केपी शर्मा ओली
मैले घोषणा गरेको छु– यति उर्वर देशमा कोही कोही भोकले मर्दैन । तपाईं हामी सबैले बाटाका छेउमा बालबालिका कुकुरसँग लडाइँ गरेर खानेकुरा टिपिरहेका देख्थ्यौँ तर अहिले यो सरकार बनेपछि तपार्इंले सडकमा बालबालिका देख्नुहुन्न किनभने उनीहरूलाई राख्ने, बसाउने, पढाउने प्रबन्ध फरक ढङ्गले गरिएको छ । त्यसकारण नेपाल सडक बालबालिकाबाट मुक्त छ ।
सडक किनारामा जिङ्रिङ्ग कपाल भएका मानिस हुन्थे, घाउ हुन्थ्यो, झिँगा भन्किराखेको हुन्थ्यो, कुकुरसँगै सुतिराखेको हुन्थ्यो । आज सडक मानव भन्ने नेपालमा छैनन् । हामीले सडक मानव खोजीखोजी उठाएर प्रबन्ध गरिराखेका छौँ । त्यसका लागि गैरसरकारी संस्थाहरूलाई समेत मोबिलाइज्ड गरिरहेका छौँ ।
नेपालमा मानवता भएका, मानवीय भावना भएका मानिस र संस्था छन् । तिनीहरूसँग सहकार्य गरेर यस्तो काम गरिराखेका छौँ । तिनीहरूलाई प्रोत्साहित गरिराखेका छौँ । अहिले सडकमा त्यस्ता मानव छैनन् । नेपाल भिखारीको देश होइन, त्यसकारण बेघर हुनुपर्दैन । त्यस्तो मान्छे भेटिए घर भएकालाई घर पठाइदिने, साँच्चै बेघर बनेकाको प्रबन्ध गरिदिने काम गरेका छौँ । देख्दा अलिक स–साना लाग्ने तर समाज उत्थानका लागि धेरै महŒवपूर्ण कुरा हो यो । कोही पनि सडक मानव हुनुपर्दैन । यस देशमा तिनको पनि सरकार छ । सरकार भनेको तिनको पनि हो । यसरी हामीले काम गरेका छौँ तर अहिले यस्ता कामको प्रशंसामा लेख्ने कलम छैनन् । यस्ता कामको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । यस्ता काम प्रकाशित गर्ने पत्रपत्रिका छैनन् । यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । कसैकसैले कतैकतै छ्यास्सछुस्स लेखिहालेछ भने त्यसले त्यहीँ गाली खान्छ, सरकारको दलाल भइस् कि क्या हो ? आलोचनात्मक चेत खै ? राम्रा कुरा गर्न थालिस्, बिग्रिछस् । सकारात्मक कुरा पनि गर्न थालिस् । यस्तो भन्ने एउटा तप्का छ । जसलाई तथ्य मतलव छैन, निन्दा गर्नुलाई आलोचनात्मक चेत भन्छ । त्यस्ता कुराबाट हामी प्रभावित हुनुहुँदैन । नेपालले विकास गर्दै छ ।
आज मात्र मैले थाहा पाएँ २०१० सालमा नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई एउटा पत्र लेख्नुभएको रहेछ । नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू हुनुहुन्थ्यो । कोइरालाले नेहरूलाई पत्र लेख्नुभएको रहेछ । त्यो पत्रमा दुईवटा टाइपराइटर पठाइदिनुस्, भनेर लेखिएको रहेछ । आज टाइपराइटर होइन, कम्प्युटर होइन, ल्यापटप होइन, नोट पनि गर्न मिल्ने, लेख्न पनि मिल्ने आइप्याड, सबै चिज गर्न मिल्ने मिनी कम्प्युटर, मोबाइल, हरेकसँग छ । आजको भिन्नता कहाँ छ ? हामी कहाँ पुग्यौँ ?
