logo
२०८१ मंसिर १२ बुधवार



यसरी बुझौँ जनवादलाई

विचार/दृष्टिकोण |





डा. बेदुराम भुसाल

जनवादको परिभाषा
शाब्दिक अर्थमा जनवाद अङ्ग्रेजी भाषाको ‘डेमोक्रेसी’ शब्दको नेपाली रूप हो । अब्राहम लिङ्कनको ‘जनताका लागि जनताद्वारा जनताको सरकार’ भन्ने उक्तिलाई धेरैले डेमोक्रेसीको परिभाषाका रूपमा मान्ने गरेको पाइन्छ । इन्साइक्लोपेडिया ब्रिटानिकाका अनुसार “डेमोक्रेसी भनेको सरकारको त्यो रूप हो जहाँ जनताले ग्रिक नगरराज्यमा जस्तै आफंँै प्रत्यक्ष रूपमा वा आफ्ना प्रतिनिधिहरूमार्पmत शासन गर्दछन् ।” त्यसैगरी अक्सफोर्ड इङ्गलिस डिक्शनरीका अनुसार “डेमोक्रेसी सरकारको त्यो रूप हो जहाँ सार्वभौमसत्ता सम्पूर्ण जनतामा रहन्छ र त्यसको प्रयोग जनताद्वारा या त प्रत्यक्ष रूपमा या उनीहरूद्वारा निर्वाचित अधिकारीहरूमार्पmत हुने गर्दछ ।” प्रज्ञा दर्शन कोशका अनुसार “जनवाद सामन्ती शासन व्यवस्थाको अन्त्यपछि स्थापित हुने शासन व्यवस्था” हो । मदन भण्डारीका अनुसार “जनवाद अन्तिम रूपमा वास्तविक हैसियतले र पूर्णताका साथ जनतालाई देशको राजनीति र व्यवस्थाको निर्णायक तŒव बनाउने विषय हो र देशको वास्तविक मालिक बनाउने विषय हो ।”
डेमोक्रेसी पश्चिममा ग्रिक नगर राज्यको समयदेखि अस्तित्वमा रहेको मानिन्छ भने पूर्वमा हाम्रै नेपालको शाक्य, कोलीय र विदेह गणतन्त्रको समयदेखि नै अस्तित्व रहेको मानिन्छ । यसको व्यावहारिक प्रयोग भने सधैँ एउटै नभएर फरक– फरक ढङ्गले हुने गरेको छ । ग्रिक नगर राज्यको युगमा नगरका सबै नागरिकहरू समय समयमा एक ठाउँमा भेला भई विधायनसम्बन्धी र राजकीय मामिलाका सबै विषयमा निर्णय गर्दथे । हाम्रो शाक्य गणतन्त्रमा पनि शाक्य कुलका सबै पुरुषहरू एक ठाउँमा भेला भएर राजकीय मामिलाका विभिन्न विषयमा निर्णय गर्ने गर्दथे ।
समयक्रममा ठूला राज्य र साम्राज्यहरू खडा हुँदै गएपछि प्राचीन जनतन्त्रात्मक व्यवस्था विस्थापित भयो । वंशानुगत राजतन्त्रात्मक शासन व्यवस्थाको विकास भयो । राजा महाराजाहरूले दैवी अधिकारको सिद्धान्तका आधारमा स्वेच्छाचारी ढङ्गले शासनसत्ता सञ्चालन गर्न थाले । विधिको शासन होइन, व्यक्तिको हुकुमी शासन चल्न थाल्यो । त्यसखालको व्यवस्थालाई सामन्ती शासन व्यवस्था भनियो ।
इसाको सत्रौँ शताब्दीमा आएर प्राकृतिक अधिकारको सिद्धान्त प्रतिपादन भयो । त्यस सिद्धान्तले दैवी अधिकारको सिद्धान्तमाथि कडा प्रहार ग¥यो । व्यक्तिको होइन, विधिको शासन हुनुपर्ने सिद्धान्त पनि प्रतिपादन गरियो । प्राकृतिक अधिकार र विधिको शासनसम्बन्धी सिद्धान्तको मार्गदर्शनमा स्वेच्छाचारी शासन व्यवस्थाका विरुद्ध ठूलाठूला आन्दोलन र क्रान्तिहरू भए । तिनै आन्दोलन र क्रान्तिबाट जननिर्वाचित प्रतिनिधिहरूद्वारा सञ्चालन गरिने शासन व्यवस्थाको जन्म भयो । त्यसप्रकारको शासन व्यवस्थालाई आधुनिक प्रजातन्त्र भनियो । यसलाई संसदीय प्रजातन्त्र पनि भन्ने गरिन्छ । यही आधुनिक प्रजातन्त्र या मोडर्न डेमोक्रेसीलाई नेपालीमा प्रजातन्त्र, जनवाद, जनतन्त्र, लोकतन्त्र आदि भन्ने गरिएको छ । आर्थिक सामाजिक चरित्रको हिसाबले यो व्यवस्था सामन्तवादका विरुद्ध सङ्घर्ष गरेर त्यसलाई विस्थापित गरी स्थापित भएको वा हुने पुँजीवादी व्यवस्था हो ।
