको चाप सरकारी अस्पतालमा परेर पनि यस्ता समस्या आएका हुन सक्छन् । यसबाहेक व्यक्तिगत लाभहानिका मनसायले पनि सरकारी अस्पतालका उपकरण बिग्रिएका, सञ्चालनमा नल्याइएका जस्ता समाचार सार्वजनिक हुने गरेकाले समस्याको बहुआयाम बुझ्न सकिन्छ ।
सरकारी अस्पतालमा रहेका उपकरण जतिसुकै आधुनिक र नयाँ भए पनि केही समयमै बिग्रने तथा प्रयोगमा नआउने समस्या नयाँ होइनन् । यस्तो किन हुन्छ ? को जिम्मेवार छ ? सरकारले उपलब्ध गराएका स्रोतसाधनको किन उचित संरक्षण र परिचालन हुन
सक्दैन ? यी समस्याका आम कारण नजानिएको पनि हुँदैन तर प्रशासनिक तथा कानुनी उपचार फिक्का हुने गरेकाले यस्ता समस्या दोहोरिने गर्छन् । राजधानी उपत्यकास्थित सरकारी अस्पतालका बिरामी बस्ने कोठा, प्रयोग गर्ने शैया र कपडा, पानी तथा शौचालयको कमजोर व्यवस्थाले मुलुकका समग्र सरकारी अस्पतालको अवस्था प्रतिनिधित्व गर्छन् । राजधानीको वीर अस्पतालमा त अवस्था यस्तो छ भने बाहिर कस्तो होला भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ ।
सही व्यवस्थापन गर्न सक्ने हो भने सेवाग्राहीसँग सामान्य शुल्क उठाएर पनि शौचालय तथा पानी, बिरामीकुरुवा घरको अवस्थामा सुधार गर्न सकिन्छ । कार्यालय व्यवस्थापन अन्तर्गत कर्मचारीको सेवा र सुविधा मात्र पर्दैनन् सेवा वितरण, सूचना सम्प्रेषण, भौतिक स्रोतसाधन तथा जिन्सी व्यवस्थापन पनि पर्छन् भन्ने आधुनिक व्यवस्थापनको सामान्य सिद्धान्त नबुझेका कुनै पनि जनशक्ति कार्यालयको जिम्मेवारीमा रहेका हुँदैनन् । सबै कुरा जान्दाजान्दै पनि व्यवस्थापनमा कमजोरी देखिन्छ भने त्यहाँ गम्भीर समस्या छ भनेर बुझ्नुपर्ने हुन्छ । सरकारी अस्पतालका सन्दर्भमा बिरामीको चापका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हुने हैरानी कम छ भन्न सकिँदैन । यसको अरू नै विधिले उपचार गर्न सकिन्छ । यसो भन्दैमा उपलब्ध उपकरण तथा सुविधाको उचित व्यवस्थापन गर्न नसकेर शौचालय जानै नसकिने, बिरामी कुरुवा क्षेत्रमा बस्नै नसकिने, सरकारले उपलब्ध गराएका औषधी नपाइनु, दुर्गम तथा विकट क्षेत्रमा चिकित्सक जाँदै नजानु कुनै निश्चित एक अस्पतालको मात्र होइन, स्वास्थ्य क्षेत्रकै गम्भीर समस्या हुन् ।
यस्ता समस्याको टिप्पणी र आदेश, निर्देशन र कारबाहीले मात्र समाधान गर्न सम्भव छैन, जो कारबाहीका अन्तिम अस्त्र मानिन्छन् तर प्रत्येक व्यक्तिलाई आफ्ना कामप्रति जिम्मेवार र प्रतिबद्ध बनाउनैपर्छ । यो पनि व्यवस्थापनको अर्को महìवपूर्ण पाटो हो । जनशक्तिको अभावमा सरकारी अस्पतालका शौचालय जानै नसकिने गरी फोहोर भएका
होलान् ? अवश्य होइन । त्यसैले उल्लिखित काम गर्ने, गराउने वातावरणको किन, कसरी र कसका कारण विघटन भएको छ र यसलाई कसरी पुनःस्थापित गर्ने भन्नेमा माथिल्लो निकायबाटै ध्यान दिन आवश्यक छ । नियम कानुन, जिम्मेवारी पूरा नगरे पनि सम्पर्क र शक्तिका कारण जागिर खान पाइरहने अवस्था रहेसम्म यस्ता विकृतिको अन्त्य गर्न सम्भव हुँदैन ।