logo
२०८१ मंसिर १२ बुधवार



प्रयोगात्मक परीक्षाको मापदण्ड (सम्पादकीय)

विचार/दृष्टिकोण |






विश्वविद्यालयका थेसिस, क्याम्पस तथा विद्यालयका प्रयोगात्मक परीक्षाको मूल्याङ्कन विधि र दिइने अङ्कको औचित्यमाथि विभिन्न कोणबाट असन्तुष्टि आइरहेका हुन्छन् । सौद्धान्तिक (लिखित) मा उत्तीर्ण पनि नगर्ने विद्यार्थीले प्रयोगात्मक परीक्षामा पूर्णाङ्क नै प्राप्त गरेका पाइन्छन् । यसबाट जेहेन्दार र उत्कृष्टभन्दा सम्पर्क र टाठाबाठा विद्यार्थी लाभान्वित हुनेगरेका कतिपय भुक्तभोगी विद्यार्थीको अनुभव छ । प्रवेशिका तथा कक्षा ११ र १२ को वार्षिक परीक्षाको नतिजा अध्ययन गर्ने हो भने कमजोर वा अब्बल विद्यार्थी सबैलाई प्रायः एकैखाले अङ्क प्रदान गर्ने गरेको पाइन्छ । यस्तो परीक्षा प्रणालीमा सुधारको अपेक्षा गरिँदै आएकामा अबदेखि निर्धारित आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाउने गरी मापदण्ड तयार गरिएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्द्वारा बिहीबार स्वीकृत विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरी प्रयोगात्मक परीक्षालाई वस्तुपरक बनाउने प्रयास गरिएको छ । यसअघि सम्बन्धित शिक्षकले अङ्क दिन पाउने व्यवस्थाले सैद्धान्तिक परीक्षामा न्यून अङ्क ल्याउने परीक्षार्थीले प्रयोगात्मकमा अति उत्कृष्ट अङ्क ल्याउने विरोधाभाषमा सुधार आउने विश्वास पाठ्यक्रम विकास केन्द्रले गरेको छ । कक्षा १–३ मा विद्यार्थीको कक्षा सहभागिता, कार्य गरे नगरेको मूल्याङ्कन गर्ने, हरेक पाठ पढिसकेपछि परीक्षा लिने र त्यसमा शिक्षक तथा अभिभावकको हस्ताक्षर गराउने, विद्यार्थीको सिकाइ उपलब्धि हेर्नेलगायतका मापदण्ड तोकिएको छ । सो तहमा सामान्यभन्दा कम, सामान्य, प्रवीण र उच्च गरी चार तहमा मूल्याङ्कनको स्तर निर्धारण हुनेछ । हरेक पाठपछि लिइने परीक्षामा सामान्यभन्दा कम र सामान्य श्रेणी ल्याउने विद्यार्थीको सिकाइलाई प्रवीण वा उच्च पु¥याउने गरी सुधार गर्नुपर्ने प्रावधान राखिएको छ भने कक्षा १ देखि ३ सम्म वार्षिक परीक्षा हुनेछैन ।
कक्षा ४ देखि ८ मा ५० प्रतिशत मूल्याङ्कन लिखित परीक्षाबाट र बाँकी ५० प्रतिशत मूल्याङ्कन प्रयोगात्मक हुनेछ । विगतमा कक्षा ४ र ५ मा ५०÷५० प्रतिशत रहे पनि कक्षा ६–८ मा ६० प्रतिशत अन्तिम परीक्षा र ४० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिन्थ्यो । कक्षा ४–८ का विद्यार्थीले आन्तरिक ५० प्रतिशत मूल्याङ्कनका लागि परियोजना कार्य, इन्टरनेट तथा सञ्चार माध्यमबाट पाठ खोजी, सिकाइ उपलब्धि, कक्षा सहभागितालगायतलाई मापदण्ड निर्धारण गरिएको छ । कक्षा ९–१० मा प्रयोगात्मक परीक्षामा परियोजनाबाट १२ अङ्क, प्रयोगबाट चार अङ्क, त्रैमासिक परीक्षाबाट छ अङ्क र कक्षा सहभागिताबाट तीन अङ्क गरी २५ अङ्क प्राप्त गर्नेछन् । परियोजना र प्रयोगअन्तर्गत लघु शोध, सूचना प्रविधिको प्रयोग, सामुदायिक कार्य, नेतृत्व विकासलगायतका कार्य गर्नुपर्ने हुन्छ । कक्षा ११–१२ मा पनि कक्षा ९–१० कै मूल्याङ्कन विधि अवलम्बन गरिनेछ । सैद्धान्तिक परीक्षामा कमजोर विद्यार्थीले प्रयोगात्मकमा पूर्ण अङ्क पाउँदै आएका छन् । अहिले कक्षा १० मा अनिवार्य विषयको गणितबाहेकमा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । हरेक विषयमा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको छ ।
प्रयोगात्मकअन्तर्गत विद्यार्थीले गरेका सम्पूर्ण कार्यको अभिलेख सम्बन्धित शिक्षकले तयार गर्नुपर्ने र त्यसलाई स्थानीय तह, अभिभावक र प्रधानाध्यापकलाई पनि उपलब्ध गराउनुपर्ने छ । यसबाट प्रयोगात्मक परीक्षालाई वस्तुनिष्ठ बनाउन सम्भावना हुने देखिन्छ । सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक र प्रयोगात्मक ज्ञानमार्फत जनशक्तिलाई शिक्षित बनाउन सक्दा उसले बजारमा आफ्नो दक्षता प्रदर्शन गर्न सक्छ तर यस्तो प्रयोगात्मकअन्तर्गत पनि पुनः लिखित परीक्षा दिनुपर्ने, एकाध घण्टामा ४०–५० जना विद्यार्थीको मूल्याङ्कन गर्नुपर्ने, बाह्य परीक्षकको पारिश्रमिक अति न्यून हुनेजस्ता कारणले प्रयोगात्मक परीक्षाबाट अपेक्षित सुधार गर्न सम्भावना हुने देखिँदैन । यसैगरी प्रयोगात्मक मूल्याङ्कनको अभिलेख राख्न विषयगत (एउटा शिक्षक) बढी जिम्मेबार हुने भएकाले नेपालका संस्थागत विद्यालयमा पटकपटक शिक्षकको परिवर्तन हुने प्रवृत्तिले नियमित मूल्याङ्कनमा अवरोध गर्न सक्छ । कतिपय विषयका लागि जस्तै कम्प्युटर, होटल मेनेजमेन्टका लागि आवश्यक पूर्वाधार ल्याब नभएका विद्यालयलार्र्ई पनि यस्ता विषय अध्यापनको अनुमति दिने तर प्रयोगात्मक परीक्षालाई मात्र विधिसम्मत बनाउने मात्र भनियो भने कति व्यावहारिक होला भनेर स्पष्ट हुनुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?