रमेश भट्टराई ‘सहृदयी’
भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को समुद्घाटनसँगै नेपालले यतिखेर एउटा उत्सव मनाइरहेको छ । ‘अतिथिदेवो भव’ को संस्कृतिभित्र सजिएको नेपालको प्राकृतिक कलात्मकता, सांस्कृतिक विविधता, भौगोलिक रम्यता र यो चिसो मौसमको हिउँदे सौम्यताभित्र पर्यटकको मन मोहित हुने परिवेश आपैmँमा भ्रमणशील लाग्छ । नेपालको नाम लिनासाथ विदेशीका मनमा सगरमाथाको देशको परिचय गाँसिन्छ । मठ–मन्दिर, गुम्बा, विहारलगायतको सांस्कृतिक गरिमाको विविधता जोडिन्छ अनि नेपाली मौलिकपनाको दृश्यावलोकन गर्ने इच्छा प्रकट हुन्छ । अङ्ग्रेजी भ्रमण वर्षको सुरुवातीमा घुम्न चाहने उत्कण्ठा भएकालाई नेपाल विश्वमा भ्रमणयोग्य प्रथम स्थानमा रहेको समाचारले अर्को गौरवलाई थपिदिएको छ ।
पर्यटन विकासको सम्भाव्यतालाई छातीमा लुकाएको नेपालले पर्यटकभित्रको चाहनालाई ध्यानमा राखेर अघि बढ्नु सान्दर्भिक हुन्छ । छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, कृषि विकासका क्षेत्र, गुराँसे मैदान या त यहाँका मौलिक कला, सीप, भेषभूषा, स्थानीय खानाका परिकार तथा परालको गुन्द्रीतिर अबको मानिस आकर्षित हुन्छ । पाँचतारे होटलको साजसज्जाभन्दा राडीपाखीको मजामा बाह्य पर्यटक रम्छन् । जे देखिरहिएको छ त्यसमा नयाँपन नहुँदा आकर्षण कहाँ हुन्छ र ! हाम्रै भेडा–च्याङ्ग्रा देख्दा, गाईगोठ देख्दा तिनले नयाँपन पाउँछन् – चाहे यसलाई होमस्टे भन्दै नामाङ्कित नै गरियोस् । स्वच्छ सफा र स्वस्थतालाई ख्याल गरेर गुन्द्रुक, ढिँडो, सिस्नोदेखि विभिन्न जडीबुटीको स्वादमा नयाँपन हुन्छ । पर्यटकले सोधून्– यो के हो ? तब उत्तरले नवीनता दिन्छ अनि व्यापार पनि बढ्छ । प्रेमपूर्वक व्यवहारको कसीमा कमी नछाड्ने तर नौलोपना दिने हो भने हाम्रो देश प्राकृतिक, सांस्कृतिक तथा सामाजिक सबै दृष्टिले पर्यटकीय गन्तव्य हो ।
छुटेका कुरा
एउटा दुःखको विषय, पर्यटकीय व्यवहारभित्र सामान्य वर्गका आन्तरिक पर्यटक बन्न चाहनेहरू नितान्त उपेक्षित छन् । यो गम्भीर दुःखको विषय हो । सामान्य स्तरका पर्यटकले पोखरा, मुस्ताङ या त असनतिरका होटलमा रमाउन निकै सोच्नुपर्छ । पैसा कमाउने नाउँमा ब्रह्मलुटको लालसा छ, अब कम्तीमा मानवताको सम्बोधन हुनुपर्छ । स्थानीय सरकारले प्रमाण बनाइदिएर अति विपन्न वर्गलाई छुट दिने व्यवस्थामा ध्यान दिइनु राम्रो होला । हुन त भ्रमण वर्षको सन्दर्भमा चाहिँ धेरै होटल व्यवसायी, अन्य सरोकारवालाले छुटको प्रबन्ध गरिरहेका अत्यन्तै सराहनीय छ तथापि सेवासुविधाको उचित व्यवस्थापन गर्ने मार्गचित्र कोरिने कानुन फितलो बन्दा अर्कोतिरको बहानामा मनलाग्दी चर्को शुल्कको मारमा पर्यटकलाई पारिनुहुन्न । यसले आगामी दिनको पर्यटकीय आवागमनमा गलत सन्देश प्रवाह हुने डर रहन्छ । वास्तवमा व्यक्तिगत खर्चबाहेक लागत खर्चको यकिन वैज्ञानिक एउटा मापदण्ड भएमा जथाभावी मूल्यसूची तोक्ने शैलीमा न्यूनीकरण होला । आन्तरिक पर्यटनमा आशा र चाहना तथा सुविधा र महँगी आपसमा नमिल्ने रहेछ ।
