logo
२०८१ मंसिर १२ बुधवार



आधुनिकता कि विकृति !

विचार/दृष्टिकोण |





उदय रानामगर

जीवन र जगत्सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै दर्शन हो । पूर्वीय दर्शनले आत्मिक सुख, आशिर्वचन, अरूको भलो, आत्मानुशासन, आफैँभित्र संसार खोज्ने अभ्यास र न्याय र समानताजस्ता आधारभूत पक्षलाई समेटेको छ । पूर्वीय दर्शन नेपाली संस्कार र संस्कृतिको द्योतक हो । नेपाली संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिककालसम्म आइपुग्दा विभिन्न उतारचढाव हुँदै आएको पाइन्छ । इसाको पहिलो इतिहासदेखि नवौँ इतिहासमा लिच्छविकालीन शासनको उपज नै नेपाली समाजको आधारस्तम्भ हो ।
लिच्छविकालमा केन्द्रदेखि ग्रामसम्मको प्रशासनिक व्यवस्था गरेको र हिन्दु तथा बौद्ध धर्म तथा दर्शनमा आधारित सांस्कृतिक एवं सामाजिक संरचना, लिच्छवि लिपि र संस्कृत भाषा, धार्मिक सहिष्णुताको साथै विभिन्न प्रथा, चाडपर्वजस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यताका आधारमा नै नेपाली समाज र संस्कृतिको विकास हुँदै आएको छ । नेपाली संस्कृति लोकजीवनमा पनि आधारित छ । त्यसैले साहित्य, सङ्गीत, कला, लोकसंस्कृतिको मूल स्रोतका रूपमा नेपाली संस्कृतिलाई लिइन्छ । नेपाली जनजातिका मौलिक संस्कृति र परम्परा यस मुलुकका सांस्कृतिक सम्पदा हुन् । वैदिक सनातनका मूल्य मान्यता र परम्परा नेपालमा मार्गदर्शक सिद्धान्त बन्दै आएका छन् । नेपालमा बसोवास गर्ने प्रत्येक जातजाति समुदायमा कुनै न कुनै रूपमा पूर्वीय दर्शनको प्रभाव छ । नेपाली संस्कार, संस्कृति, हिन्दु धर्म सोही दर्शनका आधारमा प्रचलनमा रहिआएको छ ।
नेपाली समाज रूपान्तरणको क्रममा अहिले चरमबिन्दुमा पुगेको भान हुन्छ । हुन त रूपान्तरित समाज कति उचाइमा पुगेपछि निहुरिन्छ भनेर आँकलन गर्न गाह्रो नै होला तर हाम्रो धार्मिक दर्शनको भनाइ मान्ने हो भने अब कलियुगको प्रारम्भ भइसकेको छ । समाजमा विकासको नाममा हुने गरेको विकृतिले विनासको आमन्त्रण गरिरहेको छ भन्न सकिन्छ । ५० वर्ष पहिलेको नेपाली समाज र अहिलेको नेपाली समाजलाई हेर्दा यो बाटोतर्फ समाज जाँदैछ कि भनेर अनुमान गर्न कठिन छैन । विज्ञान र प्रविधि प्रयोगले समाजलाई त्यसतर्फ धकल्दैछ । परिवर्तनकारी समाजको दृष्टान्तलाई हेर्दा परिवर्तनको गन्तव्य सही छ वा गलत छुट्याउन हम्मे नै छ । यो कुरालाई हाम्रो समाजमा नै घटित केही दृष्टान्तले पुष्टि गर्छ ।
एकजना मित्र जो आफूलाई अमेरिकी संस्कारमा २० वर्षसम्म बसेर नेपाल फर्केर आएको बताउँछन् । पश्चिमी समाज र संस्कृतिलाई राम्रोसँग बुझेको मित्र त्यही संस्कृति नै नेपालको समृद्धि बताउँछन् । तर एक दिन मित्रसँगको छोटो बसाइको क्रममा उसले साटेको अनुभवले आङ नै सिरिङ भयो । नेपाली चेलीहरू पतिको सतित्वमा बस्नु धर्म हुने कुरा संस्कारकै रूपमा लिने गरेका छन् । मित्रकी श्रीमती पनि नेपाली नै भएकाले त्यो संस्कारभन्दा फरक संस्कारमा पक्कै हुर्केको होइन होला । तर दुई साथीबीचको सल्लाह बमोजिम श्रीमती साटेर रम्ने योजना बुनेर यो कार्य गरेको अनुभव मसँग निसङ्कोच सुनाउँछन् । यो संस्कार पाश्चात्य मुलुकमा सामान्य हुन सक्ला । तर हाम्रोजस्तो पूर्वीय दर्शनबाट प्रशिक्षित समाजका लागि यस्तो सोच्न सक्ने कुरै होइन । हाम्रो समाजले खोजेको संस्कृतिको विकास यही हो त ? किमार्थ होइन । यसलाई विकसित समाजको दृष्टान्त मानेर यसको अवलम्बन गर्ने होे भने हाम्रो समाज भोलि कहाँ पुग्ला ?
