डा. कुन्दन अर्याल
सन् साठीको दशकमा युरोप र अमेरिकातिर एउटा भनाइ निकै चल्तीमा थियो, टेलिभिजनले संसारलाई नै अर्कै बनाइदिएको छ । नेपालमा टेलिभिजनको सुरुवात भएको पैँतीस वर्ष पुग्दै गरेको अहिलेको सन्दर्भमा पश्चिमा जगतको त्यो भनाइ अलि पुरानै भइसकेको छ । बेलायत र अमेरिकामा प्रारम्भिक परीक्षण भइसकेको झण्डै साठी वर्षपछि टेलिभिजन प्रसारण सुरु भएको देशमा पनि किन त्यो भनाइ पुरानै ठहरिन लाग्यो त ? किनकि यसबीच इन्टरनेटले श्रव्यदृश्य अन्तर्वस्तुको उत्पादन र प्रसारलाई यति सहज बनाइदियो, जसको प्रभावका कारण विश्वमा अभूतपूर्व परिवर्तन भइसकेको छ ।
टेलिभिजनसम्बन्धी हाम्रोे इतिहास युरोप र उत्तर अमेरिकाका विकसित देशहरूका तुलनामा निकै छोटो छ । यही अवधिमा नेपालमा एक सय १६ स्याटेलाइट, आठ सय ७५ टेरेस्टेरियल र आठ सय ७५ केवल टेलिभिजनले प्रसारण इजाजत पाइसकेका छन् । नेपाल टेलिभिजनका अतिरिक्त कैयौँ टेलिभिजन च्यानलहरूका नाम धेरै मानिसलाई थाहा छ । आजको नेपालमा टेलिभिजन हेर्ने कुनै पनि व्यक्तिलाई सोध्ने हो भने कम्तीमा दुई हातका औँला बराबरका नेपाली च्यानलहरूको नामहरू फर्रर भन्न सक्छ । तर ती टेलिभिजन च्यानलहरूले प्रसार गर्ने अन्तर्वस्तु भने अब परम्परागत शैलीमा ठूला आकारका परम्परागत सेटमा भन्दा बढी अन्य प्लेटफर्म वा साधनमा इन्टरनेटको प्रयोग गर्दै हेर्ने प्रचलन बढ्दैछ ।
प्रसारणको सुरुवातदेखि १७ वर्षसम्म नेपालमा सरकारले आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्न कठोर नियन्त्रणमा राखेर सञ्चालन गरिरहेको एउटा टेलिभिजन प्रसारण संस्था मात्र अस्तित्वमा थियो । त्यो एकाधिकार तोडिएपछिको १८ वर्षमै नेपाली टेलिभिजनको क्षितिज निकै फराकिलो हुन पुग्यो । यो परिमाणात्मक वृद्धिबाटै समयक्रममा अन्तर्वस्तुमा गुणात्मक परिवर्तन हासिल हुने विश्वास गर्न सकिन्छ । तर इन्टरनेटले हाम्रा च्यानलहरूलाई मोबाइलमा पनि हेर्न सकिने बनाउनै पर्ने वा सामाजिक सञ्जालको वैशाखी टेकेर मात्र अन्तर्वस्तुको व्यापक प्रसार गर्न नसकिने अवस्था सिर्जना गरिदिएको छ । सूचना वा सञ्चार प्रविधिको प्रयोगका सन्दर्भमा कुनै माध्यमको महìव दुईवटा कारणले बढ्छ । जुन माध्यम सहज र सुलभ वा तुलनात्मक रूपमा सस्तो छ त्यसैको महìव बढ्दै जान्छ । पलङमा पल्टेरै वा बसको सिटमा बसेरै धेरैजसो अवस्थामा अतिरिक्त मूल्य पनि नतिरी हातैमा अन्तर्वस्तु उपलब्ध गराउने माध्यम छ भने मानिस त्यसैमा अभ्यस्त हुँदै जानु स्वाभाविकै हो । सञ्चारका साधन वा माध्यमको प्रयोगका सम्बन्धमा यसलाई प्रयोग र सन्तुष्टिको सिद्धान्त भनिन्छ ।
