logo
२०८१ मंसिर १२ बुधवार



झारपातसँगै बिते दुई दशक

विचार/दृष्टिकोण |





तारा चापागाईं दुवे

घरआँगनमा उम्रिने झारपातले घरको स्वरूप नै बिगार्ने हुँदा त्यसलाई उखेलेर फालिन्छ, गाड्ने या जलाउने गरिन्छ । तर त्यही झारपात कसैको जीवनका लागि निकै महìवपूर्ण र उपयोगी भइदिन्छ ।
पोखरा महानगरपालिका–७ की मिलन शेरचनको दुई दशक झारपातसँगै बितेको छ । २०५८ सालमा जापानमा झारपातबाट सुन्दर कलाकृतिहरू बनाउन सिक्नुभएकी शेरचनले नेपाल फर्केपछि झारपातबाट चित्र बनाउने कलालाई व्यवसायजस्तै बनाउनुभएको छ । खेर जाने झारपातबाट सुन्दर कलाकृतिहरू बनाएर रमाउनुहुन्छ ।
शेरचनको घरभित्र छिर्दा घरका भित्तामा टाँसिएका झारपातबाट बनाइएका कलाकृतिले जोकसैको मन लोभ्याउँछ । उहाँले नै बनाएका यी कलाकृति फ्रेममा राखेर घर सजाइएको देखिन्छ ।
शेरचन भन्नुहुन्छ, ‘यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन्, जहाँ गए पनि मेरा आँखा झारपातमै जान्छन्, दृश्यहरूमा जान्छन् । वास्तवमा कलाकृति मेरो अभिन्न अङ्गजस्तै भइसकेको छ ।’
कला बुझ्ने र कलाप्रति चासो हुनेले सहजै यस्ता कला सिर्जना गर्नसक्ने उहाँको बुझाइ छ । तर महìव बुझ्नेले मात्र चित्र किन्ने गरेका छन् । हस्तकलामा सानैबाट रुचि राख्ने शेरचनलाई दाजु अमेरिकामा भएका कारण सन् १९९२ मा अमेरिका जाने मौका मिल्यो । दाजुले नजाने भन्दाभन्दै पनि केही समय अमेरिका बसाइपछि उहाँ त्यतैबाट उहाँ जापान जानुभयो । जापान बसाइमा साइतो सान भन्ने साथीले उहाँलाई एउटा कला प्रदर्शनीमा पु¥याउनुभयो ।
त्यहाँको कलाबाट प्रभावित भएर यही क्षेत्रमा स्थापित भएको उहाँको भनाइ छ । ‘कला जति सिके पनि पूरा भएजस्तो लाग्दैन, कलामा लगाव र धैर्य भयो भने त्यसमा अब्बल बन्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ । पाँच वर्षको जापान बसाइले उहाँको जीवनलाई झारपातसँग खेल्ने र रमाउने अवसर दियो । जापान बसाइकै क्रममा सत्यनारायण शेरचनसँग १९९४ मा उहाँको विवाह भयो । बिहेको केही समयपछि नेपाल फर्किएसँगै सोही कलालाई व्यावसायिकतामा परिणत गर्नुभएको हो शेरचनले ।
रहरको कलाले सफल व्यवसायी
विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उहाँको भनाइ छ । मोहरियाटोलस्थित धनशमशेर जबराको दरबारमा उहाँका हजुरबुबा भीमबहादुर भट्टचन सीतारावादक र तबलावादक हुनुहुन्थ्यो । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर होला उहाँ पनि कला क्षेत्रमै देखिनुभयो ।
वि.सं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उहाँलाई पुरस्कृत ग¥यो । २०४१ सालमा पनि उहाँले पुरस्कार पाउनुभयो । उहाँको ऊर्जा झनै बढ्यो । पोखराका स्थापित कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाउनुभयो । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि हौसला मिल्यो ।
२०५८ सालदेखि अनवरत रूपमा यिनै कलाकृतिमा रमाउँदै आउनुभएकी उहाँको एकल चित्रकला प्रदर्शनी थकाली सेवा समितिबाट पहिलो आयोजना भएको थियो । दर्शकको भीडले उहाँको कलाकृतिको प्रशंसा ग¥यो । पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गरेर उहाँले आफूलाई थप स्थापित गर्नुभयो ।