अर्को दृष्टान्तको रूपामा एकजना मित्रकी श्रीमतीसँग स्वास्थ्यको कारणले गर्दा सम्बन्ध राम्रो छैन । उनको स्वास्थ्यको कारण श्रीमानको यौन प्यास मेटाउन असक्षम छिन् । यही कमजोरीको फाइदा उठाउँदै उसले श्रीमतीलाई बाध्य बनाएर केटीसाथी राख्न पाउने अनुमति लिएको छ । त्यतिमात्र कहाँ हो र ! घरमा नै सबै छोराछोरीको अगाडि केटीसाथी राख्ने गरेको कुरा सुनाउँछ । उनको श्रीमती अनि छोराछोरी सबैले बाबाको खुशीका लागि उनको केटीसाथीलाई स्वीकारेको अवस्था छ । श्रीमानको खुसीका लागि श्रीमतीले मुटुमाथि ढुङ्गा राखेर यो बाध्यताको माखेसाङ्लोमा बाँधिन बाध्य रहिछन् । समाजमा यस्ता दृष्टान्त धेरै छन् । के हाम्रो समाजले यो संस्कारलाई सही हो भनेर मान्दा समाजको समुन्नति होला ? यो तर्कसँग सहमत हुन सकिन्न । हाम्रो विकासको बाधक हाम्रो धार्मिक संस्कार होइन, हामीमा विकास हुँदै गरेको कुसंस्कार नै हो । त्यसको अतिरिक्त आधुनिकताको नाममा फेरि पनि समाजमा महिला नै प्रताडित हुनुपर्ने हो भने हामीलाई त्यो संस्कार स्वीकार्य हुनुहुँदैन ।
लिभिङ टुगेदर अर्थात् सँगै बस्ने प्रथा पनि पश्चिमी संस्कृतिको उपज हो । नेपालको सहरी क्षेत्रमा भित्रिइसकेको छ । अहिले सहरिया युवायुवती सहरमा सँगै एउटै कोठामा बस्ने गरेको पाइन्छ । यसरी विवाह नगरी सँगै बस्ने संस्कार हाम्रो होइन । यसरी बस्दा गैरकानुनी रूपमा बच्चा जन्मने र ती बच्चाहरू कि त मृत्युको शिकार हुने कि त उनीहरूको आमाबाबुको पहिचानमा कानुनी समस्या आउने गरेको छ । कानुनी आधारमा दण्डनीय छ । तर सहरी जीवनशैलीले यो विकृतिलाई अपनत्व लिन थालेकाले जटिलता थपिँदै गएको छ । नेपाली संस्कार र कानुनले समेत नमान्ने यो संस्कारकै कारण सहरी जीवन थप जटिल बन्दै आएको छ । यो कुप्रथाले अझ भयाभह रूप लिने निश्चित देखिन्छ ।
नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार हो । तर आज यो संस्कार धराशायी हुँदै गएको छ । आफ्ना तथा पराई कोही नभई सबैमा आफ्नै परिवारभित्रको सदस्यझैँ माया, सम्मान र आदर गर्ने संस्कारी स्वभाव नेपाली समाजको हो । यो संस्कारमा पनि बादल लाग्न थालेको छ । एकाङ्की समाजको रूपमा नेपाली समाजको विकास र विस्तार हुँदै गएको छ । बाबाआमाले कमाएको सम्पत्ति हड्प्ने र पछि बुढेसकालमा उनीहरूलाई घरबाट निकाल्ने प्रवृत्ति बढ्दै गएको छ । वृद्धावस्थामा बढी स्याहारसुसार गर्नुपर्ने समयमा घरबाटै बाहिरिनुपर्ने नेपाली संस्कार होइन । यो पश्चिमी संस्कारको सिकाइको रूपमा नेपाली समाजमा भित्रिइसकेको छ । आज धेरै ज्येष्ठ नागरिकलाई सडकका पेटी र वृद्धाश्रममा देख्न पाइन्छ । आफ्ना बाबाआमाप्रतिको दायित्वसमेत निर्वाह नगर्ने गलत संस्कार विकास हँुदैछ ।
त्यसैगरी आत्मीयता र अनुभवको साटासाट गर्ने संस्कार नेपाली समाजको अर्को गहना हो । नचिनेकै जोकोही भए पनि एकापसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो संस्कार विश्वले नै नमुना मान्ने गर्दथ्यो । मानौँ एउटा छोटो दूरीको बसयात्रा गर्दा पनि सँगै सिटमा बसेकासँग चिनजान गर्ने र अनुभवको साटासाट गर्ने, छोटो समयको चिनजानलाई दिगो बनाई राख्नेजस्ता आत्मीयता प्रदर्शन गर्ने संस्कार नेपालीमा थियो । यसबाट आत्मीयता बढ्नुका साथै एकअर्काले जानेको ज्ञानको प्रसार छिटै हुने गर्दथ्यो । तर आज नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुनथालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ ।
नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति भित्रिइसकेको हँुदा यसबाट नेपाली समाजलाई बचाउन आवश्यक छ । नेपाली समाजको जग नै पूर्वीय दर्शन भएकाले नेपाली समाज र संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रशिक्षण आवश्यक छ । यसका साथै नेपाली समाजमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिलाई हटाउँदै राम्रा र अनुसरणयोग्य संस्कार र संस्कृतिलाई अगाडि बढाउ्नुपर्छ । यसो गर्न सकेमा नेपाली संस्कारको पनि जगेर्ना हुन्छ । अर्कोतिर आधुनिकतालाई समेत सँगै लैजान सकिने वातावरण निर्माण हुन्छ ।
(लेखक झापाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?