कमल रिजाल
नेपाल भ्रमण वर्ष सुरु भएको छ यही जनवरी १ तारिखदेखि । देश विदेशमा यसको व्यापक प्रचारप्रसार भइरहेको छ । भ्रमणवर्ष सफल पार्न राज्यसंयन्त्रदेखि नागरिक समाजसम्म सबै तह र तप्काले उत्तिकै सक्रियता देखाउनुपर्छ । मुलुकमा पर्यटकीय महìव बोकेका प्राचीन सम्पदा तथा धार्मिक स्थलहरू प्रशस्तै छन् । तिनको समेत व्यापक प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्नेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ । धार्मिक दृष्टिले बढी पर्यटकीय महìव बोकेका स्थानहरूमा जनकपुर पनि पर्छ । विशिष्टतम तीर्थक्षेत्रले पनि परिचित छ यो स्थान । तीर्थका अनेक भेद छन् । तिनमा जङ्गमतीर्थ, मानस तीर्र्थ र स्थावर तीर्थ विशेष मानिन्छन् । यीमध्ये जनकपुर स्थावर तीर्थमा पर्छ ।
झण्डै डेढ अर्ब हिन्दूहरूको आस्था र विश्वासको केन्द्र मानिन्छ पावन भूमि जनकपुर । माता सीताको जन्मभूमि भएकाले संसारभरिकै हिन्दूहरू यथासम्भव पुग्न चाहन्छन् यस स्थानमा । आदर्श नारी हुन् सीताजी । उनलाई लक्ष्मीको अवतार मान्नेहरू पनि त्यत्तिकै छन् । कतिपयले त्रेतायुगको संहारकर्ता नै मानेका छन् । सत्ययुगकी दुर्गा, त्रेतायुगकी सीता, द्वापरयुगकी द्रौपदी र कलियुगकी काली संहारकर्ता शक्ति हुन् भनेको छ पौराणिक दर्शनले । जसले जे भने पनि आदर्श नारी भने पक्कै हुन् उनी ।
पर्यटनको परम्परा वैदिक युगदेखि नै चल्दै आएको हो । वैदिक मन्त्रहरू आफैँ पर्यावरणीय संस्कृतिका उपज हुन् । वेदका केही मन्त्र गङ्गा, यमुना र सरस्वतीको किनारमा लेखिएका छन् । केही मन्त्र गण्डकी, कोशी, कर्णाली किनारमा लेखिएका छन् । हिन्दूकुश क्षेत्रदेखि मानसरोवर आसपास हुँदै पूर्वतर्फ बढ्ने क्रममा गिरि, कन्दरा तथा हिमालयको काखलगायत विभिन्न स्थानमा बसेर वेद मन्त्र लेखे ऋषिमुनिहरूले । युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्ण सागरको उत्तरी क्षेत्रतिर पर्ने रुसको भोल्गा नदीको किनारको सिन्तास्ता भन्ने स्थानमा बसोबास गर्ने भारोपेलीहरू (डा. माधवप्रसाद पोखरेल, नयाँ पत्रिका भदौ १४, २०७६) ले मूल थलोबाट अघि बढ्ने क्रममा जहाँजहाँ पुगे, जे जे भोगे र जे जे देखे त्यसैलाई विषयवस्तु बनाई वैदिक मन्त्रहरू लेख्दै गएका हुन् भन्ने अनुमान छ तर आर्य र अनार्यबारे भने मतभेद छ । कसैले आर्यहरू छुट्टै र खसहरू छुट्टै हुन् भनेका छन् । डा. पोखरेलको आशय पनि त्यस्तै भेटिन्छ । कतिले वैदिक आर्य र खस आर्यको कुरा पनि गरेका छन् । वास्तविकता के हो छुट्टै अनुसन्धानको विषय हुनसक्छ ।