हामी डिजिटल नेपालको कुरा गरिराखेका छौँ । निरक्षरताको प्रतिशत माथि भएको नेपाललाई डिजिटल नेपालमा पु¥याउने, पेपरलेस अफिस र कारोबारका कुरा गरिरहेका छौँ । हाम्रो महŒवाकाङ्क्षा यस्तो चर्को छ । उत्तरसँग पनि बाटो खोल्नुपर्छ र व्यापारिक सम्बन्ध बढाउनुपर्छ भनेँ । पूर्व–पश्चिम रेलका कुरा गरेँ । उत्तर–दक्षिण रेलका कुरा गरेँ । अहिले तिनको सर्भेका काम लगभग सकिएर अब ती निर्माणका क्रममा प्रवेश गर्दै छन् । पानीजहाजका कुरा गरेँ । समुद्र साझा हुन् । समुद्रको किनारको ३० किलोमिटर मात्रै कुनै देशको अधिकारको कुरा हो । त्यसकारण हामीले त्यसका लागि ट्रान्जिट पोर्टको ती देशहरूसँग सम्झौता गर्नुपर्छ । पहिले हामीलाई गाह्रो थियो । एउटा छिपछिपे पानी मात्रै भएको कोलकत्ताको पोर्ट थियो । आज विशाखापटनम् होस् कि बङ्गलादेश होस्, चीनको होस् कि मुम्बई, गोवा होस्, पूर्वतिरबाट होस् हामीलाई पोर्टको समस्या छैन । हामी त्यसस्तरमा गएका छौँ । चीनसँग पनि हामीले विभिन्न ठाउँमा बन्दरगाह प्राप्त गरेका छौँ । राष्ट्रको यस उपलब्धिलाई कुनै सम्पादकले जनतामा पु¥याउन लायक सन्देश ठान्दैनन् ।
हाम्रो बीचमा एउटा अवधि जसरी अगाडि जानुपर्दथ्यो, त्यसरी अगाडि गएन, यो यथार्थ हो । उद्योग फस्टाउनु पर्दथ्यो । छालाजुत्ता कारखाना स्थापना भएको थियो । त्यसको संरक्षण वा बढावा दिएर जानुपर्दथ्यो तर त्यो कारखाना समाप्त भयो । हामीलाई चाहिने कागज कारखाना हो । अनेक कामका लागि हामीलाई पढन किताब चाहिन्छ, लेख्न कापी चाहिन्छ । डिजिटल हुँदा पनि हामीलाई लेख्न, पढ्न, सिक्न पुस्तक चाहिन्छ तर त्यो पनि हामीले जोगाउन सकेनौँ, त्यो पनि समाप्त भयो । यस्ता इन्डस्ट्रिज कति हो कति, हाम्रा मित्रराष्ट्र, दातृराष्ट्रले हामीलाई स्थापना गर्न दिएको तर झन् लोकतन्त्र आएपछि ती इन्डस्ट्रिजहरू संरक्षित हुनुपर्ने, अगाडि बढ्नुपर्ने, भएनन् त्यसबेला । हाम्रा पुराना इन्डस्ट्रिजहरूमा तपाईंहरूले सेयर राख्न वा म्यानेजमेन्ट लिन चाहनुहुन्छ, ठीक छ । उद्यमी व्यवयायीले सेयर हाल्नुस्, म्यानेजमेन्ट गर्नुस् । अब स्थापना हुने नयाँ उद्योग, व्यवसायमा पनि सेयर हाल्नुस्, म्यानेजमेन्ट लिनुस् । सरकारी म्यानेजमेन्ट भन्दा प्राइभेट म्यानेजमेन्ट चुस्त हुन्छ भन्ने कुरा देखिएको छ । त्यसकारण म्यानेजमेन्ट मात्रै लियो भने नेपालजस्तो देशमा त्यसले सफलता पाउँछ । बिनारिस्कको म्यानेजमेन्ट होइन, लगानीसहितको म्यानेजमेन्ट हुनुपर्छ ।
हामी हरेक कुरामा उत्पादनमा प्रविधिको प्रयोग गर्न चाहन्छौँ । नयाँ प्रविधि मिसाउन चाहन्छौँ । यो कुरा सरकार र निजी क्षेत्र मिलेर मात्रै गर्न सकिन्छ । हामी कृषिप्रधान देशमा छौँ । कृषि क्षेत्रमा हाम्रो लगभग दुई तिहाइ जनसङ्ख्या छ । त्यसलाई हामीले त्यहाँबाट निकाल्नु छ । त्यसका निम्ति कृषिको आधुनिकीकरण गर्नु छ । कृषिको आधुनिकीकरण गर्दागर्दै त्यसको साइडमा अनेक प्रकारका साना वा ठूला इन्डस्ट्रिज र त्यस सँगसँगै त्यसले व्यापारको क्षेत्र बढाउँछ ।
