नारायणप्रसाद पौडेल
छोरो जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाइदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पठाउन पर्छ, ज्वाइँले लैजान्छन् । त्यसपछि बूढाबूढी टुक्क्रुक्क एक्लै हुनपर्छ । छोरा–बुहारी र छोरी–ज्वाइँ, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्वितीयाका जुन (इदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् कहिलेकाँहीँ । बूढो घर रुँगेर बस्दा बूढा–बूढीका हात–पाखुरा चलुन्जेल, खल्ती खाली नहुन्जेल र आफै केही गरेर बाँच्न सकुन्जेलसम्म त ठीकै छ । ओज र पोज पनि रहन्छ । नसक्ने भएपछि त सबैका लागि बोझ बनिँदो रहेछ । प्रशस्तै सम्पत्ति भएका, सामाजिक प्रतिष्ठा पनि आर्जन गरिसकेका चर्चित एक वृद्ध दम्पतीको गुनासो हो यो ।
पेन्सनपट्टा नभए पालिन गाह्रो रहेछ बाबु, पाल्दा रहेनछन् आजकालका छोरा बुहारीले पनि । धन्न त्यतिले पालिएकी छु । पेन्सन आउने नभए केको पाल्थे ? पाल्दैनथे । आफूले जोडेका जायजेथा पनि काम लाग्ने रहेनछ बुढेसकालमा । अलि राम्रो घरबारी र जग्गाजमिन जति अंशवण्डा गरेर लगे । बुढ्यौलीमा अलिकति घडेरी दिएका छन्, त्यतिले पालिन नसकिने, त्यत्तिकै फाल्न पनि नसकिने, कति आपत् परेको हो हँ ? ८४ पूजा गरिसकेकी अर्की वृद्धाको गुनासो हो यो पनि । जसका दुई छोरा र पाँच छोरीका परिवार सबै सक्षम छन् । पतिको देहावसानपछि पाउने निवृत्तिभरणको सहाराले बाँचेकी छन् ।
यस्ता गुनासा सुनी साध्य छैन । सबैका पीडा उस्तै छन् । सम्पत्ति भएका दम्पती र पेन्सनपट्टा रहेका परिवारमा पैतृक सम्पत्ति चाहिने र लिने, बाबु–आमालाई चाहिँ बोझ सम्झने चलन चल्यो विछट्टै ।
धन सम्पत्ति नभएका विपन्नको पीडा त झन् कही साध्य र सही साध्य हुँदैन । विधवा वा विदुर हुन परेर एकल भएपछि त झन् मानसिक यातना सहेर बस्ने हो दिनदिनै, चौपट्टै । दुई छाक रुखो–सुखो खान दिँदा पनि वचन लगाउँछन्, बेसहारा अशक्तलाई सडकबाट टिपेर ल्याएर पालेजस्तो गर्छन् । २४सै घण्टा आँखा तर्छन् । पेन्सन नभएका बाबुआमा पाल्न नचाहनेको भीड बढ्यो । मुखले नभने पनि मनले चाहिँ छिट्टै मरे हुन्थ्यो भन्ने, सोहीअनुसारको व्यवहार गर्ने, यस्तो सहेर कसरी हो बुढ्यौली गुजार्ने ? सहन नसकेर तुरुन्तै मर्न र सहेर बाँच्न पनि नसक्ने अवस्था छ धेरैको । बाहिर कतै गएर मनको बह कहेर पोख्न पनि सक्दैनन्, पटक्कै । एककान्, दुईकान मैदान भएर थाहा पाउँदा वित्तिकै आपत् आइलाग्छ भनेर । भत्केको मन, कमजोर तन लिएर बाँच्न विवस छन् यो देशका ज्येष्ठ एवं अनुभव, ज्ञान र सीपले श्रेष्ठ नागरिक ।
