भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षतिलाई रोक्न २२ वर्षअघिदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएअनुसार ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर भूकम्प सुरक्षा दिवस मनाइएको छ । नेपालमा अहिलेसम्मकै ठूलो मानिएको भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । यस भूकम्पमा परी करिब आठ हजारको निधन भएको थियो । काठमाडौंँ उपत्यकामा मात्र करिब चार हजार मानिसको मृत्यु भएको थियो । नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । वि.सं. २०७२ को भूकम्पबाट करिब नौ हजार नागरिकको मृत्यु र २२ हजार घाइते भएका थिए । झन्डै आठ लाख घर क्षति भएका र करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।
पृथ्वीको उत्पत्ति र विकासका क्रममा भीषण हिमपात, पहिरो, भूकम्प, खडेरी, झरी भएकै कारण आजको पृथ्वीले यो आकार लिएको हो । प्राणी र वनस्पतिका लागि पृथ्वीका अधिकांश स्थान बसोबासका लागि उपयुक्त बनेका हुन् । यिनै कारण भू–धरातल र भू–गर्भमा भिन्नभिन्न चरित्र स्थापना भए । टेथिस् महासागरमा उथलपुथल हुँदैनथ्यो भने हामीले गर्व गरेको सगरमाथा र हिमालय क्षेत्र बन्ने थिएनन् । भू–गर्भविद्का अनुसार कुनै कालखण्डमा सगरमाथा यही महासागरको पिँधमा थियो र उथलपुथलले उठेको हो । यस्ता परिवर्तनलाई भू–गर्भ विज्ञानले स्वाभाविक मान्दछ, मानव जीवनका चरणमा आउने परिवर्तन जस्तै । त्यसैले यी परिवर्तन भू–गर्भ विज्ञानको भाषामा सुखद वा दुःखद हुँदैनन्, केवल स्वाभाविक मानिन्छन् । यस्ता घटना जब समाजमा जोडिन्छन् तब मात्र सुखद वा दुःखद हुन्छन् । नेपालमा बेलाबेलामा ठूला भूकम्प गएका र जनधनको क्षति भएका छन् । मानव र उसको समाजसँग जोडिएपछि यसको चर्चा र संस्मरण हुनेगर्छ । भनिँदै आएको छ, भूकम्पले क्षति गर्दैन, मानवले बनाएका कच्चा संरचना भत्किएर सबैभन्दा धेरै क्षति गर्छ । यस्ता प्राकृतिक उथलपुथललाई विपद् बनाउने वा नबनाउनेमा धेरै हदसम्म मानिस नै जिम्मेवार हो ।
भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा रहेको जानकारले दावी गरेका छन् । स्वाभाविकरूपमा मानव बसोबास भएको क्षेत्रमा भूकम्पको जोखिम बढी हुन्छ । मानवरहित क्षेत्रमा जोखिम कम हुन्छ भन्नुको अर्थ त्यहाँ मानवसँग भूकम्पको क्षति जोडिएको हुँदैन । भूकम्प पूर्वानुमान लगाउन सकिने विषय होइन तर पूर्वसावधानीले यसका दुष्परिणाम कम गर्न भने सकिन्छ । आधुनिक विश्वले भूकम्पको पूर्वानुमान गर्न नसके पनि यसको क्षति कम गर्ने, यसको प्रवृत्ति चिन्ने, संरचनालाई भूकम्पप्रतिरोधी बनाउनेजस्ता सावधानीका विधि विकास गरेका छन् । भूकम्पका बारेमा पूर्वजानकारी दिनु वा राख्नुले क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ तर अनधिकृतरूपमा असम्बन्धित व्यक्तिद्वारा फैलाइने सूचनामूलक अफवाहले नागरिकमा एक प्रकारको भय उत्पन्न हुनसक्ने भएकाले यस्ता विषयमा विचार व्यक्त गर्दा विज्ञता रहनु र नागरिकले पनि हल्लामा होइन वैज्ञानिक तर्क र सम्भावनामा विश्वास गर्नुपर्छ । ग्रहदशा हेराएर विश्वका कुनै पनि व्यक्ति वा शक्तिले भूकम्प आउने दिन वा क्षण तोक्न सक्दैन । भूकम्पको पूर्वानुमान गर्न सक्ने हो भने नियमित भूकम्पले थिलथिलो हुने जापानले यस्तो विधिको विकास गरिसकेको हुन्थ्यो । भूकम्पबारे विकसित वैज्ञानिक अनुमान तथा आधारलाई भने नकार्न सकिँदैन । त्यसैले भूकम्पको भयमा अनेक तनावमा पर्नुभन्दा भौतिक संरचना निर्माणमा सम्बद्ध निकाय तथा व्यक्ति जिम्मेवार हुनेलगायत भूकम्प अघि के गर्ने, भूकम्प जाँदै गर्दा के गर्ने, भूकम्प गइसकेपछिको विपद् अवस्थामा के गर्ने जस्ता जिम्मेवारीमा सबै पक्ष पूर्णतः होशियार र जिम्मेवार हुँदा भूकम्पको दुष्परिणामलाई कम गर्न सकिने छ । मानवले भूकम्पलाई कम वा निस्तेज गर्ने सामथ्र्य नराख्ने भएकाले यससँग जुध्दै सुरक्षित हुनु नै बुद्धिमत्ता हुनेछ ।