कला सिर्जनाका लागि एकान्त ठाउँमा बस्न मन पराउने शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला संयोजक भएर कार्यक्रमसमेत गरिसक्नुभएको छ । पहिलो पटक भक्तपुरबाट क्राफ्ट बेस्ट पोस्ट कार्ड (नेपाली कागजमा डिजाइन बनाउनुपर्ने) अवार्ड जित्नुभएकी शेरचनले दुई दर्जन बढी सम्मान पत्र पाउनुभएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसक्नु भएकी शेरचन थुप्रै संस्थाबाट सम्मानित भइसक्नुभएको छ ।
‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उहाँ समावेश हुनुभएको छ । सामाजिक सेवामा पनि सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन पनि गर्नुभएको छ । उक्त पुस्तकमा विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूको फोटो समावेश गरी उनीहरूलाई समाजमा चिनाउने काम गरिएको छ ।
कला बनाउने सामग्री
पुरानो पर्खालमा मेरो नजर जान्छ, जहाँ कलाकृतिका लागि प्रयोग हुने झ्याउ भेटिन्छ । ‘सिजन थाहा पाउनुपर्छ, सिजनमा टिप्न पाएन भने एक वर्ष कुर्नुपर्छ । असारदेखि कात्तिकसम्म यस्ता उपयुक्त झारपात भेटिन्छन्,’ शेरचन आफ्नो कला सिर्जना सामग्रीबारे बताउनुहुन्छ । पीपलको पात, मलतातो चिउरे घाँस, मकैको धानचमर, बेके, हिमाली भेगको पात, केराको बुङ्गा र बुँकीहरू धेरै आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । ती सामग्रीहरू राम्रोसँग केलाउनुपर्छ, जसमा माटो हुनुहुँदैन ।
ती सामग्रीलाई सीधा बनाउन सुकाउनका लागि च्यापेर राख्नुपर्छ । चित्र बनाउन तयार भएका सामग्रीलाई कार्टुनमा राखेर भनेअनुसारको चित्र बनाउन सकिन्छ । चित्र सिर्जना गर्दा मिहिनेत र समय धेरै लाग्छ, बनिसकेपछि फ्रेममा राखेर सजाउनुपर्छ । ‘मायाको चिनो सानो ठूलो गरेर हजारौँ बनाएँ, यस्ता फ्रेमलाई ७०० देखि १० हजार रुपियाँसम्ममा बेचेको छु,’ शेरचन भन्नुहुन्छ । ‘सुरुमा आफूलाई चिनाउन गाह्रो भयो, अहिले मलाई व्यावसायिक रूपमा अगाडि बढ्न समस्या छैन ।’
निरन्तरताको चिन्ता
‘अहिलेसम्म व्यावसायिकतामा कमी हुन दिएकी छैन,’ शेरचन भन्नुहुन्छ, ‘आगामी दिनमा यसको निरन्तरतामा चिन्ता छ ।’ २०५८ सालदेखि कलाकृति बनाउन सुरु गरेपछि हालसम्म धेरै महिलालाई तालिम दिइसक्नुभएको छ उहाँले । तर निकै थोरैले मात्रै यो कलालाई अँगालेका छन् । व्यावसायिक रूपमा गर्ने त झन् देखिँदैनन् ।
यो पेसामा व्यावसायिक बन्न सक्ने कोही नदेखिएकामा उहाँको चिन्ता छ । ‘सीप सिक्न गाह्रो छैन, सजिलैसँग सिक्न सकिन्छ । तर अहिलेसम्म राम्रो व्यावसायिक रूपमा कोही आउनुभएको छैन । यसले यो कला नै लोप हुन्छ कि भन्ने मलाई चिन्ता छ,’ शेरचनले भन्नुभयो, ‘मनोरञ्जन र फुर्सद बिताउन सिक्ने धेरै हुन्छन्, मिहिनेत कसैले गर्दैनन् ।’ छिटो प्रतिफल खोज्नेले यो पेसामा टिक्न नसक्ने उहाँको भनाइ छ ।
(लेखक गोरखापत्र पोखराका समाचारदाता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?