आर्थिक सूचकाङ्कहरूमा निकै माथि रहेका पश्चिमी देशहरूमा लामो समयको विकास र अनुसन्धानको प्रतिफलका रूपमा टेलिभिजनको सुरुवात भएको हो । हाम्रोजस्तो देशहरूमा प्रविधिको विकास र अनुसन्धान हुँदैन । यहाँ प्रविधिको अनुसन्धान र विकासको फलको उपयोग मात्र भएको अवस्थालाई मात्र पनि ठूलो कुरा मानिँदै आएको छ । एकातिर प्रविधिको विकासमा योगदान गर्ने देशहरू छन्, अर्कोतिर प्रविधिको आयात र प्रयोग गर्नेहरू छन् । एकातिर प्रविधिले आफ्नो प्रगतिसँगै समाजलाई डो¥याउँदै, निर्देशित गर्दै लैजान्छ, समाजिक जनजीवन र संस्कृतिलाई पनि परिवर्तन गर्दै लैजान्छ भन्ने अवधारणा छ । अर्कोतिर उपलब्ध प्रविधिलाई समाजले आफ्नो अनुकूलता र सहजताअनुसार प्रयोग गर्दै लैजान्छ वा समाज आफ्नो आवश्यकताअनुसार प्रविधिमा अभ्यस्त हुँदै जान्छ भन्ने धारणा छ । दुवै धारणाको निष्कर्ष भने उही हुन्छ, प्रविधिले हाम्रो जीवनशैलीमा परिवर्तन गरिरहेको छ । सञ्चार प्रविधिको अनुसन्धान र विकासले समाजलाई नयाँ आकारमा ढाल्दैछ कि समाजले आवश्यकताअनुसार प्रविधिको अवलम्बन गरिहेको छ ? यस्तो प्रश्नमा बहस गर्ने पर्याप्त ठाउँ छ । तर सञ्चार प्रविधिकै कारण समाज परिवर्तित हुँदैछ भन्नेमा दुई मत रहेको देखिँदैन । त्यसैले इस्वी संवत् बीसको प्रारम्भदेखि आजको समयसम्म आइपुग्दा टेलिभिजनले विश्वभरिका मानिसको दैनिकीमा परिवर्तन गरेको प्रष्टै देखिन्छ ।
इन्टरनेटको प्रयोग बढ्दै जाँदा मानिस अब टेलिभिजनकै अन्तर्वस्तु टेलिभिजन सेटमा मात्रै हेर्दैनन् । अब दर्शक–स्रोता सर्भेक्षण गर्दा पनि कुन–कुन टेलिभिजन हेर्नुहुन्छ ? भन्ने प्रश्न मात्र पर्याप्त हुँदैन । टेलिभिजनका कार्यक्रम कुन–कुन साधनमा हेर्नुहुन्छ ? भन्ने प्रश्न पनि उत्तिकै महìवपूर्ण हुन्छ । किनकि हिजोआज टेलिभिजनका कार्यक्रम प्रस्तोता वा अन्तरवार्ताकारहरू पनि ट्विटर वा फेसबुकबाट आफ्नो कामको जानकारी गराउँछन् । उनीहरू युट्युबमार्फत कतिले कार्यक्रम हेरे त्यही आधारमा आफ्नो लोकप्रियताको मापन गर्दछन् । हिजोआज दर्शक पनि जसरी मोबाइलमा आफूलाई रुचि भएको कार्यक्रम हेर्छन, त्यसैगरी टेलिभिजनमै कार्यक्रम तालिका हेर्नुको सट्टा सामाजिक सञ्जालबाटै जानकारी हासिल गर्छन् ।