सन्तानलाई सबल र सक्षम बनाउन जिउ ज्यान घोटेर थला परेको र खिइएको हो, जीर्ण भएको अघिल्लो पुस्ताको सोही ज्यानलाई वरदान सम्झेर सम्मान गर्नु त कता हो कता, उल्टै अपमान गर्नेको लर्को रहेछ जताततै । साह्रै असल, कुशल र योग्य बनाइसकेपछि यतै बसेर सघाउलान्, बूढेसकालमा सेवा सुसार पनि गर्लान् भन्ने सोचेर नहुने रहेछ । जति असल र कुशल छन्, योग्य पनि हुन् । तिनीहरूले आफ्नै देशमा बसेर केही गर्नै मान्दैनन् । अमेरिका, युरोप, जापान, कोरियातिरै धाउँछन् । अस्ट्रेलियातिरको लाम पनि लागेको छ । छोरो गएपछि बुहारी र बुहारी गएपछि छोरो तान्ने, नाति नातिना पनि उतै जाने, लाने, गरेपछि यताको घर कुर्ने र धान्ने जिम्मा पर्छ वृद्ध बाबुआमाका थाप्लामा । उता गइसकेपछि सुत्केरी भएमा स्याहार सुसारका लागि आमालाई झिकाउने गरिन्छ । धाई आमा बोलाउने त्यस्तो भिसालाई ‘तेल भिसा’ भन्ने चलन पनि चलाइएको छ । छ महिनासम्म चल्छ, तेल घस्ने काम । त्यसपछि फेरि उही र उस्तै हो वचनले पु¥याएका घोचपेचका नील डाम । सन्तानले दिएका सकसका त्यस्ता डाम देखाउन नमिल्ने, सुनाउन पनि नसकिने । त्यसैले त भन्छन् धेरैले– चर्चित भारतीय ‘बागवान’ चलचित्रले आधुनिक पारिवारिक जीवनशैलीको राम्रैसँग उजागर गरेको छ । ‘बागबान’ हेर्दा धेरैका आँखाबाट आँशु झरेको छ । सँगै बसेर त्यो चलचित्र हेर्दा आँशु झार्ने छोरा–बुहारीबाट पनि अन्त्यमा फेरि उस्तै काम हुने गरेको छ ।
मेरा छोरा अमेरिका र बुहारी जापान छन् । छोरी चीनमा र ज्वाइँ कोरियामा रहन्छन् । नाति फ्रान्समा पढ्दैछ, नातिनीले अस्ट्रेलियामा अध्ययन गर्दैछिन् भनेर घिरौँलाजत्रो नाक बनाएर धाक देखाउने गरेका ज्येष्ठ नागरिकको नतिजा नजाती निस्केको छ । विदेश गएर पढेका, उतै बस्ने जोहो गरेका, आफ्ना छोराछोरीलाई पनि उतै लगेर पढाएका सन्तानले नेपाल आउन मान्नै छाडे । साह्रै कर बल गरेमा २, ४ दिनका लागि आउने र उनैको स्याहार सुसार गर्दा थला पर्ने गरेको पीडा सुनाउने ज्येष्ठ नागरिकको कमी छैन । जति दिन बोलायो र राख्यो उति दिनसम्म आफ्नै पुर्खा, गाउँ र घर, मातृभूमि, देश, शासन व्यवस्था र अवस्थाको खोइरो खनेर हैरान पार्ने । यताको खान–पान, रहन–सहन, भेष–भूषा, बोली–चाली सबै बिर्सेजस्तो गर्ने । आफू पनि उतै जन्मेको र उतैका हावापानीले हुर्केजस्तो ठान्ने । उताको जति सबै राम्रो र यताको सबै नराम्रो मान्ने । कति सुन्ने, सहने हो र कति हो मान्ने ?
