प्रदीप नेपाल
अन्तर्राष्ट्रिय प्रादेशिक सङ्गठनहरूले प्रदेशभित्रका जनताको अप्ठ्यारो घटाउने काम गर्दा हुन् भन्ने लागेको थियो मलाई । जनस्तरमा आयोजना गरिएको इन्डोनेसियाको एउटा कार्यक्रममा जाँदा मैले यो कुरो थाहा पाएको थिएँ । हामीले पासपोर्ट बुझाउनुपरेको थियो प्रवेशस्थानमा । तर, एसियानका साथीहरूले एउटा सानो परिचयपत्र देखाएर प्रवेश पाउनुभएको थियो । नेपाल पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा समेटिएको छ । बिमस्टेकका बारेमा त म केही भन्दिनँ किनभने सार्कले मैले उठाएको समास्याको समाधान दिन सक्छ ।
मैले चाहेको कुरा के हो भने, सार्कले एउटा त्यस्तो परिचयात्मक कार्ड जारी गरोस्, जसले सार्क सदस्य राष्ट्रका नागरिकको अर्को राष्ट्रको प्रदेशमा सहज होस् । नेपाल र भुटानबीच दौत्य सम्बन्ध छ । तर, आवासीय दूतावास छैन । नेपाल र भुटानको सिधा दूरी बढीमा चार÷पाँच घण्टाको होला । मैले भनेको मेची पुलदेखि भुटानको दक्षिणी प्रवेशद्वारसम्मको बाटो । तर, सामान्य नागरिकले भुटान जानुप¥यो भने दिल्ली पुगेर पासपोर्टमा छाप लगाएर हवाईजहाजमार्फत काठमाडौँ हुँदै भुटान पुग्नुपर्छ । दिल्लीबाट रेलको यात्रा गरौँ न भन्दा पनि तीन दिन खेर जाने नै भयो ।
रातो पासपोर्ट बोक्ने ठूलाबडालाई सार्क ‘स्टीकर’ दिइन्छजस्तो लाग्छ । तर, हरियो पासपोर्ट बोक्नेलाई यस्तो ‘स्टीकर’ दिइन्छजस्तो लाग्दैन । सार्क सचिवालयले यसमा पहलकदमी लिनुपर्छ । सार्क क्षेत्रका कुनै पनि नागरिक यस क्षेत्रका सबै मुलुकमा सहज ढङ्गले आवातजावत गर्न सकून् भन्ने योजना बनाउनुपर्छ जस्तो लाग्छ । त्यस्तो परिचयपत्र सबै सार्क मुलुकका दूतावासका साथै सार्क सचिवालयले पनि जारी गर्न सकोस् । भुटान नेपालीलाई लखेट्ने मुलुक हो भन्ने लाग्छ, हामी नेपाली कसैलाई पनि । एक लाख नेपाली शरणार्थी हुनुपरेको छ, विनाकारण । तर, त्यो विस्थापनमा सबैभन्दा ठूलो भूमिका दिल्लीले नै खेलेको थियो । भुटान र भारतबीचको सिमानामा भेला पारिएका नेपालीलाई आफ्ना जङ्गी ट्रकहरूमा खाँदेर मेचीपुलमा ल्याएर फ्याल्ने काम त भारतले नै गरेको थियो । यसलाई रिसरागकै विषय बनाउने हो बाँकी रहेका शरणार्थीलाई कहिल्यै भुटान फर्काउन सकिँदैन । नयाँ पहल गर्नका लागि भुटानी राजाले ‘म नेपालमा जन्मिएको हुँ’ भन्ने जानकारी दिएपछि, भुटानसँगको सम्बन्धलाई नयाँ ढङ्गबाट सोच्नुपर्छ हामीले पनि । राजा स्वयम्ले आफ्नो जन्मभूमि नै नेपाल हो भन्नुको अर्थ नेपालप्रति भुटानी सोचमा सकारात्मक परिवर्तन आएको भनेर सोच्नु हाम्रो पनि दायित्व हुन्छ ।
