रेवती सापकोटा
बाग्मती प्रदेशमा विपत् निम्त्याउने प्रमुख कारणमध्ये सडक दुर्घटना पनि एउटा हो । यो प्रदेशमा मात्र वार्षिक रूपमा करिब एक हजार दुई सयजनाले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् भने छ हजारजना घाइते हुन्छन् । नेपालभर वार्षिक रूपमा करिब दुई हजारजनाले ज्यान गुमाउँछन् । विगतका तथ्याङ्कले सवारी दुर्घटनामा परेर मारिने अधिकांश उत्पादनशील उमेर समूह २० देखि ४० वर्षका हुने गरेका छन् । सिन्धुपाल्चोकमा भएका पछिल्ला तीनवटा सवारी दुर्घटनालाई केलाउने हो भने पनि यस्तै देखिन्छ । बाग्मती प्रदेशका सिन्धुपाल्चोक, चितवन, धादिङ र काठमाडौँवरिपरिका जिल्लाहरूमा सवारीसाधन बढी दुर्घटना हुने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेशले तयार गरेको विपत् व्यवस्थापन रणनीतिक कार्ययोजनामा मदिरा सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, पैदल यात्रु र सवारी चालकको लापरबाही, अव्यवस्थित पार्किङ, अव्यवस्थित सडक पार गर्ने प्रणाली, साँघुरा सडक, भिराला सडक, खराब साइड ड्रेन, मोडहरूमा कमजोर दृश्यतालाई सडक दुर्घटनाका कारण ठह¥याइएको छ ।
सडकसँग जोडिएर आउने बाढीपहिरो र भूक्षय पनि बाग्मती प्रदेशका समस्या हुन् । यस प्रदेशका चुरे र मध्यपहाडी क्षेत्रहरू पहिरोको उच्च जोखिममा छन् । सो कार्ययोजनाअनुसार विगत १० वर्षमा यस प्रदेशमा पहिरोका कारण एक सय ७३ जनाले ज्यान गुमाएका छन् र एक सय ८० जना घाइते भएका छन् । त्रिभुवन, पृथ्वी, अरनिको, नारायणघाट मुग्लिन सडक नियमित रूपमा पहिरोको जोखिममा हुन्छन् । २०७२ को भूकम्पभन्दा अगाडि सिन्धुपाल्चोकको भोटेकोसीमा आएको बाढी र जुरेमा गएको पहिरोले एक सय ५० जनाको ज्यान लिएको थियो भने बस्ती नै बगाएको थियो । लामो समयसम्म अरनिको राजमार्ग अवरुद्ध हुन पुगेको थियो । २०६० सालको साउनमा अत्यधिक वर्षाका कारण नारायणघाट मुग्लिन सडकको ३६ किलोमिटर खण्डमा ७० भन्दा बढी धेरै स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । माघेझरीका कारण नारायणघाट मुग्लिन सडक अवरुद्ध भएको थियो ।
जोखिमयुक्त सडकमा द्रुत प्रतिकार्य समूह आवश्यक हुन्छन् । प्रतिकार्य समूहले दुर्घटनामा परेकाहरूलाई उद्धार गर्ने, पैदलयात्रुलाई सडक पार गर्दा जेब्राक्रसिङबाट हिँड्न लगाउने, सवारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लगाउने, ट्राफिक नियम पालना गराउने, सवारीसाधनको दौडाइ मापन गर्ने, लामो रुटका सवारी चालकलाई आलोपालोमा चलाउन लगाउने, सवारीचालकको स्वास्थ्य अवस्था नियमित परीक्षण गराउने, सवारी चालकलाई आराम बस्ने आरामगृहको व्यवस्था मिलाउने, निश्चित दूरी गुडेपछि सवारीसाधन चेकजाँच गर्नेजस्ता कार्य गर्न सक्छ । ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने भनाइमा चालकहरूलाई प्रतिबद्ध गराउनुपर्ने हुन्छ ।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउन कडाइ गरेपछि अहिले मादक पदार्थ सेवन गरी सवारी हाँक्ने प्रवृत्ति निकै घटेको छ । ट्राफिक नियमका बारेमा यात्रु, सवारीचालक र पैदल यात्रुलाई पनि प्रशिक्षित गराउन आवश्यक हुन्छ । प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरी सबैलाई सचेत गराउन सक्छ । पर्यटक बोक्ने सवारीचालकबाट यात्रु बोक्ने सवारीचालकलाई तालिम दिने व्यवस्था गर्ने हो भने सवारी दुर्घटनामा कमी ल्याउन सकिन्छ । यात्रुवाहक सवारीभन्दा पर्यटक बोक्ने सवारीसाधन कम दुर्घटना हुनुको पछाडि चालकको होसियारीपन पनि एक हो । सवारीसाधनलाई चुस्त–दुरुस्त राख्ने, सडकलाई नियमित मर्मत–सम्भार गरिराख्ने, सवारी हाँक्ने समय तालिका तोक्ने गर्नाले पनि सवारी दुर्घटनामा कमी ल्याउन सकिन्छ ।
सवारीचालक र यात्रु राजमार्गका ठाउँठाउँमा रोकेर दिसापिसाब गर्ने प्रचलनलाई रोक्न आवश्यक छ । राजमार्गवरिपरि हुने फोहोरलाई व्यवस्थापन गर्न ठाउँठाउँमा शौचालयको व्यवस्था गर्नुपर्ने हुन्छ । ती शौचालयलाई पिसाब सङ्कलन केन्द्रका रूपमा विकास गर्न सकिन्छ । पिसाबमा युरिया हुन्छ । सङ्कलित पिसाबमा पानी मिसाएर तरकारी खेतीमा प्रयोग गर्दा रासायनिक मलको आवश्यकता पर्दैन । एकातिर जथाभावी गरिने पिसाबलाई एकठाउँमा केन्द्रित गरी अर्गानिक तरकारी उत्पादनमा उपयोग गर्न सकिन्छ भने अर्कोतिर राजमार्गलाई स्वस्थ राख्न पनि मद्दत पुग्नेछ ।
सडकलाई वातावरणमैत्री बनाउँदै लैजानुपर्छ । नेपालका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउने पर्यटकका लागि पनि सडकको दायाँबायाँ बिरुवाले आकर्षण गर्न सक्छ किनकि ती सडक वातावरणमैत्री हुन्छन् । सडकका दायाँबायाँ रूख बिरुवा रोपेर संरक्षण गर्दा प्रदूषणमा कमी ल्याउन सकिनेछ । त्यतिमात्रै होइन, सवारीसाधनले फाल्ने कार्बनडाइअक्साइड रूखबिरुवाले ग्रहण गर्छन् र रूखबिरुवाले अक्सिजन फाल्ने हुनाले वातावरणीय सन्तुलन कायम हुन मद्दत पुग्छ । चीनले यस्तो अभ्यास गरेको छ । वातावरणमैत्री सरकारले सडकमा प्रदूषण कम गराउने यस्ता उपायहरू अवलम्बन गर्न सक्छन् । रोपिएका बिरुवाको नियमित संरक्षण गर्ने व्यवस्था गरियो भनेमात्रै वातावरणमैत्री सडक हुन सक्छन् । कोटेश्वर–भक्तपुर सडकमा बिरुवा रोपिएका छन् तर तिनलाई नियमित गोडमेल र पानी नदिँदा ती बिरुवा धुलाम्मे भएका छन् ।
