देविका घर्तीमगर
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक पहिचान बोकेको देश हो । धेरैले यसलाई सुन्दर फूलबारीका रूपमा व्याख्या गर्छन् । सूचीकृत भएका ५९ जातिसहित १०३ जातजातिको बसोवास नेपालमा छ । ती सबै जातजातिका आफ्नै संस्कार, संस्कृति, भेषभूषा, भाषा, पहिचान छन् । विविधता बोकेका ती जातिको परम्परा र संस्कारको आफ्नै मौलिकता छन् । बहुजातीय देशमा मगर जाति पनि एक हो । नेपालको पहाडी भेगमा बसोवास गर्ने आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा ठूलो जनसङ्ख्या मगर जातिको छ । तराईमा भने आदिवासी थारूको जनसङ्ख्या सबैभन्दा बढी छ । मगर जातिको जनसङ्ख्या पछिल्लो तथ्याङ्कअनुसार १८ लाख ८८ हजार छ । विशेष बाहुल्य क्षेत्र राप्ती, लुम्बिनी, गण्डकी क्षेत्र हो । मगर समुदाय प्रकृतिपूजक हुन् । मगर समुदायको प्रमुख चाड माघे सकराती हो ।
माघे सकराती
जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो । नेपालको प्रायः सबै जिल्लामा बसोवास गर्दै आएका मगरले विभिन्न चाडपर्वहरू भव्यतासाथ मनाउने गर्छन् । माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो । सकरातीमा विशेषगरी मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । मगर जातिका कूलदेवता वराहथान हो । त्यसकारण सकरातीमा वराहथानको पूजाआजा हुन्छ । माघे सकराती परापूर्वकालदेखि नै मनाउँदै आएको चाड हो ।
चेलीबेटीको उत्सव
मगर समुदायमा माघे सकराती एक हप्ता मनाइन्छ । विशेष दिन सकरातीको दिन मनाइए पनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलमा गएर सकरातीको तयारीमा जुटेका हुन्छन् । सकरातीको तीन÷चार दिनदेखि एक हप्तासम्म पनि माघेसङ्क्रान्ति मनाउने चलन छ । सँगै चेलिबेटीको उत्सवको दिन हो । सकराती विभिन्न विधि गरेर मनाइन्छ । महŒवपूर्ण पाटो भनेको चेलिबेटीको पर्व हो । त्यसैले यो चाड चेलिबेटीको पूजा गरी, उनीहरूलाई दानदक्षिणा प्रदान गरी मनाइन्छ । चेलीलाई पुज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी मिश्रा (उपहार) दिने चलन छ । तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा बाँड्ने, निस्रो दिने भनिन्छ ।
पूजा गर्दा थालमा अलिकति चामलको सेतो टीकाका साथमा विभिन्न तरुल, फलफूल, सेलरोटी, पुरी, अचारलगायतका खानेकुरा र दक्षिणा राखेर दिइन्छ । चामल, फलफूल, तरुल, रोटी आदिलाई नै ‘निस्रो’ अर्थात् मिश्रा भनिन्छ । घरमा उपस्थित सम्पूर्ण दिदीबहिनीको पूजा गरिसकेपछि फेरि विवाहित चेलीको घरमा पुगेर मिश्रा बाँड्ने चलन छ । मिश्रा बाँड्नेक्रममा सकेसम्म दाजुभाइ वा बुवा आफैँ चेलीको घरमा पुग्ने गर्छन् । चेलीहरूलाई नपुजेसम्म खानेकुरा खानुहुँदैन । सकरातीको दिन चेलीलाई कुनै पनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ । त्यस दिन चेलीले घरको कुनै पनि काम गर्दैनन् । उनको घरमा खानेकुरा केही पनि खानुहुँदैन भन्ने मान्यता छ । यदि कुनै चेलीको घर टाढा छ भने उनको मिश्रा अर्को दिन पु¥याइदिने चलन छ ।