केही दिनअघि सार्क मुलुकका भुटानका नेपालीभाषी मन्त्रीले नेपाली मन्त्रीसँग अनौपचारिक कुराकानी नेपालीमै गर्न चाहना राखेको कुरो पढिएको थियो । दुई मुलुकबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै सीमित रह्यो, त्यसमा मधुरता रहँदैन । तर, जनस्तरमा सम्बन्ध राख्न सकियो भने दुई मुलुक बीचको सम्बन्ध पनि गाढा बनाउन सकिन्छ ।
हुन त भारतको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध छैन । त्यसमा पनि दिल्लीको आँखामा नेपाल र नेपाली सुइरो नै भएको छ । नेपाली भन्नेबित्तिकै दिल्लीलाई किन त्यति धेरै रिस उठ्ने गरेको हो, मलाई थाहा छैन । तर, तत्कालीन नेकपा (एमाले) को महासचिव हुँदा ईश्वर पोखरेललाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो दुव्र्यवहार गरियो, त्यसले भारतबाहेकका देशमा जानुपर्दा दिल्लीलाई गौँडो बनाउन पनि तर्सिनुपर्ने अवस्था आयो । नेपालबाट पूर्व जानुपर्दा धेरै सहज गौँडाहरू भेटिन्छन् । पश्चिम युरोपतिर जानुपर्दा नेपालबाट अरब क्षेत्रका कतार, ओमन, दुबई सहज हुन थालेका छन्् ।
यस्तो असहज स्थितिमा पूर्वको भुटान जान, पश्चिमको दिल्ली हुँदै जाने बाटो, सुन्दैमा पनि हाँस्यास्पद लाग्छ । महाकालीका नेपालीलाई दिल्ली गएर भुटानको भिसा लिएर जानुभन्दा काठमाडौँ हुँदै मेची तरेर भुटान जान सहज हुन्छ ।
खोटाङ जिल्लाको हलेसी भुटानीहरूको पनि पवित्र तीर्थस्थल हो । भुटान र नेपालबीच जनस्तरमा सम्बन्ध भयो भने हलेसीको महत्ता बहुप्रचारित हुन्छ र त्यसको आम्दानी पनि बढ्छ । भ्रमण वर्षको सुरुवातमा नेपाल–भुटान सम्बन्धमा सजिलोपन ल्याउन सकियो, हलेसी दर्शन एउटा राम्रो मूलबाटो हुन सक्छ । अहिले नै मैले किन पनि यो सन्दर्भ उठाउन खोजेको हो, आन्तरिक कलहका कारण तलतिर भासिँदै गएको भारतीय जनता पार्टीको सरकारका गृहमन्त्रीले एउटा गम्भीर विषय उठाउनुभएको छ । उहाँले नाम किटेरै भन्नुभएको छ– नेपाल र भुटानसँगको खुला सिमानाका कारण हामीले धेरै समस्या खेप्नुपरेको छ । सधैँ आफ्नो संरक्षित राज्य मान्दै आएको भुटान र सभ्यताको आरम्भदेखि नै स्वतन्त्र र सार्वभौम नेपाललाई एउटै घोल बनाउने भारतीय गृहमन्त्रीको अभिव्यक्तिलाई म भुटानको स्वतन्त्र राष्ट्रको सम्मान हो भन्ने ठान्दिन । यो उहाँले नेपाललाई हेपेरै भनेको हो, हाम्रा लागि नेपालको हैसियत पनि भुटानको जस्तै हो ।
