logo
२०८१ मंसिर १२ बुधवार



आईसीपीले व्यापारमा सहजता (सम्पादकीय)

विचार/दृष्टिकोण |




प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी) को मङ्गलबार संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । चौकीको निर्माणले एउटै छतमुनि व्यापार र सीमापार आवागमनमा सहजता आउने छ । चौकीले दुई देशबीचको आवागमन तथा व्यापारमा रहेका केही झन्झटिला समस्याको निराकरण गरी दुई देशबीचको सम्पर्कलाई अझ सहज बनाउने छ । व्यापारमा भन्सार सहजीकरणको आधार मानिने आईसीपी भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भई मङ्गलबारदेखि नेपाल सरकारको स्वामित्वमा आएको छ । उद्घाटन गरेसँगै आईसीपी परिसर नेपालको भन्सार क्षेत्रमा परिणत भएको छ ।
दुवै प्रधानमन्त्रीले काठमाडौँ र नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत गर्नुभएको उद्घाटनमा उहाँहरू दुवैले आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारत प्राचीन कालदेखि भौगोलिक र आत्मीयरूपमा नजिकका छिमेकी तथा मित्र भएको चर्चा गर्दै भूगोल, इतिहास, संस्कृति र परम्पराले दुई देश र जनतालाई आबद्ध गरिरहेको विचार व्यक्त गर्नुभएको छ । ओलीले भन्नुभएजस्तै दुई देश र जनताको आपसी हितका लागि सहकार्य र साझेदारी जारी राख्नु नेपाल र भारतका लागि अनिवार्य नै छ । प्रधानमन्त्री ओलीले दुई देशका जनताको खुसी र समृद्धिका लागि मिलेर काम गरौँ भन्दै दुवैतिरको हितमा छलफलमार्फत बाँकी रहेका सबै मुद्दा सुल्झाउनुपर्ने भनी व्यक्त गर्नुभएको विचारलाई समकक्षी मोदीले गम्भीरतापूर्वक लिनुभएको विश्वास गरिएकाले आगामी दिनका पहल परिणाममुखी हुने छन् ।
भारतीय प्रधानमन्त्री मोदीले जाँच चौकीलाई दुई देशबीचको साझेदारीको उदाहरण भन्दै ‘यो दशक मित्रताको स्वर्णिम दशक’ बनाउनुपर्ने भन्नु भएकाले हाम्रा सम्भावनालाई थप फराकिलो बनाएको अनुभव गरिएको छ । ‘छिमेकी पहिला’ नीतिलाई आफ्नो नेतृत्वको सरकारले प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीकै विचार दोहो¥याउँदै इतिहास र भूगोलले हामीलाई प्रकृति, परिवार, भाषा, संस्कृतिलगायत कैयौँ धागोमा जोडेकामा गर्व गर्नुलाई सद्भावका रूपमा हेर्न सकिन्छ ।
नेपाल–भारतबीचको बढ्दो व्यापारलाई व्यवस्थित र विविधीकरण गर्नु दुवै देशका लागि आवश्यक छ । विश्वमा आर्थिक शक्तिका रूपमा उदाउँदो भारत र नेपालको बढ्दो बजार आवश्यकतालाई व्यवस्थित गर्न यस्ता केन्द्रजस्ता संस्थागत संयन्त्रले सहज बनाउने छन् । नेपाल–भारतबीचको व्यापार तथा आवागमनलाई व्यवस्थित बनाउन दुई देशले मिलेर काम गर्नुपर्ने आवश्यकता पनि चौकीको सञ्चालनसँगै पुष्टि भएको छ । नेपालले निर्यात गर्ने पाम आयल, नेपालका व्यवसायीले चाहेका ग्यासका आफ्नै बुलेट सञ्चालनमा भारतको सहयोग नेपालका लागि अपेक्षित र प्रतीक्षित रहेका छन् । यस्तै केही मुद्दा भारतका पनि हुन सक्छन् । यी विषयमा दुवै देशले लिने उपयुक्त पहलले मुलुकका आपसी सम्बन्धलाई नयाँ उचाइ मात्र दिने छैनन् यहाँका नागरिकको दैनिक जीवनलाई पनि सहज बनाउने छ । औपचारिक रूपमा केन्द्रको उद्घाटन भनिए पनि यस क्रममा दुई प्रधानमन्त्रीले आपसी हितका बारेमा महìवपूर्ण विचार व्यक्त गर्नुभएको छ । भूकम्पपछि भारतीय सहयोगमा नेपालमा निर्माण भइरहेका संरचनाका बारेमा दुवै प्रधानमन्त्रीले अभिरुचिपूर्वक जानकारी लिनुभएको छ । प्रधानमन्त्रीद्वय ओली तथा मोदीले गोरखा र नुवाकोटमा भारतीय सहयोगमा भइरहेको पुनर्निर्माणको कार्यप्रगति पनि भिडियो कन्फरेन्समार्फत अवलोकन गर्नुभएको छ । यसलाई नेपालको संवेदनमा भारतले व्यक्त गरेको सहानुभूतिका रूपमा लिन सकिन्छ । भारत सरकारको अनुदान सहयोगमा गोरखा र नुवाकोटमा निजी आवासको पुनर्निर्माण भइरहेको छ । नेपालले दुवै देशको समृद्धिका लागि मिलेर काम गर्नुपर्ने बोध मात्र गरेको छैन प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै दुई देश र जनताको दिगो हितमा छलफलमार्फत बाँकी रहेका सबै मुद्दा सुल्झाउनु्पर्ने आवश्यकता पनि देखेको छ । पछिल्लो समय नेपालको कालापानी र लिम्पियाधुरा क्षेत्रका केही भूभाग भारतीय नक्सामा समेटिएको सन्दर्भमा नेपालले आपसी छलफल र सहमतिमा बाँकी रहेका सबै मुद्दा सुल्झाउनपर्ने सद्भाव राखेको छ । विशाल भारतका प्रधानमन्त्रीले विशाल हृदय प्रदर्शन गरेर यस्ता समस्या समाधानमा विशेष योगदान दिन सक्नु हुनेछ । जसबाट नेपाल –भारतबीचको सम्बन्धलाई साँच्ची नै अनुकरणीय बनाउन सकिन्छ । हाल दुवै देशमा स्थिर र बहुमतको सरकार रहेकाले नेपाल र भारतको सहकार्यमा सहजता पनि छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?