logo
२०८१ मंसिर १२ बुधवार



सुलेमानीको हत्यापछिको सन्नाटा

विचार/दृष्टिकोण |





रामप्रसाद आचार्य

अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेर मत्थर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका वरिष्ठ सैन्य अधिकारी कासिम सुलेमानीको हत्या गरिएपछि हत्याको बदला लिने भन्दै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा ११ वटा क्षेप्यास्त्र आक्रमण ग¥यो । पूर्वसूचना दिएर क्षेप्यास्त्र प्रहार गरिएकाले अमेरिकी सैन्य शिविरमा भौतिक क्षति भए पनि कुनै पनि सैनिक मारिएनन् । क्षेप्यास्त्र खस्नुअघि नै अमेरिकी सैनिकहरू सद्दाम हुसेनकालीन बङ्करमा लुकेर ज्यान जोगाए । क्षेप्यास्त्र प्रहारको पूर्वसूचना नपाएको भए सयौँको सङ्ख्यामा अमेरिकी सैनिक मारिने थिए । अमेरिकी सैनिकहरू मारिए इरानमाथि आक्रमण हुने निश्चित भएकाले नै इरानले अमेरिकी सैनिक मार्न नचाहेको हो । क्षेप्यास्त्र प्रहारमै चित्त बुझाएको इरानलाई वार्ता प्रस्ताव आह्वान गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तनाव अरू बढ्न दिनुभएन जसले गर्दा विश्व समुदायले नै शान्तिको सास फे¥यो । ठूलो युद्धको सम्भावना ट¥यो ।
इरानी सेनाको विशिष्टीकृत एकाइका रूपमा परिचित ‘कुड्स फोर्स’ कमान्डरका रूपमा दुई दशकदेखि कार्यरत मेजर जनरल कासिम सुलेमानीलाई जनवरी ३ मा इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो । राष्ट्रपति ट्रम्पको आदेशमा सुलेमानीको हत्या भएपछि इरानले त्यसको बदला लिने घोषणामात्र गरेन कि आणविक सम्झौता पनि नमान्ने बतायो । इरानको एक संस्थाले राष्ट्रपति ट्रम्पको टाउकाको मूल्यसमेत तोक्यो ।
सो घटनापछि इराकी संसद्ले पनि एक प्रस्ताव पारित गर्दै अमेरिकी सेना फिर्ता गर्न भन्यो तर राष्ट्रपति ट्रम्पले सेना फिर्ता गर्न भनिए इरानको भन्दा पनि कडा नाकाबन्दी इराकविरुद्ध लगाउने चेतावनी दिनुभयोे ।
अमेरिकाले आफ्नो मुलुकभित्र जनधनको क्षति गराउने र उसको विरोध गर्ने कसैलाई पनि बाँकी राखेको छैन । अमेरिकाले इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दियो । त्यसैगरी अल कायदाका प्रमुख ओसामा बिन लादेन र इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बाकर अल बग्दादीको पनि हत्या ग¥यो ।
मेजर जनरल सुलेमानी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले विश्वास गरेको एलिट फोर्सका प्रभावशाली कमान्डर हुनुहु्न्थ्यो । उहाँलाई खमेनीपछिका दोस्रो शक्तिशाली नेताका रूपमा हेरिएको थियो । उहाँको भूमिका देशभित्रभन्दा बाहिर बढी केन्द्रित थियो । खाडी क्षेत्रमा इरानी प्रभाव विस्तारको स्रोतव्यक्तिका रूपमा उहाँ स्थापित हुनुहुन्थ्यो । त्यसले गर्दा उहाँ अमेरिकी आँखाको तारो बन्नु अस्वाभाविक भने थिएन । खाडी क्षेत्रमा अमेरिकी प्रभाव कमजोर हुने ठानेर नै उहाँको हत्या गर्न राष्ट्रपति ट्रम्पले आदेश दिनुभयो ।