युरोप, अस्ट्रेलिया, जापान र अमेरिकामा सुखै सुख र नेपालमा दुःखैदुःख मान्ने मन र देख्ने आँखा कसरी बन्छन् कुन्नि ? त्यतातिर गएपछि मानै मान पाइने, सुन, चाँदी र हीरा, मोती खाइने र यतातिर अपमानै अपमान बर्साइने कुरा कति साँचो होला खै ? त्यता जानेवित्तिकै ससुराली पुगेजस्तो त नहोला सधैँ । काम गर्नु त पर्दो हो पक्कै पनि । त्यत्तिकै बसेर खान, लगाउन, घुम्न, जम्न र रम्न त कसले पो दिँदो होला र ? दिन्नन् । त्यहाँका सरकारसँग पनि सबैले चिताएको कुरा पु¥याउन सक्ने मनचिन्ते जादुको छडी वा मन्त्र नहोला । छुमन्तर गरेर सबैका चाहना पूरा गर्ने यन्त्र पनि नहोला । यताका उच्च तहका कर्मचारी, नेता र प्राविधिकले उता गएपछि तुच्छ काम गरेर बसेको कुरा नसुनेका कोही पनि नहोलान् । आफ्नो देशमा मालिक हुन नचाहेर परदेशमा नोकर बन्न रुचाउनेको फूर्तिफार्ती अलि बढी नै भएको हो कि ? अंश र वंशको बदनाम गरेमा ठूलो भइने सोच पलाएर हो, बुझ्नै गाह्रो हुन थाल्यो ।
वृद्ध बाबुआमालाई भीरमा लगेर फाल्ने डोको फर्काएर ल्याउन भनेछ नातिले । किन चाहियो भनेर बाबुले सोध्दा भोलि फेरि मैले हजुरलाई फाल्नका लागि पनि चाहिएला नि, भनेर दिएको जवाफ बिर्सेजस्तो छ धेरैले । अघिल्लो पुस्तालाई सम्मान गरेमा पछिल्लो पुस्ताबाट पनि पाइन्छ, नत्र पाइन्न, हेला भइन्छ भन्ने कुरा । बाबुआमा भनेका त अनुभव, सीप, ज्ञान र परिपक्वताका भण्डार नै हुन् । र हुन् जीवित देवीदेवता, उनीहरूलाई गरेको आदर र उचित स्याहार सुसारले घरपरिवारको प्रतिष्ठामा आँच आउँदैन, अभिवृद्धि नै हुन्छ । पितृदेवो भवः, मातृदेवो भवः, गुरुदेवो भवः त्यसै भनिएको हैन, छैन । माता, पिता र गुरुको सेवा गर्ने कुरा सामान्य हैन, सेवा गर्न पाउनु पनि सौभाग्यको विषय मानिनुपर्ने हो । तर पश्चिमी विकृत संस्कृतिको प्रभावले प्राप्त वरदानलाई पनि अभिशाप मान्न थालिएको छ । जो साह्रै दुःखद् छ ।
विकसित मुलुकमा पसेका र उतै बसेकाको देखासिकी खाडी र मुग्लानतिर भासिएका परिवारले पनि गर्न थाल्दा बेवारिसे भएका छन् वृद्ध–बृद्धाहरू, मन्दिर र देवी देवताहरू । लोग्नेलाई खाडी मुलुक वा मुग्लानतिर पठाएर घर थामेर, सासू ससुरा पालेर बसेका बुहारीले पनि विदेशी पैसा समाउन थाल्नेवित्तिकै आफ्ना छोराछोरी टिपेर सहर पसेर उतै भाडामा कोठा लिएर बस्न थालेका छन् अचेल । छोराछोरी पढाउन त प¥यो नि भन्दै । बूढो घर कुर्ने र डाँडा पारिका घामजस्ता भएका बूढाबूढीलाई हेर्ने कोही छैन । काल पनि आउँदैन भन्छन्, आफन्त कोही भेट्न जाँदा पनि ।
आफ्ना बाबुआमा, घर, आफ्नो गाउँ, जन्मेको ठाउँ, देश छाडेर परदेश जानेवित्तिकै कुन त्यस्तो बुटी खान्छन् वा सँुघ्छन्, जो यति निकृष्ट र घाती हुन्छन्, निर्मोही बन्छन् ? विकसित मुलुकमा पसेका र बसेकाहरूले त बाबुआमाको दीर्घायुको कामना गर्दैनन्, मृत्यु कुर्छन् । सेवा गर्न आउँदैनन्, उतै पनि लादैनन् । दिवङ्गत भइसकेपछि दाहसंस्कारका लागि आएर, बँचेको पैतृक सम्पत्ति बेचेर, डलरमा साटेर लैजान्छन् । त्यस्ता सन्तानप्रति कृतज्ञ हुने कि कृतघ्न भन्ने ?
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)