टेलिभिजनमा कुनै कार्यक्रम तोकिएकै समयमा हेर्नुपर्ने बाध्यतालाई इन्टरनेटले अन्त्य गरिदिएको छ । त्यसैले टेलिभिजनले वर्षौंसम्म निर्माण गरेको संस्कृतिमा इन्टरनेटकै कारण अघिल्लो सहस्राब्दीको अन्तिम दशकदेखि व्यापक परिवर्तन हुन थालेको छ । विख्यात बेलायती विद्वान् रेमन्ड विलियम्स भन्नुहुन्छ, विज्ञान र प्रविधिको अनुसन्धानका क्रममा जन्मिएको टेलिभिजन प्रविधिलाई नयाँ किसिमको समाजको आवश्यकता पूरा गर्नकै लागि लगानी र विकास गर्न उपयुक्त ठानिएको हुनुपर्छ । उहाँको विचारमा खासगरी केन्द्रीकृत रूपमा मनोरञ्जन गराउन र जनधारणको केन्द्रीकृत निर्माण गर्दै एकनासको संस्कृति अघि बढाउनका लागि टेलिभिजनले आफ्नो समयमा निकै योगदान गरेको थियो । कुनै पनि देशमा आपसी संवाद र सम्बन्धका लागि आवश्यक सम्पर्क भाषा वा बोलिचाली र चालचलनमा एकरूपता स्थापना गर्न टेलिभिजनको ठूलो योगदान रहेको थियो । आज इन्टरनेटले केन्द्रीयताको त्यो पुरानो अवधारणालाई तोडेको छ । सामाजिक संवादको क्षेत्रमा टेलिभिजनले गर्न सक्ने योगदान हाम्रो जस्तो देशमा आज असान्दर्भिक भएको छैन । तर हरेक व्यक्तिलाई अन्तर्वस्तु निर्माणको शक्ति प्रदान गर्दै विकेन्द्रीकरणको दिशामा इन्टरनेटले नागरिकलाई सशक्त बनाएको छ ।
कुनै बेला भनिन्थ्यो, जो बढी टेलिभिजन सेट आगाडि समय बिताउँछ, उसको सोच नै टेलिभिजनले प्रस्तुत गर्ने संसारमा आधारित हुन जान्छ । वास्तविक संसारको यथार्थ होइन टेलिभिजनले प्रस्तुत गर्ने छविका आधारमा व्यक्तिलाई आफ्नो धारणा बनाउन अभिमुख गर्ने शक्तिकै कारण कल्टिभेसनको सिद्धान्तको उत्पत्ति भएको थियो । कल्टिभेसन अर्थात जनताको मस्तिष्कमा धारणाको बाली लगाउन टेलिभिजन यति शक्तिशाली मानियो कि सन् १९५० को दशकको मध्यदेखि एउटा शब्दावली नै चलन चल्तीमा आयो इडियट बक्स । इन्टरनेटको युगमा टेलिभिजनको त्यो दुर्नाम हराउँदै गएको छ । आज टेलिभिजन बाकसजस्तो छैन तर इडियट रेक्टाङ्गुलर वा इडियट फ्रेम भन्ने शब्दावली चलन चल्तीमा आएको छैन । किनकि आज इन्टरनेटकै कारण हामीले पहिले तार नजोडिएको फोन भनेर चिनेको मोबाइलमै प्रयोग र सन्तुष्टिको सबैभन्दा अधिक प्रवन्ध हुन गएको छ । अब केटाकेटी बिग्रिए भनेर कम्तीमा सहरी क्षेत्रमा टेलिभिजनलाई गाली गर्ने दिन गए । त्यसैले टेलिभिजन प्रविधिको विकाससँगै बजारमा आएका नयाँ नयाँ आकारसँग जोडेर यसको न्वारन गरिएको छैन ।
धेरै समय टेलिभिजन हेर्नेहरूले पर्दामा देखाइएकै जस्तो गरी सोच्न थालेपछि विकसित देशहरूमा सन् साठी र सत्तरीको दशकमा आचरण वा मनोविज्ञानसँग सम्बन्धित समस्याहरू देखिन थालेको चर्चा हुन थाल्यो । सत्तरीको दशकमा जर्मन राजनीतिशास्त्री नोल न्युमनले अल्पमतमा परिने वा एक्लो ठहरिने त्रासमा मानिस कसरी मौनताको कुचक्रमा परेर चुपचाप बस्न बाध्य हुन्छन् भन्ने प्रष्ट पार्नुभयो । टेलिभिजनले चलाउने त्यस्तो चक्रकै कारण फरक मत कसरी नामेट