अविवाहित चेली बिहान उठेर खोला, नदी, दोभान वा धारामा नुहाएर घर फर्कन्छन् । त्यसपछि बुवा, आमा र दाइभाइले टीका दक्षिणा गरी मिश्रा उपहार दिएर पुज्ने काम हुन्छ । त्यसपछि गाउँटोलका साथीसँग टोली बनाई घरमा पुगेर मस्यान्द्रा माग्ने गर्छन् । घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटीसहित नगद रुपैयाँ दिने चलन छ । यसरी मस्यान्द्रा माग्दै घरमा डुल्ने कामलाई नै मस्यान्द्रा खेल्ने भनिन्छ । मागेको मस्यान्द्रालाई सङ्कलन गरेर एक दिन विशेषगरेर चेलीबेटीले घरदेखि बाहिर गएर साथीसङ्गीसँग रमाइलो गर्दै खाने गरिन्छ । युवतीहरू ‘माघ खान’ (वनभोजजस्तै) समूह–समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले निस्रोमा दिएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन् । निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन छ । दिनभरिमा पाँच÷छपटकसम्म भातको विभिन्न परिकार बनाएर खान्छन् । गाउँमा धान नहुने भएर पनि होला, चामलको भात ‘चीज’ हुन्छ । त्यसैले त्यो दिन दिदीबहिनीहरू अमन (खान मन नलाग्नेगरी) हुनेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन् ।
कहिलेकाहीँ घरबाट धनुषकाँड खेल्दै ‘माघ खान गएका युवतीकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने गर्छन् । दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन् । यसमा डोकोलाई सारी–चोलो लगाइदिएर पोते–तिलहरी र चुरालगायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन् । मेलामा कसैले पिङ खेल्छन्, कसैले धनुषकाँड खेल्छन् । कसैले नाच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन् । युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको ‘पैस्यारु’ नाच सुरु हुन्छ । यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाचिन्छ । युवा सिकारुले नाइकेलाई पछ्याउँदै पैस्यारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाउनुपर्छ ।
डाँठ निस्कनुभन्दा अगाडिको जौको विरुवा जसमा पातमात्र हुन्छ । त्यसलाई नै झोम्पलेनी भनिन्छ । चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किंदा बाटोमा पर्ने बारीबाट जौको बिरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्नेक्रममा घरबेटीलाई निधारमा अबिर र कानमा जमरा लगाएजसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन छ । यसरी चेलीले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दानदक्षिणा दिन्छन् । सकरातीको दिन साँझपखदेखि बूढापाका जम्मा भई सुख–दुःखका कुराहरू एकप्रकारको लय भाकामा मिलाएर गाउने गीतलाई स्म्याम्भो गीत भनिन्छ । यसरी स्याम्भो गीत गाउने बूढापाका पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्यालठट्टा गर्ने गर्दछन् ।
सकरातीको दिनदेखि नै पुरुष खुला चौर वा बारीमा गएर तारो (धनुषकाँड) हान्ने चलन छ । यसरी बन्दुकले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि कुनै ठाउँमा काठको फल्याकमा अङ्गारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निशाना बनाइन्छ । माघे सकरातीमा चेलिबेटीहरू पुज्ने, नाचगान रमाइलो गर्नुका साथै मृत्यु भएका पितृलाई सम्झने पर्व हो । मगर जाति पितृपूजालाई एकदमै महŒव दिन्छन् । मृत्यु भएका परिवारजनको अस्थु बगाउने, जलाउने, र दानदक्षिणा गर्ने चलन माघे सकरातीमा गरिन्छ । मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी (नदी) मा बगाइदिने चलन छ । यस्तो गरेमा मृतात्माले पुण्य प्राप्त गर्दछ । यो काम सकरातीकै दिन गरिन्छ । यी क्रियाकलापबाहेक मगरले माघेसकरातीमा रैँया फोर्ने, पुतली जलाउने, रङ्ग अबिर वा मसी दलेर रमाइलो गर्ने गर्छन् । मगर समुदायका नयाँ पुस्ता कतिपयलाई यसको महŒव वा यसको गतिविधिका बारेमा जानकारी छैन । चाडपर्वको संरक्षणका निम्ति परिवारभित्रै यस्ता संस्कार, संस्कृतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)