देशभर विभिन्न कार्यक्रमसाथ पुस २७ गते २९८औँ राष्ट्रिय एकता दिवस मनाइयो । एकता दिवसले राष्ट्रियताको पक्षमा बलियो सन्देश प्रवाह गर्ने भएकाले प्रत्येक नेपालीले दिवसलाई गौरवका रूपमा बोध गर्दै आएका छन् । यो दिन प्राविधिक र भावनात्मक दुवैको प्रतीक हो । नेपाल एकीरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन प्राविधिक पक्ष हो । यसै दिन जन्मेका व्यक्तिको निर्णायक पहलमा छरिएर रहेको नेपाल एकीकृत राष्ट्रमा स्थापना भएकाले यो दिन भावनात्मक रूपमा नेपालको अस्मिता, गौरव, पहिचान, निरन्तरतासँग जोडिएको छ । तत्कालीन अवस्थामा विश्वभर फैलिएको साम्राज्यवादी हावालाई पर्वतझैँ उभिएर छोप्नु थियो भने आन्तरिक रूपमा छिन्नभिन्न राज्यलाई एकीकृत गरी सबल राष्ट्रनिर्माण गर्नु थियो । यी कामको थालनी र धेरै हदसम्म पूर्ण गराउन पृथ्वीनारायण शाहबाट सम्भव भएकाले एकता दिवसलाई राष्ट्रिय पर्वका रूपमा नेपाली जनताले लिँदै आएका हुन् । यसर्थ, कुनै अमूक व्यक्तिलाई नभएर उसको योगदान र सामथ्र्यलाई संस्मरण गर्ने गौरव दिवस हो– पुस २७ ।
कुनै पनि विषय वा सन्दर्भका परिभाषा समयअनुसार बदलिन्छन् । बुझाइ बदलिँदै जान्छन् । चन्द्रमामा मानिस नपुग्दासम्म यसलाई भगवान् ‘गङ्गाधारी’ भनेर पूजा गर्ने व्यक्ति आजतक बाँचेका भए चन्द्रमामा हुन सक्ने घडेरी बाँडफाँडका समाचार र यसबारे आफ्नो धारणा बनाउँदो हो । समय, सन्दर्भ र आविष्कारले धारणा वा बुझाइको निर्माण गर्छन् । एक जमाना भौगोलिक एकीकरण नै राष्ट्र एकीकरणको परिभाषा वा बुझाइ थियो तर आधुनिक राजनीतिशास्त्रले राष्ट्र भनेको माटो र भूगोलमात्र नभएर, जनता पनि हो भन्न थालेपछि एकीकरणका परिभाषा बदलिएका हुन् । यसको मतलब तत्कालीन अवस्थामा आधुनिक राजनीतिक विज्ञानले भनेसरह भावनाको एकीकरण भएको थियो वा थिएन भन्ने कोरा कल्पना गर्नु बौद्धिक मनोरञ्जन त हुन सक्ला तर सार्थकता रहँदैन । त्यतिखेरको समाज, राजनीति वा राज्यलाई तत्कालीन परिवेशमा नै बुझ्नु र परिभाषित गर्नु आवश्यक हुन्छ, जसबाट वस्तुपरक निष्कर्षमा पुग्न सकिनेछ ।
नेपालको निर्माण एक व्यक्ति वा शक्तिले भएको किमार्थ होइन । कसैले दाबी पनि गरेको छैन तर एक व्यक्ति वा शक्तिले एकीकरणको नेतृत्व गरेको सत्य हो । यसका लागि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहसँगै उहाँपछिका पुस्ताका योगदान र जीवनीका विविध पक्षमा अध्ययन अनुसन्धान गरी नयाँ इतिहासको उद्घाटन गर्न सकिनेछ । मसिनो र विविध कोणबाट इतिहासको खोजी गर्दै जाँदा एकीकरणमा योगदान दिने सबै सपुतलाई न्याय गर्न सकिनेछ । इतिहासको खोजीमा नागरिक र राज्यले दायित्व लिनुपर्छ । इतिहासलाई निषेध वा अपव्याख्या गरेर योगदान र सत्यको सम्मान गर्न सकिँदैन । इतिहास लेखन समान होइनन्, सम्बन्धितमात्र हुन् । इतिहास लेखनमा रहेका कमजोरी वा अज्ञानतालाई आधार बनाएर इतिहासको उपेक्षा गर्नु बुद्धिमत्ता हुँदैन । त्यसैले नयाँ पुस्तालाई नेपाल एकीकरण र नेपालीको वीरताबारे जानकारी दिर्ई इतिहास र राष्ट्रिय अस्मिताप्रति गौरवान्वित बन्न पे्ररणा दिनुपर्ने जिम्मेवारी वर्तमान पुस्ताले निर्वाह गर्नुपर्छ ।
एकीकरणका विविध जिम्मेवारी पृथ्वीनारायण शाहले त्यसपछिका पुस्तालाई सुम्पिएकाले नयाँ पुस्ताले आफ्ना जिम्मेवारी पूरा गर्दै नेपाललाई समृद्धितिर डो¥याइँदै छ । यही भएर सङ्घीयता, समावेशीकरण राष्ट्रिय एकताका बाँकी जिम्मेवारी जो थिए, ती जिम्मेवारी वर्तमान पुस्ताले पूरा गर्दै छ । पृथ्वीनारायण शाहले सङ्घीयता, समावेशीकरणमार्फत राष्ट्रिय एकीकरण गरेनन् भन्नु समयलाई अन्याय गर्नुमात्र होइन, आफूलाई अवैज्ञानिक बनाउनु पनि हो । राष्ट्रिय एकीकरणका नयाँ–नयाँ सन्दर्भ र आवश्यकता आउँदा पुस्ताले पूरा गर्दै जानुपर्छ । यसर्थ, प्रत्येक नेपाली राष्ट्रिय एकताका नायक र अभियन्ता हुन् भन्नेमा विश्वास गर्ने हो भने ती प्रत्येक नेपालीलाई समयअनुसार राष्ट्रिय एकीकरणमा सरिक हुने अवसर प्राप्त छ भन्नेमा पनि विश्वास गर्नुपर्छ । राष्ट्रिय एकीकरणको यात्रालाई पूर्वजले जहाँसम्म पु¥याए त्यहाँबाट निरन्तर अगाडि बढाउन नयाँ पुस्ताले आफूलाई जिम्मेवारीको मैदानमा उभ्याउनु आवश्यक छ । जिम्मेवारीको निरन्तरता नै जीवन हो । राष्ट्रलाई जीवन प्रदान गर्नु प्रत्येक राष्ट्रवादीको धर्म पनि हो ।