इराक र सिरियामा प्रभाव विस्तार गरेको इस्लामिक उग्रवादी सङ्गठन आईएस स्टेटलाई प्रतिरक्षात्मक दिशातर्फ धकेल्नमा जर्नेल सुलेमानीको पनि महìवपूर्ण भूमिका थियो । खाडी क्षेत्रमा सुलेमानीको बढ्दो प्रभाव अमेरिकालाई मन परेको थिएन । आफूलाई मन परेन भन्दैमा यसरी कुनै मुलुकका सैन्य अधिकारीलाई मार्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई थिएन । यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका आधारभूत मूल्य मान्यताविपरीत छ भनी अधिकारवादीहरूले बताएका छन् ।
अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुस र बाराक ओबामा पनि सुलेमानीबारे परिचित हुनुहुन्थ्यो तर पनि हत्याको निर्देशन दिनुभएन । महाभियोग लागेका राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यमा हुने राष्ट्रपतीय चुनावलाई प्रभाव पार्न यसखाले कदम चालेको हुनसक्ने टिप्पणी पनि भइरहेका छन् । ओबामाका पाला सन् २०१५ मा इरान र अमेरिकाको सहभागितामा बहुपक्षीय आणविक सम्झौता भयो । यो सम्झौता ट्रम्पलाई मन परेन । उहाँले सन् २०१८ मा एकतर्फीरूपमा अमेरिका यो सम्झौताबाट बाहिरिएको घोषणा गर्दै पुनः इरानमाथि नाकाबन्दी लगाउनुभयो । सुलेमानीको हत्याले कटुता झन् बढाइदियो । भविष्यमा इरान र मुस्लिम समुदायबाट अमेरिकाविरोधी आक्रामकता अरू बढ्न सक्छ ।
एक युग थियो जतिबेला अमेरिका र इरानबीच राम्रो सम्बन्ध थियो । इरानी राजालाई अमेरिकाको पूर्ण समर्थन थियो तर राजा हटाइएसँगै अमेरिका र इरानबीचको सम्बन्ध शत्रुतामा परिणत भयो । सन् १९८० देखि इरान र अमेरिकाबीच कुनै कूटनीतिक सम्बन्ध छैन । सन् १९७९ मा इरानी क्रान्तिले इरानका तत्कालीन राजा मोहम्मद रेजा पल्लभी शाहलाई सत्ताच्युत गरेपछि राजसंस्था फालियो । अमेरिका निर्वासनमा गएका पल्लभीलाई इरान फिर्ता गर्न अमेरिकाले मानेन । शाहलाई बुझाउन शर्त तेस्र्याउँदै चार सय सशस्त्र इरानी छात्रले ५२ जना अमेरिकी कूटनीतिज्ञलाई ४४४ दिन बन्धक बनाएका थिए । त्यसपछि इरान र अमेरिकाबीच सम्बन्ध स्ुधार भएन । अमेरिकाले एकपछि अर्को गर्दै इरानविरुद्ध कडा आर्थिक नाकाबन्दी लगाएको छ ।
अमेरिकासित सम्बन्ध बिग्रेपछि इरानले आणविक हतियार बनाउन युरेनियम प्रशोधनलाई अगाडि बढाएको हो । सन् २०१५ मा ओबामाले इरानसँग बहुपक्षीय आणविक सम्झौता गरी आणविक हतियार बनाउन रोक्ने प्रयास गर्नुभयो तर सन् २०१८ मा अमेरिकी वर्तमान राष्ट्रपति ट्रम्प सो सम्झौताबाट पछि हट्नुुभयो । ट्रम्पको आदेशमा इरानी वरिष्ठ सैनिक अधिकारी सुलेमानी मारिएपछि त इरानले पनि आणविक सम्झौता नमान्ने घोषणासँगै यो सम्झौता अलपत्र परेको छ ।
अमेरिका र इरानबीचको द्वन्द्वले मध्यपूर्वमा शान्ति छैन । कुनै समय अत्यन्तै सौहार्द र घनिष्ठ मित्र रहेको दुई राष्ट्रबीचको सम्बन्ध किन र कसरी यति धेरै तनावपूर्ण अवस्थामा पुग्यो त ? प्रश्न अनुत्तरित बनेको छ ।