जनवादका प्रकार
सन् १९१७ मा रुसमा एउटा ठूलो क्रान्ति भयो । अक्टुबर समाजवादी क्रान्ति भनिने त्यस क्रान्तिपश्चात् विश्वमा दुई प्रकारका शासनव्यवस्था प्रचलित भए । एउटा पहिलेदेखि चलिआएको संसदीय प्रजातान्त्रिक शासन व्यवस्था र अर्को सोभियत शासन व्यवस्था । दोस्रोे विश्वयुद्धका क्रममा पूर्वी युरोपका विभिन्न मुलुकमा कम्युनिष्ट पार्टीहरूले सत्ता हातमा लिए र सोभियत ढाँचाको जनवादी शासनव्यवस्था लागू गरे । त्यसबेला पूर्वी युरोपमा लागू गरिएको व्यवस्थालाई राष्ट्रिय चरित्रको जनताको जनवाद भनियो । त्यसै समयमा चीनमा जनवादी क्रान्ति अगाडि बढ्दै गर्दा त्यहाँ कस्तो शासन व्यवस्था स्थापना गर्ने भन्ने बहस भयो । त्यसक्रममा माओ त्सेतुङले जनवादलाई पुरानो र नयाँ भनी दुई प्रकारमा विभाजन गरी पुरानो जनवादलाई बुर्जुवा वर्गको अधिनायकत्व र नयाँ जनवादलाई तमाम क्रान्तिकारी वर्गहरूको संयुक्त अधिनायकत्वका रूपमा प्रस्तुत गर्नुभयो ।
पुँजीवादी व्यवस्थाको प्रारम्भिक चरणमा पुँजीपति वर्ग प्रगतिशील चरित्रको थियो र त्यसले सामन्ती शासन व्यवस्था विरोधी क्रान्तिको नेतृत्व गरेको थियो । तर रुसको अक्टोबर समाजवादी क्रान्तिपश्चात्को परिस्थितिमा भने उसले त्यो प्रगतिशील भूमिका निर्वाह गर्न छाड्यो । उसले आफ्नो पुरानो विरोधी शक्ति सामन्त वर्गसँग सम्झौता ग¥यो र सर्वहारा श्रमजीवी वर्गविरुद्ध खडा भयो । त्यसो भएपछि अब पुँजीपति वर्गको नेतृत्वमा सामन्तवाद विरोधी क्रान्ति हुन सक्ने सम्भावना समाप्त भएकाले सर्वहारा श्रमजीवी वर्गले नै सामन्तवाद विरोधी क्रान्तिको पनि नेतृत्व गर्नुपर्ने भयो । उता साम्राज्यवादी शोषण–दमन र उत्पीडनका विरुद्ध सङ्घर्ष गर्नुपर्ने दायित्व त श्रमजीवी वर्गको काँधमा रहेको मानिँदै आएको थियो । उपयुक्त आधारमा पहिले पुँजीपति वर्गको नेतृत्वमा सामन्तवादका विरुद्ध क्रान्ति गरेर स्थापना गरिएको पुँजीवादी जनवादी व्यवस्थालाई पुरानो जनवाद र पछि सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद दुवैका विरुद्ध क्रान्ति गरेर स्थापना गरिने व्यवस्थालाई नयाँ जनवाद भन्न थालियो । यस नयाँखाले जनवादलाई जनताको जनवाद, राष्ट्रिय जनवाद, जनताको बहुदलीय जनवाद आदि पनि भन्ने गरियो । मदन भण्डारीका अनुसार यी दुईखाले जनवादबीच भिन्नता देखाउने मूल राजनीतिक तŒवहरू हुन् ः “पुरानो जनवादमा पुँजीपति वर्ग नेता थियो, अहिले श्रमजीवी वर्ग नेता हुनुपर्छ । पुरानो जनवादले समाजवादको समर्थन गरेको थिएन, अहिले समाजवादको पक्षमा छ । पहिले पुँजीपति वर्गको हातमा राज्य खडा थियो, अहिले जनताको हातमा राज्य हुनुपर्छ । पहिले समन्तवाद मात्र शत्रुको रूपमा थियो, अहिले त्यसका साथै दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवाद पनि शत्रु छन् ।”