हामीले यस वर्षलाई भिजिट नेपाल भनेका छौँ । हुन त कतिपयले तयारी नगरिकन गरेको भनेका छन् तर कति वर्ष तयारी गरेर गर्ने ? हाम्रा प्रयासलाई केन्द्रित गरी भिजिट नेपाल सफल पार्छाैं । भिजिट नेपाल सफल पारिरहँदा भिजिट नेपालमा मात्र हाम्रो ध्यान जान्छ भन्ने होइन । हामी गाउँमा नपढिरहेका, पछाडि परेका, स्कुल नपुगेका बालबालिकालाई स्कुल पनि पु¥याइरहेका छौँ । स्कुलबाट ड्रपआउट हुने कुरालाई रोकिराखेका छौँ । त्यसतर्फ हामीले प्रबन्ध मिलाइराखेका छौँ । देख्दा सानो कुरा हो तर हामीले स्कुल जाने बालिकाका लागि सेनेटरी प्याड वितरण गरेका छौँ । उनीहरू त्यसबाट स्कुल नजाने गर्दैनन् ।
हाम्रो समाज त छाउगोठ र छाउपडीवाला हो । त्यस स्थितिबाट हामी माथि उठ्नुपर्छ । सामाजिक जागरण ल्याउनुपर्छ । हामी त्यो गर्दै छौँ ।
हामीले ओडीएफ कन्ट्री अथवा खुला दिसामुक्त देश घोषणा गरेका छौँ । नेपालजस्तो देशलाई खुला दिसामुक्त गर्नु सहज कुरा होइन । यो सभ्यताको एक सिँढी माथि चढ्यो ।
काठमाडौँ पुरानो सहर हो । यहाँ पुरानो सभ्यता र कला–संस्कृति छन् तर यहाँ शौचालय हुँदैनथ्यो । भ¥याङमुनि बस्थे । अहिले भ¥याङमुनिबाट शौचालयमा सार्ने काम भएको छ । तराईतिर त जलमैदान हुन्थ्यो । त्यो जलमैदानबाट सहर बनाइएको छ । त्यसरी हामी एकएक स्तर उठिरहेका छौँ ।
हाम्रा दाजुभाइ दिदीबहिनी तुइनमा झुण्डिएर देशभरि खोला तर्दै थिए । त्यस ठाउँमा तुइन विस्थापित भएको छ, पुल बनेको छ । मैले तुइन विस्थापनको घोषणा गर्दा अलिकति मजाकमा उडाउन खोजे मान्छेले । मैले दुई वर्षभित्र टुङ्ग्याउने भनेको थिएँ । आफैँ सात–आठ महिनामा सरकारबाट गएपछि दुई वर्षमा कहाँबाट हुन्थ्यो । फर्किएर आएपछि फेरि अगाडि बढाएँ । अहिले ती ठाउँमा पक्की पुल बने पनि । तीन वर्षअघिका तस्बिर राखेर खै तुइन हटाएको भनेर अहिले प्रश्न गरिन्छ । यो आलोचनात्मक चेतका कारण होइन, निन्दाका कारण यस्तो भइरहेको हो ।
मैले मै बनाउँछु मेरो धरहरा भनेर सुरु गरेको थिएँ । त्यो भन्नेबित्तिकै ममाथि ल बना धरहरा भनेर तरबार चल्यो । प्रधानमन्त्रीमा फर्किएर आएर फेरि बनाउन सुरु गरेँ । अहिले चार तला माथि उठिसक्यो । अब बाटो हिँड्दा पनि देख्न सक्नुहुन्छ । अर्काे वर्षको कात्तिकसम्म तपाईंहरू धरहराको टुप्पोमा चढ्न सक्नुहुन्छ । त्यहाँ हिँडेर पुग्न नसक्ने बूढाबूढी, बालबालिकाका लागि लिफ्टको प्रबन्ध गरिएको छ । नेपालीलाई जेमा पनि विवाद गर्न आउँछ । रानीपोखरीको पनि बारमा ताला लगाउनेदेखि अनेक तमासा भए तर अब रानीपोखरी बन्दै छ । चैतभरिमा तयार भइसक्छ । खुलामञ्च, रत्नपार्क, टुँडिखेल, सिंहदरबारलाई नयाँ ढङ्गले पुनर्संरचना गरेर काठमाडौँजस्तो बनाइन्छ ।