वैदिक मन्त्र देख्ने र लेख्ने भने ऋषिमुनिहरू नै हुन्, जो वैदिक आर्य पनि हुन सक्छन्, खस आर्य पनि हुन सक्छन् । वेदमा सर्वप्रथम अग्निको वन्दना गरेका छन् उनीहरूले । आगोको खोजकर्ता पनि उनीहरू नै हुन् । वेदको पहिलो मन्त्र नै अग्निको वन्दनामा लेखिएको छ । त्यसपछि पृथ्वी जल, वायु, आकाशको वन्दना गरिएको छ । पशुपक्षी, कीट, पतङ्ग, वन, जङ्गलको वन्दनामा लेखिएका मन्त्रहरू पनि प्रशस्तै छन् । यहाँ सूर्यलाई पनि देवता मानिएको छ, चन्द्रमालाई पनि देवता मानिएको छ । हलो, जुवा, अनौ, फाली, गाई, गोरु, गोठ, पानीघाट, धागो, चर्खा, ओखल, मुसल, ढिकी, जाँतो आदि जीवनोपयोगी यावत् पक्षको सम्मान र सम्झना गरिएको छ । यायावर संस्कृतिले दुनियाँलाई सर्वप्रथम पढाएको पाठ यिनै हुन् । यसैमा होस्टे हैँसे गर्दै दुनियाँ यहाँसम्म आइपुगेको हो ।
उपनिषद् युगमा पर्यटन परम्परा एक किसिमले संस्थागत स्वरूपमै आबद्ध हुन पुगेको पाइन्छ । खासगरी त्यतिबेलाका पर्यटन ज्ञान र शिक्षासित सम्बन्धित थियो । टाढा–टाढादेखि विद्यार्थीहरू अध्ययनका लागि गुरुकुलमा आउँथे । गुरुकुलमा पाएको ज्ञानको ज्योति आ–आफ्नो ठाउँसम्म पु¥याउँथे । त्यतिबेला एक ठाउँको संस्कार र संस्कृति अर्को ठाउँसम्म पु¥याउने एक किसिमको माध्यम नै बनेका थिए उनीहरू । नजानेको कुरा अरूसँग सोध्ने र पाएको ज्ञान अरूलाई दिने त्यतिबेलाको मूलभूत विशेषता नै हो । वसुधैव कुटुम्बकम् जस्ता आदर्श मान्यताको जग त्यतिबेलै बसेको हो । हिजोआज पनि त्यस्तो कुरा गरिन्छ, सुनिन्छ तर केवल सिद्धान्तमै सीमित छ । सारा संसारलाई एउटै परिवार मान्ने उपनिषद्को आर्ष वाक्य फोस्रो आदर्शबाहेक केही हुन सकेको छैन ।
पौराणिक युगले पर्यटन परम्परालाई नयाँ रूप दिएको पाइन्छ । यतिबेलाको पर्यटन धार्मिक किसिमको हुने गरेको छ । त्यतिबेलाका मानिस तीर्थाटनका लागि एक देशबाट अर्को देशमा पुग्थे । सभ्यता सिक्थे, भूगोलको जानकारी लिन्थे, संस्कृतिको जानकारी लिन्थे । संसारका विभिन्न स्थानमा विना रोकटोक आवतजावत गर्थे । एक ठाउँको संस्कृति अर्को ठाउँमा पु¥याउँथे । यी क्षेत्रमा हाल जे जति वास्तुकला, मूर्तिकला, चित्रकला तथा तिनका भग्नावशेष छन् सबै यसैका उपज हुन् । त्यतिबेला सेवा र धर्मको कुरा गरिन्थ्यो । यसैलाई नै जीवनको उद्देश्य बनाइन्थ्यो । पर्यटन परम्पराले यसैलाई हुर्काउने र बढाउने गरेको छ । हरेक मुलुक तथा तिनका शासक आ–आफ्ना देशमा आउन्, उताको कला, साहित्य, संस्कृतिको जानकारी दिउन्, यताको जानकारी लिएर जाउन् भन्ने चाहन्थे ।