जनवादको उपर्युक्त विभाजनमा प्राचीन ग्रिक नगर राज्यहरूमा प्रचलित जनवाद र शाक्य गणतन्त्रलगायत पूर्वका प्राचीन गणतान्त्रिक राज्यहरूमा प्रचलित जनवादलाई समेटिएको छैन । त्यसैले उपयुक्त विभाजन आधुनिक जनवादको मात्रै विभाजन हो ।
जनवादका दुई प्रकारसम्बन्धी उपर्युक्त धारणाहरू बीसांँै शताब्दीका व्यावहारिक अनुभवमा आधारित छन् । तर बीसांँै शताब्दीकै असी र नब्बेको दशक तथा एक्काइसौँ शताब्दीको प्रथम दशकमा आएर उपर्युक्त दुई प्रकारका जनवादभन्दा फरक ढङ्गले पनि विभिन्न मुलुकमा परिवर्तन भएका छन् । सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया लगायतका मुलुकहरूमा पुँजीवादी क्रान्तिविना नै पुँजीवादकोे विकास भएको छ । नेपालमा सर्वहारा श्रमजीवी वर्ग र बुर्जुवा वर्ग दुवैको संयुक्त नेतृत्वमा निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गरेर त्यसलाई संवैधानिक राजतन्त्रमा परिणत गर्ने र पछि उसले प्रतिगमनकारी कदम चालेपछि फेरि उर्पयुक्त दुवै शक्तिको नेतृत्वमा नै शान्तिपूर्ण जनक्रान्तिमार्फत राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने कार्य सम्पन्न भएको छ । यी अनुभवहरू छुट्टै खालका अनुभव हुन् ।
इतिहास र वर्तमानका आधारमा जनवादलाई हेर्नुपर्दा पहिलो कुरा त प्राचीन कालको कविलातन्त्रीय जनवाद र आधुनिक कालको जनवादलाई छुट्याउनु पर्दछ । दोस्रो आधुनिक जनवादका प्रकार र तिनका अन्तर्वस्तु एवं रूपको भेद छुट्याउनु पर्दछ । समाजको विकाससँगै शासनव्यवस्थामा परिवर्तन हुँदै आएको ऐतिहासिकताको कोणबाट आधुनिक जनवादलाई हेर्दा जनवाद भनेको सामन्तवादी व्यवस्थाको अन्त्यपछि स्थापित हुने पुँजीवादी व्यवस्थाको शासन प्रणाली हो । यसका दुई प्रकार छन् । तिनका अन्तर्वस्तुमा केही आधारभूत भिन्नता छन् र रूपमा विविधता छ । अन्तर्वस्तुको हिसाबले हेर्दा पुरानो जनवादमा पुँजीपति वर्गको नेतृत्व हुन्छ र त्यसले मूलतः पूँजीपति वर्गको हितमा काम गर्छ भने नयाँ जनवादमा श्रमजीवी वर्गको नेतृत्व हुन्छ । त्यसले मूलतः श्रमजीवी वर्गको हितमा काम गर्छ ।
पुरानो जनवादले सामन्तवादको मात्र विरोध गर्छ भने नयाँ जनवादले सामन्तवाद र दलाल–नोकरशाही पुँजीवाद एवं साम्राज्यवादको समेत विरोध गर्छ । पुरानो जनवादको भावी दिशा पुँजीवादको चरम विकास हो भने नयाँ जनवादको भावी दिशा वैज्ञानिक समाजवाद हो । रूपको हिसाबले हेर्दा पुरानो जनवादमा संवैधानिक राजतन्त्रात्मक तथा गणतन्त्रात्मक र गणतन्त्रात्मक अन्तर्गत संसदीय तथा राष्ट्रपतीय प्रणाली रहेको पाइन्छ भने नयाँखाले जनवादमा जनताको जनवाद, राष्ट्रिय जनवाद, राष्ट्रिय जनताको जनवाद, नयाँ जनवाद र जनताको बहुदलीय जनवाद आदि नाम प्रयोग गरेको पाइन्छ । तेस्रो प्रकारका जनवादी व्यवस्थाको अन्तर्वस्तु मिश्रित छ र रूप बहुदलीय जनवादी छ ।
(लेखक नेकपाका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?