हामी एउटा मात्रै काम गर्दै छैनौँ । टोखाबाट छहरे, बेत्रावतीबाट स्याँफ्रुबेँसी टनेल गरेर एक घण्टामा ल्हासा पुग्ने प्रबन्ध गर्दै छौँ । फास्ट ट्र्याकको कुरा मात्र भइराखेको थियो । आफैँ बनाउँछौँ भनेर त्यसमा १० अर्ब रुपियाँ छुट्याएर काम सुरु भयो । फास्ट ट्र्याकको ट्र्याक लगभग ओपन भइसकेको छ । अब चार वर्षभित्र हामी त्यसलाई पूरा गर्छाैं । अहिले तातोपानी नाका खुलेको छ । अब राम्रो, डबल लेनको पक्की बाटो तातोपानीतर्फ पनि हुन्छ । कोरला नाकातिरबाट पनि बाटो खुल्छ । यो सबै नेपालको व्यापारलाई प्रवद्र्धन गर्नका लागि हो ।
हाम्रा पूर्वज ल्हासा व्यापार गर्दथे । मैले पटकपटक भ्रमण गरेको छु । ल्हासामा एउटा हाम्रो मात्रै कन्सुलेन्ट अफिस छ । अन्य कुनै देशको छैन । चीन सरकारले नयाँ कन्सुलेन्ट अफिस राम्रो बनाइदिएको छ र हामी दुवैतर्फको व्यापारलाई उचित प्रबन्ध गर्न खोजिराखेका छौँ, तयार गरिराखेका छौँ ।
गोरखामा भारतीय सरकारको सहयोगमा बनाइएका घरहरूको हस्तान्तरण गर्दै छौँ । यहाँ सिंहदरबारबाट मैले र दिल्लीबाट नरेन्द्र मोदीजीले उद्घाटन गर्दै छौँ । मोतीहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गरेजस्तै यसमा पनि उद्घाटन गर्दै छौँ । आईसीपीटीआर पनि तयार हुँदै छ । इन्टरमिडियट चेकपोस्ट पनि । यसरी कामहरू हुँदै छन् । कोलकातामा र अरूतिर पनि नेपाली कन्टेनरका लागि सहजीकरण गरिएको छ । निकासी हुने नेपाली अदुवामा भनिएको समस्या खोजेर समाधान गर्दै छौँ । अहिले मलेसियासँगको अन्तरविरोधका कारणले पाम तेलको असर नेपाललाई परेको छ । त्यो असर खोल्न हामी वार्ता गर्दै छौँ । हामी त्यो गर्न सक्छौँ । हामी एकपछि अर्को सफलताका साथ अगाडि बढेका छौँ भने उद्योग वाणिज्यका क्षेत्रमा रहेका समस्या समाधान गर्न नसकिने होइनन् । राष्ट्रिय समस्या सजिलोसँग समाधान गरेर नेपाललाई एउटा नयाँ उचाइमा लगिराखेका छौँ । जटिल समस्या पनि नयाँ उचाइबाट समाधान गर्न खोजिरहेका छौँ भने यी त हाम्रा आफ्नै आन्तरिक समस्या हुन् । यो प्रारम्भिक दौडमा केही असजिलो केही अप्ठ्यारो होला । मैले भनेको छु, कुन कानुनमा कहाँ संशोधन हुनुप¥यो, त्यो तपार्इंहरू मस्यौदा गरेर लिएर आउनुस् । कहाँनिर संशोधन गर्नुप¥यो के बेहोरा हटाउने, के राख्नुप¥यो, त्यो छलफल गरौँ, संशोधन गरेर अगाडि बढौँ । कहाँनिर केले अप्ठ्यारो भयो ? केले असुविधा भयो ? त्यो कुरा मकहाँ आओस् तर व्यावसायिक क्षेत्रले पनि हामी राष्ट्र निर्माणको एउटा आम अभियानमा छौँ भन्ने कुरालाई ध्यानमा राखेर इमानदार भएर काम गर्नुपर्छ । यो सरकार भन्ने कुरा छक्याउने कुरा हो, यसलाई छक्याउनुपर्छ भन्ने होइन । हामीले सरकारलाई होइन देशलाई छक्याइराखेका हुन्छौँ । त्यसकारण छक्यााउने काम नगरौँ, जसलाई हामी गैरकानुनी काम भन्छौँ, त्यो नगरौँ र कानुनमा कति सरलता सहजता चाहिन्छ त्यो सरकारले गर्छ । कानुनी ढङ्गले सहज बनाउने काम सरकारले गर्छ । करका कुरालाई सम्बोधन गर्ने प्रयास गरेको छु । सम्पत्तिको अभिलेखीकरण वा लेखाङ्कन गर्ने कुरा गरौँला । पहिले लगानी बढ्नुप¥यो । निष्क्रिय सम्पत्तिलाई सक्रिय बनाऔँ । मेरो आग्रह छ घरमा पैसा