जनकपुर सूर्यवंशी राजा जनकको राजधानी हो । भागवतमा व्यासले उनीबारे राम्रै तस्बिर प्रस्तुत गरेका छन् । व्यासका अनुसार एकपटक गुरु वसिष्ठका श्रापका कारण सूर्यवंशी राजा निमीले देहमुक्त हुनुपरेको थियो । त्यसपछि ऋषिहरूले उनको शरीर मन्थन गरी एक कुमार उत्पन्न गरेका थिए, जसलाई जनक भनिन्थ्यो । विदेहबाट उत्पन्न भएकाले उनलाई वैदेह पनि भनियो । मन्थनक्रिया (आधुनिक क्लोनप्रविधि) बाट उत्पन्न भएकाले मिथिल पनि भन्ने गरिएको थियो । यिनैले नै मिथिलापुरी बसाएका हुन् ।
‘जन्मना जनकः सोऽभूत् वैदेहस्तु विदेहजः ।
मिथिलो मथनाज्जातो मिथिला येन निर्मिता ।’
(भागवत ९।१३।१३)
तर त्यतिबेलाको मिथिला हालको जनकपुर क्षेत्रमा मात्र सीमित थिएन, आधुनिक भारतको निकै ठूलो भूभाग समेटेको थियो । केही शताब्दी अघिसम्म नेपाल–भारतको भन्सार नाका नै हाँजीपुर विहार) मा रहेको कुरा इतिहासले बताउँछ । (केदार भट्टराई गोरखापत्र असार २२, २०७६) राजर्षि जनक तिनै मिथिलका वंशज हुन्, जसलाई सीरध्वज भनिन्छ ।
‘ततः सीरध्वजो जज्ञे यज्ञार्थं कर्षतो महीम् ।
सीता सीराग्रतो जाता तस्मात् सीरध्वजः स्मृतः ।’
(श्रीमद्भागवत ९।१३।१८)
सीता तिनै राजर्षि जनककी छोरी हुन् तर उनकी आत्मजा भने होइनन् । राजा जनकले यज्ञका लागि सुनको हलोले जमिन उत्खनन गर्दा भेट्टाएका थिए रे उनलाई । भनिन्छ, हलोको सियोबाट प्रकट भएकीले उनको नाम सीता राखिएको हो । पौराणिक युगमा कुनै विशेष यज्ञ गर्नुपर्दा यज्ञस्थललाई सुनको हलोले जोतेर पवित्र पार्ने गरिन्थ्यो ।
जनकपुरजस्तै धार्मिक पर्यटकीय महìव बोकेका प्रशस्तै स्थान छन् नेपालमा तर सम्यक् प्रचारप्रसारको अभावमा भिल्लका देशका मणिमा सीमित हुन पुगेका छन् । प्रत्येक मठ, मन्दिर, मूर्ति, नदी, ताल, जलाशय तथा तीर्थस्थलका आफ्नै दर्शन छन्, सिद्धान्त छन्, विशेषता छन् । पर्यटन विकासका लागि तिनको सतही चर्चाले मात्र पुग्दैन । पिँधैसम्म पुगेर उत्खनन गर्नुपर्ने हुन्छ । कुन स्थान, मन्दिर, मूर्ति तथा तीर्थ कहिलेदेखि किन र कसरी स्थापना भए, बने, बनाइए, पहिले कस्तो थियो, अहिले कस्तो छ, किन त्यस्तो भयो आदि कुराको समेत जानकारी दिने काम गर्नुपर्छ । यसैका लागि उपनिषद्युगीन ऋषिकुमारले पर्यटन परम्परा बसाएका थिए । उनीहरूले सोचेजस्तै समाज निर्माण गर्न सके पर्यटक वृद्धिमा सहयोग पुग्ने मात्र होइन, सभ्यता र संस्कृतिको जगेर्नामा समेत सहयोग पुग्नेछ । नेपाल भ्रमण वर्ष मनाइरहँदा हाम्रो ध्यान त्यतातिर पनि जानुपर्ने देखिन्छ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)