दोस्रो विश्वयुद्धअघि इरानमाथि बेलायतको प्रभुत्व थियो । त्यसबेला ‘एङ्ग्लो इरानियन ओयल कम्पनी’ मार्फत बेलायतले प्रभुत्व कायम गरेको थियो तर दोस्रो विश्वयुद्धले बेलायतलाई नराम्ररी कमजोर बनायो । बेलायती अर्थतन्त्र तहसनहस भयो र उसले आफ्नो विदेशी कार्यक्रम र सुविधामाथि आश्रित हुनुप¥यो । बेलायत इरानमाथि निर्भर रह्यो ।
त्यसै समयमा उत्तरी इरानमा रुसको संलग्नता र उपस्थिति अमेरिकाका लागि चिन्ताको विषय थियो । उत्तर पश्चिम इरानमा वर्चस्वलाई लिएर पश्चिम र पूर्वी पहाडमा अमेरिका र रुसबीच रेखा कोरिएको थियो । तत्कालीन सोभियत सङ्घले इरानी भूमि छोड्न अस्वीकार ग¥यो । अमेरिकाको अस्थिर रणनीतिले रुसी सीमा राखिराख्न र तेलको नियमित आयात जारी राख्न इरानका शाहमाथि अविश्वास उत्पन्न गरायो । उक्त विवाद यथावत् रहँदा सन् १९५१ मा राष्ट्रवादी छविका मोहम्मद मोसाद्देह इरानका ३५ औँ प्रधानमन्त्री नियुक्त हुनुभयो । मोसाद्देह बेलायतमाथि नभई इरानमाथि विश्वास गर्नुहुन्थ्यो र इरानको तेलमाथि इरानकै स्वामित्व चाहनुहुन्थ्यो । सन् १९५१ मै मोसाद्देहले तेल कम्पनीलाई राष्ट्रियकरण गर्नुभयो । उहाँको उक्त कदमले अमेरिकालाई चित्त बुझेन । पश्चिमा भने मोसाद्देहलाई पश्चिमा चासोको खतराको रूपमा देख्यो । सन् १९५२ मा बेलायत इरानबाट हटेपछि परिस्थिति बदलियो ।
अमेरिकी गुप्तचर संस्था सीआईएले मोसाद्देहलाई हटाउन आन्तरिक कसरत सुरु ग¥यो । मोसाद्देह प्रधानमन्त्रीबाट हटाई मोहम्मद रेजा पल्लभी शाहलाई पुनस्र्थापित गराइयो । तेलको चासो र इरानमा कम्युनिस्ट शासनको स्थापना भई मध्यपूर्व नै कम्युनिस्टमय हुने डरले अमेरिकाले राजसंस्था पुनस्र्थापना गरिदियो । मोसाद्देहको अन्त्यपछि अमेरिकाले पहिलाभन्दा निकै बढी रूपमा इरानको तेलमाथि विशेष चासो देखायो । अमेरिकाले नाफाको ४० प्रतिशत पाउने भयो । शाह र अमेरिका दुवै आआफ्नो स्वार्थमा मिले । शाहको शासनकालमा दुवैबीचको मित्रता अत्यन्तै घनिष्ठ बन्यो ।
सन् १९६० र १९७० को सुरुआती चरणमा भियतनामको युद्धले थला परेको अमेरिकाले विश्वमाथि नै आफ्नो चासो प्रभावकारी रूपमा सन्तुलनमा राख्न नसकिने सोचमा पुग्यो । तेलको बढ्दो मूल्यसँगै इरानका शाहले अमेरिकाबाट ठूलो मात्रामा हतियार आयात गर्न थाले । जसले इरानको अर्थतन्त्रमा ठूलो अस्थिरता निम्त्यायो । राजा निरङ्कुश बन्दै गए । जनता उनको विरुद्धमा उभिए । सन् १९७९ मा जनक्रान्ति सुरु भयो । लाखौँको सङ्ख्यामा सर्वसाधारण सडकमा उत्रिए । शाह अमेरिका भाग्न बाध्य भए । दशकौँदेखि आफूले सहकार्य र विश्वास गरेको शाह संरक्षण गर्ने नैतिक दायित्वको जगमा उभिँदा अमेरिका र इरानबीच द्वन्द्व सुरु भयो । त्यसपछि अमेरिका र इरानबीचको कटुता घटेन ।
यस्तो पृष्ठभूमिमा अहिले भएको सुलेमानी हत्याले गम्भीर घाइते बनेको इरानबाट मध्यपूर्वमा रहेका अमेरिकी सैनिक शिविरहरू सुरक्षित राख्न पनि रचनात्मक वार्ता गरी समस्याको समाधान खोज्नु अमेरिकाका लागि बुद्धिमानी हुनेछ ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?