नराख्नुस्, लगानी गर्नुस् । बैङ्कमा अलि कम राख्नुस् । लगानी बढी गर्नुस् । लगानी गर्नका लागि बैङ्कबाट लोन लिनुपर्छ वा पैसा राख्नुपर्छ । पैसा बैङ्कमा राख्ने भनेको घरमा राखेजस्तै हो । मुख्य कुरा चाहिँ लगानीमा ध्यान दिनुहोस् । त्यसले रोजगारीमा र उत्पादनमा सघाउँछ । आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने, त्यस प्रकारका क्षेत्रमा लगानी गर्नुहोस्, जसले प्रतिफल दिन्छ । अनावश्यक खालका खर्चमा केटाकेटीको पनि बानी नबिगार्नुस् । अनावश्यक खर्च, फजुल खर्च अक्सर मैले देखेको छु । नेताले छोराछोरी पुल्पुल्याउने र बिगार्ने गरेको भनी कहिलेकाहीँ चर्चामा आउँछ । फलानो नेताको फलानो छोरा बिग्रियो भन्ने आउँछ । अब हामी त्यस्ता लफडा हुन दिँदैनौँ किनभने प्रायः ठाउँमा सीसीटीभी जडान गरिएको छ । जसले सबैको अनुहार चिन्छ र व्यवहारअनुसारको कारबाही गर्छ ।
हामी नयाँ युगतर्फ, नयाँ गतिका साथ अगाडि बढ्दै छौँ । यस कुरामा तपाईंहरूको क्षेत्रको भूमिका असाधारण छ । त्यस भूमिकालाई तीव्र बनाउनुप¥यो । सरकारका तर्फबाट पूराका पूरा सहयोग हुन्छ । सरकार तपाईंहरूको साथमा छ । तपाईंहरूलाई अप्ठ्यारोमा पारेर वा निराश बनाएर आर्थिक उन्नति हुन सक्दैन । तपाईंहरूलाई लगानी गर्ने, कारोबार गर्ने कुरामा हतोत्साही गरेर, त्रसित बनाएर आर्थिक उन्नति हुन सक्दैन । त्यसकारण सरकारले तपाईंहरूको मनदेखि त्रास हटाउने काम गर्छ । सरकार तपाईंहरूको मित्र र सहयोगी हो । तपाईंको कारोबारलाई सहज बनाउँछ । त्यसैकारण किन जलमार्गका कुरा गरेको छु ? पानीजहाज चलाउन म जाने त होइन । किन विभिन्न बाटा खोलिराखेको छु ? किन बाटो चौडा गरिराखेको
छु ? अन्य देशसँग व्यापारको प्रबन्ध सजिलो बनाउने, विभिन्न देशसँग एमओयू गर्ने र सम्बन्धलाई अगाडि बढाउने किन गरिराखेको
छु ? हाम्रो देशको एयरलाइन्सको डेस्टिनेसन विभिन्न ठाउँमा किन विस्तार गरिरहेको छु ? हामी विभिन्न ठाउँमा जाऔँ भन्नका लागि यस्तो गरिरहेको हो । विभिन्न ठाउँका मान्छे यहाँ आऊन् । विभिन्न ठाउँमा हामी सामान पठाऔँ । हाम्रो उद्देश्य को, कहाँनिर छ भन्ने होइन । कसको प्रत्यक्ष सम्बन्ध के मा छ भन्ने होइन । हामी राष्ट्र निर्माणको एउटा महान् उद्देश्यमा जुटेका छौँ, यो हाम्रो साझा अभियान हो । तपाईंहरू ढुक्क हुनुहोस् र अगाडि बढ्नुहोस् । केही प¥यो भने सरकारलाई भन्नुस् । राज्यमन्त्री तपाईंहरूकै सेक्टरबाटै हुनुहुन्छ । उहाँले समस्या बुझ्नुभएको छ । हामी पनि यहीँ ठाउँमा बसेर, यहीँ जन्मिएर, यहीँ हुर्किएको हुनाले समस्या त हामीले अलिअलि बुझेकै छौँ । मन्त्रीजीले पनि समस्या बुझ्नुभएको छ । केही बुझ्न बाँकी रहेछ भने बुझ्दै जाउँला । तपाईंहरूले भनेपछि बुझिन्छ । त्यसकारण पारस्परिक विश्वासका साथ ढुक्कले अगाडि बढ्न म आग्रह गर्न चाहन्छु ।
(२०७६ पुस २९ गते प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा दिनुभएको मन्तव्यको सम्पादित अंश)