हुन सक्छ र बहुलवाद सङ्कटमा पर्न सक्छ भन्ने गहिरो अध्ययन गरेर उहाँले संसारको आँखा उघारी दिनुभयो । अहिले खासगरी नीतिनिर्माणको तहमा रहेर इमानदारीसाथ जनधारणा थाहा पाउन चाहनेहरूलाई भन्नुपरेको छ, सामाजिक सञ्जालमा आउने मत जनधारणासँग कति नजिक छन्, बेलाबेला साँचो संसारमै पुगेर परीक्षण गर्नु होला । हुन त आजकाल राजनीति पनि अनलाइनमा गइसक्यो भन्ने प्रचलन छ । तर जतिसुकै नयाँ सूचना तथा सञ्चार प्रविधि भए पनि समाजको सम्पूर्ण यथार्थ त्यसले मात्र मुखरित गर्न सक्दैन, प्रविधिले जनताको क्षमताको विस्तार गर्छ, समाजलाई नयाँ बाटो देखाउँछ । तर सञ्चार प्रविधिले प्रस्तुत गर्ने लोभलाग्दो तस्बिर र साँचो संसारको खाड्लको हेक्का खासगरी समाजसँग जोडिन चाहनेहरूले राख्नै पर्छ । यथार्थको अर्कै चित्रण गर्न सक्ने मामिलामा इन्टरनेटमा आधारित मिडिया र सामाजिक सञ्जाल टेलिभिजनको दाँजोमा कैयौँ गुना शक्तिशाली छन् । एक डेढ दशकअघिसम्म इन्टरनेटले मानिसलाई टेलिभिजनको पकडबाट मुक्त तुल्याउँदैछ भनिन्थ्यो, आज इन्टरनेटको दुरुपयोग पनि उत्तिकै समस्या बन्न पुगेको छ ।
टेलिभिजनको सुरुवात भएपछि यसको निरन्तर प्रवाह, यसले निरन्तर प्रस्तुत गर्ने अन्तर्वस्तु छापा माध्यम र रेडियोभन्दा व्यापक थियो । तर इन्टरनेटको प्रादुर्भावपछि प्रवाहको अद्भूत स्वरूप देखिएको छ, जसको अन्त्य भेटिँदैन । अब इन्टरनेटसँगै टेलिभिजनका उत्पादन र प्रसारण कार्यको सम्मिलन भइसकेको छ । जसलाई मिडिया कन्भर्जेन्सको दृष्टान्तका रूपमा लिन सकिन्छ ।
टेलिभिजन कार्यक्रम वा अन्तर्वस्तुको बदलिएको समाजशास्त्र, कार्यक्रम उत्पादन र प्रसारको क्षेत्रमा भएको अकल्पनीय प्राविधिक प्रगतिले हामी उपभोक्तालाई नयाँ ठाउँमा ल्याइपु¥याएको छ । मिडिया सम्मिलनको यस युगमा कुनै एउटा सञ्चार माध्यम मात्रै मौलिक रहेन । झन इन्टरनेटमा आधारित मिडियालाई त हामी एकै पटक अखबार, रेडियो र टेलिभिजनका स्वरूपमा प्रयोग गरिरहेका छौँ । तर माध्यम जति बदलिए पनि अन्तर्वस्तु मूलतः मानव रुचि र संवेदनामा आधारित नै हुन्छ । नेपालमा टेलिभिजनका बितेका पैँतीस वर्षको विकास, मलाई केलाउँदा यो छोटो इतिहासमा राजनीतिक कारणले सिर्जित बन्देज, गलत प्रयोग र नियन्त्रण र खुलापनको चरण पनि अनुभव गरिसकेका छौँ । अब हामी उपभोक्ता मिडिया सम्मिलनले दिएको अवसरको सदुपयोग गर्दै नैतिक मूल्य मान्यता र जिम्मेवारीपना सहितको जीवनोपयोगी अन्तर्वस्तुको उत्पादन र प्रसारणको चरण सुरु भएको देख्ने अपेक्षा गरिरहेका छौँ ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)