रूखबिरुवाले अक्सिजन निस्कासन गर्छ, मानिसका लागि अक्सिजन प्राणवायु हुन्छ । मानिसले कार्बनडाइअक्साइड फाल्छ, बिरुवाले कार्बनडाइअक्साइड ग्रहण गर्छ । बिरुवाका लागि खाना बढाउने फोटोसेन्थेटिक प्रक्रियाका लागि सूर्यको किरण चाहिन्छ । त्यही कारणले ओसिलो र खोल्साका बिरुवा अग्ला हुन्छन् । हिमालभन्दा तराई र पहाडमा बिरुवाहरू छिटो फस्टाउने कारण पनि त्यही हो । प्रकृतिका वरदानलाई मानिसले दोहन गरिरहेको हुन्छ । जब मानिसले प्रकृतिका वरदानहरूलाई शोषण गर्न थाल्छ, त्यतिबेला प्राकृतिक विपत्ति आउँछ । मानिस र प्रकृतिबीचको अन्तरसम्बन्धलाई जोगाइराख्दा आफूलाई मात्र होइन, प्रकृतिले भावी सन्ततिलाई पनि आफ्नो वरदान उपलब्ध गराइदिन सक्छन् ।
वातावरणमैत्री सडकलाई सन्तुलित गराउन स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकारले काम गर्न सक्छ । एकैठाउँमा धेरै रोजगारी सिर्जना गर्न ठूलो लगानी आवश्यक पर्छ । यस्ता सिर्जनात्मक काममा थोरै लगानीले पनि धेरै रोजगारी सिर्जना गराउन सकिन्छ । भौगोलिक रूपमा सबैप्रकारको हावापानी पाइने बाग्मती प्रदेशमा हिमाल, पहाड र तराईको सन्तुलन मिलेको छ । यसको संरक्षणका लागि पनि जथाभावी खनिएका सडकलाई व्यवस्थित गर्न आवश्यक छ । डोजर चालक इन्जिनियर हुने प्रचलनलाई रोकेर इन्जिनियरको डिजाइनअनुसार सडक निर्माण गर्ने दिशामा अग्रसर हुन आवश्यक छ । सडकका लागि छुट्याइएको बजेट सही ठाउँमा प्रयोग भए, नभएको निगरानी नागरिकस्तरबाट हुनुपर्छ । एउटै सडकलाई दुहुनो गाईझैँ बनाएर सरकारसँग पैसा लिने प्रचलन पनि रोकिनुपर्छ । जति सडक बनाइन्छन्, ती सडकलाई व्यवस्थित गराउनुपर्छ । त्यसो भएमामात्रै दिगो विकास हुन सक्छ ।
विकासका नाममा विनाश निम्त्याइरहेका घटनाक्रमको सूक्ष्म विश्लेषण गरी नयाँ नीति योजना र कार्यक्रम बनाउन ढिलाइ गर्न हुँदैन । यस्ता विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका सरोकारवालाका बीचमा घनिभूत छलफल र बहस हुन आवश्यक छ । आपसी सहकार्य र समन्वयका आधारमा सञ्चालन हुने नेपाली सङ्घीयताको मोडलअनुसार नै सडकलाई व्यवस्थित बनाउन सकिन्छ ।
सङ्घ र स्थानीय सरकारको मध्यभागमा रहेको प्रदेश सरकारले यस्ता विषयमा रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्छन् । परम्परागत शैलीमा परिवर्तन गरी रचनात्मक र सिर्जनात्मक विकास मोडल खडा नगरी हुँदैन । तीनवटै सरकारले सडक बनाउनुलाई मात्र प्राथमिकतामा राखेर हुँदैन । ती सडकमा गुड्ने सवारीसाधनमा स्थानीय उत्पादन सहरबाट गाउँमा लैजाने र गाउँका उत्पादन सहरमा लैजाने योजना सँगसँगै बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ । त्यस्तो हुँदामात्र त्यो सडकले नागरिकलाई धनी बनाउन मद्दत पु¥याउँछ । त्यसो हुँदा धनीका सवारीसाधन गुड्नेमात्रै होइन, गरिबका उत्पादन पनि सहरमा पु¥याउने साधन सडकलाई बनाउन सकिन्छ । त्यो दिशामा तीनवटै सरकारको ध्यान जान
आवश्यक छ ।
(लेखक बाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार हुनुहुन्छ ।)