कृषिपछि दोस्रो समृद्धिको आधार पर्यटन व्यवसायका विषयमा नेपालले मौलिक शैलीमा विकास गराउने र आफ्नोपना दिने बुद्धि लगाउनुपर्छ । सस्तो र सुलभ तर व्यवस्थित गुणस्तरीय पर्यटकीय सुविधा दिएमा घाटाभन्दा धेरै नाफा नै हुने अर्थशास्त्रीय नियम छ । ‘वस्तुको मूल्य घटेमा माग बढ्छ’ भन्ने मान्यतातिर आँखा दौडाउँदा सुविधा दिई सस्तो बनाउँदा सेवाग्राहीले धेरै पर्यटकलाई स्वागत गर्न पाउँछन्, प्रचारप्रसार पनि हुन्छ । आखिर एकैपटक ठूलो भागको आशा गर्दै पैसावाललाई मात्र स्वागत गर्न चाहने प्रवृत्तिलाई हेर्दा माक्र्सवादी सोचका आधारमा त वर्गीय विभेद पनि भएकै छ । फेरि त्यहाँ आर्थिक विषमता उत्पन्न हुने स्वाभाविकै भयो ।
पर्यटनभित्र कूटनीति
पर्यटकीय सुविधामा अपाङ्गमैत्री सोच निर्माण हुनुपर्छ । महिला बालबालिकामैत्री सुविधा होऊन् । वृद्धवृद्धाले मजाले आनन्द लिऊन् । महिला, बालबालिकामैत्री होओस् । सुविधा धेरै दिएर पनि खुसी पस्कँदा व्यापार घाटा हुन्छ भने हामी भन्न सक्छौँ मानिस त सस्तो व्यापारको होलसेलमै त झुम्मिन्छ । त्यसो हो भने पर्यटकीय स्थलमा चर्को महँगीकै फेसन किन चलाइरहनुप¥यो ? सर्वहारा वर्गको नेतृत्व त्यहाँ हुन सक्दैन भने के पर्यटकीय स्थल हुनेखाने या त पैसावालकै लागि मात्र हो त ? यो सवाल बाह्य पर्यटकका लागि होइन आन्तरिक पर्यटनमा आजको मागसँग सम्बन्धित हो । बाह्य पर्यटकलाई पनि जथाभावी असुल्ने शैली हुनुहुन्न । कूटनीतिक तवरमा स्वेच्छिक आकर्षणको केन्द्र खोजिनुपर्छ जसबाट स्वतःस्पूmर्त हाम्रो सरसामानमा पर्यटक आकर्षित होऊन् । खानपान, भ्रमण सुविधा, सेवा र दामको तादात्म्यसँग नेपाली मौलिकता जागोस् । साहित्य, सङ्गीत, भाषा, राष्ट्रियता र संस्कृति झल्किऊन् । दुःखको कुरा विदेशी पर्यटकलाई हामी नेपालीले भिखारीको जस्तो भान पारिरहेका हुन्छौँ । जबर्जस्ती आफ्नो सामान भिडाउन खेदिरहेका दृश्य, पैसा माग्दै हात थापेका दृश्य कति लज्जास्पद लाग्छन् । यी विषय झिनामसिना हुन् तर मनोविज्ञानको कोणमा घातक अवश्य हुन् ।
सम्भाव्यताको भव्यता
नेपाल पर्यटन बोर्डले २०७४ मा नै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएको तथ्य पेस गरेको छ । नेपालले यस वर्ष २० लाखको अपेक्षा गर्दा अचम्म त हुन्छ तर सम्भव देखिन्छ । बन्द हड्ताल, असुरक्षा, राजनीतिक सङ्क्रमण जस्ता विषय त्यतिखेर समस्याका रूपमा थिए । हिमाल आरोहीको सम्मान, राम्रा पर्यटन व्यवसायी सङ्घ, संस्थाको सम्मान जस्ता विषयले नेपाललाई पर्यटन विकासमा ऊर्जा दिन्छ । स्थानीय सरकारदेखि प्रदेश र सङ्घका कार्ययोजनाले पर्यटन विकासका मार्गदिशामा नातो गाँस्न चाहेका विकासवादी विषय हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उत्साहवद्र्धक कार्यक्रम र प्रभावकारी व्यवस्थापनको रणनीतिमा सरकार गम्भीर हुने हो भने पर्यटन व्यवसाय नेपालको सुन्दर र भरपर्दो आर्थिक समृद्धिको आधार बन्छ ।