भारतका गृहमन्त्रीले जुन आसयले बोल्नुभए पनि यतिबेला भुटान भारतीय विस्तारवादको अतिक्रमणबाट मुक्ति पाउन कोसिस गरिरहेको छ । भुटानको पछिल्लो चुनावको परिणाम र भुटानी राजाको नेपालसँग जोडिएको खुलासाले पनि भुटानभित्र गुम्सिइरहेको पीडाको आभास दिन्छ । एक्काइसौँ शताब्दीको स्वतन्त्रताको लहरमा भुटान भारतको डन्डासँग थरथरी डराउँछ र चेप्टिएरै बस्न चाहन्छ भन्ने कुरा पत्याउँदिलो हुँदैन । ऊ स्वतन्त्रताका सारथिहरूको साथ खोजिरहेछ । यस्तो स्थितिमा नेपाल उसको सबैभन्दा नजिकको साथी बन्न सक्छ ।
अन्त्यमा, स्वतन्त्रतासम्बन्धी एउटा फरक विषय । नेपालमा एमसीसीका बारेमा घनघोर बहस चलिरहेछ । त्यो बहस मलाई दृष्टिविहीनहरूले हात्ती चिन्ने प्रयत्नजस्तो मात्र लागेको छ । एमसीसी पक्षधरहरूले यसलाई नेपालको विकासको मियो मानेका छन् भने विपक्षीहरूले यसलाई नेपाल राष्ट्रकै विनाश मानेका छन् । यी दुवै अतिवादी सोच हुन् । यसबीचमा एमसीसीका बारेमा धेरै काम गरेका एकजना विज्ञको बोली मलाई राम्रो लाग्यो । एक टेलिभिजनले आयोजना गरेको बहसमा उहाँले भन्नुभएको थियो– यो सम्झौतालाई हतारमा संसद्ले पारित गर्नुहुँदैन । जहाँ जति समस्या छन्, पहिले तिनलाई निकालेर छलफल गर्ने, नेपाललाई अप्ठ्यारो पार्ने बुँदाहरू खारेज गर्ने, खारेज हुन सक्दैनन् भने यसलाई त्यहीँ समाप्त गर्ने ।
सरकार ! नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश हो । हामी कुनै मुलुकको रणनीतिक साझेदारीमा सामेल हुन सक्दैनौँ । अमेरिका उसै पनि अर्काको जमिनमा गएर क्षेप्यास्त्र हान्न र हामीले आतङ्ककारीलाई मा¥यौँ भनेर दम्भ गर्ने राष्ट्र हो । तर, हामीलाई सहयोग दिने हो भने कुनै सर्त राख्न पाइँदैन । सर्तसहितको सहयोेग हामीलाई चाहिँदैन । नेपालका मन्त्री भन्नुहुन्छ– एमसीसी ‘इन्डो प्यासिफिक रणनीतिका अङ्ग होइन । तर, अमेरिकी मन्त्रीहरू भनिरहेका छन्– यो इन्डो प्यासिफिक रणनीतिको अङ्ग हो । यो के हो ? आधिकारिक भनाइ अमेरिकीहरूकै हुन्छ । त्यसैले अहिले हामीले एमसीसी नामको यो गलगाँड इन्डो प्यासिफिक रणनीतिको अङ्ग हो भनेर बुझ्न बाध्य हुनुपरेको छ । होइन भने नेपाल सरकारले उठेका सबै प्रश्नको जवाफ दिनुप¥यो । यो नेपालको हितमा छ र अरूण तेस्रोमा भएकाजस्ता कुनै बारबन्देजहरू यसमा छैनन् भन्ने कुरो काइतेपारामा होइन, सबैले बुझ्नेपारामा भन्नुप¥यो ।
जनता दुईतिहाइका हुँदैनन्, नेपालको स्वतन्त्रतामाथि आँच आउन नदिई शासन चलाउने हो भने अल्पमतको सरकारको पक्षमा पनि जनता ठिङ्ग उभिन सक्छन् भन्ने आफ्नै गौरवशाली इतिहासलाई नबिर्सनुहोस् । कुर्चीले मान्छेलाई ज्ञान दिँदैन, मान्छेले कुर्सीलाई सजाउने हो ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)