सीमित पूर्वाधार र अस्थिरताको चर्को मारमा पनि पर्यटन उद्योग नओइलाएको विज्ञका मत छन् । वास्तवमा पर्यटन उद्योगको उचित, मनोवैज्ञानिक, व्यवस्थित व्यवस्थापनसँग नेपाल सरकार र सरोकारवालाको एकता आवश्यक छ । विभिन्न एनजीओ, आईएनजीओले पर्यटन व्यवसायलाई आफ्नो ढाँचामा चलाइरहेका छन् । हस्तकला, मूर्तिकला, चित्रकला, भेषभूषा, नेपाली मौलिकताको झलक, पहिचान र पहिरनका आफ्नोपना या त दोभाषेको व्यवस्थापन, विश्वासिलो सरकारी व्यवस्थापन भएको देखिँदैन । खोज अन्वेषण, स्थलगत व्यवस्थापन, यातायातको व्यवस्थापन र विकल्प, सरसफाइ लगायतका विषयमा सरकारले ध्यान पु¥याउन सके अवसर र आर्थिक समृद्धिको आधारमा दह्रो चर बस्ने थियो । मूलतः रेमिट्यान्स र पर्यटनबाट धान्दै आएको मुलुकको अर्थतन्त्रका बारेमा गाँसिने विषयमा नयाँपन र सम्भव योग्य सम्भाव्यको अनुसन्धान गर्दै अघि बढ्नु आवश्यक छ । कृत्रिमताभन्दा प्राकृतिक सुन्दरताको व्यवस्थापन होस् किनकि सहरीकरण र अव्यवस्थित बस्तीको अपारदर्शी प्रतिस्पर्धाको सङ्कुचनले पर्यटकीय गन्तव्य स्थल दिक्कलाग्दो बन्छ ।
हाम्रो पुरानो ः तिनको नयाँ
मूलतः विदेशी पर्यटक नेपालभित्र प्रवेश गरिसक्दा तिनलाई आवश्यक पूर्वाधारको जानकारी होओस् । आवश्यक मार्गनिर्देश सूची तिनका हातमा परोस् । अप्ठ्यारोमा परेकालाई सुविधा दिने विश्वासिलो निकाय बनोस् । होटल, यातायातको व्यवस्थापन गरियोस् । अध्ययन, भ्रमण, अनुसन्धानका उद्देश्य जे भए पनि सहायता दिइयोस् । ग्रामीण पर्यटनका साथमा मौलाउँदै आकर्षक बन्न पुगेको होमस्टे सेवाले पर्यटकको मनलाई तानिरहेको हुन्छ । तर ग्रामीण पर्यटन विकास, स्थानीय स्रोतको खपत हुनेखाले कृषिजन्य सेवा विकासका दोहोरो फाइदाबारे सोच्ने समय आएको छ । प्रकृति, संस्कृति, इतिहास, कला, पुराताŒिवक धरोहर, पहिरन तथा प्राचीन कुरा हाम्रा लागि पुराना हुन् तर पर्यटकलाई नयाँ लाग्छन् । ग्रामीण पर्यटनले नयाँपन दिने र त्यहाँका जनताले अवसर पाउने विषयलाई गुणात्मक ढङ्गले सोच्नुपर्ने देखिन्छ ।
नाराका टेबलगफभन्दा व्यावहारिक वास्तविकतासँग नातो गाँस्न आधुनिक ढङ्गका डकुमेन्ट्रीको खाँचो महसुस हुन्छ । मूलतः लुम्बिनी, पोखरा, इलाम, मुस्ताङ, कर्णाली क्षेत्र, कैलाली क्षेत्र, मध्यमाञ्चल क्षेत्रजस्ता स्थानका नाम आइरहे पनि लुकेका स्थानको खोज, अन्वेषण र सम्भावनालाई खोतल्नु आवश्यक छ । नीति, कानुन र बजेट व्यवस्थापनका कुरामा भन्दा बढी जनतालाई प्रोत्साहन, सम्भाव्यता प्रदर्शन र अवसरका बाटा खुला गर्ने रणनीति तयार पारे पर्यटन विकास र साथमा कृषि र रोजगार विकासको दोहोरो फाइदा हुनेछ । आधुनिक पर्यटकीय व्यवस्थापनका लागि अब सर्वहारा वर्गको समावेशी नूतनता चाहिन्छ । माग र पूर्तिको नियम तथा मूल्य घटे माग बढ्ने अर्थशास्त्रीय सहसम्बन्धको मनोविज्ञानसँग पर्यटन मनोविज्ञानले झटारो हानेको भान हुन्छ ।
(लेखक आदर्श बहुमुखी क्याम्पस गजुरीमा प्राध्यापनरत हुनुहुन्छ ।)